विकासन्युज

४० अंकले घट्यो नेप्से, ६ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४०.६१ अंकले घटेर २६१३ बिन्दुमा झरेको हो ।  नेप्सेका अनुसार १४ कम्पनीको सेयर मूल्य बढ्दा २६० कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बुधबार ३५२ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । शिवम् सिमेन्टको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै रिलाइन्स स्पिीनिङको २० करोड, लक्ष्मी सनराइजको १८ करोड र घलेम्दी हाइड्रोको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । १३ वटा उपसूचक राताम्य भएका छन् । सबैभन्दा धेरै गिरावट जीवन बीमा समूहमा देखिएको छ । जीवन बीमा उपसूचक २.०४ प्रतिशतले घटेर ११,८००.७९ बिन्दुमा झरेको छ । जलविद्युत् उपसूचक १.६६ प्रतिशत, अन्य उपसूचक १.६५ प्रतिशत र लगानी उपसूचक १.४९ प्रतिशत ले घटेका छन् । त्यस्तै, विकास बैंक उपसूचक १.३६ प्रतिशत, निर्जीवन बीमा १.३२ प्रतिशत, लघुवित्त १.३१ प्रतिशत, व्यापार १.२६ प्रतिशत, बैंकिङ १.२२ प्रतिशत र वित्त समूह १.०९ प्रतिशतले घटेका छन् । होटल तथा पर्यटन उपसूचक ०.९८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४५ प्रतिशत र म्युचुअल फन्ड उपसूचक ०.१५ प्रतिशत ले पनि गिरावट जनाएका छन् ।   

सुरक्षा अपनाएर उडान गर्न र ‘स्ट्यान्डबाइ’ बस्न वायुसेवा कम्पनीहरूलाई संघको निर्देशन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न भागमा भारी वर्षा, हावाहुरी र बाढी-पहिरोको जोखिम रहेको पूर्वानुमान गरेको छ । विभागले यस्तो पूर्वअनुमान गरेसँगै वायुसेवा सञ्चालक संघ, नेपाल (एओएन) ले आफ्ना सदस्य वायुसेवा कम्पनीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । संघले बुधबार एक सर्कुलर जारी गर्दै यस्तो आग्रह गरेको हो । संघले वर्षाका कारण साना तथा ठूला नदीहरूमा जलस्तर बढ्न सक्ने, सहरी तथा तराई क्षेत्र डुबानमा पर्न सक्ने र बाढी, पहिरो तथा भूक्षयका कारण हवाई र सडक यातायात प्रभावित हुन सक्ने जोखिम औंल्याइएको छ । साथै हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना रहेकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन सूचित गरेको छ ।  यस परिस्थितिलाई मध्यनजर गर्दै संघका अध्यक्ष अध्यक्ष प्रताप जंग पाण्डेद्वारा हस्ताक्षरित सर्कुलरमा सदस्य वायुसेवा कम्पनीहरूलाई उडान सञ्चालन गर्दा पूर्ण सुरक्षाको प्रत्याभूति गरेर मात्र उडान गर्न अनुरोध गरिएको छ । यसैगरी, वर्षाका कारण हुन सक्ने सम्भावित बाढी, पहिरो तथा विपद्को समयमा तत्काल उद्धार कार्य सञ्चालन गर्नुपर्ने हुन सक्न संघले जनाएको छ ।  यस परिस्थितिमा सदस्य वायुसेवा कम्पनीहरूलाई जुनसुकै समयमा उडानका लागि तयारी अवस्थामा बस्न संघले निर्देशन दिएको छ ।

नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको परिचालनमा पारदर्शिता, व्यावसायिक अनुशासन र जोखिम व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि उठेका जिज्ञासाहरूको जवाफ दिँदै उनले सांसदहरूले व्यक्त गरेको साझा चिन्ता र सान्दर्भिक सुझावहरूको कदर गर्दै विधेयकले कोषलाई थप सशक्त बनाउने दाबी गरेका हुन् । अर्थमन्त्री वाग्लेले नागरिक लगानी कोष नेपाली नागरिकहरूको भविष्यसँग जोडिएको संवेदनशील संस्था भएको उल्लेख गर्दै यसलाई समयानुकूल अद्यावधिक गर्नु आवश्यक रहेको बताए ।  उनले सांसदहरूले उठाएका विषयहरूलाई पाँचवटा मुख्य बुँदामा संश्लेषण गर्दै लगानीको दायरा फराकिलो बनाउन र संस्थागत सुधार गर्न सरकार सकारात्मक रहेको स्पष्ट पारे । आन्तरिक वचत परिचालनको महत्वमा जोड दिँदै उनले भने, ‘हाम्रो राष्ट्रिय वचतले मात्र लगानीको ठूलो खाडल पुर्न सक्दैन, त्यसैले आन्तरिक र वाह्य दुवै स्रोतको परिचालन अपरिहार्य छ । हामी निजी बैंकमा जस्तो हस्तक्षेप गर्दैनौं, तर सरकारको वित्तीय र मौद्रिक नीति कार्यान्वयनका लागि यी संस्थाहरू औजार हुन् ।’ केही सांसदहरूले आन्तरिक वचत पर्याप्त भएको दाबी गरे पनि देशको राजश्व र खर्चको अवस्था हेर्दा ठूलो लगानीको खाँचो रहेको उनले औंल्याए ।  जोखिम व्यवस्थापनका विषयमा सांसदहरूले राखेको चासोलाई उनले गम्भीरतापूर्वक लिएको बताए ।  ‘नाफा निजीकरण र घाटा सामाजिकीकरण’ हुने जोखिमप्रति सचेत रहँदै उनले सार्वजनिक संस्थामा जोखिमपूर्ण लगानीको सीमा तोकिने र स्वार्थ बाझिने अवस्था आउन नदिइने प्रतिवद्धता व्यक्त गरे ।  सरकारको नीति कार्यान्वयनका लागि सार्वजनिक संस्थानहरूमा सरकारको नियन्त्रण र नियमन आवश्यक रहेको भन्दै उनले नियुक्त गरिएका पदाधिकारीहरूलाई उत्तरदायी बनाउन सरकारले विशेष ध्यान दिने पनि बताए । उनले डिजिटल प्रविधिको उपयोग र संस्थागत सुधारका प्रस्तावहरूलाई समेटेर विधेयकलाई थप जिम्मेवारपूर्ण ढङ्गले अगाडि बढाइने प्रतिवद्धतासमेत जनाए ।

एमजी मोटर नेपालको चाडपर्व अफर, गाडी किन्दा ३ लाख रुपैयाँसम्म बचत

काठमाडौं । एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक पारामाउण्ट मोटर्स नेपालले चाडपर्व लक्षित विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘ड्राइभ मोर, सेलिब्रेट मोर’ नामक योजना ल्याएको हो । असोज ६ गतेदेखि छठ पर्वसम्म लागू हुने अफरअन्तर्गत एमजीका विभिन्न मोडलका नयाँ गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन् । साथै, ग्राहकले निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क रोड ट्याक्स, इजी एक्सचेन्ज र इजी फाइनान्सको सुविधा पाउने कम्पनीले जनाएको छ । अफरअन्तर्गत एमजीका विभिन्न हाइब्रिड तथा विद्युतीय मोडल समावेश गरिएको छ । कम्पनीका अनुसार हालै नेपाली बजारमा सार्वजनिक गरिएको एमजी एचएस हाइब्रिड आधुनिक हाइब्रिड प्रविधिसँगै प्रिमियम कम्फर्ट र प्रदर्शनका लागि तयार गरिएको छ । त्यस्तै, एमजी एस५ ईभी क्षमता र बहुउपयोगितालाई ध्यानमा राखेर तयार गरिएको विद्युतीय एसयूभी हो । एमजी ४ मा १८० पीएस मोटर, एडीएएस, इन्डिपेन्डेन्ट रियर सस्पेन्सन तथा ५३० किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीले जनाएको छ । ग्राहकमाझ लोकप्रिय एमजी कमेट ईभी ४३ लाख ९९ हजार रुपैयाँदेखि उपलब्ध रहेको कम्पनीको भनाइ छ । एडीएएस तथा इन्डिपेन्डेन्ट रियर सस्पेन्सनसहित उक्त मोडललाई आफ्नो सेग्मेन्टमा आकर्षक विकल्पका रूपमा प्रस्तुत गरिएको छ । कम्पनीका अनुसार अफरमार्फत ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार विभिन्न हाइब्रिड तथा विद्युतीय गाडीमध्ये उपयुक्त मोडल छनोट गर्न सक्नेछन् । अफरमा सहभागी हुन तथा उपलब्ध मोडल, मूल्य र सुविधाबारे थप जानकारी लिन पारामाउण्ट मोटर्सले ग्राहकलाई नजिकको एमजी शोरुममा सम्पर्क गर्न आग्रह गरेको छ ।

सहुलियतपूर्ण कर्जादेखि कर छुटसम्म माग, अर्थमन्त्रीसँग उद्योग महासंघको छलफल

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्योग (एमएसएमई) क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग माग गरेको छ । महासंघको प्रतिनिधिमण्डलले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी एमएसएमई क्षेत्रको विकासका लागि विभिन्न नीतिगत सुधारका प्रस्ताव पेश गरेको हो । महासंघले आगामी १० वर्षलाई ‘एमएसएमई डेभलपमेन्ट डिकेड’ घोषणा गर्नुपर्ने, सहुलियतपूर्ण तथा बिनाधितो कर्जा उपलब्ध गराउनुपर्ने र नयाँ उद्योगलाई कर सहुलियत दिनुपर्ने प्रस्ताव गरेको छ । त्यस्तै, सार्वजनिक खरिदमा कम्तीमा ३० प्रतिशत स्वदेशी एमएसएमई उत्पादनलाई प्राथमिकता दिनुपर्ने, ‘मेड इन नेपाल’ अभियानलाई प्रभावकारी बनाउनुपर्ने, निर्यात सहजीकरण गर्नुपर्ने तथा आधुनिक प्रविधि भित्र्याउन सरकारी अनुदानको व्यवस्था गर्नुपर्ने महासंघको माग छ । महासंघले महिला तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गरी विशेष उद्यमशीलता प्याकेज ल्याउनुपर्ने प्रस्ताव गरेको छ । साथै, ‘१०० स्टार्टअप–१०० इन्भेष्टर’ कार्यक्रम सञ्चालन र उद्योगसम्बन्धी सरकारी सेवा छिटोछरितो बनाउन ‘फास्ट–ट्रयाक इन्डस्ट्रियल सर्भिस’ लागू गर्न पनि माग गरिएको छ । सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीचको सहकार्यबाट उत्पादन, रोजगारी तथा निर्यात बढाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने महासंघले जनाएको छ । महासंघका प्रस्तावबारे कार्यवाहक प्रधानमन्त्री वाग्लेले एमएसएमई क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताएका थिए ।  बाढीपीडितलाई ५ लाख ५५ हजार सहयोग भेटका क्रममा महासंघले बाढी प्रभावित परिवारको राहतका लागि ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ । महासंघकी अध्यक्ष शोभा गुरुङले उक्त रकम कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरेकी हुन् । सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको महासंघले जनाएको छ । महासंघले बाढीपीडितका लागि आवश्यक सामग्रीसमेत संकलन गरिरहेको र ती सामग्री छिट्टै प्रभावित क्षेत्रमा वितरण गर्ने जनाएको छ । अध्यक्ष गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार वासु गिरी, वरिष्ठ उपाध्यक्ष डम्बरप्रसाद रेग्मी, उपाध्यक्षहरू हरिहर थापा, मोहन कटुवाल, सत्यनारायण प्रजापति, जानकी प्रधान र गुणराज ढकाललगायतको सहभागिता थियो । महासंघकी महिला उद्यमी समितिकी अध्यक्ष रिता अवाल, महासचिव विनोददेव पन्त र कोषाध्यक्ष वीरेन्द्र जत्तिलगायत पनि प्रतिनिधिमण्डलमा सहभागी थिए ।

इरान–अमेरिकाबीच न्युयोर्कमा गोप्य भेटवार्ता

काठमाडौं । न्युयोर्कमा जारी संयुक्त राष्ट्र महासभाको सत्रको बीचमा इरानका प्रतिनिधि र अमेरिकी प्रतिनिधिबीच भेटवार्ता भएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले यस कुराको पुष्टि गरेका हुन् । उनले अमेरिकी पक्षसँगको सम्पर्क कतारको मध्यस्थतामार्फत भएको बताए । इस्माइल बकाईले भने, ‘गत साता इरानले होर्मुज जलडमरूमध्य, क्षेत्रीय सुरक्षा र कूटनीतिबारे आफ्नो धारणा स्पष्ट गरिसकेको थियो । त्यसपछि न्युयोर्कमा रहेको इरानी प्रतिनिधिमण्डलले अमेरिकी पक्षसमक्ष आफ्ना माग स्पष्ट रूपमा राखेको छ ।’ यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी अधिकारी र इरानी प्रतिनिधिमण्डलबीच करिब तीन घण्टासम्म ‘धेरै राम्रो’ बैठक भएको बताएका थिए । यद्यपि, उनले उक्त वार्ता मध्यस्थकर्तामार्फत मात्रै भएको स्पष्ट पारेका थिए । यस बैठकअघि डोनाल्ड ट्रम्पले इरानलाई ‘ध्वस्त’ पार्ने धम्कीसमेत दिएका थिए ।  उनले संयुक्त राष्ट्र महासभामा अमेरिकासँग इरानका सम्बन्धमा दुईवटा विकल्प रहेको बताएका थिए, इरानसँग सम्झौता गर्ने वा इरानलाई समाप्त पार्ने ।

२७ लघुवित्तको खराब कर्जा १० प्रतिशत माथि

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा औसत ९.७८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म ५१ वटा लघुवित्त वित्तीय संस्थाको खराब कर्जा विश्लेषण गर्दा औसत खराब कर्जा अनुपात ९.७९ प्रतिशत देखिएको हो । उपलब्ध विवरणअनुसार सबैभन्दा बढी खराब कर्जा सञ्जीवनी लघुवित्तको रहेको छ । उक्त संस्थाको खराब कर्जा अनुपात १०० प्रतिशत पुगेको छ । त्यसपछि मातृभूमि लघुवित्तको २६.६१ प्रतिशत, स्वस्तिक लघुवित्तको २३.५८ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको २०.६६ प्रतिशत र धौलागिरी लघुवित्तको २०.५२ प्रतिशत खराब कर्जा रहेको छ । त्यस्तै, नेरुडे मिर्मिरे लघुवित्तको खराब कर्जा १९.८६ प्रतिशत, युनिक नेपाल लघुवित्तको १९.४३ प्रतिशत, विजय लघुवित्तको १७.३७ प्रतिशत, मेरो माइक्रोफाइनान्स लघुवित्तको १७.३२ प्रतिशत र जनउत्थान लघुवित्तको १७.१४ प्रतिशत रहेको छ । फरवार्ड लघुवित्तको खराब कर्जा १६.१७ प्रतिशत, वीन नेपाल लघुवित्तको १६.१२ प्रतिशत, नाडेप लघुवित्तको १५.३६ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको १४.०४ प्रतिशत रहेको छ । गणपति लघुवित्तको १३.७९ प्रतिशत, समता घरेलु लघुवित्तको १३.२२ प्रतिशत, एनएमबी लघुवित्तको १३.१० प्रतिशत र इन्फिनिटी लघुवित्तको १२.९२ प्रतिशत खराब कर्जा रहेको छ । राष्ट्र बैंकका अनुसार निर्धन उत्थान लघुवित्तको खराब कर्जा १२.८० प्रतिशत, सूर्योदय वोमी लघुवित्तको १२.५८ प्रतिशत, एनआईसी एसिया लघुवित्तको १२.४० प्रतिशत, लक्ष्मी लघुवित्तको ११.९३ प्रतिशत, सम्पदा लघुवित्तको ११.८७ प्रतिशत र महिला लघुवित्तको ११.३५ प्रतिशत, सृजनशील लघुवित्तको ११.२६ प्रतिशत, स्वाभिमान लघुवित्तको १०.८३ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १०.७८ प्रतिशत खराब कर्जा रहेको छ । यस्तै, उपकार लघुवित्तको ९.९७ प्रतिशत, मिथिला लघुवित्तको ९.८९ प्रतिशत र कालिका लघुवित्तको ९.७८ प्रतिशत, उन्नति सहकार्य लघुवित्तको ९.३९ प्रतिशत, हिमालयन लघुवित्तको ९.०४ प्रतिशत, स्वावलम्बन लघुवित्तको ८.९२ प्रतिशत, ग्लोबल आईएमई लघुवित्तको ८.७० प्रतिशत, मानुषी लघुवित्तको ८.६० प्रतिशत, आशा लघुवित्तको ८.५७ प्रतिशत, अभियान लघुवित्तको खराब कर्जा ७.४१ प्रतिशत, स्वरोजगार लघुवित्तको ६.६५ प्रतिशत, डिप्रोक्स लघुवित्तको ६.४९ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको ६.०१ प्रतिशत खराब कर्जा रहेको राष्ट्र बैंकले जनाएको छ ।  यस्तै, महुली लघुवित्तको ५.८७ प्रतिशत, जीवन विकास लघुवित्तको ५.३३ प्रतिशत, सामुदायिक लघुवित्तको ४.८९ प्रतिशत, ग्रामीण विकास लघुवित्तको ४.८७ प्रतिशत, नेसनल माइक्रोफाइनान्स लघुवित्तको ४.१६ प्रतिशत र आरएसडीसी लघुवित्तको ३.९२ प्रतिशत, सानाकिसान र गुराँस लघुवित्तको खराब कर्जा समान २.९६ प्रतिशत, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको २.८८ प्रतिशत, छिमेक लघुवित्तको २.३० प्रतिशत र सपोर्ट लघुवित्तको २.१६ प्रतिशत खराब कर्जा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।  राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाहरूले निष्क्रिय कर्जालाई कमसल, शंकास्पद र खराब कर्जामा वर्गीकरण गरी क्रमशः २५, ५० र १०० प्रतिशत नोक्सानी व्यवस्था कायम गरेका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सुरक्षित कर्जाको हकमा भने उक्त व्यवस्थाको २५ प्रतिशत नोक्सानी व्यवस्था कायम गरिएको छ । पुनर्संरचना वा पुनर्तालिकीकरण गरिएको कर्जाका लागि समेत राष्ट्र बैंकले तोकेबमोजिम नोक्सानी व्यवस्था कायम गरिएको जनाएको छ । असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जाका लागि कुल कर्जा रकमको ५.७९ प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । सो अवधिसम्म लघुवित्त वित्तीय संस्थाहरूले ३७ अर्ब १९ करोड रुपैयाँ बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेका छन् । उक्त रकम कुल बाँकी कर्जाको ६.९६ प्रतिशत र निष्क्रिय कर्जाको ७१.२० प्रतिशत बराबर रहेको छ । 

अत्यावश्यक बाहेक राति र टाढाको यात्रा नगर्न यातायात व्यवसायी महासंघको अनुरोध

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले असोज ८ देखि १२ गतेसम्म देशभर भारी वर्षा, बाढी र पहिरोको जोखिम रहने पूर्वानुमानलाई ध्यानमा राख्दै सार्वजनिक तथा मालवाहक सवारी सञ्चालनमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । महासंघले बुधबार सूचना जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागले जारी गरेको पूर्वसूचनाका आधारमा सदस्य संघ, समिति, कम्पनी, प्रालि, पर्यटक तथा सहकारी संस्थालाई सेवा सञ्चालनअघि सडक र मौसमको अवस्था अनिवार्य रूपमा जानकारी लिन अनुरोध गरेको हो । महासंघका अनुसार उक्त अवधिमा सार्वजनिक यात्रुवाहक र मालवाहक सवारी सञ्चालन गर्दा स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित निकायसँग समन्वय गरेर मात्रै सेवा सञ्चालन गर्नुपर्नेछ । चालक, सहचालक तथा बुकिङ कर्मचारीलाई पनि सम्भावित जोखिमबारे पूर्वजानकारी गराउन आग्रह गरिएको छ । महासंघले अत्यावश्यक कामबाहेक टाढाको र रातिको यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको छ । साथै जोखिमयुक्त राजमार्ग र सडकमा डोजर, एक्साभेटर, लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्न तथा जिल्ला सुरक्षा समिति, स्थानीय तह र सुरक्षा निकायले जोखिममा रहेका बस्तीका नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि आग्रह गरेको छ । बाढी आउन सक्ने खोला, खहरे, नदी किनार र पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन महासंघले अनुरोध गरेको छ । महासंघले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बल नेपालको हटलाइन १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ । साथै मौसम विज्ञान विभाग र विपद् प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान र चेतावनी नियमित रूपमा हेर्न पनि अनुरोध गरिएको छ ।