विकासन्युज

एसबिआई बैंकको २५औँ वार्षिकोत्सवमा ४१ जनाले गरे रक्तदान

काठमाडौं । नेपाल एसबिआई बैंकको २५औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् । बैंकको नेपालगन्ज शाखाले नेपालगन्जमा देखिएको रगतको अभाव हटाउन बिहीबार उक्त कार्यक्रमको आयोजना गरेको थियो । रगत अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा बैंकका पश्चिम क्षेत्रीय प्रवन्धक जीवनबाबु सुवेदी र नेपालगन्ज शाखा प्रवन्धक प्रविण भट्टराईले पनि रक्तदान गरेका हुन् । शाखा प्रवन्धक भट्टराईले रक्तदान जीवन दान भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा कर्मचारी र सेवाग्राहीले रक्तदान गरेको बताए । सामाजिक सेवा कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताउँदै उनले आगामी दिनमा पनि सामाजिक दायित्व निर्वाह गर्ने बताए ।

मन्त्रीहरुलाई प्रधानमन्त्रीको प्रश्नः बजेट कार्यान्वयनको योजना के छ, असार १५ भित्रै बुझाउनु

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुलाई बोलाएर सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको योजना मागेका छन् । शुक्रबार सबै मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्यहरु र सबै सचिवहरुलाई बोलाएर बजेट कार्यान्वयनको योजना मागेका हुन् । ‘प्रधानमन्त्रीज्यूले असार १५ गतेभित्रै बजेट कार्यान्वयनको ठोस योजना पेश गर्न सबै मन्त्रालयहरुलाई निर्देशन दिनु भएको छ, मन्त्रालयहरुले समय तालिकासहितको कार्ययोजना पेश गर्नेछन्’, प्रधानमन्त्री ओलीको निर्देशन सुनेर बाहिरीएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले भने । कर्मचारी व्यवस्थापन, कानुन निर्माण, जिम्मेवार निकाय र सहायक निकाय, अनुगमन गर्नुपर्ने सूचकहरुको कार्यायोजना पेश गर्न निर्देशन दिएको डा. खतिवडाले जानकारी दिए । सचिवहरुले आफ्ना मन्त्रालयहरुको बजेट कार्यान्वयनको योजना पेश गर्नेछन् । ती कार्ययोजनाहरुमाथी असार २५ गते पुनः बैठक बसेर प्रधानमन्त्रीले थप निर्देशन दिनेछन् । मन्त्रिहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भनेका थिए–‘अब पुरानै शैलीमा काम गरेर हुनेवाला छैन्, जनतासँग क्षमा माग्ने छुट पनि छैन, त्यसैले नयाँ शैलीले काम गर्नुस’, ओलीले भने । ओलीले बजेट कार्यान्वयनका लागि इन्नोभेटिभ आइडिया अघि सार्न समेत निर्देशन दिएका थिए ।

प्रुडेन्सियल इन्स्योरेन्सको ४१औं शाखा चरिकोटमा

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ४१औं दोलखा जिल्लाको चरिकोटमा खोलेको छ । उक्त शाखाको उद्घाटन कम्पनीका सहायक महाप्रवन्धक उज्ज्वल ढुंगानाले गरेका छन् । कम्पनीले हाल ४१ वटा शाखा कार्यालयहरुबाट मोटर बीमा, अग्नी बीमा, सामुन्द्रिक बीमा, स्वास्थ्य बीमा, बाली तथा पशु बीमा तथा लघु बीमाको सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले हालसम्म १२३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरिसकेको जानकारी दिएको छ ।

हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण आगामी वर्ष हुने

काठमाडौं । हिमालयन ट्राभल मार्ट तेस्रो संस्करण आगामी वर्ष जुन ७ देखि ९ सम्म आयोजना हुने भएको छ । शुक्रबार एक कार्यक्रममा हिमालयन ट्राभल मार्ट २०१८ मूल–आयोजक समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले यस्तो कार्यक्रम निरन्तर आयोजना हुनुपर्ने बताएका छन् । उनले नेपालको पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा बन्दै गएको बताउँदै आगामी संंस्करणको मिति घाेषणा गरेका हुन् । कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दनी लाहे थापाले मार्टमा समापन भएका सम्पूर्ण गतिविधिहरु बारे प्रकाश पारेका छन् । पाटा नेपाल च्याप्टरका अध्यक्षसुनिल शाक्यले हिमालयन ट्राभल मार्टलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिनुपर्ने कुरामा जोड दिएका छन् ।

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्र भएको आरोप

पोखरा । नेपाली काँग्रेस कास्की शाखले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षड्यन्त्र भएको भन्दै प्रदेश सरकार र नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । पार्टीका जिल्लासभापति कृष्ण केसीको नेतृत्वमा गएका पार्टीका नेता तथा कार्यकर्ताको टोलीले प्रदेश न ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङसंग भेटी ज्ञापनपत्र बुझाएको थियो । विमानस्थलको निर्माण कार्य १५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको अवस्थामा विज्ञ समितिको प्रतिवेदनले विमानस्थल उडानका लागि योग्य नरहेको भन्नु यहाँ विमानस्थल बन्न नदिने षड्यन्त्र भएको भन्दै खेद पनि प्रकट गरेको छ । ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा पार्टी सभापति कृष्ण केसीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विज्ञ समितिको प्रतिवेदन दुरासयपूर्ण रहेको र पोखराकै विभागीय मन्त्रीले विमानस्थलका सम्बन्धमा दिएका अभिव्यक्तिले विमानस्थल निर्माणमा चलखेल र कमिसनको खेल त होइन ? भन्ने गम्भीर आशंका उत्पन्न गराएको बताएका छन्। ज्ञापनपत्र बुझ्दै मुख्य मन्त्री गुरुङले उक्त विमानस्थललाई यस प्रदेशको समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिएको बताउँदै सन् २०२१ सम्म विमानस्थल निर्माण गराउने कुरामा प्रदेश सरकार लाग्ने विश्वास दिलाएका छन् । विमानस्थल निर्माण हुन नदिने षड्यन्त्रस्वरुप विज्ञ समूहबाट आएको प्रतिवेदनको विरुद्धमा पोखरा उद्योग वाणिज्य संघले पनि आजै मुख्य मन्त्री गुरुङको ध्यानाकर्षण गराएको थियो । रासस

रक्सौल-वीरगञ्ज हुँदै काठमाडौं आउने रेलमार्गको अध्ययन शुरु

काठमाडौं । रक्सौल-वीरगञ्ज हुँदै काठमाडौं आउने रेलमार्गको प्रारम्भिक अध्ययन शुरु भएको छ । रेलमार्ग अध्ययनको लागि भारतीय टोलीले चोभारस्थित स्टेशनको अध्ययन गरेको हो । भारतीय रेल अध्ययन टोली बिहिबार नै नेपाल आएको रेल विभागका प्रवत्ता प्रकाशभक्त उपाध्यायले बताए । उनका अनुसार शुक्रबार टोलीले चोभारस्थित डिपोको अध्ययन गरेको र शनिबार वीरगञ्जको अध्ययन गर्नेछ । भारतीय टोली शनिबार विरगञ्जको अध्ययन गरी पर्किने उनले जानकारी दिए । नेपालको मन्त्रिस्तरको टोलीले भारतको भ्रमण गरी यस आयोजनालाई थप टुङगोमा पुर्याउने तयारी गरीएको उपाध्यायले बताए । रेलमार्ग निर्माणका लागि रेल विभागले ६ वटा कम्पनीले पेश गरेको आर्थिक र प्राबिधिक प्रस्तावका आधारमा एउटा कम्पनीलाई छान्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । रेल विभागले सम्भाव्यता अध्ययनका लागि आव्हान गरेको ग्लोबल टेण्डरमा १५ कम्पनीले आवेदन दिएका थिए । तीमध्ये ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरेर आर्थिक तथा प्राबिधिक प्रस्ताव मागिएको थियो । ती प्राबिधिक प्रस्तावहरुको अध्ययन गरेर उच्चतम प्रबिधी र न्युनतम आर्थिक प्रस्ताव गर्ने कम्पनीलाई सम्भाव्यता अध्ययनको जिम्मेवारी दिन लागिएको हो ।त्यसरी तयार भएको सम्भाव्यता अध्ययन रिपोर्टकै आधारमा डिपिआर निर्माण र रेल मार्ग निर्माणको काम अघि बढाइनेछ । विभागले २०७३ मंसिर १९ गते काठमाडौं–वीरगञ्ज विद्युतिय रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कम्पनी खोज्न ग्लोबल टेण्डर आव्हान गरेको थियो । विभागले सम्भाव्यता अध्ययनका लागि ७ करोड बजेट विनियोजन गरेको थियो । करिब २ सय किलोमिटर लामो हुने पुर्वानुमान गरिएको काठमाडौं-वीरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययनपछि डीपीआर निर्माण गरिने योजना विभागले बनाएको छ ।

नेपाल बैंकर्स र भारतीय बैंक संघबीच एमओयू, नेपालका बैंकहरुको क्षमता बढ्ने

काठमाडौं । नेपाल बैंकर्स संघ तथा भारतीय बैंक संघबीच एमओयूमा हस्ताक्षर भएको छ । सो सम्झौतामा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा भारतीय बैंक संघका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतासंगै दुई देशका संघहरुबीच आपसी सहकार्य, क्षमता विकास, सुचना प्रदान, अनुसन्धान, आदि क्षेत्रहरुमा कार्य अगाडि बढाउन सहयोग मिल्नेछ । त्यसैगरी, यसले नेपालका बैंकहरुको क्षमता तथा अनुभब अभिवृद्धि गर्न समेत ठूलो मद्दत मिल्ने नेपाल बैंकर्स संघको विश्वास छ । साथै, आगामी दिनमा साउथ एशियन रिजन(क्षेत्र)मा सबै बैकर्स संघहरु बीचमा यसरी नै आपसी समझदारी गर्दै जाने कुरामा समेत सहमति भएको छ ।

सानेपामा सनराइज बैंकको एटिएम

काठमाडौं । सनराइज बैंक लिमिटेडले सानेपाको सिटी भ्यू अपार्टमेन्ट्समा एटिएम संचालनमा ल्याएको छ । सिटी भ्यू एटिएमको उद्घाटन बैंकका संचालक ओमकृष्ण जोशी र सिटी स्केप डेभलपर्सका अध्यक्ष मीनमान श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । हाल बैंकले ८३ वटा शाखा, ९७ वटा एटिएम, २२ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै, मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।