ह्युण्डाईको वर्ल्ड कप योजना मार्फत् ४ जना विजेता रसिया जाँदै
काठमाडौं । लक्ष्मी इन्टरनेशनल प्रा.लि., नेपालको लागि ह्युण्डाईको आधिकारिक डिलरले “रोड टु रसिया” योजना अन्तगर्त फिफा वल्र्ड कप २०१८ को फाइनल म्याचको टिकेट विजेताको घोषणा गरेको छ । कम्पनीले लक्की ड्रमार्फत् विजेता घोषणा गरेको हो । उक्त लक्की ड्रमार्फत् हालका ह्युण्डाई ओनरहरु मध्ये रानीपौवा, पोखरा निवासी अनिसा गुरुङ र पोखरा निवासी लालबहादुर गुरुङ विजेता भएका छन् । त्यस्तै, नयाँ ग्राहकहरु मध्ये भरतपुर, ५ चितवन निवासी बिनोदकुमार भट्ट र दमक निवासी गोपाल अग्रवाल विजेता भएका छन् । यसका साथै यस योजनामा हरेक ह्युण्डाईको खरिदमा ४३ वा ५५ इन्चसम्मको सामसंङ पनि पक्का पुरस्कारको रुपमा प्रदान गरिएको थियो । अन्तर्राष्ट्रिय फुटबलका फ्यानहरुलाई ह्युण्डाईको यस योजनाले २०१८ फिफा वर्ल्ड कप रसियाको फाइनलको प्रत्यक्षदर्शी बन्ने मौका प्रदान गरेको छ । विजेताले हवाई टिकेट र बसाई खर्चको विशेष भ्रमण प्याकेजको सुविधा पाउने छन् । फुटबलका फ्यानहरुलाई अद्भुत र रोमाञ्चक अनुभव प्रदान गर्दै ह्युण्डाई विश्व फुटबललाई साथ दिन र विकास गर्नको लागि प्रतिबद्ध छ ।
धरहरा निर्माणको जिम्मेवारी चिनियाँ कम्पनीलाई
काठमाडौं । धरहरा निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाउने पक्का भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले धरहरा निर्माणका लागि आव्हान गरेको ग्लोबल टेण्डरमा चिनियाँ कम्पनीले मात्रै आवेदन दिएका छन । धरहराको निर्माणका लागि परेका ६ वटा आवेदनमध्ये सबै चिनियाँ कम्पनी रहेको प्राधिकरणको सम्पदा संरक्षण महाशाखा प्रमुख राजुमान मानन्धरले जानकारी दिए । ‘नेपाली कम्पनीहरुको नेतृत्वमा ६ वटा चिनियाँ कम्पनीहरुको आवेदन आएको छ, हामी अध्ययन गरिरहेका छौं’, प्राधिकरणको सम्पदा संरक्षण महाशाखाका प्रमुख मानन्धरले विकासन्युजसँग भने । एक हप्ताभित्र प्राबिधिक प्रस्ताव अध्ययन गरेर प्रारम्भिक छनौटमा परेका कम्पनीहरुको वित्तिय प्रस्ताव खोलिनेछ । न्युन मूल्यमा निर्माण गर्न प्रस्ताव गरेको कम्पनीले धरहरा निर्माणको जिम्मेवारी पाउनेछ । आवेदन दिने सबै कम्पनीमा चिनियाँ सहभागीता रहेसँगै अब धरहराको निर्माण चिनियाँ कम्पनीले नै गर्ने पक्का भएको छ । भवितब्य केहि नभएमा यीनै ६ वटा कम्पनीमध्येबाट एउटा कम्पनीले निर्माणको जिम्मेवारी पाउनेछ । पछिल्लो समय नेपालको विकास तथा पूर्वाधारमा संलग्नता बढाउँदै आएको चीनले धरहरा निर्माणमा पनि ठूलो चासो देखाएको स्पष्टै हन्छ । नयाँ डिजाइन अनुसार धरहराको लागत ४ अर्ब २७ करोड(भ्याट र १० प्रतिशत मूल्य वृद्धि)सहित हुनेछ । जसमा धरहराको मुल भाग निर्माणका लागि १ अर्ब १२ करोड लाग्नेछ भने हुलाक सेवा विभागमा निर्माण हुने अण्डरग्राउण्ड बेसमेन्टको निर्माण लागत ७५ करोड हुनेछ । बाँकी लागत भने वाटर फाउण्टेन, म्युजियम, गार्डेनको निर्माणमा लाग्नेछ । ४२ रोपनी जमिनमा निर्माण हुने धराहराको निर्माण ठेक्का लागेको मितिले २ बर्षभित्रै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको पुरातत्व विभागका इञ्जिनियर प्रेमराज पोखरेलले जानकारी दिए । बाहिरबाट २२ तल्लाको देखिने धरहरा १४५ फिट अग्लो हुनेछ । धरहरामा २ वटा लिफ्ट राखिएका हुनेछन् । एउटा लिफ्टले ८ जनालाई धरहरा चढाउने छ भने अर्काेले ८ जनालाई ओराल्ने छ । त्यसका अलवा धरहरामा भर्याङ समेत निर्माण हुनेछ । धरहरा निर्माणका लागि नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत एक अर्ब रुपैंयाँ दिने प्रतिवद्धता जनाईसकेको छ भने मै बनाउँछु मेरो धरहरा अभियानमा २४ करोड रुपैंयाँ संकलन भएको छ ।
कालीगण्डकी गर्ज चिनियाँ लगानीमा निर्माण हुने, थप चारवटा आयोजनाका लागि सम्झौता
म्याग्दी । म्याग्दीस्थित १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बुधबार बेइजिङस्थित नेपाली दूतावासमा आयोजनाको प्रवद्र्धक हाइड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवावाटर कन्जरभेसन एण्ड हाइड्रो पावर प्रालिका प्रतिनिधिबीच लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । लगानी जुटेपछि एक दशकदेखि निर्माणको प्रक्रियामा रहेको सो आयोजनाले गति लिने अपेक्षा गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए। म्याग्दी र मुस्ताङ भएर बग्ने कालीगण्डकीको पानीबाट विद्युत् उत्पादन गर्ने उद्देश्यले २०६३ सालमा उक्त आयोजनाको सर्वेक्षण गरिएको थियो । लामो समयदेखि प्रतिक्षामा रहेको सो आयोजनामा चिनियाँ लगानी भित्र्नु म्याग्दीको ऊर्जा क्षेत्रमा गौरवको विषय भएको अध्यक्ष कर्माचार्यको भनाइ छ । लगानीकर्ता र प्रवद्र्धकलाई सुरक्षाको प्रत्याभूती, सामाजिक वातावरण र प्रक्रियागत झञ्जटबाटमुक्त बनाउनुपर्ने अध्यक्ष कर्माचार्यले बताए । विसं २०६८ पुस १९ गते उत्पादन अनुमतिपत्रका लागि विद्युत् विकास विभागमा निवेदन दिएको उक्त आयोजनाले प्रक्रिया पूरा नगरेपछि अनुमतिपत्रनै रद्द भएको थियो । पुरानो अनुमतिपत्र रद्द भएपछि नेपाल कालीगण्डकी गर्ज नाममा पुरानै कम्पनीले आयोजनाको पुनः सर्वेक्षण गरेर निर्माण प्रक्रिया अघि बढाएको हो । सन् २०१४ सम्ममा आयोजना निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य थियो । मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा विद्युत्गृह प्रस्ताव गरिएको सो आयोजना म्याग्दीमा हालसम्मकै ठूलो हो । पाँच किलोमिटर सुरुङ रहने आयोजना ‘रन अफ द रिभर’ प्रकृतिको हो । २५ अर्ब रुपैयाँ लागतको उक्त आयोजनाले नारच्याङमा तीन करोड रुपैयाँ मुआब्जा दिएर तीन सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा कालीगण्डकी गर्जसँगै ६०० मेगावाट क्षमताको मनाङ मस्याङ्दीलगायत ८७९ मेगावाट क्षमताका चारवटा जलविद्युत् आयोजनाका लागि चिनीयाँ लगानीकर्तासंँग सम्झौता भएको छ । रासस
एफपीओबाट उठाएको ४९५ करोड रुपैंयाँ यसरी लगानी गर्दैछ नेपाल बैंक, कुन क्षेत्रमा कति ?
काठमाडौं । नेपाल बैंकले थप निष्कासन (एफपीओ) बिक्रीबाट संकलन हुने रकम कर्जा र शाखा विस्तारमा लगानी गर्ने भएको छ । बैंकले प्रतिकित्ता २८० रुपैयाँमा १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्दैछ । एफपीओबाट प्राप्त भएको रकम सबै लगानीमा जाने बैंकका महाप्रवन्धक दुर्गाराज रेग्मीले बताए । बैंकले एफपीओमा भएको लगानीबाट थप आम्दानी गर्ने उनले जानकारी दिए । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ । सो मध्ये ८५ प्रतिशत अर्थात ४ अर्ब २० करोड ८९ रुपैयाँ कर्जा तथा सापटीमा लगानी गर्ने भएको छ । यस्तै १० प्रतिशत अर्थात ४९ करोड ५१ लाख लगानी, ३ प्रतिशत शाखा विस्तार अर्थात १४ करोड ८५ लाख रुपैयाँ खर्च हुने बैंकले जनाएको छ । अन्य कामका लागि ९ करोड ९० लाख अन्य क्षेत्रमा खर्च गर्ने बैंकले जनाएको छ । बैंकले पुँजीगत आधार अझ मजवुत बनाउन बैंकले प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । बैंकको चुक्तापुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत स्वामित्व छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुने छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने छ । यसमध्ये एफपीओबाट प्रवेश गर्नेको स्वामित्व १७ प्रतिशत हुनेछ । बैंकले ९ महिनामा २ अर्ब ५६ करोड रुपैयाँ खुदनाफा गरेको छ । बैंकले आउदो शुक्रबार अर्थात असार १५ गतेदेखि एफपीओ निष्कासन गर्दैछ ।
एनआईसी एशिया बैंककोे मोरङ्गमा नयाँ शाखारहित बैंकिङ्ग सेवा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले मोरङ्गको लखन्तरीमा एघारौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन ग्रामथान गाउँपालिकाको उपाध्यक्ष फुलकुमारी चौधरीले गरेका हुन् । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा मनचन चौधरीलाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल २२४ शाखा कार्यालयहरु, २१७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना बनाएको छ ।
सेञ्चुरी कमर्सियल बैंकद्धारा कम्प्युटर हस्तान्तरण
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ थान कम्प्युटर तथा अन्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । बैंकले बूढानीलकण्ठ नगरपालिका वडा नं ११, जगडोल स्थित श्री जनजागृति माध्यामिक विद्यालयलाई उक्त सामाग्री वितरण गरेको हो । उक्त कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका सञ्चालक समिति अध्यक्ष त्रिलोचन पौड्याललाई हस्तान्तरण गरेका हुन् । बैंकले यस भन्दा अघि पनि विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा सिराहामा, संख्या ९० पुग्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबार देखि सिराहाको बेल्हामा शाखारहित बैकिङ्ग सेवा शुरु गरेको छ । बैंकको यो ९० औँ शाखारहित बैकिङ्ग सेवा हो । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कल्याणपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष मोहम्मद जलील शाहले गरेका हुन् । बेल्हाका स्थानिय विजय कुमार शाहलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको यो क्षेत्रको बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकले सो स्थानमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो । हाल बैंकले १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ९० शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
सेञ्चुरी कमर्सियल बैंकले घटायो ब्याजदर, असार ८ गतेदेखि लागु हुने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पनि आफ्नो ब्याजदर घटाएको छ । नेपाल बैंकर्स संघले बिहीबार मुद्धति निक्षेपमा ११ प्रतिशत र साधारण बचतमा ७ प्रतिशत भन्दा बढि ब्याज नलिने सहमति गरेपछि बैंकले ब्याजदरमा परिवर्तन गरेको हो । बैंकले असार ८ गतेदेखि लागु हुने गरि सबै प्रकारका बचत खातामा ७ प्रतिशत, व्यक्तिगत मुद्दती खातामा १ वर्ष सम्मको लागी १०.५ प्रतिशत बनाएको छ । साथै, संस्थागत मुद्दती खातामा १ वर्ष सम्मको लागी १०.५ प्रतिशत त्रैमासिक रुपमा ब्याज भुक्तानी हुनेगरी संशोधन गरेको बैंकले जनाएको छ ।