त्रिशूली जलविद्युत् केन्द्र पूर्णरुपमा सञ्चालन
नुवाकोट । आगलागीको कारण उत्पादन रोकिएको यहाँको त्रिशूली जलविद्युत् केन्द्रले पूर्णरुपमा विद्युत् उत्पादन गर्न थालेको छ । गत असार २६ गते आगलागी भएपछि पूर्णरुपमा विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले आइतबारबाट पूर्णरुपमा उत्पादन गर्न थालेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिए। नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्दको विद्युत् गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट बे्रकरमा असार २६ गते दिउँसो आगलागी भएको थियो । आगलागी भएपछि विदुर नगरपालिकासहित जिल्लाको अधिकांश भागमा लगातार ३० घण्टा विद्युत् अवरुद्ध भएको थियो । तीन ब्रेकरमा आगो लागेर क्षति भएपछि अहिले दुई वटा ब्रेकर ल्याएर उत्पादन थालिएको केन्द्र प्रमुख भट्टले बताए । “अब पूर्णरुपमा सञ्चालनमा आएको छ । हामीले नेपाल विद्युत् प्राधिकरणकै अर्को शाखाबाट दुई वटा ब्रेकर ल्याएर जडान गरी उत्पादन थालेका छौँ । साविककै अनुसार उत्पादन भइरहेको छ । अहिले दुई वटा ब्रेकरबाट नै काम सञ्चालन भइरहेको छ” केन्द्र प्रमुख भट्टले भने। आगलागीपछि एक हप्तासम्म त्रिशूली जलविद्युत् र सोही केन्द्रबाट पानी गएपछि सञ्चालन हुने देवीघाट जलविद्युत् केन्द्रको समेत उत्पादन भएको थियो । आगलागीको कारण करीब १ करोड रुपैयाँ बराबरको क्षति भए पनि विद्युत् उत्पादन बन्द हुँदा भने करोडौँको क्षति भएको केन्द्रले जनाएको छ । विद्युत् उत्पादन बन्द हुँदा कति नोक्सानी भयो भनेर मूल्यांकन गर्न बाँकी रहेको केन्द्र प्रमुख भट्टले जानकारी दिए । त्रिशूली जलविद्युत् केन्द्रसहित देवीघाटसमेत बन्द भएको हुँदा करोडौँको विद्युत् उत्पादन नोक्सानी भएको उहाँले बताए । रासस
सरकारले कर्मचारीको जीवन बीमा रकम दोब्बर बढायो, अब २ लाखको बीमा हुने
काठमाडौं । सरकारले चालु आर्थिक वर्षदेखि राष्ट्रसेवक कर्मचारीको जीवन बीमा रकम बढाएको छ । सरकारले कर्मचारीको सावधिक जीवन बीमा बीमाङक वृद्धि गरी २ लाख रुपैयाँ पुर्याएको हो । यसमा आधा प्रिमियम रकम सरकार र बाँकी कर्मचारीले व्योहर्नुपर्ने व्यवस्था गरिएको छ । गत आर्थिक वर्षमा सरकारले १ लाख रुपैयाँको मात्र जीवन बीमा गरेको थियो । चालु आर्थिक वर्षदेखि बढाएको हो । कर्मचारीको सुरक्षाका लागि केही वर्षयता सरकारले जीवन बीमा गर्दै आएको छ । चालु आर्थिक वर्षदेखि सरकार र कर्मचारी संचय कोषले कर्मचारीको जीवन बीमा गर्ने भएका छन् । संचय कोषले ६ लाख संचयकर्तालाई स्वास्थ्य बीमा समेत गरिदिने भएको छ । कोषले आफनो आम्दानीबाट संचयकर्ताको स्वास्थ्य बीमा गर्न लागेको हो । यो आर्थिक वर्षदेखि स्वास्थ्य बीमा योजना लागु हुनेछ । कोषले कर्मचारी तथा सञ्चयकर्ताका लागि ६० करोड रुपैयाँसम्म लगानी हुने संभावना रहेको छ ।
नेपालगञ्जको बसपार्क निर्माणमा ठेकेदारको लापर्बाही
काठमाडौं। नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणमा चरम लापर्बाही देखिएको छ। नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा निर्माणाधीन अत्याधुनिक बसपार्क निर्माण कार्यमा निकै सुस्त र चरम लापर्बाही देखिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको हो । पन्ध्र महिनाभित्र निर्माण सक्ने गरी युनाइटेड बिल्डर्सले अप्रिल २०१६ मा जिम्मा लिएको थियो । अव्यवस्थित रुपमा सञ्चालित नेपालगञ्जको बसपार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउन १५ महिनाभित्र निर्माण सक्ने सम्झौता भए पनि सम्झौताअनुरुप निर्माण सम्पन्न नहुँदा दुई महिनाअघि पुनः म्याद थप गरिएको थियो । ठेकेदार कम्पनीको लापर्बाहीका कारण नेपालगञ्जको यातायात व्यवस्थापनमा समेत समस्या देखिएको छ । निर्माण ढिलाइ भएपछि यातायात साधन पार्किङ गर्न, टिकट काउन्टर व्यवस्थापन गर्न र यात्रुलाई गाडी चढ्न तथा टिकट काट्न समस्या भएको छ । निर्माण कम्पनीले गत जुन महिनाभित्र काम सक्ने गरी रु २० करोड लागत अनुमानमा ठेक्का लिएको नेपालगञ्ज उपमहानगरपालिकाका इञ्जिनियर सुरजकुमार गुप्ताले बताए। साढे चार बिगाह क्षेत्रफलमा फैलिएको बसपार्कलाई आधारभूत सुविधायुक्त बनाउन निर्माण कार्य थालिएको थियो । बसपार्कभित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण गर्न थालिएको हो । निर्माण कम्पनीले मुख्यद्वार र पक्की पर्खाल निर्माणको समेत जिम्मा लिएको उपमहानगरपालिकाले जनाएको छ । बसपार्कको निर्माण कार्य सम्पन्न नहुँदा त्यस क्षेत्रमा निर्माण क्रममा जथाभावी माटो थुपारिँदा गाडी पार्किङमा समस्या भएको यातायात व्यवसायीको गुनासो छ । । इञ्जिनियर गुप्ताले भने , “समयमै ठेकेदारले काम नसकेकाले दोस्रो पटक म्याद थप गरिसकिएको छ ।” उनका अनुसार यही वैशाख ७ गते तीन महिनाका लागि दोस्रो पटक म्याद थप गरिएको छ । तर यो समयमा पनि निर्माण सम्पन्न हुने छाँट भने देखिँदैन । निर्माण शुरु भएको दुई वर्षमा जम्मा ३० प्रतिशत काम सम्पन्न भएको हुँदा अबको दुई महिनामा निर्माण सम्पन्न हुने सम्भावना निकै न्यून रहेको छ ।
रेल चढेर भारतीय पर्यटक पशुपति र चिनियाँ लुम्बिनी आउँछन्: प्रदिपकुमार ज्ञवाली
नेपाल कम्युनिस्ट पार्टीका बौद्धिक नेताका रुपमा पहिचान बनाउन सफल परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली अन्तर्राष्ट्रिय कुटनीतिमा पनि सफल हुदैं आएका छन् । उनले अहिले कुशलताको साथ परराष्ट्र मन्त्रीको जिम्मेबारी सम्हालिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको दुई छिमेकी राष्ट्र चीन र भारतको भ्रमण सफल बनाउनमा मन्त्री ज्ञवालीको महत्वपुर्ण भूमिका रहेको छ । वैदेशिक लगानी र नेपालले गर्ने अन्तराष्ट्रिय शक्ति सन्तुलनबारे मन्त्री ज्ञवालीसंग विकास न्यूजका लागि खेमराज श्रेष्ठले गरेको वहस नयाँ सरकार गठन भएपछि वैदेशिक लगानीकर्ताको प्रतिक्रिया कस्तो पाउनु भएको छ ? वैदेशिक लगानी भित्र्याउन सरकारले कस्तो तयारी गरिरहेको छ ? नयाँ सरकर गठन गरेपछि हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनको भ्रमण गरिसक्नु भएको छ । यस क्रममा चिनियाँ र हाम्रो पक्षबाट छलफल भएको छ । यसबाट हामीले वैदेशिक लगानीकर्तामा निकै उत्साह पाएका छौं । चीन भ्रमणका क्रममा हामील झन्डै २ अर्ब डलर करिब २ खर्ब रुपैंयाको सम्झौता लगानी ल्याउने सम्झौता गरेका छौं। चिनियाँ लगानीकर्ताहरु विशेषगरी जलविद्युत, सिमेन्ट र पस्मिना लगायतको क्षेत्रमा लगानी गर्न इच्छुक रहेका छन् । भारतसँग पनि सोहि दिशामा सहमति भएको छ । हामीले यी बाहेक अन्य मुलुकबाट लगानी भित्र्याउने तयारी गरिरहेका छौं । वैदेशिक लगानी भित्र्याउन बैंक तथा वित्तिय संस्था र अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ । हिजोको दिनमा नेपालमा स्थिर सरकार थिएन उद्योगलाई आवश्यक पर्ने उर्जा थिएन । अहिले लगानीका लागि राम्रो वातावरण निर्माण भैसकेको छ । समग्रमा वैदेशिक लगानीकर्ताको सकारात्मक प्रतिक्रिया पाएका छौं । नयाँ सकार निर्माण भएपछि प्रतिबद्धता आइरहेका छन्, भावी दिनमा अझ बढेर जानेछ । चीन र भारत दुबै देशको भ्रमणमा रेलको कुरा जोडदार रुपले उठ्यो, नेपाल रेल आउने नै हो ? रेल आधुनिक ट्रान्सपोर्टेसनको मुख्य आधार हो । देशको आर्थिक मेरुदण्डको रुपमा यातायातको विकास हुनु आवश्यक छ । रेललको विकासले देशमा ठूलो परिवर्तन ल्याउन भुमिका खेल्नेछ । हाम्रो देशमा साना सवारी साधनबाट ढुवानी गर्दा खर्च बढेर गएको छ । नेपाल जस्तो भुपरिवेष्ठित मुलुकमा ट्रान्पोर्टेसन खर्च घटाउनु पर्नेछ । हाम्रो नेपाली बजारमा चीन र भारतबाट ठूलो परिमाणमा सामाग्री भित्रिने गरेको छ । अहिले हामीले चीनबाट सामान खरिद गर्यो भने कलकत्ता बन्दरगाहा आइपुग्न ४९ दिन लाग्ने गर्दछ । तर चीनकै बाटो भएर ल्याउन सकियो भने १० दिनमा केरुङ आइपुग्छ । तर हालसम्म केरुङसम्म रेल आइपुगेको छैन । सिगात्सेसम्म मात्रै आइपुगेको छ । काठमाडौंबाट केरुङ र केरुङबाट सिगात्सेसम्म रेल मार्ग विकास गर्न सकेमा चिनियाँ बन्दरगाहबाट ७ दिनमै नेपालमा सामाग्री भित्र्याउन सकिन्छ । समय घटेपछि सामाग्रीको ढुवानी खर्च कम हुन आउँछ । यसबाट रेल विकास भएमा आयातित समाग्रीको मुल्य घट्नेछ । भारतको हकमा पनि उस्तै हो । रक्सौल काठमाडौं र केरुङ काठमाडौं रेलको आयोजनाको सम्झौता गरेका छौं । यो आयोजना सम्पन्न गर्न सकिएको खण्डमा स्थलमार्गबाट हाम्रो देश अन्तर महादेशिय यातायातको रुपमा जोडिनेछ । नेपाल सरकारले आफ्नै खर्चमा पुर्व पश्चिम रेलमार्गको विकास गर्ने तयारी गरिरहेको छ । अहिले हामीले काठमाडौं उपत्यका मेट्रोरेल ७२ किलोमिटर, मेची महाकाली विद्युतिय रेलमार्ग ९४५ किलोमिटर काठमाडौं वीरगञ्ज रेलमार्ग १०० किलो मिटर योजना पनि अघि बढाउने तयारी गरेका छौं । यसरी रेलमार्गको विकास गरिएको खण्डमा नेपालको आफ्नै रेल हुनेछ र अन्तरदेशिय रेलको माध्यमबाट बाह्य व्यपारमा टेवा मिल्नेछ । हामीले रेलमार्ग मात्र होइन जल, हवाई र स्थल सबै प्रकारका यातायातको विकास गरी समृद्ध राष्ट्रको निर्माण गर्ने संकल्प गरेका छौं । विशेषगरी हामीले रेलमार्गको विकास गरी चीन र भारतबाट पर्यटक भित्र्याउन चाहान्छौं । केरुङ-काठमाडौं चल्ने रेलले चिनियाँ पर्यटकलाई बुद्धभूमि लुम्बिनी पुर्याउनेछ भने । काठमाडौं-वीरगञ्ज रेलले भारतीय पर्यटकलाई पशुपति लिएर आउनेछ । वर्तमान सरकार चीनतिर ढल्केको हो भन्ने चर्चा सुरु भएको छ । यसमा यहाँ के भन्नु हुन्छ ? तपाईले निकै पुरानो प्रश्न सोध्नु भयो । यो नेपालको इतिहास भै सक्यो । सर्वप्रथम हामीले यस्ता कुरा दिमागबाटै हटाउनुपर्छ । हुनसक्छ विगतमा कहिले कता ढल्कियौं होला कहिले कता तर अब नेपाल कतै ढल्किदैन । नेपाल एउटा स्वतन्त्र राष्ट्र होे । यहाँको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न सक्दैन । हाम्रो सरकार गठन भैसकेकेपछि इन्धन आपुर्तिमा कुनै अवरोध आएको छैन । हुन सक्छ कहिले मजदुर त कहिले प्राविधिक कठिनाईले आपुर्ति हुन नसक्नु बेग्लै कुरा हो । अब नेपालले इन्धन समस्या भोग्ने दिन गैसक्यो । हामीले विगतमा ठूलो समस्या भोगेर आइसकेका छौं । यसको लागि सरकार सचेत छ । हामीलाई अबको चुनौति भनेको आपुर्ति हुने राजमार्गहरुलाई अझ सुदृढ बनाउनु पर्छ । पृथ्वी राजमार्ग मात्रै बन्द भयो भने नाकाबन्दी बेहोर्ने अवस्था रहेको छ । विमिस्टेकको बैठक काठमाडौंमा सुरु हुदै छ । यसका लागि नेपालले कस्तो तयारी गरिरहेको छ ? अगस्ट ३० र ३१ तारिखमा काठमाडौं हुने विमेस्टिेको सम्मेलको तयारी तिब्र रुपमा भैरको छ । सम्मेलनमा भााग लिनका लागि ७ देशका राष्ट्र प्रमुख आउने कार्यक्रम रहेको छ । अतिथि सुरक्षा र व्यवस्थापनको काम भैरहेको छ । विमेस्टेकबाट नेपालको प्रचार प्रसार गर्ने एक सुनौलो अवसर हो । सार्कलाई बलियो बनाउन नेपालले कस्तो भूमिका खेल्दैछ ? नेपाल अध्यक्ष भएको नाताले सार्कलाई सुध्रढ र नियमित गतिविधि अगाडी बढाउनु हाम्रो हाम्रो कर्तव्य हो । उत्तर कोरिया, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीच द्धन्दको समस्या समाधान भैसकेको छ । दक्षिण एसियाको समस्या धेरै ठूलो होइन । सार्कको चार्टरमा नै यसको विवादकोे समाधान वार्ताबाट हुनेछ भनी उल्लेख गरिएको छ । यसको लागि नेपालले महत्वपुर्ण भुमिका खेल्नेछ ।
रातु नदीको पुल बन्यो, साउनभित्रै सवारी चल्ने
बर्दिवास । पूर्वपश्चिम राजमार्गको महोत्तरी र धनुषा जिल्लाको सीमा नदी रातुमा निर्धारित अवधिभन्दा १६ महिनाअघि नै नयाँ पुल निर्माण कार्य सम्पन्न हुने भएको छ । २०७३ साल असार २९ मा सम्झौतापत्रमा हस्ताक्षर गरेको निर्माण कम्पनी कालिका टु दी रसुवा जेवी काठमाडौँले २०७६ साल पुस मसान्तमा पुल निर्माण सम्पन्न गर्ने बताएको थियो । २५० मिटर लम्बाइ र १०.९० मिटर चौडाइको यो पुल निर्माण काम सकिएर यसै साउन मसान्तभित्रै प्रयोगमा ल्याउने तयारी भएपछि अहिले निर्माण कम्पनीको तत्परताको सबैले सराहना गरेका छन् । “पूर्वपश्चिम राजमार्ग र राजधानी काठमाडौँसँग जोड्ने यो पुल लाइफलाइन नै हो” निर्माण कम्पनीका साइट इञ्चार्ज कृष्ण ढुंगेलले सञ्चारकर्मीसँग भने–, “हामीले रात दिन मिहिनेत गर्यौँ, पुल निर्माणको कार्य सकिएको छ, अब रेलिङ फिटिङ, दुवै छेउमा स्ल्याभ राखेर छेउछेउमा माटो पुर्ने काम गर्दैछौँ, यसै महिनाको अन्त्यसम्म पुल प्रयोगमा आइसक्छ ।” पूर्वपश्चिम राजमार्गको रातु नदीमा २०२६ सालमा बनेको पुल २०७१ सालको बाढीले खम्बा भाँसिएपछि आवतजावतमा कठिनाइ भएसँगै सरकारले नयाँ पुल निर्माण गर्ने प्रक्रिया अघि बढाएको थियो । यो पुल २४ करोड ६० लाख ठेक्का बोलकबोलअनुसार निर्माण सम्पन्न भएको हो । पुलका पाया भाँसिएसँगै खोलाबाट बनाइएको डाइभर्सन बाढीले लगातार भत्काउँदै लगेपछि गत वर्ष भाँसिएको पुलमा बेलीबृज जडान गरेर यातायात सञ्चालन गरिएको थियो । पुल चाँडै बनेर प्रयोगमा आउने भएपछि साँघुरो बेलीबृजका कारण हुँदै आएको ट्राफिक जामबाट मुक्ति पाइने सवारीसाधनका चालकले बताएका छन् । रासस
विन्ध्यवासिनी हाइड्रोपावरको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल, २५ लाख कित्ता आईपीओ जारी गर्दै
काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल नियुक्त भएको छ । कम्पनीले स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्तामा २५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न उक्त क्यापिटलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । उक्त नियुक्ति सम्बन्धी सम्झौता पत्रमा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र विन्ध्यवासिनी हाइड्रोपावरका तर्फबाट संचालक भरतबहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । कम्पनीले स्थानीयवासीको लागि १० लाख कित्ता र सर्वसाधारणको लागी १५ लाख कित्ता गरि जम्मा २५ लाख कित्ता साधारण सेयर सार्वजनिक निष्काशन गर्न लागेको हो ।
आशुतोष ध्वजुले जिते क्रसमान्डु नेसनल च्याम्पियनसिपको उपाधि
काठमाडौं । शनिबार धुलिखेलको हिमालयन मोटरल्यान्डमा सम्पन्न क्रसमान्डु नेसनल च्याम्पियनसिपको उपाधि आशुतोष ध्वजुले जितेका छन् । अन्य प्रतिस्पर्धिहरुलाई पछि पार्दै उनले डर्ट बाइक रेसिङको सो उपाधि हात पारेका हुन् । प्रतियोगितामा फष्ट रनर अप सुजित ताम्राकार भएका छन् भने सेकेन्ड रनर अप सुवाश कटुवाल भएका छन् । नेसनल च्याम्पियनसिप विजेताहरु आगामी बर्ष भारत, श्रीलंका र नेपालमा हुने कन्टिनेन्टल कपमा सहभागी हुने अवसर पाउने आयोजकको भनाइ छ । नेसनल च्याम्पियनसिपका लागि ९ जना प्रतियोगी भिडेका थिए । पहिले नै यस्तै प्रतियोगितामा भाग लिइसकेका वा अन्य कुनै अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धामा सहभागी भइसकेका प्रतियोगीहरु मात्र नेसनल च्याम्पियनसिपमा सहभागी हुन सक्ने प्रावधान थियो । त्यसैगरी नोभिस तर्फको विजेता सुशील थापा भएका छन् । प्रतियोगितामा दीपेश क्षेत्री फस्र्ट रनर अप र राजकुमार कार्की सेकेन्ड रनर अप भए । पहिले कुनै उपाधि हासिल नगरेका वा पहिलो पटक सहभागी भएकाहरु बीचमा यस प्रकारको बाइक रेसिङ प्रतियोगिता गराइएको थियो । यसलाई नोभिस क्याटागोरी नामाकरण गरिएको हो । विजेताहरुले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदका साथै शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सबै गरी २९ बाइक कुदाइएका थिए । विजयी प्रतियोगीहरुलाई काभ्रे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सचिदानन्द केसी र नेपाल मोटरसाइकल फेडरेसनका अध्यक्ष सीताराम न्यौपाने लगायतले पुरस्कार वितरण गरे । उक्त च्याम्पियनसिपमा २५० सीसी सम्मका डर्ट बाइकहरु कुँदाइएको थियो । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को आयोजनामा उक्त च्याम्पियनसिप सम्पन्न भएको हो ।
४ बर्षको अनुसन्धान पछि ‘फिन-टिच’ लञ्च हुँदै, १५ करोडकाे लगानी
काठमाडौं । देशमा वित्तिय साक्षरता बढाउने उद्देश्य अनुरुप अन्ट्रप्रनर्स नेपालले फाइनान्सियल टिच (फिन–टिच) नामक कार्यक्रम सार्वजनिक गर्ने भएको छ । ४ बर्षको लामो अनुसन्धान पछि विद्यालय स्तरको पाठ्यक्रम नै डिजाइन गरेर कार्यक्रम लञ्च गर्न लागिएको अन्ट्रप्रनर्स नेपालका कोषाध्यक्ष तथा उक्त कार्यक्रमका निर्देशक अस्मिता अधिकारीले बताईन । सन् २०१४ मा स्थापना भएको अन्ट्रप्रनर्स नेपालले शुरुमा देशमा उद्यमशिलता विकास सम्बन्धी काम गरेको थियो । तर, अनुसन्धानको क्रममा धेरै जसो नेपाली युवा युवतीहरु वित्तिय साक्षरता अभावकै कारण उद्यमशिलतामा सफलता हासिल गर्न नसकेको निष्कर्ष निष्किएपछि ‘फिन–टिच’ सार्वजनिक गर्न लागिएको उनले जानकारी दिईन । ‘हामीले सुरुवाती चरणमा देशमा उद्यमशिलता विकासको लागि गाउँगाउँमा गएर कार्यक्रम संचालन गर्यौ,’ उनले भनिन्, ‘तर, उद्यमशिलतामा लागेका धेरैजसो नेपालीहरु वित्तिय साक्षरता आभावकै कारण आफ्नो व्यवसायबाट पलायन हुनु परेको निष्कर्ष आएपछि उद्यमशिलताको विकाससँगै वित्तिय साक्षरतालाई पनि सँगै लैजान ‘फिन–टिच’ कार्यान्यनमा ल्याउन लागेका हौं ।’ अन्ट्रप्रनर्स नेपालले ‘साक्षर मात्र होइन वित्तिय साक्षर बनौं’ भन्ने नाराका साथ २ बर्षको कार्याक्रम सार्वजनिक गर्ने भएको छ । करिब १५ करोड रुपैयाँको बजेटसहित सार्वजनिक गर्न लागिएको सो कार्यक्रमले स्कुल, कलेजदेखि उद्यमशिलतामा लागेका उद्यमीहरुलाई वित्तिय रुपमा साक्षर बनाईने भएको छ । विशेषगरी फिन-टिचले ६ देखि ९ कक्षा, ११ र १२ कक्षा र उद्यमशिलतामा लागेका व्यक्तिहरुलाई लक्षित गरेर पाठ्यक्रम डिजाईन गरेको छ । जसले देशभरका स्कुलमा गएर १५ दिन, १ महिना र ३ महिनाको पाठ्यक्रम डिजाईन गरिएको अधिकारी बताउँछिन् । दुई र्बषको अबधिमा बिभिन्न कार्यक्रमहरु डिजाईन गर्दै परिक्षण गर्दै कमिक सुधार गर्दै धेरै मेहनत र टेक्निकल पक्षहरुमा ध्यान दिएर बनाईएको ‘फिन–टिच’ वित्तिय सारक्षरतको क्षेत्रमा कोशेढुङ्गा साबित हुनेछ, बैंकर मनोज ज्ञावली बताउछन् । विशेषगरी एउटा परिवारको विद्यार्थीलाई स्कुल तहदेखि नै पैसा कसरी बचत गर्ने र त्यस्ता पैसा कुन ठाउँमा लागनी गर्ने भन्ने विषयमा जानकारी दिँदा त्यसको प्रभाव पुरै परिवारलाई वित्तिय रुपमा साक्षर पार्न सकिने सोही अनुरुप पाठ्यक्रम तयार पारेर पढाउन लागिएको ज्ञवालीले जानकारी दिए । अन्ट्रप्रनर्स नेपालले सवै क्षेत्रका विज्ञ राखेर अनुसन्धान गरी पाठ्यक्रम तयार गरेको थियो । उक्त अनुसन्धान गर्ने विज्ञ समुहमा बैंकिङ, बीमा, युवा उद्यमी, तथा आर्थशास्त्रीहरुको समुह गरेको छ । उक्त संस्थाको सल्लाहाकार समितिमा त्रिभुवन विश्वविद्यायलय प्रोफेसर राधेश्याम प्रधान, युवा बैंकर मनोज ज्ञवाली, बीमा विज्ञ डा. रविन्द्र घिमिरे, इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष राजकुमार तिमिलसिना र युवा उद्यमी तथा फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेल रहेका छन् । कुनै पनि व्यक्तिलाई बाल्यकालदेखि नै वित्तिय रुपमा साक्षर बनाउनुपर्छ भन्ने उद्देश्य अनुरुप विद्यालयस्तरदेखिको पाठ्यक्रम विकास गरी स्थानीय तहसँग सहकार्य गरेर पठाउन लागिएको अधिकारीले जानकारी दिईन । ‘गाउँगाउँमा गएर विद्यालयमा पढाउनका लागि विभिन्न विश्वविद्यालयमा स्नातकोत्तर गर्दै गरेका विद्यार्थीहरु आउनुभएका छन्,’ उनले भनिन्, ‘उनीहरुमार्फत नै हामीले शहरदेखि गाउँगाउँका विद्यालयमा गएर पढाउनेछौँ ।’ हाल फिनटिचको लागि पाठ्यक्रम लगायत सबै कुरा तयार भइसकेको र केही समयभित्रै काठमाडौंमा मेगा कार्यक्रम गरी सार्वजनिक गरिने भएको छ । २ बर्षको लागि तयार पारिएको सो कार्यक्रममा जिल्लामा उद्यमीहरुबीच गोष्टी तथा सेमिनार, स्कुल स्तरमा अध्ययन अध्यापन तथा केन्द्र स्तरको नीति निर्माण तहमा समेत छलफल तथा गोष्ठीहरु राखिने छ । जसले दुई बर्षको अबधिका स्कुल तहका विद्यार्थी देखि उद्यमीहरुलाई समेत वित्तीय रुपमा साक्षार बनाइने छ ।