विकासन्युज

एनएमबी बैंकको २ अर्ब ३० करोड एफपीओका लागि आवेदन, ४८ संस्थागत लगानीकर्ताले २२ करोड किन्ने

काठमाडौं । एनएमबी बैंकको थप निष्कासन (एफपीओ) मा २ अर्ब ३० करोड रुपैयाँको आवेदन परेको छ । ५७ हजार ५०० आवेदकबाट ६९ लाख ६ हजार ९०६ कित्ता एफपीओका लागि आवेदन परेको हो । बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गरेको हो । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । बिहीबारसम्म एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआईसी एसिया म्युचअल फण्डले एफपीओका लागि आवेदन दिएको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषका सेयर विभाग प्रमुख रोशनजंग कार्कीले बताए । उनकाअनुसार ४८ संस्थागत लगानीकर्ताले २२ करोड रुपैयाँको एफपीओ खरिद गर्नका लागि आवेदन दिएका छन् । बुधबार १८ करोड रुपैयाँको थियो । बिहीबार ४ करोड रुपैयाँ थप भएको छ । हालसम्म नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले एफपीओ खरिदका लागि वुधबार नै आवेदन दिएका थिए । उनकाअनुसार सानिमा म्युचअल फण्ड, एनआईबीएल म्युचअल फण्ड, लक्ष्मी म्युचअल फण्डले समेत एफपीओ किन्न आवेदन दिएका छन् । बीमा कम्पनी र म्युचअल फण्डले न्युनतम २५ हजारदेखि १ लाख कित्तासम्मका लागि आवेदन दिएको कार्कीले बताए । धितोपत्र बोर्डले मंगलबार धितोपत्र निष्कासन तथा बाँडफाँड निर्दे्शिकामा संशोधन गरेर अधिकतम् सीमा हटाएपछि बैंकले एफपीओ खरिदको अधिकतम सीमा बढाएर ५० लाख कित्ता पुर्याएको छ । आइतबारसम्म आईपीओ बिक्री नभएपछि सोमबारदेखि संस्थागत लगानीकर्तालाई खुला गरिएको हो । एफपीओ ढिलोमा असार २८ गते निष्कासन बन्द हुने कोषले जानकारी दिएको छ । बैंकले चुक्तापुँजी बढाउन १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ ।

सनराइज बैंकको रेमिट्यान्स सेवा अब भारतको एक्सिस् बैंकबाट पनि

काठमाडौं । सनराइज बैंक लिमिटेडले रेमिट्यान्स सेवा बिस्तार गर्ने क्रममा भारतको एक्सिस् बैंकसंग रेमिट्यान्स सम्बन्धी सम्झौता गरेको छ । यसबाट भारतमा बस्दै आएका नेपालीहरुले एक्सिसकाे कुनै पनि शाखाबाट नेपालमा सनराइज बैंकको खातामा सजिलै पैसा पठाउन सक्नेछन् ।   एक्सिस् बैंकको भारतमा ३३०० भन्दा बढी शाखाको संजाल छ । यस रेमिटेन्स सम्झौतासंगैै भारतको जुनसुकै ठाँउबाट पठाएको पैसा सेवाग्राहीहरुले सनराइजको जुनसुकै शाखाबाट झिक्न सकिने छ । हाल सनराइजको ८८ वटा शाखा र ३ वटा एक्स्टेन्सन् काउन्टर सञ्चालनमा छन् ।

पोखरा फाइनान्सका अध्यक्ष गुरुङद्धारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको नवनिर्वाचित अध्यक्ष भुवनसिंङ गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । गुरुङले बिहीबार नेपाल राष्ट्र बैंककाे पोखरा शाखाका का.मु. निर्देशक अमर अधिकारी समक्ष सपथ लिएका हुन् । वित्तीय संस्थाको हालै सम्पन्न एक्काइसौं वार्षिक साधारण सभाले संस्थापक समुहबाट सञ्चालक समितिमा भुवनसिं गुरुङ, डा. दीर्घमान गुरुङ, शोभा गुरुङ र रेसमलाल पौडेललाई निर्विरोध निर्वाचित गरेको थियो । संस्थाको हाल तनहृ्ं, लमजुङ, रुपन्देही, काठमाण्डौं, स्याङजा एवं कास्की समेतमा गरी १३ वटा शाखा कार्यालय सञ्चालनमा आईसकेको छ । साथै, निकट भविष्यमा नै चितवनको नारायणगढ शाखा समेत सञ्चालनमा आउने तथा आ.व. २०७५/७६ मा थप अन्य शाखाहरु समेत खोलिने बताइएको छ ।

शिवम् सिमेन्टले २ अर्ब २ करोडको आईपीओ निष्कासन गर्दै, धितोपत्र बोर्डले दियो अनुमति

  काठमाडौं । निजी क्षेत्रको शिवम् सिमेन्ट्स लिमिटेडले साधारण सेयर ( आइपीओ) निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बिहिबार शिवम्लाई प्रिमियम मूल्यमा २ अर्ब २ करोड रुपैयाँको आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । उद्योगले आयोजना प्रभावित स्थानीयबासिन्दालाई २ प्रतिशतले हुन आउने ८ लाख ८० हजार र सर्वसाधारणका लागि १० प्रतिशतले ४४ लाख गरी कुल ५२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । आईपीओको मूल्य आयोजना प्रभावितलाई प्रतिकित्ता ३०० रुपैंया तोकिएको छ । यस्तै सर्वसाधारणका लागि ४०० रुपैंयाँ तोकिएको बोर्डले जानकारी दिएको छ । स्थानीयबासिन्दालाई २६ करोड रुपैयाँ र सर्वसाधारणलाई १ अर्ब ७६ करोड रुपैयाँको आईपीओ निष्कासन हुने छ । पूँजीबजारमा मुख्यत बैंक तथा वित्तीय क्षेत्रको मात्र हिस्सा भएकोमा पछिल्लो समयमा वास्तविक क्षेत्रका कम्पनीहरुको सहभागिता बढेको बोर्डले जानकारी दिएको छ । उत्पादनशील क्षेत्रका कम्पनीलाई करमा विशेष छुट दिने व्यवस्था गरेको र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लागु गरी प्रिमियम सहितको मूल्यमा सार्वजनिक निष्काशन गर्न सकिने र जारी पूँजीको न्यूनतम १० प्रतिशतमात्र सार्वजनिक निष्काशन गरे पुग्ने व्यवस्था गरेपछि शिवम्ले आईपीओ निष्कासन गर्न लागेको हो ।उद्योगले दैनिक ३ हजार टन उत्पादन गर्दै आएको छ । इक्रा नेपाल लिमिटेडले क्रेडिट रेटिङ्ग ग्रेड ३ प्लस प्रदान गरेका छ ।       ।

प्रदेश विनियोजन विधेयक बहुमतले पारित

पोखरा । प्रदेश नं ४ प्रदेशसभाको बिहीबारको बैठकमा प्रदेश विनियोजन विधेयक, २०७५ पारित भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विधेयक पारित गरियोस् भन्दै प्रदेशसभामा प्रस्तुत गरेका प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि विधेयकमाथिको छलफलमा भाग लिदैं प्रदेशसभा सदस्यहरूले विनियोजित रकम पारदर्शी हुनुपर्ने बताउँदै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । प्रदेशसभा सदस्य धनञ्जय दवाडीले बजेट आत्मनिर्भरतातर्फ उन्मुख बन्नुपर्नेमा जोड दिएका छन् । अर्का सदस्य कुमार खड्काले बजेटको विनियोजन शीर्षकगत रुपमा हुनुपर्ने भए पनि त्यो हुन नसकेकोमा गुणासो व्यक्त गरेका छन् । सदस्य हरिशरण आचार्यले शीर्षकगत रुपमा नभई मन्त्रालयको बजेट पोको पारिएको बताउँदै बजेट समान रुपमा वितरण हुनुपर्ने माग गरे । यसैगरी सदस्यहरु मणिभद्र शर्मा, पियारी थापा, चन्द्रबहादुर बुढा, कृष्ण थापा, रोशनबहादुर गाहा थापा, मधुमाया अधिकारी, धनमाया लामा पोखरेल, लक्ष्मी सुनार, सरिता गुरुङ, राजिव पहारी, चन्द्रमोहन गौचन र मनकुमारी गुरुङले बजेटलाई पारदर्शी बनाउनुपर्ने उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । छलफलमा उठेका विषयमा सामाजिक विकास मन्त्री नरदेवी पुन, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा र आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले बजेटको कार्यान्वयनमा सत्तापक्ष र प्रतिपक्ष नभनी अघि बढ्ने विश्वास व्यक्त गरे । अर्को बैठक असार १० गते अपरान्ह १ः०० बजे बस्नेछ । रासस

अन्तर कलेज फुटसल टुर्नामेन्ट आयोजना हुँदै, साढे एक लाख खर्च लाग्ने

पोखरा । पोखराको सिमलचौरमा रहेको ला ग्राण्डी कलेजको बीसीए आठौं सेमेस्टरको आयोजनामा असारको १५ गतेदेखी अन्तर कलेज फुटसल टुर्नामेन्ट हुने भएको छ । नेपकम्स सर्भिसेसको मुख्य प्रायोजनमा असारको १५ गते देखी १७ गतेसम्म पस्र्याङमा रहेको जी एण्ड एस फूटसल मैदानमा प्रतियोगिता हुन लागेको हो । कास्की, तनहुँ, रुपन्देही लगायतका जिल्लाका कलेजहरुमा अध्ययरत विद्यार्थीहरुसंगको मैत्रीपुर्ण सम्वन्ध स्थापनाको लागि प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक विजय कुइकेलले जानकारी दिए । प्रतियोगितामा पोखरा, दमौली, बुटवल लगायतका स्थानमा रहेका कलेजहरुबाट हालसम्म ३० टिमले नामदर्ता गराएको संयोजक कुइकेलले बताए । ४० बढि टिमको सहभागिता रहने अपेक्षा गरिएको प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार, उपविजेतालाई नगद १५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिव एक लाख ५० हजार खर्च लाग्ने अनुमान गरिको छ । प्रतियोगिताबाट बचत भएको रकम विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरणमा खर्च गरिने आयोजकले जनाएको छ ।

नेपाल र चीनबीच विभिन्न १० क्षेत्रमा द्धिपक्षीय सम्झौता

बेइजिङ । नेपाल र चीनबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा बिहीबार सम्झौता सम्पन्न भएका छन् । यस्तै, थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी ली खछ्याङबीच ग्रेट हल अफ पिपलमा भएको प्रतिनिधिमण्डल स्तरीय वार्तामा रेलमार्ग निर्माण लगायतका विषयमा सम्झौता भएको हो । तिब्बतको राजमार्ग उपयोग, ऊर्जा सहयोग, आर्थिक तथा प्राविधिक सहयोग, मानव संसाधनको विकास जस्ता विषयमा दुई मुलुकबीच समझ्दारी कायम भएको बुझिएको छ । रासस

प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ । भ्रमणको आज तेस्रो दिन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो । सो कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ सहभागी थिए । त्यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ जनकांग्रेस स्थायी समितिका अध्यक्ष लि झाङसुसँग भेटवार्ता गरेका थिए । ग्रेट हल अफ दि पिपलमा आज भएको भेटवार्तामा आपसीहित र द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो । प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेसको अध्यक्षमा निर्वाचित भएकामा लिलाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए। अध्यक्ष लिले नेपालको भूकम्प र त्यसले पारेको प्रभाव र पुनःनिर्माणमा भइरहेको प्रगतिका बारेमा प्रधानमन्त्री ओलीसँग जिज्ञासा राखेका थिए । भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलको समेत सहभागिता थियो । रासस