सूर्य नेपालले पायाे ५० हजार पुरस्कारसहितकाे प्रमाणपत्र
काठमाडौं । वातावरण संरक्षणमा बाराको सूर्या नेपाल प्रालि प्रथम भएको छ। वातावरण संरक्षणमा प्रथम स्थानमा रहन सफल रहेको भन्दै उक्त कम्पनीलाई विश्व वातावरण दिवसको अवसरमा प्रमाणपत्र प्रदान गरिएको छ। मंगलबार विश्व वातावरण दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सूर्या नेपाललाई ५० हजार पुरस्कार सहितको प्रमाणपत्र प्रदान गरेको हो। बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा संचालनमा रहेको सूर्या नेपाललाई वातावरण संरक्षणमा योगदान पुर्याएको भन्दै वन तथा वातावरण संरक्षण मन्त्री शक्ति बहादुर बस्नेत, वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीको हस्ताक्षर रहेको प्रमाण पत्र प्रदान गरिएको छ। वीरगन्ज पथलैया औद्योगिक करिडोरमा प्रदूषण फैलियो भनेर गुनासोहरु आउने गरेकोमा उक्त क्षेत्रमा नै वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको सूर्या नेपाललाई वन तथा वातावरण मन्त्रालयबाटै प्रमाणपत्र प्रदान गरिनु सकारात्मक रहेको र यसले अन्य उद्योग कलकारखानाहरुलाई पनि वातावरण स्वच्छ राख्न प्रेरित गर्ने वीरगन्ज उद्योग वाणिज्य संघका मनोज उपाध्यायले बताए। उनले सूर्या नेपालले नेपालको अर्थतन्त्रमा पनि उक्तिकै योगदान दिएको र उत्पादन गर्ने क्रममा वातावरण पनि संरक्षण गरेकोमा प्रमाणपत्र प्रदान गरिएको जनाएको छ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई ग्राण्डी हस्पिटलमा विशेष छुट
काठमाडौं । ग्लोबल आइएमई बैंक र ग्राण्डी ईन्टरनेशनल हस्पिटलबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख गणेश अवस्थी र ग्राण्डी ईन्टरनेशनल हस्पिटलका बजार व्यवस्थापन एंव व्यवसाय विकास प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात ग्राण्डी ईन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट/क्रेडिट कार्ड लिएका बैैंकका ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ७.५ प्रतिशत छुट पाउने छन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।
अवरुद्ध उत्तर-दक्षिण लोकमार्ग निर्माणकाे काम पुनः शुरु, ३६ करोडको लागत
ताप्लेजुङ । स्थानीयवासीको अवरोधका कारण २४ दिनदेखि रोकिएको उत्तर-दक्षिण लोकमार्ग आयोजनाअन्तर्गतको सडक निर्माण कार्य आजदेखि पुनः शुरु भएको छ । निर्माणका क्रममा फक्ताङ्लुङ गाउँपालिका-६ लेलेपका केही स्थानीयवासीले अवरोध गरेका कारण जेठ १ गतेदेखि आयोजनाको निर्माणको कार्य रोकिएको थियो । स्थानीयवासी, ठेकेदार एलाइट कम्पनी र सडक आयोजनाका प्रतिनिधिबीच दुई दिनसम्म चलेको छलफलपछि निर्माण शुरु गरिएको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङले जानकारी दिए । उनका अनुसार दुई दिनसम्म चलेको छलफलपछि लोकमार्गलाई बस्ती हुँदै अघि बढाउने सहमति बनेपछि निर्माण शुरु भएको होे । यसअघि बस्तीको दायाँतर्फको माथिल्लो भागबाट निर्माण अघि बढाइएको थियो । आयोजनाको निर्माण लेलेपमा पुगेपछि निर्माण पक्षले बस्तीबाट नै अघि बढाउने तयारी गरेका समयमा भने बस्ती जोगाइदिन भन्दै निवेदन गरेका थिए । सोही समयमा पनि छलफल गरी बस्तीको माथिल्लो भागबाट बाटो लैजाने सहमति भएको थियो । सहमतिअनुसार नै बाटो सर्वेक्षण गरी निर्माण शुरु हुन थालेपछि पुनः बस्तीबाटै लैजानु पर्ने माग राखी स्थानीयवासीले अवरोध गरेका थिए । सो क्षेत्रमा तीनवटा मेसिन लगाएर निर्माणको कार्य तीव्र बनाइएको छ । रु ३६ करोडको लागतमा निर्माणको जिम्मा पाएको एलाइट कम्पनीले निर्धारित समयमा नै काम सक्ने गरी तीनवटा मेसिन लगाएर काम अघि बढाइरहेको हो । एलाइटले तापेथोकदेखि ओलाङ्चुङ्गोलासम्मको मार्ग खोल्ने जिम्मा पाएको हो । ओलाङ्चुङ्गोलामा सडक जोडिन अब झण्डै ३२ किलोमिटरमात्र बाँकी रहेको आयोजनाले जनाएको छ । रासस
नारायणगढ-मुग्लिन सडकः दुई नम्बर सडकखण्ड
नारायणगढ-मुग्लिन सडकको कालोपत्रे कार्य सम्पन्न भएको दुई नम्बर सडकखण्ड । रासस (तस्बिर नारायण अधिकारी, चितवन)
१३ जिल्लामा १० वर्षपछि पेट्रोलबाट चल्न सवारी निषेध गरिने
काठमाडौं । प्रदेश नम्बर ३ को १३ जिल्लामा पेट्रोलबाट चल्ने सबै सवारी निषेध गरिने भएको छ । प्रदेश ३ ले निति तथा कार्यक्रममा पेट्रोलबाट चल्ने सवारी हटाउने विषयलाई समेट्दै पारित गरेको हो । पेट्रोलबाट चल्ने सवारीको संख्या बढ्दै जादाँ ट्राफिक जाम वातावरण प्रदुषण लगायतको समस्या बढ्दै गएको भन्दै प्रदेश ३ ले सबै जिल्लाहरुमा पेट्रोलबाट चल्ने सवारी निषेध गर्न लागेको हो । प्रदेश नं ३ को विहीबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७५र ०७६ को नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । बैठकमा प्रदेशसभा सदस्य प्रभात तामाङ, सन्तबहादुर प्रजा, बिजुला बर्मा, विजया केसी र रीता माझीले छुट्टाछुट्टै राखेको संशोधन प्रस्तावलाई बैठकले अस्वीकृत गरेको थियो । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले नीति कार्यक्रममाथि प्रदेशसभाका सदस्यले उठाउनुभएको जिज्ञासा र प्रश्नको जवाफ दिँदै प्रदेश नं ३ मा निजी क्षेत्र र सरकारको साझेदारीमा १०० मेगावाट विद्युत् उत्पादन गर्ने रणनीतिका साथ सरकारले लगानीको वातावरण तयार गरी कार्यान्वयन गर्ने बताए । मुख्यमन्त्री पौडेलले रसुवाको हिमाली क्षेत्र लाङ्टाङलगायत पर्यटकीय क्षेत्रको विकास र रेडपाण्डाको अनुसन्धान, सम्बद्र्धन गर्ने एवं वातावरणमा स्वच्छता ल्याउने कार्यमा योगदान गर्नुभएका डा प्रल्हाद योञ्जनलाई सम्मान गर्न स्याफ्रुबेसीदेखि लाङ्टाङ उपत्यकाको क्याङजिङ पदयात्रा मार्गलाई डा प्रह्लाद योञ्जन रेड पाण्डा पदयात्रा मार्ग नामकरण गरिएको जानकारी दिए । यसैगरी उनले प्रदेश नं ३ मा उत्पादनमूलक रोजगारी दिलाउन सरकारले सहकारीबाट सञ्चालन हुँदै आएको आर्थिक गतिविधिलाई अब घरेलु उद्योग तथा मझौला उद्योग स्थापना र विस्तारमा पनि जोडी लागु गर्ने नीति रहेको स्पष्ट पारे । मुख्यमन्त्री पौडेलले आगामी २०८५ साल वैशाख १ गतेसम्म काठमाडौं उपत्यकालगायत चितवन, मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रसुवा क्षेत्रमा हल्का सवारी साधनको चाप बढ्दै जाँदा पैदल यात्रुलाई आगमनमा कठिनाइ भएकाे बताए । ती क्षेत्रमा पेट्रोलबाट चल्ने हल्का एवं हेभी सवारी साधनलाई निषेध गर्ने र विद्युतीय सवारी साधानलाई उच्च प्राथमिकताका साथ सञ्चालनमा ल्याउने सरकारको प्रमुख योजना रहेको पाैडेलले बताए । प्रदेशसभाको अर्को बैठक जेठ ३० गते अपराह्न २ बजे बस्नेछ । रासस
कुलेखानी दोश्रोको जनेरेटरमा समस्या, १६ मेगावाट विद्युत उत्पादन बन्द
काठमाडौ । ३२ मेगावाट जडित क्षमताको कुलेखानी दोश्रो जलविद्युत केन्द्रको एउटा युनिट (१६ मेगावाट)को जेनेरेटरमा समस्या देखिएको छ । युनिट दुईको जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’मा समस्या देखिएपछि २० जेठदेखि केन्द्रबाट १६ मेगावाट विद्युत उत्पादन बन्द छ । ‘स्टेटर वाइन्डिङ’को मर्मत गर्नुपर्ने भएकाले कुलेखानी पहिलो र दोश्रो जलविद्युत केन्द्रबाट ४६ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको छ भने ४६ मेगावाट बन्द छ । कुलेखानी दोस्रोको एउटा युनिट बन्द भएको अवस्थामा पहिलोलाई ६० मेगावाटमा चलाउँदा जलाशयको पानी खेर जाने भएकाले पहिलो पनि ३० मेगावाटमा मात्रै सञ्चालन गरिएको छ । कुलेखानी पहिलोबाट विद्युत उत्पादन गरी निक्लिएको पानीबाट दोश्रो विद्युत गृह सञ्चालन हुन्छ । कुलेखानीलाई अन्य विद्युत केन्द्रजस्तो २४ सै घण्टा चलाइँदैन । विद्युतको माग बढेका बेला आवश्यकताका आधारमा मात्रै सञ्चालन गरिन्छ । कुलेखानी पहिलोमा ३०/३० मेगावाटका दुईवटा र दोश्रोमा १६/१६ मेगावाटका दुईवटा टर्बाइन छन् । अहिले दुवै विद्युत गृहका एउटा/एउटा मात्रै टर्बाइन चलाइएको प्राधिकरणले जनाएको छ । वर्खा लागेसँगै खोला तथा नदीमा पानीको वहाव बढेकाले नदी प्रवाहमा आधारित (रन अफ रिभर) जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बढेको छ । यसले गर्दा कुलेखानीबाट ४६ मेगावाट उत्पादन बन्द हुँदासमेत पिक समयको विद्युत माग र आपूर्ति व्यवस्थापन गर्न सहज भई लोडसेडिङ गर्नु नपरेको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत सोमबार कुलेखानी दोश्रो विद्युत केन्द्रको स्थलगत निरीक्षण गरी मर्मतका लागि उपकरण आपूर्तिकर्ता कम्पनीलाई तत्काल बोलाउन केन्द्र प्रमुखलाई निर्देशन दिएका थिए । उनले त्यहींबाट आपूर्तिकर्ता कम्पनीका नेपाल प्रतिनिधिलाई समेत फोन गरी प्राविधिकलाई तत्काल आउने व्यवस्थाका लागि पहल गर्न निर्देशन दिए । केन्द्रका प्रमुख आभाष ओझाले मर्मतका लागि उपकरण आपूर्तिकर्ता फुजी इलेक्ट्रिक कम्पनी जापानका प्राविधिक आगामी सोमबार आइपुग्ने जानकारी दिए । त्यसपछि मात्रै मर्मतका लागि लाग्ने समय यकिन हुने उनले बताए । ‘हाम्रो अध्ययबाट मर्मत छिट्टै हुन सक्ने देखिएको छ तर कति समय लाग्छ कम्पनीका प्राविधिक आएपछि मात्रै भन्न सकिन्छ’, उनले भने,‘मर्मत छिट्टो सक्ने प्रयास गरिरहेका छौं ।’
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो रोक्ने काम तीव्र गतिमा
चितवन । नारायणगढ-मुग्लिन सडकको विस्तारका क्रममा कालोपत्रेको पहिलो तह सकिएसँगै पहिरो रोक्ने कार्यलाई तीव्रता दिइएको छ । सडक राम्रो बन्दै गर्दा भित्तातर्फबाट पहिरो खस्ने जोखिम जारी नै रहेकाले पहिरो रोक्ने कार्यलाई तीव्र गतिमा अघि बढाइएको हो । चैत अन्तिम साता सडकलाई दुई भागमा विभाजन गरेर दुई कम्पनीलाई पहिरो रोक्न गर्नुपर्ने कार्यको जिम्मा दिइएको छ । नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इ शिव खनालका अनुसार दाशढुङ्गादेखि चोर खोलासम्म न्यू टेक्निकल हाइहिमालयन जेभीलाई ६ करोड रुपैयाँमा ठेक्का दिइएको छ । चोरखोलादेखि मुग्लिनसम्म न्यू टेक्निकल हाई हिमालय हिमसगरमाथा जेभीलाई आठ करोड रुपैयाँमा पहिरो खस्नबाट रोक्न गर्नुपर्ने कार्य गर्ने गरी जिम्मा दिइएको छ । आयोजनाका अनुसार हालसम्म हाई हिमालयले ३१ प्रतिशत र हिम सगरमाथाले ४५ प्रतिशत काम सम्पन्न गरेका छन् । हिम सगरमाथाका कन्ट्र्याक्ट म्यानेजर जीवनप्रसाद तिवारीका अनुसार दुई खण्डको गरी काम गर्नुपर्ने ३२ ठाउँमा झर्न लागेका माटाका ढिस्का, ढुङ्गा, चट्टान झार्ने काम सम्पन्न भएको छ । हाल विभिन्न ठाउँमा पाइपको स्काई फोल्डिङ बनाएर ढुङ्गालाई ड्रिल गरेर भिरमा अर्को ढुङ्गामा अड्याउने रक बोल्ट्रिङ र भिरबाट ढुङ्गा, माटो झर्न नदिन ड्रिल गरेर जाली अड्याउने रक नेटिङको कार्य भइरहेको छ । असार मसान्तसम्ममा काम सक्ने गरी तीव्र गतिमा काम भइरहेको आयोजनाले जनाएको छ । नारायणगढ-मुग्लिन सडक आयोजनाका परामर्श दाता कम्पनीका सहायक आवासीय इन्जिनियर ज्ञानेन्द्र घिमिरेले पहिरो रोक्ने काम तीव्र गतिमा भइरहेको बताएका छन् । उनले २१५ कामदारले दैनिक काम गरिरहेकाले प्रगति राम्रो भएको बताए । बाटो विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिम रहेका ठाउँमा पहिरो रोक्नका लागि गर्नुपर्ने काम गरिएको हो । सो सडकको ३३.२ किलोमिटर सडकमध्ये १७.१ किलोमिटरमा सडक विस्तारका लागि भित्तो काटिएको छ । ती ठाउँमा चट्टान, साना ढुंगा, माटोको ढिस्को, गेग्रान खस्न सक्ने उच्च जोखिम रहेको छ । ती जोखिममा कमी ल्याउनका लागि दुई वटा ढुंगा जोड्ने रक बोल्टिङ, चट्टान झर्न नदिन संरचना निर्माण गर्ने, सिमेन्ट जोडले फालेर जमाउने सटसिट, ग्याभिन जाली लगाएर पहिरो रोक्ने रक नेटिङ, ढिस्को मिलाउने स्लोप ट्रिमिङ, भित्तोमा कुलो बनाएर पानी तर्काउने फ्रेन्स ड्रेन, बायो इञ्जिनियरिङलगायतका काम भइरहेको छ । रासस
विकास फ्लोर मिललाई ‘उत्कृष्ट स्वच्छ र गुणस्तरीय खाद्य उद्योग’ अवार्ड प्रदान
काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी बिकास फ्लोर मिल प्रालिलाई ‘उत्कृष्ट स्वच्छ र गुणस्तरीय खाद्य उद्योग’ अवार्ड प्रदान गरिएको छ । १०औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस, २०७५ को अवसर पारेर कृषी, भुमी ब्यबस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको खाद्य प्रबिधी तथा गुणनियन्त्रण बिभागले सम्मान गरेको छ । ग्रुपद्धारा उत्पादित लोकप्रिय ब्रान्डहरु ज्ञान चक्की आँटा, ज्ञान मैदा, ज्ञान लिटोहरु उत्पादन गर्ने प्रतिष्ठीत कम्पनी बिकास फ्लोर मिल प्रालिले, स्वछ र गुणस्तरिय खाद्य पदार्थहरु उत्पादन गर्दै आएको छ । कम्पनीका उत्पादनहरु मानव स्वाथ्यको लागि निकै उत्कृष्ट रहेको भन्दै नेपाल सरकारले स्वछ र गुणस्तरीय खाद्य पदार्थहरु उत्पादन गर्ने ठुला तथा मझौला उद्योगहरु मध्ये उत्कृष्ट उद्योगको रुपमा बिभागले सम्मान गरेको हो । उक्त अबसरमा दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडले भने ‘विगत ३ दसक देखि हामी नेपाली बजारमा उत्कृष्ट खाद्य बस्तुहरु उत्पादन र बिक्री वितरण गर्दै आएका छौं । हाम्रो मुख्य उद्देश्य भनेकै गुणस्तरीय खाद्य सामग्री उत्पादन गर्दै उपभोक्ताको स्वास्थ्य र स्वादमा सदैब समर्पित हुनु हो ।’