‘प्रविधिको दुरुपयोग गरेर अडियो बनाइयो, छानबिनका लागि सहयोग गर्छु’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूसँग जोडेर सार्वजनिक गरिएको अडियो संवादलाई काल्पनिक र प्रविधिको दुरुपयोगबाट तयार पारिएको सामग्री भएको दाबी गरेका छन् । आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै उनले सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग मागसमेत गरेका छन् । मंगलबार (आज) सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै सुनारले प्रहरी संगठनभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाउन थालेपछि आफूमाथि निरन्तर प्रहार भइरहेको बताएका हुन् । उनले सार्वजनिक अडियोमा सुनिएको भनिएको आवाज आफ्नो नभएको आशय व्यक्त गर्दै त्यसलाई कृत्रिम बौद्धिकता (एआई) लगायतका प्रविधिको प्रयोगबाट तयार पारिएको प्रचार सामग्रीको संज्ञा दिएका छन् । ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न गरेदेखि ममाथि निरन्तर प्रहार भइरहेको छ । विभिन्न आरोप-प्रत्यारोपको सिकार भइरहेको छु,’ उनले लेखेका छन्, ‘हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ । आजसम्म सार्वजनिक भएका सबै आरोप झुटा हुन् ।’ उनले आफूमाथि उठेका प्रत्येक प्रश्न र आरोपको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन् । छानबिनका क्रममा आवश्यक सबै सहयोग गर्न आफू तयार रहेको पनि उनले स्पष्ट पारेका छन् । ‘ममाथि उठेका प्रत्येक प्रश्न र आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई हार्दिक अपिल गर्न चाहन्छु,’ सुनारले भनेका छन्, ‘ममाथि हुने छानबिनका लागि म सबैलाई सघाउन तयार छु ।’ भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण आफूलाई निशाना बनाइएको उनको दाबी छ । उनले आफूमाथि भइरहेको प्रचारलाई निर्मम अत्याचारको संज्ञा दिँदै त्यसबाट सिर्जित भ्रममा नपर्न आम नागरिकलाई आग्रहसमेत गरेका छन् । ‘भ्रष्टाचारविरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार, घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु,’ उनले लेखेका छन् । सुनारको नाम जोडिएको विवादास्पद अडियो संवाद सार्वजनिक भएपछि यसले सामाजिक सञ्जालमा व्यापक चर्चा पाइरहेको छ । ‘जनआस्था साप्ताहिक’ ले अडियो सार्वजनिक गरेको हो । उक्त अडियोमा एक महिलालाई ब्ल्याकमेल गरेको, अश्लील गालीगलौजसहित ज्यान मार्ने धम्की दिएको र रकम असुलीको प्रयास गरेको आरोप लगाइएको छ । उक्त अडियो केही वर्षअघिको भएको र त्यसमा सुनिएको आवाज सुनारकै भएको दाबी गरिएको छ । तर, अडियोको आधिकारिकता पुष्टि गर्ने स्वतन्त्र प्राविधिक परीक्षण भने भएको छैन । सुनारले भने अडियोसँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । यसैबीच, विवाद सार्वजनिक भएपछि रास्वपाले सुनारमाथि आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ । पार्टीले विज्ञप्ति जारी गर्दै सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक श्रव्य सामग्री र उनीमाथि उठाइएका गम्भीर प्रश्नप्रति ध्यानाकर्षण भएको जनाएको छ । रास्वपाले केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन अघि बढाउन निर्देशन दिएको छ । साथै छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । पार्टीले छानबिन प्रक्रिया अघि बढाइरहेका बेला सुनारले आरोप अस्वीकार गर्दै सरकार र पार्टी दुवैलाई सत्यतथ्य पत्ता लगाउन आग्रह गरेका हुन् ।
सुन तोलामा २ हजार २०० र चाँदी ६० रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घट्दा चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल फिनटेक एक्स्पोमा आइएमई खल्तीका ६ नयाँ सेवा सार्वजनिक
काठमाडौं । आइएमई खल्ती लिमिटेडले नेपाल फिनटेक एक्स्पो २०२६ मा आफ्ना ६ नयाँ डिजिटल सेवा सार्वजनिक गरेको छ । तीन दिनसम्म चलेको एक्स्पोमा कम्पनीले डिजिटल भुक्तानी, व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी र प्रविधिमा आधारित सेवाहरू प्रदर्शन गरेको हो । नेपाल फिनटेक एक्स्पो २०२६ मा खल्तीले पहिलो दिन खल्ती कार्ड, एसएमएस तथा पर्सनल फाइनान्स च्यालेन्ज सार्वजनिक गरेको थियो । त्यसैगरी, तेस्रो दिन खल्ती प्रो, स्ट्राइप तथा खल्ती स्टक हब सार्वजनिक गर्दै आफ्नो सेवा विस्तार गरेको कम्पनीले जनाएको छ । एक्स्पोमा खल्तीको स्टलमा प्रयोगकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो । तीन दिनको अवधिमा सयौँ प्रयोगकर्ताले स्टल भ्रमण गरी कम्पनीका विभिन्न उत्पादन तथा सेवाबारे जानकारी लिएका थिए । कम्पनीका प्रतिनिधिहरूले नयाँ सेवाका विशेषता, प्रयोग गर्ने तरिका र उपलब्ध सुविधाबारे जानकारी दिएका थिए । प्रयोगकर्तालाई थप आकर्षित गर्न खल्तीले एक्स्पो अवधिभर विभिन्न सेवामा क्यासब्याक, प्रोमो कोड तथा अन्य अफरसमेत उपलब्ध गराएको थियो । स्मार्ट डिपोजिट, कार्ड, एसआई फिएस्टा, इन्स्योरेन्स, फ्लाइट्स, मोबाइल टपअप, डाटा प्याक, टिभी तथा आईपीटीभी लगायतका सेवामा उपलब्ध अफरले प्रयोगकर्तालाई खल्तीका विभिन्न सेवा अनुभव गर्ने अवसर दिएको कम्पनीले जनाएको छ । एक्स्पोमा सहभागी प्रयोगकर्ताले विशेषगरी खल्ती कार्ड, स्ट्राइप तथा पर्सनल फाइनान्स च्यालेन्जप्रति चासो देखाएका थिए । डिजिटल भुक्तानीलाई सहज बनाउने, व्यक्तिगत वित्त व्यवस्थापनमा सकारात्मक बानी विकास गर्न प्रोत्साहित गर्ने र प्रविधिमा आधारित नयाँ सेवा उपलब्ध गराउने कम्पनीको प्रयासप्रति प्रयोगकर्ताको रुचि देखिएको खल्तीले जनाएको छ । एक्स्पोका क्रममा आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस्ता कार्यक्रमले नयाँ सेवा सार्वजनिक गर्नुका साथै प्रयोगकर्तासँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूको आवश्यकता बुझ्ने अवसर प्रदान गर्ने बताए । उनले खल्तीले भुक्तानी सेवाभन्दा अगाडि बढ्दै व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी, लगानी तथा प्रविधिमा आधारित अन्य सेवाहरू सार्वजनिक गरेको जानकारी दिए । नयाँ उत्पादनप्रति प्रयोगकर्ताले देखाएको उत्साह र प्रतिक्रियाले अझ सहज, उपयोगी तथा एकीकृत डिजिटल सेवा विकास गर्न प्रेरणा दिएको उनको भनाइ छ । आइएमई खल्तीले डिजिटल भुक्तानीलाई केन्द्रमा राख्दै बचत, लगानी, बीमा, कनेक्टिभिटी तथा दैनिक जीवनका आवश्यकतासँग सम्बन्धित सेवाहरू एउटै डिजिटल प्लेटफर्ममा जोड्ने लक्ष्यसहित सेवा विस्तार गर्दै आएको छ । नेपाल फिनटेक एक्स्पो २०२६ मा सहभागिता र नयाँ सेवाको सार्वजनिक घोषणाले एकीकृत डिजिटल वित्तीय तथा जीवनशैलीसम्बन्धी सेवा प्रदान गर्ने कम्पनीको योजनालाई थप अघि बढाएको छ ।
नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने आईएमएफको प्रक्षेपण
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ मा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । आईएमएफले सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनकमा अनुसार सन् २०२६ मा ३.६ प्रतिशत र सन् २०२७ मा ३.७ प्रतिशत विस्तार हुने अनुमान गरेको हो । सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहेको थियो । यस्तै, आईएमएmले सन् २०२६ मा नेपालको उपभोक्ता मूल्य अर्थात् महँगी ३.१ प्रतिशत र सन् २०२७ मा ५.८ प्रतिशत पुग्ने अनुमान गरेको छ । सन् २०२५ मा नेपालको महँगी ४.१ प्रतिशत रहेको थियो । आईएमएफले सन् २०२६ मा विश्व अर्थतन्त्र भने ३.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । यद्यपि यो सन् २०२५ मा हासिल भएको ३.५ प्रतिशतको आर्थिक वृद्धिभन्दा कम हो । मध्यपूर्वको युद्धले ऊर्जा बजारमा दबाब सिर्जना गरिरहेका बेला कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा बढ्दो लगानीले विश्व अर्थतन्त्रको वृद्धिलाई टेवा दिने देखिएको प्रतिवेदनमा उल्लेख छ । मध्यपूर्वको युद्ध लम्बिँदा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ । यसले विश्वव्यापी ऊर्जा आपूर्ति, उत्पादन लागत र मुद्रास्फीतिमा दबाब बढाएको छ । तर, एआई पूर्वाधारमा भइरहेको बलियो लगानीले त्यसबाट उत्पन्न आर्थिक धक्कालाई केही हदसम्म सन्तुलनमा राखेको आईएमएफको निष्कर्ष छ । थाइल्यान्डको बैंककमा आईएमएफ र विश्व बैंकको वार्षिक बैठक भइरहेका बेला सार्वजनिक गरिएको प्रतिवेदनले विश्व अर्थतन्त्रको वृद्धिमा एआईको भूमिका बढ्दै गएको देखाएको छ । विशेषगरी एआई प्रविधि विकास गर्ने तथा त्यसका लागि आवश्यक उपकरण र सामग्री आपूर्ति गर्ने देशले यसको लाभ लिइरहेका छन् । आईएमएफले सन् २०२७ मा विश्व अर्थतन्त्र ३.४ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ । यो प्रक्षेपण जुलाईमा गरिएको अनुमानसँग समान छ । एआईमा लगानीले अमेरिका र भारतलाई टेवा प्रमुख अर्थतन्त्रमध्ये अमेरिकाको आर्थिक वृद्धि सन् २०२६ र २०२७ दुवै वर्ष २.३ प्रतिशत रहने आईएमएफको अनुमान छ । निजी उपभोग, कर कटौती र एआईमा भइरहेको लगानीले अमेरिकी अर्थतन्त्रलाई सहयोग गर्ने अपेक्षा गरिएको छ । युरोजोनको आर्थिक वृद्धिको अनुमान पनि सुधारिएको छ । सन् २०२६ मा युरोजोनको अर्थतन्त्र १.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । यसअघि जुलाईमा ०.९ प्रतिशत वृद्धिको अनुमान थियो । एआईमा बढ्दो लगानी, औद्योगिक आपूर्ति शृङ्खलामा सहभागिता र रक्षा खर्च वृद्धिले युरोपको आर्थिक गतिविधिलाई सहयोग गर्ने देखिएको छ । बेलायतको आर्थिक वृद्धिको अनुमान पनि बढाएर १.३ प्रतिशत पुर्याइएको छ । चीनको अर्थतन्त्र भने सन् २०२६ मा ४.५ प्रतिशत र सन् २०२७ मा ४ प्रतिशतले विस्तार हुने अनुमान छ । दुवै वर्षको प्रक्षेपण यसअघिको तुलनामा ०.१ प्रतिशत बिन्दुले कम हो । उच्च तेल मूल्य र कमजोर आन्तरिक मागले चीनको आर्थिक वृद्धिमा दबाब पार्ने आईएमएफको आकलन छ । भारत भने प्रमुख अर्थतन्त्रमध्ये सबैभन्दा तीव्र गतिमा वृद्धि हुने देशका रूपमा रहने अनुमान छ । भारतको अर्थतन्त्र सन् २०२६ र २०२७ दुवै वर्ष ७ प्रतिशतले बढ्ने आईएमएफले जनाएको छ । बलियो आन्तरिक माग, सेवा क्षेत्रको विस्तार र एआईमा भइरहेको लगानीले भारतको वृद्धिलाई सहयोग गर्ने अपेक्षा गरिएको छ । मध्यपूर्वको युद्धले खाडी मुलुकको अर्थतन्त्रमा धक्का विश्व अर्थतन्त्रको समग्र वृद्धिको अनुमान सुधारिए पनि सबै देशले समान लाभ लिन नसकेको आईएमएफले जनाएको छ । विशेषगरी मध्यपूर्वको युद्धबाट प्रत्यक्ष प्रभावित खाडी मुलुकको आर्थिक परिदृश्य कमजोर बनेको छ । आईएमएफले साउदी अरबको अर्थतन्त्र सन् २०२६ मा ३.३ प्रतिशतले सङ्कुचित हुने अनुमान गरेको छ । यसअघि जुलाईमा १.७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको थियो । त्यस्तै, सन् २०२६ मा इरानको अर्थतन्त्र ७.६ प्रतिशत, इराकको १६ प्रतिशत, कुवेतको १६.७ प्रतिशत, कतारको १५.६ प्रतिशत र संयुक्त अरब इमिरेट्स (यूएई) को ३.९ प्रतिशतले सङ्कुचित हुने अनुमान गरिएको छ । आईएमएफका अनुसार एआईबाट लाभ लिने र त्यसको अवसरबाट बाहिर रहने देशबीचको आर्थिक अन्तरसमेत बढ्दै गएको छ । अप्रिलमा विश्वको आर्थिक वृद्धिमा योगदान पु¥याउने देशको सङ्ख्या ५४ रहेकामा अहिले ३२ मा झरेको छ । ती ३२ देशले विश्वको कुल आर्थिक वृद्धिको ९५ प्रतिशत हिस्सा ओगट्ने अनुमान छ । तेलको मूल्य र सार्वजनिक ऋण मुख्य जोखिम आईएमएफले सन् २०२६ मा विश्वव्यापी उपभोक्ता मुद्रास्फीति ४.७ प्रतिशत र सन् २०२७ मा ४.१ प्रतिशत रहने अनुमान गरेको छ । तर मध्यपूर्वको युद्ध थप चर्किएर तेलको मूल्य प्रतिब्यारेल १३० अमेरिकी डलर पुगेमा आर्थिक वृद्धिमा थप दबाब पर्ने चेतावनी दिएको छ । त्यस्तो अवस्थामा सन् २०२६ को विश्व आर्थिक वृद्धिको अनुमान ०.२ प्रतिशत विन्दु र सन् २०२७ को अनुमान ०.५ प्रतिशत विन्दुले घट्न सक्नेछ । सन् २०२७ को मुद्रास्फीति ५.२ प्रतिशतसम्म पुग्न सक्ने आईएमएफको आकलन छ । एआईमा भइरहेको लगानीबाट अपेक्षित उत्पादकत्व वृद्धि हासिल हुन नसकेमा पनि विश्व अर्थतन्त्र प्रभावित हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । लगानी घट्दा सम्पत्तिको मूल्यमा गिरावट, वित्तीय अवस्था कसिलो हुने र उपभोग घट्ने जोखिम रहन्छ । यसको असर अमेरिकी अर्थतन्त्रसँगै एसियाली प्रविधि निर्यात गर्ने देशमा समेत पर्न सक्छ । त्यसैगरी, विकसित अर्थतन्त्रमा सार्वजनिक ऋणको उच्च स्तरले सरकारको ऋण लिने लागत बढाउने जोखिम रहेको आईएमएफले औँल्याएको छ । ऋणको भार बढ्दै जाँदा आर्थिक वृद्धिमा दबाब पर्न सक्ने भएकाले सरकारहरूले वित्तीय स्रोतको सुरक्षा क्षमता पुनर्निर्माण गर्न र सार्वजनिक ऋणलाई दिगो स्तरमा राख्ने विश्वसनीय मध्यमकालीन योजना बनाउनुपर्नेमा कोषले जोड दिएको छ ।
पूजाको घिउलाई खाने घिउ भन्दै बेच्न प्रतिबन्ध
काठमाडौं । पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि तयार गरिने चिल्लो पदार्थलाई खाद्य घिउका रूपमा उत्पादन तथा बिक्री वितरण गर्न नपाइने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस्तो उत्पादनको उत्पादन, भण्डारण तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो । विभागले बजार अनुगमन तथा उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा केही खाद्य व्यवसायी तथा उत्पादन उद्योगले वनस्पति घिउ, बेकरी सर्टनिङ, परिष्कृत घिउ तथा तेल, वासना, प्याराफिन, खनिज तेललगायत रासायनिक पदार्थ मिसाएर पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि चिल्लो पदार्थ उत्पादन तथा बिक्री गरिरहेको जनाएको छ । यस्ता उत्पादनको स्वरूप, रङ, गन्ध, प्याकेजिङ तथा प्रस्तुतिको शैली बजारमा पाइने खाद्य घिउसँग मिल्दोजुल्दो हुने भएकाले उपभोक्ता झुक्किएर खानामा समेत प्रयोग गर्न सक्ने जोखिम रहेको विभागले जनाएको छ । विभागका अनुसार सरकारले खाद्य प्रयोजनका लागि तोकेको मापदण्डबमोजिमका घिउ, वनस्पति घिउ तथा बेकरी सर्टनिङबाहेक पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि तयार गरिएका चिल्लो पदार्थलाई खाद्य घिउ वा बेकरी सर्टनिङका रूपमा उत्पादन, भण्डारण तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ । यस्ता उत्पादन बिक्री गर्ने व्यवसायीले लेबलको अग्रभागमा ‘खानको लागि होइन’ भन्ने वाक्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। उक्त वाक्य कालो क्रस चिह्नसहित स्पष्ट देखिने गरी ठूलो अक्षरमा राख्नुपर्ने विभागले जनाएको छ । साथै यस्ता उत्पादनको लेबलमा ‘घिउ’, ‘बेकरी सर्टनिङ’ वा ‘वनस्पति घिउ’ जस्ता शब्द उल्लेख गर्न पाइने छैन । खाद्य घिउ, वनस्पति घिउ वा बेकरी सर्टनिङका रूपमा बिक्री गरिने उत्पादनमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिमको लेबल विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने विभागले जनाएको छ । विभागले यस व्यवस्थाविपरीत कार्य गरी खाद्य तथा अखाद्य उत्पादनबीच भ्रम सिर्जना गर्ने, मिसावट गर्ने वा गलत लेबल लगाउने व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने चेतावनी दिएको छ । साथै अखाद्य उत्पादन खाद्य आपूर्ति शृङ्खलामा प्रवेश गर्न नदिन सम्बन्धित व्यवसायीलाई सचेत गराएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सको सीईओमा अनिल गिरी नियुक्त
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल गिरी नियुक्त भएका छन् । कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको ६३औँ बैठकले गिरीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि कम्पनीमा कायममुकायम कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका गिरीलाई असोज २५ गतेदेखि लागू हुने गरी सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
विश्व बैंक र आईएमएफको बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्दै छन् । अर्थमन्त्री वाग्ले मंगलबार दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयरवेजको विमानमार्फत बैंकक जाने कार्यक्रम रहेको छ । विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउनेछन् । अर्थमन्त्रीसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि बैंकक जानेछन् । अर्थमन्त्री वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।
नेशनल लाइफको सञ्चालकमा विनय रमण पौडेल र सरस्वती अधिकारी नियुक्त
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विनय रमण पौडेल र सरस्वती अधिकारी नियुक्त भएका छन् । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पौडेललाई नेशनल लाइफको सञ्चालकमा नियुक्त गरिएको हो । राष्ट्रिय वाणिज्य बैंकको भदौ २९ गतेको पत्रअनुसार पौडेल सञ्चालक नियुक्त भएका हुन् । त्यस्तै, कम्पनीको सञ्चालक समितिमा रिक्त रहेको एक पदमा अधिकारीलाई नियुक्त गरिएको छ । उनको नियुक्ति आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराउने गरी निर्णय गरिएको कम्पनीले जनाएको छ । कम्पनीले असोज २६ गते नेप्सेलाई पत्र पठाउँदै दुवै सञ्चालकको नियुक्तिबारे जानकारी गराएको हो ।