विकासन्युज

माथिल्लो तामाकोसीको आईपीओ असार २४ मा आउने, १२ गते आब्हानपत्र सार्वजनिक हुदै

काठमाडौं । निर्माणधिन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) को प्रतिक्षाको घडी अब समाप्त भएको छ । आउदो असार २४ गते आइतबारदेखि माथिल्लो तामाकोसीको आईपीओका लागि आवेदन खुला हुने भएको हो । प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले २४ गतेदेखि आईपीओको निष्कासन खुला गर्न १२ गते आब्हानपत्र सार्वजनिक गर्नेछ । कम्पनी रजिष्टारको कार्यलयले विवरणपत्र स्वीकृत गरेकाले २४ गते निष्कासन हुन लागेको हो । अपरतामाकोसी र बिक्री प्रवन्धक नागरिक लगानी कोषबीच शुक्रबार भएको बैठकले असार २४ सम्म आईपीओ निष्कासन गर्ने निर्णय गरेको कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले बताए । आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई एउटै आब्हापत्र आउने उनले जानकारी दिए । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन हुनेछ । पहिलो चरणको बाँडफाँडपछि दोस्रो चरणको निष्कासन हुने कार्कीले बताए । स्थानीयबासिन्दालाई १५ दिनको म्याद दिएर आईपीओ आउने छ । सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । स्थानीय र सर्वसाधारण गरी माथिल्लो तामाकोसीले २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता सेयर निष्कासन गरी ०७२ जेठ २९ गते बाँडफाँड भइसकेको छ । तामाकोसीमा कर्मचारी संचय कोष, नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषको लगानी छ । ४५६ मेगावाटको सो आयोजना १ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनाको ९६ प्रतिशत काम सकिएको छ ।

नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयोः मन्त्री अधिकारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उडान सम्बन्धी समसामयिक विषयमा उठेका जिज्ञासाका सम्बन्धमा उनले नेपालको वायु सेवालाई सन् २०१३ मा गम्भीर सुरक्षा खतराको सूचीमा राखेकोमा हाल त्यसलाई हटाइएको जानकारी सदनलाई दिएका छन् । मन्त्री अधिकारीले सरकारको प्रयासबाट नेपाललाई हवाई सुरक्षा खतरा सूचीबाट हटाउन सफल भएको र युरोपियन युनियनबाट भने खतरा सूची नहटेको हुँदा त्यसलाई पनि छिटै हटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल–जापान हवाई सम्झौता सन् १९९३ मा भएको र अहिले हप्तामा १४ उडानको व्यवस्था भएको उल्लेख गर्दै उनले संसारका जुनसुकै देशमा पुग्ने गरी आउने र जानसक्ने व्यवस्था हुनु महत्वपूर्ण उपलब्धि भएको र त्यसले गर्दा जापानी पर्यटक नेपाल भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । मन्त्री अधिकारीले नेपालगञ्ज– दिल्ली उडानका लागि शुक्रबार मात्र स्वीकृति दिएको र तीन/चार महिनाका बीचमा त्यहाँबाट हवाई सेवा शुरु हुने बताउँदै बुद्ध एयरको विमानले छिटै नै काठमाडौं- दिल्ली परीक्षण उडान गर्ने तयारी रहेको जानकारी दिए । दुर्गममा हवाई भाडाको पुनरावलोकन हुन नसकेको उल्लेख गर्दै उनले २०७३ सालको प्रस्तावित भाडादरलाई समसामयिक बनाउनुपर्ने बताएका छन् । मन्त्री अधिकारीले चार्टर एयरको हवाई सिण्डिकेट अन्त्य गरी यात्रुलाई सहज रुपमा आवतजात गर्ने व्यवस्था मिलाइएको बताउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थको काम तीव्र रुपमा अगाडि बढिरहेको र सो विमानस्थलमा १८० सिटसम्मका जहाज चलाउन सकिने जानकारी दिए । विसं २०२१ सम्म निर्माण कार्य पूरा गरेर सो विमानस्थल सञ्चालन ल्याउन सकिने बताउँदै उनले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई एक वर्षभित्र सञ्चलानमा ल्याउने तयारीका साथ काम भइरहेको धारणा व्यक्त गरेका छन् । मन्त्री अधिकारीले हालसम्म ४७ प्रतिशत काम पूरा भएको सो अन्तराष्ट्रिय विमानस्थलको असार मसान्तसम्ममा ५० प्रतिशत काम सकिने उल्लेख गर्दै निजगढ विमानस्थलको काम पनि द्रुतरुपमा अगाडि बढेको बताए । हवाई सेवालाई आवश्यकताअनुसार कति विमानस्थल चाहिन्छ, भन्ने बारेमा अध्ययन गरेर काम गर्न जरुरी भएको र अबको छ महिनापछि करीब सबै ठाउँमा क्षेत्रीयस्तरबाट हवाई सेवा सञ्चालन हुने बताउँदै उनले प्रादेशिक हवाई सेवा निर्माणमा पनि सफलता प्राप्त गरेको जानकारी दिएका छन् । रासस

सिभिल बैंकले शुरु गर्यो स्मार्ट वेबसाईट, जस्तोसुकै मोबाईलबाट सुचना हेर्न सकिने

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज ढंगले सुचना प्राप्त गर्न स्मार्ट वेबसाईटको सुरुवात गरेको छ । सो स्मार्ट वेबसाईटको अनावरण बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले गरेका हुन् । यो स्मार्ट वेबसाईट सबै खाले मोबाईल तथा कम्प्युटरमा सजिलै हेर्न सकिन्छ । यो स्मार्ट वेबसाईटमा बैंकको सेवा तथा सुविधाको बारेमा जानकारी प्रदान गर्नुका साथै ईन्टरनेट बैंकिङ मार्फत खाताको विवरण हेर्न सकिने, सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न सकिने, मोबाइल टप अपको सुविधा, ल्यान्ड लाइन, एडीयसयल, विद्युत प्राधिकरण तथा डिसहोमको बील भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । बैंकले हालसम्म ३७ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करीब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कुल शाखा संख्या ६३ पुगेकोे बैंकले जनाएको छ ।

किंग्स कलेजले शुरू गर्यो दुई नयाँ एमबीए कोर्श, श्रावणको दोश्रो हप्तादेखि कक्षा सञ्चालन

काठमाडौं । किंग्स कलेजले यसै वर्षदेखि नेपालमा पहिलो पटक दुई नविन कोर्षहरु-एमबिए इन नन् प्रफिट म्यानेज्मेण्ट र एमबिए इन एग्री विजनेश संचालन गर्ने भएको छ । अमेरिकास्थित वेष्टक्लिफ विश्व विद्यालयको सम्बन्धनमा आउँदो श्रावण दोश्रो हप्तादेखि कक्षा संचालन हुने यी दुबै कार्यक्रमहरु त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत भइसकेका छन् । नेपालको उच्च शिक्षालाई एक फरक उचाइमा पुर्याउन र समय सन्दर्भ अनुसार पाठ्यक्रमको विकास गरी विद्यार्थीहरुलाई विषय छनौटको बृहत विकल्प प्रदान गर्ने छ । साथै, शिक्षालाई व्यक्ति, समाज तथा राष्ट्र विकासमा एक शसक्त माध्यम बनाउन सघाउनुपर्ने आवश्यकतालाई मध्यनजर गरी यी शैक्षिक कार्यक्रमहरु संचालन गर्न लागेको कलेजले बताएको छ । नोबेल पुरष्कार विजेता मोहम्मद यूनुसद्धारा नेपालमा प्रचुर सम्भावनाको बाबजुत कृषिक्षेत्र अझैपनि परम्परागत तथा जीविकामा आधारित रहेकाले यसलाई आधुनिक, एक प्रमुख औधोगीक क्षेत्र र अर्थतन्त्रको मूल आधार बनाउनुपर्ने अवस्थामाथि केन्द्रित हुँदै सोका लागि आवश्यक जनशक्ति तथा उद्यमीहरु तयार गर्नको लागि यी दुई समयसापेक्ष कोर्षहरु पठनपाठनमा ल्याउन लागिएको किंग्सले जनाएको छ । सरकारी, गैरसरकारी, गैरनाफामूक, सामाजिक उद्यमशिलता तथा विकासे क्षेत्रमा कुनै न कुनै रुपमा संलग्न भइसकेका वा हुन चाहने अथवा यी क्षेत्रहरुका व्यवस्थापन एवं नेतृत्व तहमा रहेर वा अन्य अभ्यासहरुद्धारा योगदान गर्न चाहनेहरुका लागि एमबिए इन नन् प्रफिट म्यानेज्मेण्ट संचालन गर्न लागिएको हो । “पछिल्ला दिनहरुमा दातृ निकाय निर्देशित वा परनिर्भर मानसिकतालाई चुनौती दिइ बदलिँदो सामाजिक, राजनीतिक तथा आर्थिक परिवेशमा दशकांैदेखि परिक्षित एवं सफल साबितश्रोतको अधिकतमता तथा बृहत सदुपयोग, वित्त ब्यवस्थापन, मार्केटिङ्ग, जोखिम ब्यवस्थापन, नेतृत्व विकास, सामाजिक उद्यमशिलता, समान विकास तथा दिगो बृद्धि लगायत ब्यापार ब्यवस्थापन क्षेत्रका सिद्धान्तहरुलाई गैरनाफमूखी संस्थाहरुले अंगिकार गरि स्ववलम्बन तथा आत्मनिर्भरतातर्फ अघि बढिरहेका छन्,” कलेजद्धारा संप्रेषित विज्ञप्तिमा जनाइएको छ । यसैगरी, कलेजले वन विज्ञान, बनस्पती विज्ञान, वातावरण तथा खनिज लगायत अध्ययन गरेका विद्यार्थी, कृषि क्षेत्रलाई आधार बनाइ उद्यमशिलता गर्न चाहने व्यक्ति तथा सो क्षेत्रमा स्टर्टआपको रुपमा काम गरिरहेको छ । साथै, आफ्नो व्यापारलाई बृद्धिको दिशातर्फ लैजान चाहिरहेका व्यक्तिहरुको लागि एमबिए इन एग्री विजनेश प्रदान गर्न लागिएको जनाएको छ । “दशकांै देखि नेपाल कृषि प्रदान राष्ट्र हो भनी विद्यालय तहदेखि नै पढ्ने तर पढाइ सकेपछि कृषि क्षेत्रमा आउन लजाउने नयाँ पुस्तासमक्ष कृषि उद्यमशिलता, ब्यापार, नाफा र व्यवस्थापनको एक प्रमुख क्षेत्र हो भनेर प्रष्ट्याउन खाँचो रहेकोले कलेजले यस कोर्षलाई ल्याएको हो,” कलेजको प्रधानाध्यापक नरोत्तम अर्यालले बताए । उनका अनुसार नाम सुन्दा प्राविधिक जस्तो लागेपनि व्यापार र व्यवस्थापनको क्षेत्रमा रुचि राख्ने जोसुकै विद्यार्थीले पनि यी कोर्षहरुमा राम्रो परिणाम ल्याउन सक्छन् ।

टिभिएस मोटरले सार्बजनिक गर्याे रेस एडिशनको अपाचे आरटिआर माेटरसाइकल, मूल्य ३ लाख २४ हजार ९ सय

काठमाडौं । दुई तथा तीन पांग्रे सवारी साधनहरुको निर्माता टिभिएस् मोटरले टिभिएस अपाचे आरटिआर २०० फोरभी सार्वजनिक गरेको छ । नेपाली मोटरसाइकल पारखीहको मागलाई ध्यानमा राखेर कम्पनीले उक्त अपाचे सार्वजनिक गरेको हो । कम्पनीले अपाचे मोटरसाइकल रेस एडिशन २.० नाम गरेको नयाँ अपाचे आर टिआर २०० फोरभिमा एन्टी रिभर्स टर्क(एआरटी) स्लिप्पर क्लच प्रविधि रहेको छ बताएकाे छ । मोटरसाइकल उक्त प्रविधिको पहिलो हो । यसमा रेसीङ अत्याधुनिक एरोडाइनामीक्सको लागि फ्लाई–स्क्रिन लगाइएको छ । जसले रेसीङ डीएनएको सबुत दिन्छ । टिभिएस मोटरको नेपालको लागि आधिकारीक बिक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सको उपाध्यक्ष दिपककुमार अग्रवालले नेपाली मोटरसाइकल पारखिहरुलाई मध्यनजर गरेर अपाचे रेस सार्वजनिक गरेको बताए । ‘टिभिएस आपचे ३५ वार्षको रेसिङ विरासतको सबुत हो,’ उनले भने ‘गएका वर्षहरुदेखि हामीले रेसीङ प्रविधिलाई पफर्मेन्स मोटरसाइकलहरुमा ल्याउनमा हामी अगाडी छौं ।’ सार्वजनिक गरिएको अारटिआर २०० फोरभीले समेत नेपालीको मन जित्ने कम्नपीले अपेक्षा गरेको उनको भनाइ छ । सार्वजनिक कार्यक्रममा नायक आयुशमान जोशी र र्याप गायक ग्रिस खतिवडाले पनि सार्वजनि गरिएको मोटरसाइकल आकर्षक रहेको बताए । कम्पनीको अनुसार उक्त मोटरसाइकलमा १९७.७५ सीसी सिंगल–सिलिन्डर मोटरछ । जुन ५ स्पीड गेअर बक्ससँग जोडिएको छ । इन्जिनले ८५०० आरपीएममा २०.५ पीएस(कार्ब) र २१.० पीएस(इएफआइ) पावर दिन्छ । ७००० आरपीएममा १८.१ एनएम टर्क दिने उक्त मोटरसाइकलको बजार मूल्य कम्पनीले ३ लाख २४ हजार ९०० रुपैयाँ तोकेको छ ।  

ठमेल क्षेत्रमा शनिबार विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । ११ केभी प्रसारणलाइनको मर्मतसम्भारका लागि ठमेल लगायतका क्षेत्रमा शनिबार विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका अनुसार, ११ केभी प्रसारण लाइन अन्तर्गत लैनचौर फिडरको ‘प्रिभेन्टिभ मेन्टिनेन्स’का लागि शनिवार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ । त्यस फिडरबाट विद्युत आपूर्ति भइरहेका लैनजौर दुग्ध विकास संस्थान अगाडिको गणेश मन्दिर, ठमेल जाने चोक, पुरानो नेपाली चुलो, हिटी पोखरी, जय नेपाल हल, हात्तिसार क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ । यसैगरी, नक्साल नारायण चौर, प्रहरी हेड क्वार्टर, भूँडे गणेश, टंगाल स्कुल, नक्साल भगवती मन्दिर, मल्ल होटल अगाडि हुँदै अमृत साइन्स क्याम्पस आसपासका स्थानमा विद्युत आपूर्ति हुने रत्नपार्क वितरण केन्द्रले जनाएको छ ।

प्रोगेसिभ फाइनान्सले २८१ प्रतिशत हकप्रद जारी गर्न पायो बोर्डको अनुमति

काठमाडौं । प्रोगेसिभ फाइनान्स लिमिटेडले सेयरधनीको लागि २८१ प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ५९ लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले हालै धितोपत्र बोर्डमा निवेदन दिए अनुसार ५९ करोड रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने अनुमति पाएको हो । बोर्डको अनुमति पाए पश्चात फाइनान्सले सनराईज क्यापिटल लिमिटेड मार्फत सो मात्राको हकप्रद निष्कासन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । २८१ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ८० करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५० रुपैयाँ रहेको छ ।

एनएमबी बैंकको अझै १ अर्ब ४५ करोडको एफपीओ बिक्री हुन बाँकी

काठमाडौं । एनएमबी बैंकको थप निष्कासन (एफपीओ) मा २ अर्ब ३५ करोड रुपैयाँको आवेदन परेको छ ।  ५८ हजार ३०० आवेदकबाट ७० लाख ५७ हजार ५७ कित्ता एफपीओका लागि आवेदन परेको हो । बैंकको अझै १ अर्ब ४५ करोड १२ लाख रुपैयाँको आईपीओ बिक्री हुन बाँकी छ । बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गरेको छ । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । हालसम्म ४८ संस्थागत लगानीकर्ताले २२ करोड रुपैयाँको एफपीओ खरिद गर्नका लागि आवेदन दिएका छन् । धितोपत्र बोर्डले मंगलबार धितोपत्र निष्कासन तथा बाँडफाँड निर्दे्िशकामा संशोधन गरेर अधिकतम् सीमा हटाएपछि बैंकले एफपीओ खरिदको अधिकतम सीमा बढाएर ५० लाख कित्ता पुर्याएको छ । आइतबारसम्म आईपीओ बिक्री नभएपछि सोमबारदेखि संस्थागत लगानीकर्तालाई खुला गरिएको हो । एफपीओ ढिलोमा असार २८ गते निष्कासन बन्द हुने कोषले जानकारी दिएको छ । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ ।