
काठमाडौं । आगामी आर्थिक वर्षमा सरकारले राजश्व संकलन २९.४५ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ । आगामी आवमा सरकारले कुल ९ खर्ब ४५ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।
केन्द्रमा ९ खर्ब ४५ अर्ब रुपैयाँ राजश्व संकलन गरिने अर्थ मन्त्रालयका राजश्व सचिव शिशीरकुमार ढुङानाले बताए । यो चालु आवको भन्दा २ खर्ब १५ अर्ब रुपैयाँ बढी हो ।
यसमध्ये केन्द्रले ८ खर्ब ३१ अर्ब ३१ करोड रुपैयाँ परिचालन गर्ने छ । १ खर्ब १४ अर्ब विभाजित कोषबाट वितरण हुने छ । केन्द्रबाट जग्गा राजिष्ट्रेशन, सवारी कर र घरबहाल कर प्रदेश र स्थानीय सरकारमा झरेको छ । केही गैरकर गरी प्रदेश र स्थानीय सरकारमा ५० अर्ब रुपैयाँको राजश्व आधार पुगेको उनले जानकारी दिए ।
चालु आवमा सरकारले ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य लिएको थियो । संशोधित अनुमान अनुसार ७ खर्ब २८ अर्ब रुपैयाँ मात्र संकलन हुनेछ ।