लालबाबु पण्डितको बटमलाइनः निजामति कर्मचारीलाई ५८ बर्षमा अनिवार्य अवकास
काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामति कर्मचारीको उमेर हद ५८ बर्ष नै कायम गराई छाड्ने अडान लिएका छन् । उनले युवा पुस्तालाई निजामति सेवामा आकर्षित गर्न भन्दै ५८ बर्ष उमेर हदबाट दायाँबाया नहुने स्पष्ट पारेका हुन् । हाल मन्त्रालयले संघिय निजामति सेवा ऐन, २०७५ बिधेयकको मस्यौदा कानुन मन्त्रालय पुर्याएको छ । निजामित सेवा ऐन संसोधनबाट डीभीपीआर धारी कर्मचारीहरुलाई निजामति सेवाबाट विदा गरेपछि मन्त्री पण्डितले एकाएक चर्चामा आएका थिए । मन्त्री पण्डितले संघिय ऐनबाट नयाँ पुस्तालाई सेवा प्रवेशका लागि सहज बनाउन भन्दै ५८ बर्षको उमेर सिमा कायम गर्न लागेको बताए । ‘एउटा कर्मचारीले ५८ बर्षको उमेरसम्म सेवा गर्दा आफ्नो शिप र क्षमताले भ्याउने जति सबै काम गर्न सक्छ, त्यसकारण म नयाँ पुस्ताको प्रवेशका पक्षमा छु’, मन्त्री पण्डितले भने । हालसम्म निजमति कर्मचारीको अनिवार्य अवकासको उमेर ५८ बर्ष नै कायम छ भने सेवा अवधी ३० बर्ष गणना भैरहेको छ । नयाँ ऐनले भने ५८ बर्षलाई मात्रै अनिवार्य अवकासको सर्तमा रुपमा अघि सारेको छ । यद्यपी स्वास्थ्य सेवाका कर्मचारीहरुको अनिवार्य अवकासको उमेर भने ६० बर्ष नै प्रस्ताव गरिएको छ । उनले ५८ बर्षे उमेर हद आफ्नो बटम लाइन भएको बताउँदै भने–‘निजामति सेवामा युवा र जाँगरिलो पुस्ताको प्रवेश अनिवार्य भैसकेको छ, २ बर्षसम्म पुरानो पुस्ताको कार्यकाल बढाउन सकिन्न, यो मेरो बटम लाइन हो’, उनले केहि समयभित्रै ऐनको मस्यौदालाई संसदमा प्रवेश गराउने पनि जानकारी दिए । अनिवार्य अवकासको उमेर ६० बर्ष पुर्याउन कर्मचारीहरुले ठूलो दबाव दिईरहेका छन् । तर उनी भने आफ्नो अडान नछाड्ने बताईरहेका छन् । ‘डीभीपीआर धारी कर्मचारीहरुलाई निजामति सेवामा रोक्नुपर्छ भन्दा पनि मेरो ठूलो बिरोध भयो, ठूलै दबावको सामना गरियो, यसपाली पनि दबाव छ तर म पछि हट्दिन’, पण्डितले भने ।
परिसंघ तथा पिएचडी चेम्बरबीच भेट, इण्डीया–नेपाल सेन्टर स्थापनाकाे तयारी
काठमाडौं । परिसंघ तथा भारतको पिएचडी चेम्बर प्रतिनिधिबीच बुधबार परिसंघको सचिवायलमा भेटघाट तथा छलफल भएको छ । छलफलका अवसरमा परिसंघका अध्यक्ष हरिभक्तशर्माले हाल नेपालले स्थिर सरकार प्राप्त गरे पश्चात निजी क्षेत्र तथा लगानीकर्ताको लागि प्रसस्त अवसरहरु प्राप्त भएको बताए । भारत नेपालको छिमेकी तथा ठूलो व्यापारिक साझेदार भएकोले नेपाली निजी क्षेत्रले त्यहाँका लगानीकर्तासँग ठुलै अपेक्षा गरेको उनको भनाइ छ । नेपालको भारतसंगको बढ्दो व्यापार घाटा घटाउन ठुला परियोजनाहरु स्थापना गरी भारत तथा तेश्रो मुलुकतर्फ निर्यात बढाई घाटा कम गर्न भेटमा छलफल भएको छ । यसका लागि परिसंघ, पिएचडि चेम्बर जस्ता संस्थाहरु सहकार्य गरी अगाडि बढ्नु पर्ने धारण दुवै पक्षले राखेका थिए । त्यस्तै भारतले समय–समयमा गैह्र भन्सार अवरोध गर्ने, निर्यात अवरोध लगायतको विषय समेत छलफलमा उठेको थियो । छलफलमा पिएचडि चेम्बरका अध्यक्ष अनिल खेतानले नेपालका लगानीका सम्भावना रहेका प्रमुख क्षेत्रको पहिचान गरी त्यसमा विस्तृत अध्ययन हुनुपर्नेमा जोड दिदै यसमा पिएचडि चेम्बर तथा इण्डीया नेपाल सेन्टरले पहल गर्न सक्ने बताए । पिएचडि चेम्बरले नेपालका लागि भारतीय पूर्व राजदूत केभि राजनल गायतको सहकार्यमा इण्डीया–नेपाल सेन्टरको स्थापनाको पहल गरिरहेको छ ।
हप्ता असुल्ने गुण्डा तथा प्रहरीलाई छोड्दिन –गृहमन्त्री थापा
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले पार्टी प्यालेस र क्याटरिङ व्यवसायमा हप्ता असुली गर्ने गुण्डा तथा प्रहरीलाई सरकारले नछाड्ने बताए । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारणसभा तथा प्रथम महाधिवेशनको आज उद्घाटन गर्दै उनले भ्रष्टाचार, कुशासन र गुण्डाराज अन्त्य नभएसम्म मुलुकको विकास हुन नसक्ने बताए । ‘पार्टी प्यालेस र क्याटरिङ क्षेत्र उद्योग हो, यसको विकास गरेर बेरोजगार युवालाई रोजगार दिनु जरुरी छ’ उनले भने। महासंघका अध्यक्ष अरुणशंकर वैद्यले नेपालमा चार दशकअगाडी स्थापना भएको पार्टी प्यालेस तथा क्याटरिङ हाल नेपालको ४४ जिल्लामा चार हजार हाराहारीमा रहेको जानकारी दिए । महाधिवेशनमा देशभर रहेका व्यवसायीका विभिन्न समस्या तथा उपभोक्तालाई सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा छलफल हुने जनाइएको छ । महाधिवेशनपछि नयाँ कार्यसमिति चुन्ने महासंघमा हाल देशभर ४२ जिल्लाका २०० महाधिवेशन प्रतिनिधिको सहभागिता छ । रासस
महालक्ष्मी विकास बैंकको थप दुई शाखा गोकुलेश्वर र पाटनमा
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले थप दुई शाखा दार्चुलाको गोकुलेश्वर र बैतडीको पाटनमा विस्तार गरेको छ । गोकुलेश्वर शाखाको उद्घाटन शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमरसिंह धामी र पाटन शाखाको उद्घाटन सोही नगरपालिकाका नगरप्रमुख केशबबहादुर चंदले गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिनेका साथै, शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाईरहने प्रतिवद्धता गरेका छन् । हालसम्म बैंकले ७१ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले चैत मसान्तसम्म २५ अर्ब ११ करोड रुपँैया निक्षेप संकलन गरी २१ अर्ब ७७ करोड रुपँैया कर्जा प्रवाह गरेको कम्पनीले बताएको छ ।
प्रदेश नं ५ को नीति तथा कार्यक्रम पारित, असार एक गते बजेट आउने
काठमाडौं । प्रदेश नं ५ को सरकारले ल्याएको नीति तथा कार्यक्रम आज सर्वसम्मत पारित भएको छ । प्रदेश नं ५ प्रदेशसभामा सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए। त्यस्तै प्रदेश नं ५ प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५, प्रदेश कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक, २०७५ पनि सर्वसम्मतिले पारित भएको छ । दुवै विधेयक र नीति कार्यक्रम पारित भएपछि प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । यसअघि मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शङ्कर पोखरेलले दुवै विधेयक र नीति कार्यक्रम प्रदेश सभामा पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रदेश नं ५ प्रदेश कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक, २०७५ प्रस्तुत गर्दै उनले धेरैजसो कर स्थानीय तहले उठाउने व्यवस्था संघीय कानूनले गरेकाले प्रदेश सरकारले स्थानीय तहसँग बलियो सम्बन्ध र सहकार्य गर्नुपर्ने बताए। मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री पोखरेलले स्रोतको परनिर्भरता स्थानीय तहसँग भएको जानकारी दिँदै समन्वय र सहकार्यबाट समृद्धि हासिल गर्न सकिने बताए । उनले भने, ‘विगतका नीति कार्यक्रम र बजेट आवधिक थियो तर यस पटक विस्तृत दृष्टिकोणका साथ हामी अघि बढ्दैछौँ ।’ प्रदेश नं ५ मा आगामी असार १ गते बजेट आउँदैछ । यस्तै नियमावली संशोधन मस्यौदा समितिका अध्यक्ष दामाकुमारी शर्माले प्रदेश सभा नियमावली, २०७४ लाई संशोधन गर्न बनेको नियमावली संशोधन मस्यौदा समितिको प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । रासस
एनएमबि माइक्रोफाइनान्सको एकदिने अभिमुखीकरण तालिम सम्पन्न, लघुवित्तका नयाँ परीक्षार्थीलाई उपयोगी
काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले एकदिने फिल्ड अवधारणा सम्बन्धी अभिमूखिकरण कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । संस्थाले फिल्डमा काम गर्ने नयाँ परीक्षार्थीहरुको लघुवित्त र त्यसका आधारभूत पक्षको बारेमा ज्ञान दिलाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रमको उद्घाटन बुधबार एक कार्यक्रमको बीच वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) फनिलाल चौधरीले गरेका हुन् । कार्यक्रममा सीईओ चौधरीले लघुवित्तले विपन्न, गरीव तथा पछाडि परेका वर्ग, समुदायका लागि काम गर्ने भएको हुँदा लघुवित्त क्षेत्रले आर्थिक विकासको अतिरिक्त सामुदयिक विकासका लागि पनि कार्य गर्नुपर्ने बताएका छन् । लघुवित्तले आफ्ना ग्राहक सदस्यको घरदैलोमा नै सेवा प्रदान गर्ने भएकोले कर्मचारीहरुले आत्मैदेखि प्रतिवद्ध भएर लाग्नु पर्ने उनले बताए । एकदिने उक्त अभिमुखीकण कार्यक्रममा लघुवित्तको परिचय, नेपालमा लघुवित्तको वर्तमान अवस्था, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको परिचय, संस्थाको उद्देश्य लगायत कार्यक्षेत्र तथा लघुवित्त कार्यक्रमको काम गर्ने तरीका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा १३५ जना सहभागीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन विभागीय प्रमुख विष्णुप्रसाद शर्माले गरेका हुन् । संस्थाले हाल ७५ वटा शाखा कार्यालयको स्थापना गरिसकेको छ । साथै, संस्थाले करीव ८० हजार भन्दा वढी विपन्न घरपरिवारलाई लघुवित्त सेवा उपलब्ध गराउन सफल भएको जानकारी गराए ।
प्रधानमन्त्री ओली मंगलबार चीन जाँदै, बीआरआईको समझदारीपत्रमा हस्ताक्षर हुने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री ओलीका साथ उनका धर्मपत्नी राधिका शाक्य पनि चीन भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार उहाँले चीनका वरिष्ठ नेताहरुसँग भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्रीले नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत समूहलाई बेइजिङमा सम्बोधन गर्नेछ । भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्ने बताइएको छ । उनी तिब्बतका प्रान्तीय नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल असार १० गते आइतबार स्वदेश फर्कनेछ । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सी चिनफिङले अघि सारेका ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटन लगायत क्षेत्रमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने जानकारी दिए । उनले राजनीतिक विषयका साथै नेपाल–चीन सम्बन्धका सबै पक्षमा सघन छलफल हुने बताए । रासस
कोरियामा जीमनी ट्रान्सको शाखा, सिटी एक्स्प्रेसको जुनसुकै शाखाबाट रकम भुक्तानी गर्न सकिने
काठमाडौं । जीमनी ट्रान्सले नयाँ शाखा कोरियाको घिमहेमा विस्तार गरेको छ । कम्पनीले जेठ ३१ गते(भोलि)देखि उक्त शाखाबाट सेवा शुरु गर्ने भएको छ । यस अघि कम्पनीले अनसान र डनडागेमुनमा शाखा खोलिसकेको छ । अब नयाँ शाखाबाट सेवाग्राही लाभान्वित हुने कम्पनीको विश्वास छ । हाल कम्पनीले अटो डेबिट मोबाइल एप र अटो सेन्ड कार्डको सेवा दिँदै आएको छ । जीमनी ट्रान्स कोरियाबाट पठाएको पैसा नेपालमा सिटी एक्स्प्रेसका ५५०० भन्दा केन्द्रबाट रकम भुक्तानी गर्न सकिने छ । नेपालका सम्पूर्ण बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि तुरुन्तै पैसा जम्मा गर्न सकिने कम्पनीले बताएको छ । उक्त कम्पनीको मोबाइल एपबाट पनि दर्ता गर्न सकिने छ । साथै, अटो डेबिटको सुबिधा भएको हुनाले पैसा पठाउन एटिएम जानु नपर्ने र अतिरिक्त शुल्क पनि नलाग्ने कम्पनीले जनाएको छ ।