शुक्रबार मात्रै एक करोड १४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । शुक्रबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एक करोड १४ लाख २३ हजार कित्ता सेयर सूचिकृत भएका छन् । सो दिन विभिन्न ६ कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर नेप्सेमा थपिएका हुन् । सो मध्ये तीन कम्पनीको बोनस र बाँकी तीन कम्पनीको हकप्रद सेयर रहेका छन् । कर्णाली डेभलपमेन्ट बैंकको एक लाख २० हजार ८०० कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, ओम डेभलपमेन्ट बैंकको ३७ लाख ८१ हजार ०७३ कित्ता र आरएमडीसी वित्तीय संस्थाको ३ लाख ४६ हजार ६० कित्ता बोनस थपिएको छ । त्यसैगरी, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख ८० हजार कित्ता, देव विकास बैंकको ६५ लाख ३३ हजार १०८ र मञ्जुश्री फाइनान्सको ३ लाख ६२ हजार १९० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।
साझा यातायातले २४ नयाँ डिलक्स बस भित्र्याउँदै
ललितपुर । साझा यातायातले काठमाडौँ उपत्यका र उपत्यका बाहिर चल्ने गरी नयाँ २४ वटा बस थप गर्ने भएको छ । तीमध्ये चारवटा डिलक्स र २० वटा सिटी बस रहेको साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए। “केही महिना पहिले बस खरिदका लागि ठेक्का सम्झौता भएको थियो, तीमध्ये चारवटा बस एक साताभित्रै काठमाडौँ आइपुग्नेछ,” उनले भने, “ बस आइसकेपछि यसको सञ्चालन प्रक्रिया अघि बढाइनेछ ।” बाँकी २० वटा बस पनि केही समयमै उपत्यका भित्रनेछन्, कामु कार्यकारी अधिकृत पाण्डेयले जानकारी दिए।अहिले काठमाडौँ उपत्यका र उपत्यका बाहिर साझा यातायातको माग बढिरहेको छ । “हामीले माग भएका सबै ठाउँमा बस सञ्चालन गर्न सकेका छैनौँ,” उनले भने। रासस
इपिजीको नवौँ बैठक आजदेखि शुरु,प्रगतिलाई प्रतिवेदनको रुप दिई सरकारलाई बुझाउने
काठमाडौ । नेपाल र भारतबीचका सन्धिसम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नवौँ बैठक आजदेखि यहाँ शुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकले सम्भवतः हालसम्म भएका बैठकको प्रगतिलाई प्रतिवेदनको रुप दिई सरकारलाई बुझाउने निर्णय गर्ने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलगत्तै दिल्लीमा इपिजीको आठौं बैठक बसेको थियो । हालसम्मका बैठकमा मुख्यगरी सन् १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै मुलुकका राष्ट्रिय हितलगायतका विषयमा छलफल भएको थियो । गठन कार्यादेशका आधारमा निष्कर्षमा पुगेर दुवै सरकारलाई सुझाव दिने समूहको जिम्मेवारी हो । त्यहीअनुसार सबै बैठकमा छलफल भइरहेको समूहले जनाएको छ । यही असार २० मा इपिजीको समय सीमा सकिँदैछ । सन् २०१६ को जुलाईमा पहिलो बैठक बसेको समूहको कार्यकाल दुई वर्ष तोकिएको थियो । प्रबुद्ध व्यक्ति समूहको अहिलेसम्म पाँच बैठक नेपालमा र चार बैठक भारतमा भएका छन् । बैठकमा नेपाली समूहका संयोजक डा भेषबहादुर थापा, डा राजन भट्टराई, पूर्वमन्त्री नीलाम्बर आचार्य र पूर्वसचिव सूर्यनाथ उपाध्याय छन् । त्यस्तै, भारतीय समूहका संयोजक एवं भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, पूर्वराजदूत जयन्त प्रसाद, प्राध्यापकद्वय महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती सहभागिता छ। द्विपक्षीय सम्बन्धका साथै नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि र अन्य सन्धिसम्झौताको नवीकरण, तिनको परिमार्जन र सुधारका निम्ति सुझाव दिन प्रबुद्ध व्यक्ति समूह गठन गर्न दुवै मुलुकका प्रधानमन्त्रीबीच सहमति भएअनुसार समूह गठन भएको हो । रासस
बोनसपछि मेघा बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । शुक्रबार मेघा बैंक नेपाल लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १०.७५३९ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता १५७.११ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २५५.४३ रुपैयाँ रहेको थियो ।
बर्षेनी साढे १० अर्बको बिजुली बेच्दै माथिल्लो तामाकोसी, ३ वर्षभित्रै नाफामा
काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा आएको ३ वर्ष भित्रै नाफामा जाने भएको छ । साधारण सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरिएको आव्हानपत्रमा आगामी आर्थिक वर्ष ०७६/०७७ देखि प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले नाफा कमाउन थाल्ने भएको हो । सो वर्ष कम्पनीले ४ अर्ब १० करोड रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरिएको छ । आव ०७७/०७८ मा घटेर २ अर्ब १२ करोड र ०७८/०७९ मा बढेर २ अर्ब ८६ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । त्यसपछि आम्दानी बढ्ने र ऋण दायित्व पनि क्रमश घट्दै जाने भएकाले नाफामा बढोत्तरी हुने देखिएको छ । कम्पनीले आव ०७८/०७९ मा ६ अर्ब २७ करोड ७२ लाख रुपैयाँ संचित नाफा गर्नेछ । आयोजना सञ्चालन भएको साढे ९ वर्षभित्र कर्जा चुक्ता गर्नेछ । संचय कोषले आयोजनामा लगानी गरेवापत लिने कर्जाको ब्याजदर १०.५ प्रतिशत छ । ४ वर्षमा प्रतिसेयर आम्दानी बढेर २७ रुपैयाँ पुग्ने अनुमान गरिएको छ । कम्पनीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । कम्पनी आव ०७४/७५ र ०७५/०७६ मा नोक्सानमा रहने अनुमान गरिएको छ । आगामी ०७५ बैशाखदेखि तामाकोसी आयोजनाबाट बिजुली उत्पादन हुने कार्यतालिका तयार पारिएको छ । आउदो ४ वर्षदेखि माथिल्लो तामाकोसीले बिजुली बिक्रीबाट वार्षिक १० अर्ब ११ करोड २३ लाख रुपैयाँ आम्दानी गर्नेछ । आगामी वर्ष ०७५/०७६ ४ अर्ब, ४ करोड, ०७६/०७७ मा ९ अर्ब ५३ करोड, ०७७/०७८ मा ९ अर्ब ८१ करोड रुपैयाँ आम्दानी गर्ने कम्पनीले जनाएको छ । आव ०७५/०७६ मा ३ अर्ब १ करोड, ०७६/०७७ मा ६ अर्ब २ करोड, ०७७/०७८ मा ५ अर्ब ९८ करोड र ०७८/०७९ मा ५ अर्ब ४९ करोड रुपैयाँ दायित्व रहने छ । ४५६ मेगावाट क्षमताको यो आयोजना निर्माण अवधिको ब्याज (आइडीसी) बाहेक ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएकोमा डलर महंगो भएको, भूकम्प र नाकावन्दीले समय थप हुदा संशोधित अनुमान लागत बढेर ४९ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । यो आईडीसी भन्दा बाहेकको हो । काम सुरु गर्दा १ डलर बराबर ८० रुपैयाँ थियो । अहिले बढेर ११० रुपैयाँसम्म पुगेको छ । आयोजनाको लागत ७ अर्ब ६६ करोड रुपैयाँ थप हुने कम्पनीले जनाएको छ । यसका लागि कम्पनीले ऋणप्रदायक कर्मचारी संचय कोषलगायतसंग छलफल गरिरहेको जानकारी दिएको छ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ । आईडीसी बाहेक निर्माण अवधिको ब्याज बाहेक प्रतिमेगावाट १० करोड ८१ लाख रुपैयाँ पुगेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने छ । आयोजनाको बिजुलीको मूल्य प्रतियुनिट औसत ५ रुपैयाँ ३० पैसासम्म पुग्ने छ । कम्पनीमा नेपाल विद्युत प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, राष्ट्रिय बीमा संस्थानको २ र नागरिक लगानी कोषको २ प्रतिशत स्वामित्व छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत लगानी रहेको छ आयोजनाको साधारण सेयर (आईपीओ) असार २४ गते आइतबारदेखि निष्कासन हुने भएको छ । प्रवद्र्धक अपर तामाकोसीले आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसअनुसार आयोजना प्रभावित स्थानीयबासिन्दालाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ९० लाख कित्ता र सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ कित्ता आईपीओ निष्कासन हुन लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन हुने बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ ।आयोजना प्रभावितले प्रतिकित्ता न्युनतम ३० देखि अधिकतम ३०० र सर्वसाधारणले ५० देखि बढीमा १ हजार कित्तासम्म आईपीओ भर्न पाउनेक कोषले जानकारी दिएको छ । स्थानीयबासिन्दालाई असार २४ देखि साउन ९ गतेसम्म आईपीओ खुला हुने छ । स्थानीयबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई खुला गर्ने कोषले जानकारी दिएको छ । आईपीओ निष्कासनपछि चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ पुग्ने छ । यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता आईपीओ निष्कासन गरी ०७२ जेठ २९ गते बाँडफाँड भइसकेको छ । आयोजनाको ९६ प्रतिशत काम सकिएको छ । आईपीओबाट संकलन भएको रकम आयोजनाको सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन विस्तारमा लगानी हुने कम्पनीले जनाएको छ ।
नेपाल बैंकको एफपीओमा पनि लगानीकर्ताले चासो देखाएनन्, खुलेको दिन २ करोड ८० लाखको मात्र आवेदन
काठमाडौं । नेपाल बैंकको प्रिमियम मूल्यमा थप निष्कासन (एफपीओ) खुलेको पहिलो दिन शुक्रबार कम आवेदन परेको छ । शुक्रबार २ करोड ८० रुपैयाँको १ लाख कित्ता मात्र एफपीओलाई आवेदन परेको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ध्रुब तिमल्सिनाले बताए । शुक्रबार भएकाले एफपीओ कम गएको उनको भनाई छ । निर्धारित समयमा एफपीओ बिक्री हुने उनले दावी गरे । बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गरेको छ । पहिलो दिन लगानीकर्ताले खासै चासो नदिएको पाइएको छ । एफपीओ निष्कासन बन्द छिटोमा असार १९ गते र ढिलोमा साउन १३ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थले जनाएको छ । एफपीओ खुलेको दिनदेखि संगठित संस्थाले आवेदन दिन पाउने छन् । न्युनतम ५० कित्ता र अधिकम १० ले भाग जाने गरी विद्यमान कानूनी व्यवस्थाको सीमाभित्र रहने गरी अधिकतमका लागि आवेदन दिन सकिने छ । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ । ८ वटा मर्चेन्टले बैंकले एफपीओको प्रत्याभूति (अण्डरराइटिङ) गर्ने सहमति जनाएका छन् ।
६ हजार घुस खाएपछि रोजगार विभागका दामोदर रेग्मी विरुद्ध अदालतमा मुद्धा दायर
काठमाडौं । वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत सवारी चालक दामोदर रेग्मी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । सेवाग्राहीसँग ६ हजार घुस लिएको प्रमाणित भएपछि उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । अख्तियारले रेग्मीलाई घुस सहित रंगेहात पक्राउ गरेको थियो । उनीमाथी बिगो र जरिवाना कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा १ बमोजिम मुद्दा अघि बढ्नेछ ।
साढे २ करोड बैंकिङ घोटलामा सामुदायिक लघुवित्तका अध्यक्ष, सञ्चालक र सीईओ पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई पक्राउ गरेको छ । अध्यक्ष, सीईओ र सञ्चालकको मिलेमतोमा नियम विपरित निर्णय गराई कर्जा प्रवाह गरी २ करोड ५० लाख रुपैयाँ बराबरको हानी नोक्सानी पुर्याएको ठहर गर्दै अनुसन्धान व्युरोले तत्कालिन अध्यक्ष हीरा विश्वकर्मा, सञ्चालक बटुकृष्ण कार्की, चण्डेश्वरी प्रधान र सीईओ स्वयम्भुराम जोशीलाई पक्राउ गरी बैंकिङ कसुर ऐनअन्र्तगत मुद्धा चलाएको छ । उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिएर बैंकिङ कसुर तथा सजाय ऐन बमोजिम अनुसन्धान भइरहेको व्युरोले जनाएको छ । तत्कालिन सीईओ जोशीले आफनै संस्था नेपाल महिला उत्थान केन्द्रलाई आधिकारिक निकायको स्वीकृति विना मिलेमतोमा गुडविलको भनी साढे २ करोड रुपैया कर्जा प्रवाह गरेको पाइएपछि पक्राउ गरेको व्युरोले जनाएको छ । संस्थाको सीईओ जोशीले नेपाल राष्ट्र बैकको नीति निर्देशन तथा ऐन कानुन बिपरीत तलब भत्ता लगायतको बिभिन्न शिर्षकमा आफु खुसी ७ लाख ४४ हजार रुपैयाँ भन्दा बढि भुक्तानी लिएको प्रारम्भीक अनुसन्धानले देखाएको छ । यस्तै हद भन्दा बढी संस्थाको सेयर धारण गरेका जोशीलाई नियामक निकायको निर्देशनको अवज्ञा हुने गरी मिलिमेतोमा संचालक समितीले प्रमुख कार्यकारीको पदमा नियुक्ति गरी अनियमिताको श्रृखला र संस्थाले आर्थिक कारोबार गर्दा अपारदर्शी ढंगले कारोबार शुरु गरेको पाइएको छ ।