काठमाडौं । दिगो शहरी यातायातले असार १ गतेदेखि १७ ठूला बस सञ्चालन गर्ने भएको छ । यातायातले ३५ वटा टेम्पो र ३६ माइक्रोबसलाई विस्थापित गर्दै १७ वटा बस सञ्चालनमा ल्याउन लागेको हो ।

यातायातले सञ्चालनमा ल्याउने १० वटा बस काठमाडौं आइपुगिसकेको यातायातका सचिव लालप्रसाद गुराँगाईले बताए । उनका अनुसार बसमा अहिले प्राविधिक जडानको काम भैरहेको छ । असार १ बाट १० वटा बसहरु गर्ने र बाँकी ७ वटा बस असार ७८ गतेबाट सुरु गर्ने गुराँगाइले जानकारी दिए ।
यातायातले युरो ४ मापदण्डको बस ल्याउन सिप्रदी ट्रेडिङ कम्पनीलाई जिम्मा दिएको थियो । यातायातका अनुसार अहिले बस पार्किङ गर्ने डिपो निर्माण भैसकेको छ । बसको लागि आवश्यक पर्ने चालक र सहचालकको पनि व्यवस्था भैरहेको छ ।
यातायातले महिला चालक र सहचालक सेवा दिने जनाए पनि अहिलेसम्म ४ जना मात्रै महिला सहचालकको व्यवस्था भएको सचिव गुरागाँइले जानकारी दिए ।
बस खरिद गर्न प्रालीले १० करोड रुपैंया खर्च गरेको छ । खरिदका लागि नगर विकास कोषले ८० प्रतिशत ऋण दिएको छ भने एसियाली विकास बैंकले १५ प्रतिशत अनुदान दिएको छ । बाँकी ५ प्रतिशत दिगो सार्वजनिक यातायात प्रालीको लगानी रहेको छ ।
प्रालिले ५० लाख रुपैंया जम्मा गरेर नगर विकास कोषसँग ऋण सम्झौता गरेको हो । आयोजनाले पाइलट प्रोजेक्टका रुपमा अघि सारेको यो रुटलाई एस ५ नाम दिएको छ ।
बसमा यस्तो सुविधा हुनेछ
५० यात्रु क्षमताको बसमा २४ वटा पेसेन्जर सिट, एउटा व्हिल च्यर बेस रहनेछ । बसमा जडान गरिएको एक विशेष प्रकारको मेसिनले सबै बसमा एकै पटक सञ्चार प्रभाव गर्न सक्दछ । कुनै कारण बस गुडिरहेको बाटो अवरुद्ध भएमा कार्यालयबाटै सवारीलाई रुट परिवर्तन गर्न निर्देशन दिनेछ । बसहरुमा लोकेशन पत्ता लगाउने जिपिआरएस, सिसिटिभी, ट्राफिक सेन्सर जडान गरिएका हुनेछन् ।
बस गुड्ने रुट
५० यात्रु क्षमताका बस मात्रै गुड्ने रुट सिनामंगल-पुरानो बानेश्वर-मैतीदेवि-डिल्लीबजार-रत्नपार्क-लैनचौर-सामाखुसी-गंगबु हुँदै नयाँ बसपार्कसम्म सञ्चालन हुनेछ । यो रुट १०.२ किलोमिटरको हुनेछ ।
पुनः सोही बस नयाँ बसपार्कबाट गंगम्बु-गल्कोपाखा-लैनचौर-जमल-तिनधारा-कमलपोखरी-ज्ञानेश्वर-मैतीदेवि-पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८.९ किलोमिटरको हुनेछ । यो रुटको रत्नपार्क-लैनचौर-बसपार्क खण्डमा हाल २६ वटा माइक्रो सञ्चालनमा रहेका छन भने सिनामंगल-पुरानो बानेश्वर-रत्नपार्क खण्डमा ३५ वटा टेम्पो सञ्चालनमा छन् ।
सो रुटमा चलिरहेको ३५ वटा टेम्पो र ३६ वटा माइक्रो बसलाई प्रालीले पहिचान गरेको ६४ रुट मध्येको ‘सी’ ग्रेडका रुटहरुमा स्थानान्तरण गरिनेछ ।
यस्तो छ प्रालिले पहिचान गरेको रुट
एडिबीसँगको सहकार्यमा प्रालीले उपत्यकामा ए, बी र सी ग्रेड गरि ६४ वटा रुट पहिचान गरेको छ । १० मिटरभन्दा चौडा सडक भएको र दैनिक एक लाख यात्रु आवतजावत गर्ने सडकलाई ए ग्रेडमा राखिएको छ । त्यस्तै, ६ मिटरदेखि १० मिटरसम्म चौडाई भएको र ५० हजारदेखि एक लाखसम्म यात्रु आवातजावत गर्ने सडकलाई बी ग्रेडमा राखिएको छ ।
६ मिटर भन्दा कम चौडाई भएका साना गल्लीहरुलाई भने सी ग्रेडको सडकमा वर्गिकरण गरिएको छ । ‘ए’ ग्रेडमा ठुला बस, ‘बी’ ग्रेडमा मझौला बस र ‘सी’ ग्रेडका सडकमा साना सवारी साधन सञ्चालन गर्ने तयारीका साथ योजनाले ६४ वटा सडकको तथ्यांक निकालेको हो । त्यसमा ६ वटा ए ग्रेडका रुट, १६ वटा बी ग्रेड र ४२ वटा सी ग्रेडका सडक छनौट गरिएका छन् ।