विकासन्युज

१४० मेगावाटको तनहुँ आयोजनाको पीपीए सम्पन्न, ५ वर्षमा बिजुली बल्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएको छ । प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको प्रवद्र्धक कम्पनीका प्रवन्ध सञ्चालक प्रदिपकुमार थिकेले शुक्रबार जलाशययुक्त आयोजनाको पहिलो पीपीएमा हस्ताक्षर गरेका हुन् । पीपीए भएकाले अायाेजनालार्इ बिजुलीको बजार समस्याको अन्त्य भएको छ । यसबाट आयोजना निर्माणका लागि बाटो खुला भएको छ । सम्झौता अवधि आयोजनाबाट व्यापारिक उत्पादन शुरु हुने मितिदेखि ३० वर्ष वा विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) को अवधिमध्ये जुन घटी छ सो समयसम्म कायम रहनेछ । आयोजनाको व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति २०८० अर्थात १२ अप्रिल २०२४ लाई तोकिएको छ । प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाम अर्थात मंसिर १६ देखि जेठ १५ सम्म र वर्षायाम अर्थात जेठ १५ देखि मंसिर १६ सम्ममा प्रतियुनिट क्रमश: १२ रुपैयाँ ४० पैसा र ६ रुपैयाँ ८ पैसामा खरिद गर्नेछ । उक्त दरमा कम्पनीले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यबृद्धि पाउने छ । मुल्यबृद्धि पश्चात ९७ औं महिनादेखि आयोजना अवधिभर खरिद दर प्रतियुनिट सुख्खायाममा १५ रुपैयाँ ३८ र वर्षायाममा ७ रुपैयाँ ५४ रुपैयाँ कायम हुने तनहुँले जनाएकाे छ । व्यापारिक उत्पादन शुरु हुने मिति कायम भएको महिनाको अर्को वर्षमा वार्षिकरुपमा वर्षायाममा उपलब्ध गराइएको ऊर्जाको अनुपातमा उर्जाको खरिद दर समायोजन गरिने व्यवस्था गरिएको छ । आयोजनाको सुख्खा र वर्षायामको क्रमश १७ करोड ८९ लाख र ३२ करोड ३६ लाख युनिटलाई सम्झौता ऊर्जा कायम गरिएको छ । यदि कुनै वर्षमा आयोजनाबाट उपलब्ध गराइएको सुख्खायामको उर्जा कुल वार्षिक उर्र्जाको ३५ प्रतिशत भन्दा कम भएमा उक्त वर्षको लागि आयोजनाले जलाशययुक्त आयोजनाको सट्टा अर्ध–जलाशययुक्त आयोजनाका लागि तोकिएको खरिद दर लागू हुने व्यवस्था पीपीएमा छ । प्राधिकरणले अर्ध–जलाशययुक्त आयोजनाका लागि सुख्खा र वर्षायामका लागि प्रतियुनिट क्रमश :१० रुपैयाँ ५५ पैसा र ४ रुपैयाँ ८० रुपैयाँ खरिद दर निर्धारण गरेको छ । आयोजनाबाट उच्पादन हुने विद्युत ऊर्जा दमौली–भरतपुर २२० केभी प्रसारणलाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाहित गरिने छ । आयोजनाको पूूर्वाधार निर्माण कार्यहरु सम्पन्न हुने अवस्थामा रहेका छन् भने मुख्य संरचना निर्माणको लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोजनाको मुख्य संरचनाहरुको निर्माण कार्य नोभेम्बर २०१८ बाट सुरु गर्ने र ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ । आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले १५ करोड, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी)ले ८ करोड ५० लाख र सरकार र विद्युत प्राधिकरणले ८ करोड ७० लाख डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसका लागि सम्बन्धित दातृ निकायहरु र सरकारबीच ऋण सम्झौताहरु तथासरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।

माथिल्लो त्रिशुली तेस्रो ‘बी’ आयोजनाले वनको जग्गा पाउने

काठमाडौ । सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले ३७ मेगावाट क्षमताको यो जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले जानकारी दिए। बैठकले खाद्यान्न ढुवानीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई थप ७ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । “बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कामको सञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी विधेयक तथा सशस्त्र प्रहरी बल नेपाल सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिएको छ” – मन्त्री तामाङले भने ।मन्त्रिपरिषद्को बैठकले विदुषी योगमाया विश्वविद्यालय बनाउने सम्बन्धमा कानून बनाउने सैद्धान्तिक सहमति पनि दिएको छ । रासस

महालक्ष्मी विकास बैंकद्धारा सिद्धार्थ र नेपाल इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंकले शुक्रबार(आज) थप दुई बीमा कम्पनीबीच बैंकास्योरेन्स सम्झौता गरेको छ । बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई जीवन तथा निर्जीवनको बीमा सेवा दिने उद्देश्यले सिद्धार्थ इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीसँग उक्त सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सिद्धार्थ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र वैदवार क्षेत्रीले एक समारोहबीच हस्ताक्षर गरेका छन् । यस्तै प्रकारको सम्झौतामा सोही दिन बैंकका प्रमुख कार्यकारी अधिकृत र नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंकबाट उक्त कम्पनीहरुको निर्जिवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण निर्जिवन बीमा सेवा प्राप्त गर्न सक्नेछन् । हाल बैंकले ७२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ रहको छ भने बैंकले चैत्र मसान्तसम्म २५ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

विनियोजन विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको विधेयक बहुमतले पारित गरेको हो । बैठकले ‘आर्थिक विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । सो विधेयकमाथि यही असार १८ गते सोमबार छलफल हुने कार्यसूची तय गरिएको सभामुख कृष्णबहादुर महराले सदनलाई जानकारी गराए ।यसैगरी ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ र ‘ऋण तथा जमानत बाइसौँ संशोधन विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ । त्यसअघि सांसदहरुले प्रस्तुत गर्नुभएका विभिन्न मन्त्रालयको खर्च कटौतीसम्बन्धी प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । रासस   –––

२६ सय वर्षअघि राजा शुद्धोधनले सुनको हलोले जोतेको खेतमा कृषि मन्त्रीले यसरी गरे रोपाई

काठमाडौं । कपिलवस्तुस्थित तिलौकोट जहाँ राजा शुद्धोधनले सुनको हलोले जोतेको खेतमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले धान दिवसको अवसरमा रोंपाई गरेका छन् । उनले तौलिकोटमा पुगरे नाच्दै–गाउँदै धान रोप्दै धान दिवस मनाएका हुन् । कपिलवस्तुको तिलौराकोट दरबारको पूर्व गेट अगाडि रहेको खेतमा लुम्बिनी विकास कोषले उक्त कार्यक्रमको आयोजना गरिएको छ । आजभन्दा २६ सय वर्ष अगाडि त्यहाँ राजा शुद्धोधनले सुनको हलोले जोतेर पहिलो पटक धान खेती सुरु गरेको किंवदन्ती छ । असारलाई ‘मानो रोपेर मुरी फलाउने’ महिनाको रुपमा लिइन्छ । साथै दही चिउरा खाने दिनको रुपमा समेत असार १५ लाई लिइन्छ । ‘धान उत्पादनमा बृद्धि, राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदैछ । धानको संवद्र्धन प्रवद्र्धन तथा उत्पादन बढाउने उद्देश्यलार्इ विशेष महत्व दिदै सरकारले २०६१ सालदेखि प्रत्येक वर्ष परम्परागत रुपमा उक्त दिवस मनाउदै अएको हो ।

सानिमा लाईफ इन्स्योरेन्सका ग्राहकलाई मेडिकेयर नेशनल हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौं । अब सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीहरुले मेडिकेयर नेशनल हस्पिटल एण्ड रिर्सच सेन्टरमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बिहीबार दुई संस्थाबीच भएको सम्झौतामा इन्स्योरेन्सका ग्राहकहरु र कर्मचारीहरुले उपचार खर्च, औषधि र डाक्टरसंगको परामर्शमा सो मात्रकोे सुविधा पाउने भएका हुन् । सो सम्झौतामा अस्पतालका तर्फबाट प्रशासनिक प्रवन्धक हरिभक्त सिग्देल र इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशवराज केसीले हस्ताक्षर गरेका छन् । अब नेपाल मेडिकेयर हस्पिटल एण्ड रिर्सचले जीवन बीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण गर्ने भएको छ भने त्यसको सम्पुर्ण व्यवस्थापन बीमा कम्पनीले गर्ने छ । आफ्ना ग्राहकहरु र कर्मचारीहरुको स्वास्थ्यको लागि विभिन्न योजनाहरु ल्याउनुका साथै अस्पतालसंग निरन्तर सहकार्य गर्ने अपेक्षा रहेको नायव महाप्रबन्धक केशवराज केसीले बताएका छन् ।  

आइएमई पे र टुटलबीच यात्राको सेवा शूल्क भुक्तान गर्ने सम्झौता

काठमाडौं । ‘आइएमई पे’ र टुटलबीच यात्राको सेवा शूल्क भुक्तान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा ‘आइएमई पे’ का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र टुटलका तर्फबाट संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत सिक्षित भट्टले हस्ताक्षर गरेका छन्। सम्झौता पश्चात टुटलका सेवाग्राहीहरूले आफुले प्रयोग गरेको यात्राको सेवा शूल्क अबदेखि ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ । टुटल सेवा मार्फत सम्पर्कमा आएका यात्रु एवम् चालकहरुले कुनै पनि आइएमईका व्यावसायिक साझेदार वा ‘आइएमई पे’ बाट सेवा शूल्क संकलन तथा भुक्तान गर्न सक्ने कम्पनीले जनाएको छ ।

सनराइज बैंक र पशुपति क्षेत्र विकास कोषबीच काउण्टर संचालन गर्ने सम्झौता

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना सेवा विस्तार गर्ने क्रममा पशुपति क्षेत्र विकास कोषसंग पर्यटक प्रवेश काउण्टर संचालन सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतामा सनराइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पशुपति क्षेत्र विकास कोषका तर्फबाट सदस्य सचिव डा. प्रदीप ढकालले हस्ताक्षर गरेका छन् । सम्झौतासंगैै विभिन्न मुलुकहरुबाट पाशुपत क्षेत्रमा भ्रमणका लागि आउने पर्यटकहरुलाई क्रमशः तिलगंगा पर्यटक काउण्टर, वत्सलेश्वरी पर्यटक काउण्टर, महास्नान घर अगाडी रहेको पर्यटक काउण्टर र गुहेश्वरीमा अवस्थित पर्यटक काउण्टर समेत गरी ४ स्थानका पर्यटक प्रवेशद्धारमा पर्यटक प्रवेश काउण्टर राखी टिकट बिक्री गर्नका लागि स्थानहरु उपलब्ध गराईने बैंकले जनाएको छ । हाल बैंकले ८८ वटा शाखा, २२ वटा शाखा रहित बैंकिङ्ग सेवा, ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा ए.टि.एम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।