मौद्रिक नीतिप्रति महासंघको मिश्रित धारणा, उद्योगको विकासबिना आर्थिक समृद्धि हुन नसक्ने
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिप्रति मिश्रित धारणा व्यक्त गरेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ को आर्थिक बृद्धि ८ प्रतिशतको हाराहारीमा हुने लक्ष्य प्राप्तिलाई सहजीकरण गर्ने उद्देश्यका साथ रोजगारी प्रवद्र्धन र उद्यमशीलता विकासका लागि वित्तीय साधनको परिचालन र ब्याजदर स्थायित्व कायम गर्नेतर्फ मौद्रिक नीति केन्द्रित रहनु सकारात्मक विषय भएको कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताए। नेपाल सरकारले अंगिकार गरेको समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनालाई सार्थकता प्रदान गर्न यसले थप बल प्रदान गर्ने अपेक्षा गर्न सकिने उनले बताएका छन् । नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगको विकासबिना आर्थिक समृद्धि हुन नसक्ने परिप्रेक्ष्यमा यसैमा केन्द्रीत भई महासंघ मौद्रिक नीतिका बारेमा प्रतिक्रिया व्यक्त गरेको छ । जारी मौद्रिक नीति अनुसार वाणिज्य बैंकहरुले आफ्नो कुल कर्जाको न्यूनतम २५ प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरी कृषि क्षेत्रमा न्यूनतम १० प्रतिशत र उर्जा तथा पर्यटन क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ भने विकास बैंक र वित्त कम्पनीहरुले समेत प्राथमिकता प्राप्त क्षेत्रमा आफ्नो कुल कर्जाको न्यूनतम क्रमशः १५ प्रतिशत र १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था यथावत कायम गरेको छ । सरकारले आर्थिक बर्ष २०७५/७६ मा ५ लाखलाई रोजगारी दिने तथा ८ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्न सहयोग गर्ने प्रमुख माध्यम नै लघु, घरेलृु तथा साना उद्योग भएकाले मौद्रिक नीतिमा यो क्षेत्रलाई प्राथमिकता प्राप्त कर्जा क्षेत्रमा स्पष्ट रुपमा समावेश नगर्नु दुर्भाग्यको विषय भएको कार्यवाहक अध्यक्ष सिंहले बताए । ‘मौद्रिक नीतिमा उल्लेखित रुग्ण उद्योग, घरेलु तथा साना उद्योग, वैदेशिक रोजगारी, दलित, जनजाति, उत्पीडित, महिला, अपांगता भएका व्यक्ति, विपन्न वर्ग तथा समुदायका व्यक्तिद्वारा संचालित साना व्यवसाय आदिलाई प्रवद्र्घन गर्न र निर्यातलाई प्रोत्साहन गर्न एक प्रतिशतमा प्रदान गर्दै आएको विशेष पुनर्कर्जा र विदेशी मुद्रामा निर्यात प्रोत्साहित गर्न लाइवोरमा ०.२५ थप गरी हुने ब्याजदरमा दिइने निर्यात पुनर्कर्जा दरलाई पनि यथावत राखिएको सन्दर्भमा विगतमा यस्तो पुर्नकर्जा लघु, घरेलु तथा साना उद्योगले प्राप्त गर्न नसकेको अवस्था रहेकोले यस किसिमको कर्जा सहज रुपमा लघु, घरेलु तथा साना उद्योग क्षेत्रले पाउने व्यवस्था गर्न आवश्यक छ ।’ –उनले भने । बैंक तथा वित्तीय संस्थाहरुलाई साना तथा मझौला उद्योगमा कर्जा प्रवाह गर्न प्रोत्साहित गर्ने मौद्रिक नीतिको उद्देश्य भएपनि विगतको दृष्टान्त हेर्दा वाणिज्य बैंकहरुले उल्टै नेपाल राष्ट्र बैंकलाई पेनाल्टी दिन तयार हुने तर यस क्षेत्रमा लगानी गर्न हिच्किच्याउने प्रवृत्ति रहेको भन्दै अध्यक्ष सिंहले यसतर्फ मौद्रिक नीतिले ठोस सम्बोधन गर्न आग्रह गरेका छन् । महिलाहरुबाट संचालन हुने परियोजनाका लागि १५ लाख रूपैयाँसम्मको सामूहिक जमानीमा दिइने कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्ने व्यवस्था मिलाइनु र महिला उद्यमशीलता विकासका लागि नेपाल सरकारले यस्तो कर्जामा ६ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था गरेर महिला उद्यमशीलताको विकासका लागि मौद्रिक नीतिले थप व्यवस्थित गरकोमा स्वागतयोग्य भएको उनले बताए । नेपाल राष्ट्र बैंकको स्वीकृती वेगर पनि सबै स्थानीय निकाय तथा पालिकास्तरमा बैंकका शाखा खोल्न पाउने व्यवस्थाले वित्तिय पहुँचमा सकारात्मक प्रभाव पर्ने देखिएको भन्दै उनले भने- ‘गाउँपालिकास्थित लघुवित्त वित्तीय संस्थाका कार्यालयहरुले स्वीकारयोग्य धितो लिई समूहमा आबद्ध भएका तथा नभएका व्यक्तिहरुलाई लघु उद्यम सञ्चालन गर्न १० लाख रूपैयाँसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्थाले लघु उद्यमीहरुको वित्तिय पहुँचमा सहयोग पुग्ने देखिन्छ ।’ वर्तमान सरकारको आर्थिक विकास र सम्बृद्धि प्राप्त गर्ने माध्यम भनेकै मुलुकमा औद्योगिकिरण भएको भन्दै उनले भने– ‘हामीले भन्दै आएको लघु घरेलु तथा साना उद्योगमा वित्तिय पहुँच बढाउन उद्योगमा परियोजनामुखी कर्जा व्यवस्था गर्न मौद्रिक नीति सकारात्मक देखिएन । औद्योगिकरणका लागि पर्याप्त कसरत गरिएको भएता पनि मुलुकमा रहेको तीन लाख भन्दा बढी घरेलु तथा साना उद्योगहरुलाई प्राथमिकता प्राप्त र विपन्न वर्ग कर्जामा गणना गरि वित्तिय पहँच अभिबृद्धि गर्न आगामी दिनमा नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले उचित कदम चाल्नेछ भन्ने अपेक्षा गर्दछौं ।’
सिटिजन्स बैंकका ग्राहकलाई किष्ट मेडिकल कलेजको सेवामा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इमाडोलस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालबीच उपचार सेवामा छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र अस्पतालका कार्यकारी अध्यक्ष आशिष थापाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्ड बाेक्ने कर्मचारीहरुले किष्ट मेडिकल कलेज शिक्षण अस्पताल (किष्ट हस्पिटल) मा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हाल बैंकले ७४ वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा खनाए ३ अर्ब
काठमाडौं । भरतपुर महानगरपालिका क्षेत्रभित्र शहरी विकास मन्त्रालयमार्फत रु तीन अर्बभन्दा बढीका विकास निर्माणका योजना शुरु हुने भएका छन् । यसमध्ये अधिकांश योजना ठेक्कामा लगाई सकिएको छ भने केही ठेक्का प्रक्रियामा रहेका छन् । शहरी विकासले बजेट विनियोजन गरेको भरतपुर महानगर क्षेत्र चितवन क्षेत्र नं ३ पर्दछ । यो पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित क्षेत्र हो । शहरी विकास मन्त्रालयमार्फत सञ्चालन हुन लागेका योजनाहरुमा अधिकांशतः सडक कालोपत्र गर्ने रहेका छन् । त्यसका अतिरिक्त अत्याधुनिक सिटी हल निर्माण, देवघाटमा शवदाह स्थल, बसपार्क सुधार, मन्दिर संरक्षण, रानीपोखरी व्यवस्थापन र भरतपुर अस्पतालमा कुरुवा घर निर्माण रहेका छन् । भरतपुर महानगरकी प्रमुख रेनु दाहालका अनुसार दुई अर्ब रुपैयाँ बराबरको रिङरोड र लिंकरोड ठेक्का लागिसकेको छ भने अन्य ठेक्का प्रक्रियामा रहेको छ । सो बजेटबाट ५९ किलोमिटर सडक कालोपत्र गरिँदै छ । त्यसैगरी, सिटी हल निर्माणका लागि रु ५० करोड बजेट शहरी विकास तथा भवन निर्माण विभागले छुट्याएको छ । भरतपुर महानगरपालिका–१८ को रानीपोखरी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न, वडा नं ६ को लक्ष्मीनारायण मन्दिरलाई व्यवस्थापन गर्न र ९ नं वडामा रहेको केन्द्रीय बस टर्मिनल मर्मत सम्भारका लागि रु ४५ करोड सो विभागले विनियोजन गरेको छ । यसैगरी, भरतपुर अस्पतालको कुरुवाघर निर्माणका लागि सात करोड ५० लाख र देवघाटमा शवदाह स्थल निर्माणका लागि १७ करोड रुपैयाँ विनियोजन भएको दाहालले बताउनुभयो । सिटी हलको जग्गा टुङ्गो लागि नसकेकाले आगामी आर्थिक वर्षमा काम हुने भए पनि अन्य सबै काम यसै आर्थिक वर्षदेखि शुरु हुने दाहालले बताए । महानगर प्रमुख दाहालले यस क्षेत्रका सांसदसमेत रहनुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा सो बजेट आएको बताउनुभयो । उनले भने, “हाम्रो महानगरको विकास बजेटभन्दा बढी शहरी विकासले बजेट दिएको छ ।” भरतपुर महानगरको आउँदो वर्षको पूँजीगत बजेट रु एक अर्ब ६२ करोड ५६ लाख मात्रै रहेको छ । महानगरको कुल बजेटमा तीन अर्ब ३४ करोडको ४८ दशमलब ६६ प्रतिशत मात्र पूँजीगत खर्च रहेको छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनका प्रमुख कुमार घिमिरेले सघन शहरी विकास कार्यक्रमअन्तर्गत विभागले भरतपुर महानगरमा विकास निर्माणका विभिन्न काम गर्न लागेको बताए । उनका अनुसार भारतसँग सीमा जोडिएका भद्रपुरदेखि धनगढीसम्मका २१ सदरमुकामका शहरमा विभागले काम थालेको छ । महानगरमा ठेक्का लागिसकेका करीब रु दुई अर्ब बराबरको सडक शुक्रबार शिलान्यास हुने र २०७७ साल असार मसान्तसम्ममा सम्पन्न हुने उनले बताए । नेपाल सरकारको वैदेशिक ऋणबाट महानगरमा विभिन्न योजनाको काम शुरु गर्न लागिएको हो । रासस
नेपाल बैंककाे सेयर मूल्य २८० मा झर्यो, एफपीओ भर्ने १२ हजार लगानीकर्ता सेयर बाँडफाँड नहुँदै नोक्सानमा
काठमाडौं । नेपाल बैंंक लिमिटेडको सेयर मूल्य २८० रुपैयाँमा झरेको छ । बिहीबार यस बैंकको २८९ कित्ता सेयर प्रतिकित्ता २८० रुपैयाँमा कारोबार भएको छ । उक्त सेयर किनबेचको दुबै काम ब्रोकर नम्बर ५८ ले गरेको छ । बिहीबार नेपाल बैंकको अधिकांश कारोबार २८१ रुपैयाँमा भएको छ । अन्तिम कारोबार पनि २८१ रुपैयाँमा नै भएको छ । बैंकले प्रतिकित्ता २८० रुपैयाँमा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्दा पर्याप्त आवेदन नपरेको बेलामा दोस्रो बजारमा पनि २८० रुपैयाँमा नै कारोबार भएको छ । एफपीओ बाँडफाँड पूर्व नै यस बैंकको सेयर मूल्य २७९ भन्दा तल आउने संकेत देखिएपछि उक्त बैंकको एफपीओ माग गर्दै आवेदन गर्ने १२ हजार २५८ जना लगानीकर्ता तनावमा परेका छन् । व्याजसहित हिसाव गर्दा लगानीकर्ता आजै नोक्सानमा परेका छन् । विगत तीन महिना यता बैंककाे सेयर मूल्यमा निरन्तर गिरावट देखिएकाे छ । ८० वर्ष पुरानाे नेपाल बैंकले अहिलेसम्म सेयरधनीलार्इ एक पटक मात्र लाभांश बाँढेकाे पुराना लगानीकर्ता बताउँछन् । बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँका दरले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गरेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आजसम्म १३ लाख १ हजार ९९० कित्ता सेयरको लागि मात्र आवेदन परेको छ ।
प्रभु बैंकको म्याग्दीमा थप दुई शाखा
काठमाडौं । प्रभु बैंकले म्याग्दीमा थप दुई शाखा संचालनमा ल्याएको छ । बैंकले म्याग्दी जिल्लाको धौलागिरी र रघुगंगामा गरी २ वटा शाखा कार्यालय बिहीबारदेखि सञ्चालनमा ल्याएको हो । उक्त धवलागिरी शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष थमसरा पुनले गरेका हुन् । त्यसैगरी रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले रघुगंगा शाखाको उद्घाटन गरेका हुन् । बिहीबारदेखि सञ्चालनमा आएका दुई शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् । साथै, दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ ।
इंग्ल्यान्ड हारेपछि यसरी रोए समर्थक (भिडियोसहित)
काठमाडौं । फुटबल एउटा यस्तो खेल हो, जहाँ कि जित कि हार जसरी पनि स्वीकार गर्नुपर्छ । अझ विश्वकपको सेमिफाइनलमा हार्नु कुन फुटबल समर्थकको आखाँ नरसाउला । आक्रामक समर्थकको रुपमा चिनिने इंग्लिस समर्थकलाई यो पटकको विश्वकपले रूवाएको छ । गोल डटकममा सार्वजनिक गरेको भिडियोमा इंग्लिस समर्थक रोइरहेको देखिएको छ । फुटबल हेर्न रसिया नगई स्वदेशमै सार्वजनिक स्थानमा फुटबल समर्थकरु रोएका हुन् । ९० मिनेटको समयमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको १०९ मिनेटमा क्रोयोसियाका स्ट्राइकर मारियो मान्जिुकिचले गोल गर्दै इंग्ल्यान्डलाई रोकेको हाे । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
मौद्रिक नीतिपछि सेयर बजार राताम्य, तीन नीतिकाे प्रभावमा दाेहाेराे अंककाे गिरावट
काठमाडौं । आर्थिक वर्ष २०७५/२०७६ को मौद्रिक नीति सार्वजनिक भएकाे भाेलिपल्ट सेयर बजार रातै भएकाे छ । बिहीबार सेयर बजार दोहोरो अंकले घटेकाे छ । बिहीबारको सेयर बजार १३.६६ अंकले घटेर ११९१ अंकमा झरेको छ । दिनभरको बजारमा १६३ कम्पनीको ४५ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी बीमा समूह १०७ अंकले ओरालो लागेको छ । सो दिन उत्पादन मूलक समूह बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सेयर बजार सम्वन्धि तीन विषय मौद्रिक नीतिमा आएको छ । तर ती तीन वटै नीतिले सेयर बजारलाई सकारात्मक प्रभाग छोड्न सकेन । मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले पुँजी कोषको २० प्रतिशतसम्म मात्र सेयर कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ । यसअघि पुँजी कोषको ४० प्रतिशत रकम सेयर कर्जा प्रवाह गर्न सक्ने नीति थियो । मौद्रिक नीतिमा सेयर कर्जा प्रवाह गर्दाको मूल्यमा २० प्रतिशत गिरावट आउँदासम्म मार्जिन कल गर्न नपर्ने व्यवस्था गरिएको छ । हाल व्यवहारमा बैंक तथा वित्तीय संस्थाहरुले ३० प्रतिशत गिरावट आउँदा पनि मार्जिन कल नगर्ने गरेकोले नयाँ मौद्रिक नीतिको प्रभाव कम परेको लगानीकर्ताहरुको बुझाइ छ । नियमत कर्जा प्रवाह गर्दाको भन्दा १० प्रतिशतभन्दा बढी सेयर मूल्य घट्दा मार्जिन कल गर्नु पर्ने व्यवस्था थियो । मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुलाई पनि ब्रोकर लाईसेन्स दिने व्यवस्था गरिएको छ । अनलाईन ट्रेडिङको तयारी पुरा हुन लागेको र ब्रोकरको कारण सेयर कारोबार संकुचित अवस्थामा नरहेको विश्लेषणसहित बैंकलाई ब्रोकरको काम गर्न दिदैमा बजार मूल्यमा प्रभाव नपर्ने देखिएको छ ।
काठमाडौँमा भारी वर्षाः अझै तीन दिन देशभर वर्षा हुने, सजक रहन मौसमविद्काे आग्रह
काठमाडौं । आगामी तीन दिनसम्म देशभरि नै बद्ली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे विज्ञप्ति जारी देशभर हल्कादेखि मध्यम खालको वर्षा हुने र पूर्वका केही स्थानमा भने भारी वर्षा हुनसक्ने सम्भावना पनि औँल्याएको हो । जलमग्न मध्यपुरथिमि चोक क्षेत्र बिहीबार देशभरि नै बद्ली रही मध्य र पश्चिमका अधिकांश स्थानमा र पूर्वका केही स्थानमा मध्यम खालको वर्षाको सम्भावना छ भने साँझ र राति पनि देशभरि नै बद्ली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । बालकोटमा सामान सुरक्षित स्थानतर्फ त्यसैगरी असार २९ गते (शुक्रबार) देशभरि नै बद्ली रही देशको मध्य र पश्चिमी भू-भागका अधिकांश स्थानमा र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । साँझ र राति पनि देशभरि नै बद्ली रही हल्कादेखि मध्यम खालको वर्षा हुने देखिएको र सोही दिन दउँसो र राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि बताइएको छ । अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटका बासिन्दाले सामान सुरक्षित स्थानतर्फ लैजाँदै । असार ३० गते (शनिबार) पनि देशभरि नै बद्ली रही देशको मध्य र पश्चिमी भू-भागका धेरै स्थान र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ भने शनिबार साँझ र राति पनि देशभरि नै बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने तथा एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विज्ञप्तिमा जनाइएको छ । अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुर मध्यपुरथिमि नगरपालिकाको राधेराधे, भाटभटेनी क्षेत्रका बासिन्दा सुरक्षित स्थलतर्फ जाँदै । मौसमविद् शान्ति कँडेलले अबको तीन दिन देशभरि नै हल्कादेखि मध्यम खालको वर्षा हुने र मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सजक रहनुपर्ने बताए । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंमा सबैभन्दा बढी ९३.६ मिलिमिटर वर्षा भएको छ । मौसमविद् कँडेलका अनुसार काठमाडौंमा यो भारी वर्षा हो । यसअघि सन् २००२ जुलाई २३ मा काठमाडौंमा १७७ मिलिमिटर वर्षा भएको थियो । भक्तपुरमा धेरै वर्षा भए पनि महाशाखाले उपत्यकामा काठमाडौंको मात्र वर्षा रेकर्ड राख्ने गरेको छ । अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुर मध्यपुरथिमिका बासिन्दाको उद्दार गरी सुरक्षित स्थलतर्फ लैजाँदै बुधबार रातिदेखिको निरन्तर वर्षाले उपत्यकाका भक्तपुर र काठमाडौंका कतिपय स्थानमा डुबान भएको छ, भक्तपुरमा बढीको प्रभाव छ । मध्यपुरथिमि, सल्लाघारी, सिर्जना नगरलगायतका स्थानमा डुबान भएको छ । बिहीबार ताप्लेजुङमा ३६, ओखलडुङ्गामा २६.२, सिमरामा २८, भैरहवामा १३, दाङमा १२, नेपालगञ्जमा १० र वीरेन्द्रनगरमा १५ मिलिमिटर वर्षा भएको छ । काठमाडौंको अधिकतम ताफक्रम ३०.२ र न्यूनतम तापक्रम २१.२ डिग्री सेल्सियस रहेको छ । रासस