विकासन्युज

वित्तीय रुपमा कमजोर जलविद्युत् कम्पनीका सेयर, प्रतिफल पाउन गाह्रो

काठमाडौ । सेयरको मूल्यांकन गर्ने कम्पनी इक्रा नेपालले आँखुखोला जलविद्युत् कम्पनीलाई ‘ग्रेड’ पाँच दिएको छ । सो कम्पनीले यही साउन १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका नागरिकलाई साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ । गत बिहीबार मात्रै आँखुखोला जलविद्युत् कम्पनीेले साधारण शेयर बिक्रीका लागि सार्वजनिक आह्वानपत्र प्रकाशित गरेको छ । इक्रा नेपालको रेटिङमा पाँचौं नम्बर पाएको सो कम्पनीको वित्तीय अवस्था खराब छ भन्ने देखिन्छ । कम्पनीले धादिङमा सञ्चालित ८.४ मेगावाटको आँखुखोला जलविद्युत् आयोजनाको स्थानीयवासीका लागि छुुट्याइएको १० प्रतिशत सेयर बिक्री गर्न लागेको हो । सो कम्पनीको आर्थिक अवस्था असाध्यै कमजोर रहेको त देखिन्छ नै शेयर लगानीकर्ताले आगामी नौ वर्षपछि मात्रै प्रतिफल पाउन सक्ने अवस्था छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीका लागि छुट्याइएको आठ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । प्रतिकित्ता एक सय मूल्य अंकित आठ करोड बराबरको सेयर बिक्री गर्न लागेको हो । सो कम्पनीको शेयर छिटोमा यही साउन ३१ तथा ढिलोमा भदौ १५ गतेसम्म खरिदका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । सो कम्पनीको सेयर खरिद गर्न न्यूनतम ५० देखि अधिकतम चार हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । यस्तै आजदेखि साधारण सेयर बिक्री शुरु गरेको युनियन हाइड्रोपावर कम्पनीको पनि इक्रा नेपालले गरेको रेटिङमा पाँचौं ग्रेड पाएको छ । यो भनेको वित्तीय रुपमा असाध्यै कमजोर छ भन्ने संकेत हो । सो कम्पनीले आयोजना प्रभावित लमजुङका बासिन्दालाई साधारण सेयर बिक्री गर्न लागेको हो । लमजुुङमा सञ्चालित तीन मेगावाट क्षमताको मिदिम खोला जलविद्युत् आयोजनाले स्थानीयवासीका लागि छुट्याइएको १० प्रतिशत शेयर बिक्री गर्न लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीका लागि छुट्याइएको सात लाख ५० हजार कित्ता सेयर बिक्री शुरु गरेको हो । प्रतिकित्ता एक सय अंकित मूल्यमा सात करोड ५० लाख बराबरको सेयर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ । सो कम्पनीको सेयर खरिद गर्नेले छिटोमा साउन २८ तथा ढिलोमा भदौ १२ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । न्यूनतम ५० देखि अधिकतम तीन हजार कित्ता सम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । वित्तीय रुपमा कमजोर रहेको सो कम्पनीको सेयरमा लगानी गर्नेले प्रतिफलका लागि आठ वर्ष प्रतिक्षा गर्नुपर्ने देखिन्छ । इक्रा नेपालको रेटिङमा हिमालयन ऊर्जा विकास कम्पनीले पनि चौथो ग्रेड पाएको छ । यस्तै केही समय पहिले साधारण सेयर बिक्री गरेर बाँडफाँडसमेत गरिसकेको पञ्चकन्या माईहाइड्रो पावरको समेत ग्रेडिङ असाध्यै कमजोर रहेको थियो । सो कम्पनीको सेयरमा दशगुणा बढी आवेदन प¥यो । यी तथ्यले के देखाउँछ भने पछिल्ला दिनमा वित्तीय अवस्था कमजोर रहेका र रेटिङमा समेत असाध्यै पछाडि रहेका जलविद्युत् कम्पनीले एकपछि अर्को गर्दै साधारण सेयर बिक्री गरिरहेको पाइएको छ । नेपाल धितोपत्र बोर्डले सबै विवरण बुझाएपछि साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ । साना लगानीकर्ता भने यस्ता कम्पनीको सेयर खरिद गरेर के कति नाफा कमाउलान् भन्नेतर्फ कोही कसैले सोचेको देखिदैन । बोर्डका प्रवक्ता नीरज गिरीकाअनुसार नियम पुर्याएर आएका कम्पनीलाई अनुमतिपत्र दिइएको छ । “लगानी गर्दा जोखिम छ कि छैन भन्ने हेर्ने जिम्मा लगानीकर्ता कै हो । त्यही भएर बोर्डले सार्वजनिक आह्वानपत्र प्रकाशित गर्दा नै सबै विवरण उल्लेख गर्न भनेका छौं, ” प्रवक्ता गिरीले भने, “लगानीकर्ताले सेयर खरिद गर्ने कम्पनीको विवरणका आधारमा नै आफै निर्णय गर्दा नै उपयुक्त हुन्छ ।” पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन (एफपिओ) समेत बिक्री हुनसकेको छैन । नेपाल बैंकको आइतबार मात्रै एफपिओ बिक्रीको अवधि सकियो । दुई अर्ब ७० करोडभन्दा बढीको खरिद भएन । बैंकले करीब चार अर्ब ९५ करोडको एफपिओ बिक्री गर्न लागेको थियो । एफपिओ नै बिक्री नभएर सेयर प्रत्याभूतकर्ता कम्पनीले उठाउनु परिरहेको छ । धमाधम आर्थिक अवस्था कमजोर भएका कम्पनीले साधारण सेयर बिक्री गरिरहेका छन् । बोर्डकाअनुसार मैलुङखोला जलविद्युत् कम्पनीले सात करोड ३६ लाख २८ हजार ६ सय बराबरको सात लाख ३६ हजार २८६ कित्ता शेयर बिक्री गर्ने तयारी गरेको छ । कालिका पावर कम्पनी पनि १२ करोड बराबरको १२ लाख कित्ता तथा शिवश्री हाइड्रोपावर लिमिटेड १४ लाख ७६ हजार ४ सय कित्ता शेयर बिक्री गर्ने तयारीमा छ । गज्र्याङ उपत्यका हाइड्रो पावरले दुई लाख कित्ता र लाफिङ बुद्धले नौ लाख ७८ हजार बराबरको सेयर बिक्रीका लागि तयारी गरेको छ । अधिकांश कम्पनीको आर्थिक अवस्था कमजोर देखिएको छ । शेयर विश्लेषक नीरज पुडासैनीको विचारमा तत्काल फाइदा लिई हालौं भन्ने मान्यताका साथ लगानीकर्ताले सेयरमा लगानी गर्ने गरेको पाइएको छ । नाफा प्राप्त गर्ने अवधि लामो भएका कम्पनीको सेयर खरिद गर्ने वा नगर्ने भन्ने विषय लगानीकर्ताको विवेकको विषय रहेको उनको भनाइ छ । साना लगानीकर्तालाई भने त्यस्ता कम्पनीको सेयर खरिद गर्दा समस्या पर्नसक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । रासस

मेगा बैंकका स्वतन्त्र सञ्चालक खत्रीले दिए राजिनामा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका स्वतन्त्र सञ्चालक पूर्णबहादुर खत्रीले राजिनामा दिएका छन् । खत्रीले गत साउन ९ गते नै उक्त पदबाट राजिनामा दिएका हुन् । साउन १३ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक खत्रीको राजिनामा स्वीकृत गरेको हो । खत्री २०७३ साल ३ महिना २९ गते यस बैंकको सञ्चालकको पदमा नियुक्त भएका हुन् ।

एनएफआरएसले वित्तीय विवरण सार्वनिक गर्न ढिलाइ, राष्ट्र बैंकले थप्यो १५ दिन

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई वित्तीय विवरण प्रकाशन गर्न १५ दिन थपेको छ । नेपाल फाइनान्सिङ रिपोटिङ स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार वित्तीय प्रतिवेदन तयार पार्दा ढिलाइ भएको गुनासो बैंकले गरेपछि केन्द्रीय बैंकले १५ दिन समय थप गरी साउन ३० गतेसम्म पुर्याएको हो । यसअघि साउन १५ गतेसम्म वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो । नेपाल बैंक र सिटिजन्स बैंकले सार्वजनिक गरेको वित्तीय विवरण एनएफआरएस मापदण्डअनुसार नभएपछि पुनः प्रकाशित गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । वित्तीय विवरण तयारीमा ढिलाइ भइरहेको बैंकहरुले जनाएका छन् । साउन १५ गतेसम्मको ब्याज आम्दानी असारमसान्तसम्म गणना गर्न पाइने भएपछि बैंकहरु १५ गतेसम्म कुरेका छन् ।

त्रिविका ३० शाखामा सफ्टवेयर प्रणाली सञ्चालनमा, आर्थिक पारदर्शिता कायम राख्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालनमा ल्याइएको छ । सो सफ्टवेयरको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आइतबार शुभारम्भ गरे । लेखापरीक्षण महाशाखाले आर्थिक पारदर्शिता कायम गर्न त्रिविका ३० शाखामा एकैसाथ सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याएको हो । ‘‘त्रिविको आर्थिक अनुशासन र पारदर्शिता कायम गर्न आवश्यक रहेको छ’’ रजिष्ट्रार उप्रेतीले भने, ‘‘अब नयाँ प्रणालीअनुसार समयमै आन्तरिक एवं बाह्य लेखापरीक्षण गर्न नसक्ने शाखाको बजेट निकासा रोकिन्छ ।’’ नायब महालेखा परीक्षक विवेकानन्द घिमिरेले त्रिविले निर्माण गरेको नियम र कार्यविधिको प्रभावकारी कार्यान्वयन गर्न सबैलाई अनुरोध गर्दै त्रिविजस्ता शैक्षिक संस्थालाई आर्थिक अनुशासनको दायरामा राख्न सफ्टवेयर सञ्चालन उपयोगी हुने बताए । लेखापरीक्षण महाशाखाका प्रमुख आर्थिक नियन्त्रक राजेन्द्रबहादुर श्रेष्ठले त्रिविमा बेरुजु नियन्त्रणको प्रयास भइरहेको बताएका छन् । रासस

डा केसीको अनसनपछि १०० रुपैयाँमा डाक्टर पढाउने समताको योजना विफल

काठमाडौं । समता शिक्षा निकेतनको १०० रुपैयाँमा एमबीबीएस पठाउने योजना विफल भएको छ ।  समताले १०० रुपैयाँमा एमबीबीएस, नर्स, अहेव, ल्यावटेक्निसिएन र एचए पढाउने योेजना सार्वजनिक गरेको थियो । प्रा.डा. गोविन्द केसीको अनसनपछि भएको सहमतिले समताको यो लक्ष्य विफल भएको हो । काठमाडौ उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाउने भएपछि उसको यो लक्ष्य पूर्ण नहुने भएको हो । समताका संस्थापक उत्तम सञ्जेलले गरिबका छोराछोरीलाई १०० रुपैयाँमा डाक्टर बनाउँछु भन्दा पनि नपाईने हाम्रो कस्तो देश हो ? भनी प्रश्न गरे । काठमाडौँमा हाम्रो १०० बेड भएको समता अस्पताल छ । १०० बेडको अस्पताल नभई मेडिकल कलेज सञ्चालन गर्न पाइँदैन । काठमाडौं भन्दा बाहिर अस्पताल पनि छैन । खोल्न सकिने अवस्था पनि नभएको उनले गुनासो गरे । “हामीले १०० रुपैयाँमा १० हजार डाक्टर बनाउने लक्ष्य बोकेका थियौं, यो योजना अब तुहिएको छ” उनले भने “हाम्रो देशमा डाक्टर पढ्न लाखौ रुपैयाँ खर्च गर्नुपरेको छ । यो अवस्थालाई अन्त्य गराैँ भनेर प्रयास गरेको हो । तर समताको प्रयास विफल भएको छ ।” अहिले डाक्टर पढ्नका लागि ४० देखि ५० लाख र नर्स पढ्नका न्युनतम ४ देखि ७ लाख रुपैयाँसम्म खर्च लाग्छ । यस्तै अहेव, ल्यावटेक्नीसिएन र एचए पढ्न पनि लाखौँ रुपैयाँ खर्च गर्नुपर्छ । यसले गर्दा यी विषयमा कम आय भएका व्यक्तिको पंहुच बाहिर रहेको छ । समताले गरिवलाई पनि स्वास्थ्यको पंहुच पुर्याउने लक्ष्य लिएको थियो । डाक्टर, नर्स, अहेव लगाएतका कक्षा सञ्चालनका लागि सरकारसंग अनुमति मागेको थियो । सरकारले यो वर्षिभत्र सञ्चालन गर्न अनुमति दिने प्रतिवद्धता समेत जनाएकोमा डाक्टरको अनसन पछि रोकिएको छ । समता अस्पतालले होलबडी चेकअप गराउन १ हजार ५०० शुल्क लिएको छ । बिरामीले प्याथोलोजी सेवा लिनु परे या ईसीजी वा अल्ट्रासाउन्ड गर्नुपरे थप शुल्क तिर्नु पर्दैन । अझ ज्येष्ठ नागरिक परिचयपत्र भएका बिरामीलाई त अस्पतालले निःशुल्क उपचारको व्यवस्था समेत गरेको छ । अपाङ्ग तथा महिलाको लागि पनि अवस्था हेरेर अस्पतालले शुल्कमा छुट दिँदै आएको छ । गरिव र असाय बालबालिकाहरुलाई समता शिक्षा निकेतनले १०० रुपैयाँमा देशै भरि शिक्षा प्रधान गरिरहेको छ ।

कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर कैलालीमा

काठमाडौं । कषि विकास बैंक लिमिटेडले कैलाली जिल्लामा नयाँ एक्सटेन्सन काउन्टर खोलेको छ । बैंकको कैलालीको कैलाली बहुमुखी क्याम्पसमा विस्तार गरिएको उक्त काउन्टर बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) लिलाप्रकाश सिटौलाले गरेका छन् । कैलाली क्याम्पसमा अध्ययनरत विद्यार्थी लगायत गरिव भन्दा गरिब किसानको जिवनस्तर उकास्नमा मद्दत पुगोस् भन्ने उद्देश्यले उक्त काउन्टरको विस्तार गरिएको बैंकले जनाएको छ । कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई एटिएम,एसएमएस,मोवाईल बैंकिङ्ग सुविधा निशुल्क प्रदान गर्न निर्देशन दिनुका साथै स्थानीय जनता र क्याम्पसको निरन्तर सहयोग भएमा बैंकले आफ्ना सेवाहरुमा गुणस्तरीयता बृद्धि गर्दै लग्ने बैंकका सीइओ सिटौलाले बताएका छन् ।

तीजको लोक कोशेली ‘भैसी गयो खोलै खोल’ (भिडियो सहित)

काठमाडौं । नेपाली लोक गीत संगीतमा निकै रुचाइएका गायक तिलक ओली र गायिका करिष्मा डिसीको तीजको लोक कोशेली ‘भैसी गयो खोलै खोल’ गीतको भिडियो भखरै बजारमा आएको छ । नेपाली लोक सस्कृतिको सरक्षण गर्दै आएको गामवेसी म्युजिक प्रालीको प्रस्तुतिमा डेनु ओलीको सो गीत अहिले सर्वाधिक चर्चाको शिखरमा रहेको छ । तिलक ओलीको शब्द तथा मौलिक लय सिर्जना र एरेन्ज गीतमा रहेको छ । तीज गीत भएकाले आम दर्शक तथा स्रोताको माग अनुसार नै गितको शब्द तथा तय सिर्जना गरेको गायक ओलीले बताए । भिडियोलाई गोविन्द विवसको छायाँकन , प्रेम कुमार थारुको सम्पादन रहेको छ । गीतको भाव अनुसार जिवन्त अभिनय गोविन्द विवस, रिना थापा मगरको रहेको छ । भिडियोमा कुशल रुपमा निर्देशन गोविन्द विवसले गरेका छन् ।

जलविद्युत लगानी विकास कम्पनीले २ अर्ब हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) ले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको गत शुक्रबार बसेको १७० औं सञ्चालक समिति बैठकले ऊर्जामा लगानी बढाउन कम्पनीले पुँजी वृद्धि गरेको हो । एचआईडीसीएलले पुँजी दोब्बर बढाएर २० अर्ब रुपैयाँ पुर्याएको छ । कम्पनीको १० अर्ब रुपैयाँ पुँजी थियो । पुँजी बढाएपछि एचआईडीसीएलले थप २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो । यसअघि एचआईडीसीएलले २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता आईपीओ निष्कासन गरिसकेको छ । कम्पनीमा सरकारको ८० र सर्वसाधारणको २० प्रतिशत स्वामित्व छ । थप १० अर्ब रुपैयाँ मध्ये ५ अर्ब रुपैयाँ सरकारले बिहीबार एचआईडीसीएललाई दिएको छ । जसअनुसार अर्थ मन्त्रालयले २ अर्ब, जलस्रोत तथा ऊर्जा तथा सिंचाइ मन्त्रालयले १ अर्ब, कानून तथा न्याय मन्त्रालयले १ अर्ब र महालेखा नियन्त्रकको कार्यलयले १ अर्ब रुपैयाँ थप लगानी गरेका छन् । यस्तै कर्मचारी संचय कोषले १ अर्ब, नागरिक लगानी कोषले १ अर्ब र राष्ट्रिय बीमा संस्थाले १ अर्ब रुपैयाँ लगानी गर्नेछन् । उनिहरुबाट थप लगानी आउन बाँकी रहेको एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले बताए । उनले केही वर्ष्भित्र कम्पनीको पुँजी बढाएर ३० अर्ब रुपैयाँ पुर्याउने जानकारी दिए । थप २ अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन गर्नका लागि प्रक्रिया सुरु गरिसकेको र यो आर्थिक वर्ष्भित्र ल्याउने तयारी भएको पोखरेलले जानकारी दिए । कम्पनीसंग रहेको १० अर्ब रुपैयाँ मध्ये साढे ९ अर्ब रुपैयाँ सहवित्तीयकरणका रुपमा विभिन्न जलविद्युत आयोजनामा लगानी गरेको छ । यसअवधिमा एचआईडीसीएलले १ हजार १४४ मेगावाट क्षमताको २१ आयोजनामा लगानी गरेको छ । कम्पनीसंग ५० करोड रुपैयाँ मात्र बाँकी थियो । जलविद्युत आयोजनामा लगानी बढाउन पुँजी वृद्धि गरेको पोखरेलको भनाई छ । ५ वर्षे योजना कार्यन्वयनका लागि कम्पनीले दातृनिकायबाट थप २ खर्ब रुपैयाँ ऋण लिनका लागि प्रक्रिया अघि बढाएको उनले जानकारी दिए । एचआईडीसीएलको प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । अर्थले पनि विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) बाट कर्जा लिनका लागि प्रक्रिया सुरु गरिसकेको उनले बताए ।