सरकारी कार्यालयभित्र बिचौलियालाई रोक
लमजुङ । जिल्लाका सरकारी कार्यालयहरुमा बिचौलियालाई प्रवेश रोक लगाइएको छ । सरकारी कार्यालयमा आएका सेवाग्राहीसँग सहयोगको बहानामा रकम असुली गर्ने र सरकारी कागजपत्र चलाउने बिचौलियालाई कार्यालयभित्र प्रवेश गर्न प्रशासनले रोक लगाएको हो । बिचौलियाले सेवाग्राहीसँग महँगो शुल्क लिँदै दुःख दिने र कार्यकक्षमै पसेर अनधिकृतरुपमा सरकारी कागजपत्र चलाउने गरेको गुनासो बढेपछि उनीहरुलाई कार्यालयभित्र प्रवेश गर्न रोक लगाइएको हो । सेवाग्राहीसँग रकम लिँदै कार्यकक्षमा आउने बिचौलियालाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताए । जिल्लामा विशेषगरी मालपोत, जिल्ला प्रशासनलगायत कार्यालयमा बिचौलियाले सेवाग्राहीलाई दुःख दिएको गुनासो बढेको हो । कुनै पनि सरकारी कार्यालयमा सेवाग्राही आफैँले सहजरुपमा काम गर्न सक्ने र नसकेमा सम्बन्धित कार्यालयका कर्मचारीले नै सहयोग गर्ने प्रबन्ध मिलाएको प्रजिअ ढकालले बताए । रासस
मुलुकको आर्थिक रुपान्तरण हासिल गर्न साना उद्योगको विकासमा जोड
काठमाडौं । नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु नीतिगत प्रष्टताको अभावमा फष्टाउन नसकेको सरोकारवालाहरुले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको राजधानीमा आयोजित २९औं वार्षिकोत्सव समारोहमा उनीहरुले संख्यात्मक हिसाबले पनि कम हुँदै गइरहेका लघु घरेलु तथा साना उद्योगको विकासको पहिलो र अनिवार्य शर्त भनेको नीतिगत स्पष्टता भएकोमा जोड दिए । नीति निर्माण एक जीवन्त प्रक्रिया भएको भन्दै महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले समयक्रममा विकास हुने जटिल अर्थ राजनीतिक परिवेश अनुरुप लघु घरेलु तथा साना उद्योग सम्बन्धि नीतिहरु थप प्रष्ट एवम नियमित रुपमा परिमार्जित भई कार्यान्वयनमा आएमा मात्रै यस्ता उद्योगहरु आर्थिक रुपान्तरणको संवाहक हुन सक्ने बताए । मुलुकभर रहेका लघु घरेलु तथा साना उद्योगीहरुको छाता संगठन महासंघ यस्ता उद्योगहरुको हक र हितको संरक्षण र सम्बद्र्धन गर्दै यस क्षेत्रको विकास र प्रवद्र्धन मार्फत मुलुकलाई औद्योकिरणतर्फ उन्मूख गराउने उद्देश्यका साथ २०४७ सालमा स्थापना भई मुलुकभर सञ्जाल विस्तार गरिसकेको उनले बताए । यसका अलावा ५८ जिल्लामा जिल्ला महिला उद्यमी समितिको विस्तार भई ११ हजारभन्दा बढी महिला उद्यमीहरु सदस्य रहेको केन्द्रीय महिला उद्यमी समिति पनि महासंघमा क्रियाशील हेको उनले जानकारी दिएका छन् । झण्डै ३५ हजार उद्यमी साधारण सदस्य रहेको यस महासंघ अन्तर्गत २० वटा वस्तुगत संघहरु संस्थागत सदस्यको रुपमा महासंघमा आबद्ध छन् । औद्योगिक नीति २०६७ ले लघु, घरेलु तथा साना उद्यमीहरुको छांता संस्थाको रुपमा स्वीकार गरेको महासंघले लघु, घरेलु तथा साना उद्योगको विकास, विस्तार र प्रबद्र्धनका लागि नेपाल सरकारसँग सहकार्य गर्दै आईरहेको महासंघका वरिष्ठ उपाध्यक्ष सिंहले बताए । महासंघ सल्लाहकार समितिका सभापति वासुदेव गिरीले लघु घरेलु तथा साना उद्येगहरुको विकासको पहिलो पाटो भनेको लगानी भएको भन्दै वित्तीय संघ संस्था, लघु वित्त, सरकारी आदि जस्ता वित्तीय कारोबार गर्ने संघ संस्था धेरै छन तर तिनीहरूको ध्यान यस्ता उद्योगहरूमा जान नसकेको गुनासो गरेका छन् । राष्ट्रको स्पष्ट लगानी नीति नहुनु, राजनीतिक दलहरूको आर्थिक सम्बद्धिका लागि लगानीको स्पष्ट खाका नहुनु विडम्बना भएको भन्दै उनले भने-‘जबसम्म समग्र मुलुकको आर्थिक क्षेत्रलाई अभिबृद्धि गर्ने सवालमा सबै राजनीतिक दल एवम सरोकावालाको साझा राष्ट्रको औद्योगिक नीति, लगानी नीति बन्दैन तबसम्म आर्थिक रुपान्तरण भन्ने कुरा कुरामै सीमित रहन्छ ।’ बिहीबारदेखि २८ वर्ष पूरा गरी २९ औं वर्षमा प्रवेश गरेको महासंघले वार्षिकोत्सवकै अवसरमा ‘उत्पादनमूलक लघु, घरेलु तथा साना उद्योग सम्बन्धी नियामक व्यवस्था र नीतिगत सुधारका आवश्यकताहरु’ विषयक अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरेको थियो । विभिन्न उद्योग प्रतिष्ठानहरु यस महासंघका एसोसियट र सहकारी मार्फत संचालित उद्योगहरु महासंघ अन्तर्गत सदस्य रहेका छन् । देशैभर रहेका महासंघका प्रदेश तथा जिल्लास्तरीय संघहरुले पनि विविध कार्यक्रम गरी स्थापना दिवस भव्य रुपमा मनाएका छन् ।
दिगो शहरीले युरो ४ मापदण्डको १७ वटा बस असार १ गतेदेखि सञ्चालनमा ल्याउने
काठमाडौं । दिगो शहरी यातायातले असार १ गतेदेखि १७ ठूला बस सञ्चालन गर्ने भएको छ । यातायातले ३५ वटा टेम्पो र ३६ माइक्रोबसलाई विस्थापित गर्दै १७ वटा बस सञ्चालनमा ल्याउन लागेको हो । यातायातले सञ्चालनमा ल्याउने १० वटा बस काठमाडौं आइपुगिसकेको यातायातका सचिव लालप्रसाद गुराँगाईले बताए । उनका अनुसार बसमा अहिले प्राविधिक जडानको काम भैरहेको छ । असार १ बाट १० वटा बसहरु गर्ने र बाँकी ७ वटा बस असार ७८ गतेबाट सुरु गर्ने गुराँगाइले जानकारी दिए । यातायातले युरो ४ मापदण्डको बस ल्याउन सिप्रदी ट्रेडिङ कम्पनीलाई जिम्मा दिएको थियो । यातायातका अनुसार अहिले बस पार्किङ गर्ने डिपो निर्माण भैसकेको छ । बसको लागि आवश्यक पर्ने चालक र सहचालकको पनि व्यवस्था भैरहेको छ । यातायातले महिला चालक र सहचालक सेवा दिने जनाए पनि अहिलेसम्म ४ जना मात्रै महिला सहचालकको व्यवस्था भएको सचिव गुरागाँइले जानकारी दिए । बस खरिद गर्न प्रालीले १० करोड रुपैंया खर्च गरेको छ । खरिदका लागि नगर विकास कोषले ८० प्रतिशत ऋण दिएको छ भने एसियाली विकास बैंकले १५ प्रतिशत अनुदान दिएको छ । बाँकी ५ प्रतिशत दिगो सार्वजनिक यातायात प्रालीको लगानी रहेको छ । प्रालिले ५० लाख रुपैंया जम्मा गरेर नगर विकास कोषसँग ऋण सम्झौता गरेको हो । आयोजनाले पाइलट प्रोजेक्टका रुपमा अघि सारेको यो रुटलाई एस ५ नाम दिएको छ । बसमा यस्तो सुविधा हुनेछ ५० यात्रु क्षमताको बसमा २४ वटा पेसेन्जर सिट, एउटा व्हिल च्यर बेस रहनेछ । बसमा जडान गरिएको एक विशेष प्रकारको मेसिनले सबै बसमा एकै पटक सञ्चार प्रभाव गर्न सक्दछ । कुनै कारण बस गुडिरहेको बाटो अवरुद्ध भएमा कार्यालयबाटै सवारीलाई रुट परिवर्तन गर्न निर्देशन दिनेछ । बसहरुमा लोकेशन पत्ता लगाउने जिपिआरएस, सिसिटिभी, ट्राफिक सेन्सर जडान गरिएका हुनेछन् । बस गुड्ने रुट ५० यात्रु क्षमताका बस मात्रै गुड्ने रुट सिनामंगल-पुरानो बानेश्वर-मैतीदेवि-डिल्लीबजार-रत्नपार्क-लैनचौर-सामाखुसी-गंगबु हुँदै नयाँ बसपार्कसम्म सञ्चालन हुनेछ । यो रुट १०.२ किलोमिटरको हुनेछ । पुनः सोही बस नयाँ बसपार्कबाट गंगम्बु-गल्कोपाखा-लैनचौर-जमल-तिनधारा-कमलपोखरी-ज्ञानेश्वर-मैतीदेवि-पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८.९ किलोमिटरको हुनेछ । यो रुटको रत्नपार्क-लैनचौर-बसपार्क खण्डमा हाल २६ वटा माइक्रो सञ्चालनमा रहेका छन भने सिनामंगल-पुरानो बानेश्वर-रत्नपार्क खण्डमा ३५ वटा टेम्पो सञ्चालनमा छन् । सो रुटमा चलिरहेको ३५ वटा टेम्पो र ३६ वटा माइक्रो बसलाई प्रालीले पहिचान गरेको ६४ रुट मध्येको ‘सी’ ग्रेडका रुटहरुमा स्थानान्तरण गरिनेछ । यस्तो छ प्रालिले पहिचान गरेको रुट एडिबीसँगको सहकार्यमा प्रालीले उपत्यकामा ए, बी र सी ग्रेड गरि ६४ वटा रुट पहिचान गरेको छ । १० मिटरभन्दा चौडा सडक भएको र दैनिक एक लाख यात्रु आवतजावत गर्ने सडकलाई ए ग्रेडमा राखिएको छ । त्यस्तै, ६ मिटरदेखि १० मिटरसम्म चौडाई भएको र ५० हजारदेखि एक लाखसम्म यात्रु आवातजावत गर्ने सडकलाई बी ग्रेडमा राखिएको छ । ६ मिटर भन्दा कम चौडाई भएका साना गल्लीहरुलाई भने सी ग्रेडको सडकमा वर्गिकरण गरिएको छ । ‘ए’ ग्रेडमा ठुला बस, ‘बी’ ग्रेडमा मझौला बस र ‘सी’ ग्रेडका सडकमा साना सवारी साधन सञ्चालन गर्ने तयारीका साथ योजनाले ६४ वटा सडकको तथ्यांक निकालेको हो । त्यसमा ६ वटा ए ग्रेडका रुट, १६ वटा बी ग्रेड र ४२ वटा सी ग्रेडका सडक छनौट गरिएका छन् ।
राजश्व सचिव ढुङानाले भने : मदिरा उद्योगलाई राज्यले प्रोत्साहन गर्दैन, कर संकलनको साधन मात्र बनाएको हो
काठमाडौं । सरकारले बढी कर बुझाउन मदिरा उद्योगलाई प्रोत्साहन नगर्ने भएको छ । मदिरा उद्योग राज्यको नियन्त्रणमा रहेकाले प्रोत्साहन आवश्यक नरहेको अर्थ मन्त्रालयका राजश्व सचिव शिशीरकुमार ढुङानाले बताए । “मदिरा राज्यले नियन्त्रण गर्नुपर्ने उद्योग हो । साह्रो खुला गर्नुपर्ने नभएकाले यसलाई नियन्त्रणमा राखेको छ” उनले भने “राज्यले मदिरा उद्योगलाई साह्रै प्रोत्साहन गर्दैन र गरेको पनि छैन् । राजश्व संकलनको साधन मात्र बनाएको छ ।” अझै केही वर्ष राज्यको राजश्व संकलनको साधन मदिरा उद्योग हुने उनले स्पष्टपारे । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल उद्योग परिसंघले आयोजना गरेको बजेटपछिको छलफललाई सम्बोधन गर्दै उनले राज्यको प्रथामिकतामा मदिरा उद्योग नपर्ने बताएका हुन् । उनले भने “युपीका आधारमा कर लगाएका छौ, करको दर पनि बढाउदै छौ ।” यो वर्ष स्वास्थ्य जोखिम कर नलगाएको उनले जानकारी दिए । मदिराको कार्यविधी बनाएर अघि बढ्ने तयारी भएको उनले सुनाए । कार्यविधिमा उद्योगीको सुझव पनि समेट्ने उनकाे भनाई छ । सो अवसरमा राजश्व सचिव ढुङानाले नक्कली भ्याट बिल दिनेलाई मात्र हैन अब लिनेलाई पनि कार्वाही गर्ने जानकारी दिए ।
अर्थमन्त्री खतिवडाले भने: सेयर बजार अपत्यारिलो व्यक्तिले चलाएको जस्तो
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार अपत्यारिलो व्यक्तिले चलाएको जस्तो देखिएको टिप्पणी गरेका छन् । लगानीकर्ताले समयमा सही सूचना नपाउँदा समस्यामा परेको बताउँदै उनले सेयर बजार अपत्यारिलो व्यक्तिले चलाएको जस्तो देखिएको बताएका हुन् । उनले लगानीकर्ताबीच सेयर बजारका बारेमा सही सुचना प्रवाह नभएको दावी गरे । नेपाल धितोपत्र बोर्डको रजत जयन्तीलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो अवस्थामा नियामक सचेत हुनु पर्ने सुझाए । नियामक निकायले राम्रो नियमन गर्न सकेन भने त्यो भन्दा माथि मन्त्रालय रहेको जानकारी दिँदै काम गर्न नसके बोर्डको नेतृत्वलाई कारवाही गर्न सक्ने खतिवडाले चेतावनी दिए । उनले सरकार सेयर बजारबाट पुँजीको विकास गर्न लागिरहेको बताउँदै ऋणपत्र पनि पुँजीबजारमा प्रवेश गराउनु पर्ने विचार व्यक्त गरे । ऋणपत्र कारोबारले पुँजीबजार बढ्ने उनको तर्क छ । आफु स्थिर पुँजीबजारको पक्षमा रहेको जिकिर गर्दै अर्थमन्त्रीले भने “ राष्ट्रिय पुँजीको निर्माण गर्ने क्षेत्र सेयर बजार हो ।” दीर्घकालिन प्रकृतिका ऋणपत्रमा लगानी गर्न अर्थमन्त्री खतिवडाले बैंकहरुलाई अनुरोध गरेका छन् । पुँजी बजारका बारेमा बोल्दा समस्या हुने गरेको गुनासो गर्दै उनले भने “बोल्दा पनि सुख छैन नबोल्दा पनि सुख छैन ।”
आगामी वर्ष राजश्व वृद्धि २९.४५ प्रतिशत हुने, ९ खर्ब ४५ अर्ब संकलन गर्ने लक्ष्य
काठमाडौं । आगामी आर्थिक वर्षमा सरकारले राजश्व संकलन २९.४५ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ । आगामी आवमा सरकारले कुल ९ खर्ब ४५ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । केन्द्रमा ९ खर्ब ४५ अर्ब रुपैयाँ राजश्व संकलन गरिने अर्थ मन्त्रालयका राजश्व सचिव शिशीरकुमार ढुङानाले बताए । यो चालु आवको भन्दा २ खर्ब १५ अर्ब रुपैयाँ बढी हो । यसमध्ये केन्द्रले ८ खर्ब ३१ अर्ब ३१ करोड रुपैयाँ परिचालन गर्ने छ । १ खर्ब १४ अर्ब विभाजित कोषबाट वितरण हुने छ । केन्द्रबाट जग्गा राजिष्ट्रेशन, सवारी कर र घरबहाल कर प्रदेश र स्थानीय सरकारमा झरेको छ । केही गैरकर गरी प्रदेश र स्थानीय सरकारमा ५० अर्ब रुपैयाँको राजश्व आधार पुगेको उनले जानकारी दिए । चालु आवमा सरकारले ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य लिएको थियो । संशोधित अनुमान अनुसार ७ खर्ब २८ अर्ब रुपैयाँ मात्र संकलन हुनेछ ।
बंगलादेश वा हङकको कम्पनीले प्रमाणिकरण गर्नसाथ अनलाईन सेयर कारोबार हुन्छ : राजश्वसचिव ढुङाना
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा अनलाइन ट्रेड्रिको काम अन्तिम चरणमा पुगेको छ । नेप्सेको अटोमेसन सकिएकाले अनलाईन ट्रेडिङको काममा ढिलाइ नहुने अर्थ मन्त्रालयका राजश्व सचिव शिशीरकुमार ढुङानाले बताए ।बंगलादेश र हङकङ मध्ये कुनै एक मुलुकको परामर्शदाता कम्पनीले अटोमेसनको एक्रडिसन गरेपछि अनलाइन सेयर कारोबार सुरु हुने उनले जानकारी दिए । नेप्सेले अनलाइन सेयर ट्रेडिङ प्रणालीको परीक्षण गर्न कम्पनी नियुक्तिको काम सुरु गरिसकेको छ । नेप्सेले वाइको कम्पनीले तयार पारेको अनलाईन सेयर कारोबारको परीक्षण, समस्या समधान र प्रमाणिकरणका लागि नयाँ कम्पनी नियुक्तिको प्रक्रिया अघि बढाएको हो । वाइकोले अनलाइन सेयर ट्रेडिङको प्रविधि जडान गरिसकको उनले बताए । साउनदेखि पुर्ण रुपमा सेयर कारोबार अनलाइनमार्फत गराउने नेप्सेको तयारी छ । अनलाइनमार्फत हुने भएपछि लगानीकर्ता सेयर किन्न र बेच्नका लागि ब्रोकर कार्यालय धाउनु पर्ने अवस्थाको अन्त्य हुनेछ । अनलाइन कारोबार सुरु भएपछि लगानीकर्ताले सम्बन्धित ब्रोकर कम्पनीमा नगइ घर वा कार्यलयबाट आफनो कम्प्युटर, ल्यापटप र मोबाइलबाट सेयर खरिद बिक्रीको अर्डर गर्ने सक्ने छन् ।
माथिल्लो तामाकोसीको आईपीओ असार १५ भित्रै, पहिलो चरणमा स्थानीयलाई १ अर्ब ६ करोड निष्कासन हुने
काठमाडौं । निर्माणधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) असार १५ गतेसम्म निष्कासन हुने भएको छ । कम्पनी रजिष्टारको कार्यलयले विवरणपत्र स्वीकृत गरेपछि प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको हो । ढिलोमा असार १५ सम्म आब्हानपत्र संकलनको काम सुरु हुने तामाकोसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले बताए । धितोपत्र बोर्डले बिहीबार आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्ने उनले जानकारी दिए । स्थानीयबासिन्दाको आईपीओ बाँडफाँड भएपछि सर्वसाधारणलाई निष्कासन गर्ने उनले जानकारी दिए । श्रेष्ठका अनुसार सर्वसाधारणलाई आईपीओ निष्कासन साउन अन्तिमसम्म पुग्न सक्ने छ । सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । स्थानीय र सर्वसाधारण गरी माथिल्लो तामाकोसीले २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने छ । यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता सेयर निष्कासन गरी ०७२ जेठ २९ गते बाँडफाँड भइसकेको छ । तामाकोसीमा कर्मचारी संचय कोष, नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषको लगानी छ । ४५६ मेगावाटको सो आयोजना १ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनाको ९६ प्रतिशत काम सकिएको छ । अब ४ प्रतिशत मात्र बाँकी रहेको श्रेष्ठले बताए । आयोजनाको जडित क्षमता ४५६ मेगावाट छ ।