विकासन्युज

अर्थशास्त्री भन्छन्- कर असुल्नु अघि जनतालाई मोहनी लगाउनुस

बरिष्ठ अर्थविद डा. चन्द्रमणी अधिकारी काठमाडौं । कर लगाउंदा जनता फकाउने शैली र सीप चाहिन्छ, मोहनी लगाउन पनि उचित मौसम छान्नु पर्छ  ।नागरिकमाथी कर लगाउनु अघि उनीहरुलाई माया गर्नुस् । नागरिकलाई उपहार दिनुस, कोशेली दिनुस् त्यति पनि नसके मायाको चिनो दिनुस् । सुशासन, विकासको प्रत्याभूति, चुस्त सार्वजनिक सेवा र नागरिकलाई खुसीको अनुभूति दिलाउनुस् । तब नागरिकले पनि सरकारलाई कोशेलीका रुपमा कर तिर्नेछन् । जसले गर्दा एउटा सभ्य समाज र समृद्ध मुलुकको निर्माण सम्भव हुन सक्दछ । यसो गरिरहँदा मुलतः दुई वटा सिद्धान्तलाई आत्मसाथ गर्न सक्नु पर्दछ । कर लगाउँदा कर तिर्ने क्षमताको आधार र सेवा शुल्क लगाउँदा लाभ र लागतको सिद्धान्त अपनाउनु पर्छ ।

कैलाश विकास बैंकको ६३औँ शाखा काठमाडौंको ठमेलमा, थप चार स्थानमा खोल्ने तयारी

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले आफ्नो ६३औँ शाखा काठमाडौंको ठमेलमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका हुन् । यस शाखाबाट बिदेशी मुद्रा खरिद बिक्री रेमिटान्स, कर्जा निक्षेप कारोबार सहित सम्पूर्ण अत्याधुनिक बैंकिङ् सुविधाहरु उपलब्ध हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ६३ पुगेका छन् भने एटीएम संख्या २७ पुगेका छन् । बैंकले निकट भविष्यमा बांंके जिल्लाको नेपालगंज सुर्खेतको छिन्चु बजार तथा बिरेन्द्रनगरको महेनद्रनगर, दाङ्गको तुल्सीपुर लगायत अन्य विभिन्न ठाँउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

मेगा बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता, बैंकबाटै बीमा गर्न सकिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, अब ग्राहकहरुले मेगा बैंकका जुनसुकै शाखाबाट सिटिजन लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्न सकिने छ । साथै, प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

रसुवागढीको रेल टोखामा रोकिने, वीरगञ्ज झर्ने कहाँबाट ?

काठमाडौं । नेपाल सीमा रसुवागढी देखि काठमाडौंसम्मको रेलमार्ग लम्बाई करिब ७२ कि.मी.हुने भएकाे छ । नेपाल-चीन सीमापार रेल आयोजनाको पूर्वसंभाव्यता अध्ययन प्रतिवेदन अनुसार उक्त रेलमार्ग सीमाको लम्बार्इ ताेकिएकाे हाे । पूर्वसंभाव्यता अध्ययन प्रतिवेदन अनुसार यस रेलमार्गको अधिकांस भाग सुरुङ्ग र केही अग्ला पुलहरु हुँदै काठमाडौंको टोखामा अन्तिम स्टेशन हुनेछ । प्रतिवेदनमा दुवै पक्षबाट दिइएका सुझावहरु समेटेर केही दिन भित्रै चिनीयाँ डिजाइन परामर्शदाता फष्ट सर्भे एण्ड डिजार्इन इन्सटिट्युट(एफएसडीअार्इ)ले अन्तिम प्रतिवेदन बुझाउने छ । त्यसपछि दुवै सरकारको सहमतिमा परियोजनाको विस्तृत संभाव्यता अध्ययन हुनेछ । यस परियोजनालाई नेपाल र चीन दुवै सरकारका तर्फबाट निकै महत्वका साथ हेरिएको छ । बैठकले चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेबाट शुरु भई केरुङ हुँदै नेपाल चीन सीमाना रसुवागढीबाट काठमाडौंसम्म बिस्तार हुने उक्त रेल परियोजनाको पूर्वसंभाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख भएका विभिन्न विषयहरुमा गहन छलफल गरी सुझाव दिएको थियो । गत भदाै ३ देखि ५ (अर्थात अगष्ट १९-२२)सम्म मित्रराष्ट्र चीनको सियान सहरमा नेपाल-चीन सीमापार रेल आयोजनाको पूर्वसंभाव्यता अध्ययन प्रतिवेदनको नेपाली एवं चिनीयाँ अधिकारीहरुबीच छलफल सम्पन्न भएकाे थियाे । उक्त छलफलमा नेपाली पक्षका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीको नेतृत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह-सचिव, रेल विभागका महानिर्देशक, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधीहरु सहितको आठ जनाको सहभागिता थियो भने चिनीयाँ पक्षबाट राष्ट्रिय रेल प्रशासनका उप-प्रशासक जेहेन्ज जियानको नेतृत्वमा परराष्ट्र मन्त्रालय, यातायात मन्त्रालय, नेशनल रिफर्म एण्ड डेभलपमेन्ट कमिसन, एवं स्वशासित क्षेत्र तिब्बतका प्रतिनिधीहरुको सहभागिता थियो । साथै उक्त छलफलमा पूर्वसंभाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने चिनीयाँ परामर्शदाता एफएसडीअार्इले प्रतिवेदन छलफलका लागि प्रस्तुत गरेको थियो भने रेल यातायात क्षेत्र, विद्युत क्षेत्र, रेल निर्माण कम्पनी तथा डिजाइन कन्सल्टेण्ट र सम्बद्ध विभिन्‍न निकायका विशेषज्ञहरुको सहभागिता थियो  ।  

नयाँ जनै फेर्न र ज्ञानको धागो बाध्न पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड (फोटो फिचर)

काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका दिन आज(आइतबार) बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ र पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधेका छन् । “सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ” भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा अहिलेसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरुपुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः, तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् । आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्छन् । यसका लागि अघिल्लो दिनदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिउन र सप्तमृत्तिका लगाएर स्नान गर्छन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ, तिल र कुशद्धारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गरिने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भनिन्छ । वैदिक गुरु परम्परानुसार यज्ञोपवीतलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र मठ मन्दिरमा भक्तजनको भीड लागेको छ । आजका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ । नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडौंको उत्तरपूर्वी भेगस्थित मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाका जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायत ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लागेको छ । रासस (तस्विर: प्रकाश देवकोटा)

चालकको लापर्वाहीबाट ९० प्रतिशत बढी दुर्घटना, गत वर्ष १९४ जनाको मृत्यु

काठमाडौं । काठमाडौं उपत्यकामा चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले दिएको जानकारीअनुसार कूल दुर्घटनाको ९० प्रतिशत भन्दा धेरै चालकको लापर्वाहीले हुने गरेको हो । आर्थिक वर्ष २०७४/७५ मा भएको ६ हजार ३८१ दुर्घटनामध्ये चालकको लापर्वाहीले मात्र पाँच हजार ९६१ दुर्घटना भएको छ । यस्तै तीव्र गतिका कारण ७१, मादक पदार्थ सेवनले २२१, यान्त्रिक गडबडी ४४, उछिन्दा (ओभरटेक) २९, पैदलयात्रुको लापर्वाहीले तीन र सडकको अवस्थाका कारण ४८ दुर्घटना भएका छन् । दुर्घटनामा परी २१९ गम्भीर र चार हजार ३३३ सामान्य घाइते भएका छन् । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकामा सवारी सङ्ख्या धेरै र चालकले जथाभावी चलाउदा धेरै दुर्घटना हुने गरेको जानकारी दिए । “बाटो साँघूरो, तीव्र गति र जथाभावी चलाउँदा धेरै सडक दुर्घटना हुने गरेको छ,”–उनले भने । बाग्मती अञ्चलमा दर्ता भएका ११ लाख सवारी साधनमध्ये उपत्यकामा मात्र झण्डै आठ लाख सवारी साधन ओहोरदोहोर गर्ने गर्छन् । आव २०७४/७५ मा मात्र सवारी दुर्घटनाका कारण १९४ जनाको मृत्यु भएको थियो । दुर्घटना भएका सवारी साधनमध्ये दुईपाङ्ग्रे सवारी साधन धेरै छन् । आव २०७४/७५ मा दुर्घटनामा मरेका १९४ मध्ये १४७ पुरुष र ४७ महिला छन् । कूल मृत्युमध्ये मोटरसाइकल र स्कुटर दुर्घटनामा मात्र १११ को मृत्यु भएको छ । रासस

रोजगार नभए भत्ता दिने सरकारको तयारी, मंसिरदेखि श्रमिक कार्ड गरिब ब्राह्मणले समेत पाउने

काठमाडौं । न्युन आय हुने गरिब परिवारलाई रोजगारी दिलाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीको हक सम्बन्धी व्यवस्था विधेयक अघि बढाएको छ । ‘एक घर एक रोजगार’ पुर्याउन मन्त्रालयले विधेयकलाई अघि बढाएको हो । विधेयक मन्त्रीपरिषदले पारित गरिसकेको छ । रोजगार प्रदान गर्नका लागि रोजगार सेवा केन्द्र गठन गरि बेरोजगारहरुको संख्या यकिन गरिने मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताए । उनका अनुसार प्रत्येक स्थानीय तहमा कम आय हुने व्यक्तिको पहिचान गरी श्रमिक कार्ड दिइनेछ । श्रमिक कार्ड एक परिवारको १ जनाले मात्र प्राप्त गर्नेछन् । श्रमिक कार्ड प्राप्त गर्नका लागि परिवारका कुनैपनि सदस्य रोजगार भएको हुनु हुदैंन । यस्ता घरपरिवार पहिचान गरि सेवा केन्द्रले श्रमिक कार्ड वितरण गर्नेेछ । प्रवक्ता दाहालका अनुसार श्रमिक कार्ड आगामी मंसिरदेखि शुरु हुनेछ । यसरी श्रमिक कार्ड लिनेहरुले वर्षमा १ सय दिन रोजगारीको अवसर प्राप्त गर्नेछन् । पारिश्रमिक भने कामको प्रकृति अनुसार निर्धारण हुनेछ । नेपालको संविधान २०७२ को भाग ३ धारा ३३ रोजगारीको हक र ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । यसै कार्यक्रम मार्फत प्रधानमन्त्री रोजगार कार्यक्रम पनि लागू हुनेछ । रोजगारीको लागि सबै मन्त्रालय र संस्थानहरुसँग सहकार्य रोजगारीका लागि सबै मन्त्रालय र संस्थानहरुसँग सहकार्य गर्ने तयारी गरिएको छ । देशमा सञ्चालित विभिन्न जलविद्युत् आयोजना, सडक विस्तार, राष्ट्रिय गौरवका आयोजना, संस्थानले गर्ने काम र निजी संस्थाहरुसँग छलफल भैरहेको मन्त्रालय श्रोतले जनाएको छ । सरकारले तोकिएको रोजगारी उपलब्ध गराउन नसके निर्वाह भत्ता उपलब्ध गराउनेछ । मन्त्रालयले तयार गरेको ‘रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’मा सरकारले बेरोजगार नागरिकलाई एक आर्थिक वर्षमा कम्तीमा १०० दिनको रोजगारीको सुनिश्चितता गराउने व्यवस्था गरेको छ । विधेयकमा कुनै पनि रोजगारमा संलग्न नभएको वा न्यूनतम आयआर्जन हुने स्वरोजगारमा संलग्न नरहेका १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई एक आर्थिक वर्षमा न्यूनतम सय दिनको रोजगारी उपलब्ध गराउने प्रस्ताव गरेको छ । यस कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्न ७५३ वटै स्थानीय तहमा ‘रोजगार सेवा केन्द्र’ स्थापना गर्नुपर्ने व्यवस्था गरिएको छ । बेरोजगारले न्यूनतम रोजगारमा संलग्न हुन चाहेमा आफूसँग भएको सीप, योग्यता वा क्षमता उल्लेख गरी सेवा केन्द्रमा निवेदन दिन सक्नेछन् । केन्द्रले आफ्नो क्षेत्रभित्रका रोजगारदाताका लागि आवश्यक श्रमिकको उपलब्धता र सूचीकृत बेरोजगार व्यक्तिका लागि रोजगारीका अवसरसम्बन्धी सूचना उपलब्ध गराउनु पर्नेछ । न्यूनतम रोजगार उपलब्ध गराउन नसके सरकारले तोकेको न्यूनतम पारिश्रमिकको १०० दिन बराबरको ५० प्रतिशत रकम निर्वाह भत्ताका रुपमा उपलब्ध गराउने प्रस्तावित विधेयकमा उल्लेख छ । अन्य क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमिकसँग नबाझिने गरी सरकारले केही समयभित्रै पारिश्रमिकसम्बन्धी निर्णय गर्नेछ । मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत बराबरको रकम मात्र निर्वाह भत्ता उपलब्ध गराउनेछ । रोजगार दिने प्रक्रियामा कुनै खास वर्ग वा समुदायका लागि विशेष व्यवस्था गरेको अवस्थामा बाहेक उत्पति, धर्म, वर्ण, जातजाति, लिङ्ग, भाषा, क्षेत्र र वैचारिक आस्थाका आधारमा भेदभाव गर्न पाइने छैन । रोजगारीमा रहेका व्यक्तिलाई बिना कारण रोजगारीबाट हटाउन नपाइने व्यवस्थासमेत गरिएको छ । तीन अर्ब बजेट श्रम मन्त्रालयले १०० दिने रोजगारीको कार्यक्रम कार्यान्वन गर्न चालु आवमा तीन अर्ब १० करोड रूपैयाँ विनियोजन गरेको छ । स्थानीय तहले उपलब्ध गराउने रोजगारीको अवसर र केन्द्रमा सूचीकृत बेरोजगाको संख्याका आधारमा बजेट उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । अभियानलाई पूर्णरुपमा सञ्चालन गराउन आवश्यक बजेटका लागि अर्थ मन्त्रालयसँग परामर्श भइरहेको प्रवक्ता दाहालले बताए । ‘रोजगारीको हकसम्बन्धी ऐन, २०७५’ कार्यान्वयनका लागि आवश्यक नियमावली, कार्यविधि तथा निर्देशिका निर्माणको चरणमा रहेको मन्त्रालयले जनाएको छ । उक्त विधेयकलाई मन्त्रिपरिषद्को बैठकले संघीय संसद्मा पेश गर्ने निर्णय समेत गरिसकेको छ । आगामी असोज २ गतेभित्र मौलिक हक सम्बन्धीसम्पूर्ण कानून संघीय संसद्बाट पारित हुनुपर्ने संवैधानिक प्रावधान छ ।

कुमारी बैंकको सञ्चालकमा ६ जना नियुक्त, नरेश दुगडले दिए राजिनामा

काठमाडौं । कुमारी बैंक लिमिटेडको सञ्चालक समितिमा ६ जना नियुक्त भएका छन् । आइतबार बिहान बसेको कम्पनी सञ्चालक समितिले सन्तोषकुमार लामा, शोभाकान्त ढकाल, उत्तमप्रसाद भट्टराई, पुनाराम भण्डारी, विनोद दवाडी र कृष्णप्रसाद ज्ञवालीलाई बैंकको सञ्चालकमा नियुक्ती गरेको हो । साथै, कम्पनीको सञ्चालक नरेश दुगडले राजिनामा दिएका छन् । समितिको भदौ ७ गते बसेको बैठकले सोही मितिदेखि लागु हुने गरीे सञ्चालक दुगडको राजिनामा स्वीकृत गरेको छ ।