
काठमाडौं । नेपाल सीमा रसुवागढी देखि काठमाडौंसम्मको रेलमार्ग लम्बाई करिब ७२ कि.मी.हुने भएकाे छ । नेपाल-चीन सीमापार रेल आयोजनाको पूर्वसंभाव्यता अध्ययन प्रतिवेदन अनुसार उक्त रेलमार्ग सीमाको लम्बार्इ ताेकिएकाे हाे ।
पूर्वसंभाव्यता अध्ययन प्रतिवेदन अनुसार यस रेलमार्गको अधिकांस भाग सुरुङ्ग र केही अग्ला पुलहरु हुँदै काठमाडौंको टोखामा अन्तिम स्टेशन हुनेछ । प्रतिवेदनमा दुवै पक्षबाट दिइएका सुझावहरु समेटेर केही दिन भित्रै चिनीयाँ डिजाइन परामर्शदाता फष्ट सर्भे एण्ड डिजार्इन इन्सटिट्युट(एफएसडीअार्इ)ले अन्तिम प्रतिवेदन बुझाउने छ ।
त्यसपछि दुवै सरकारको सहमतिमा परियोजनाको विस्तृत संभाव्यता अध्ययन हुनेछ । यस परियोजनालाई नेपाल र चीन दुवै सरकारका तर्फबाट निकै महत्वका साथ हेरिएको छ । बैठकले चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेबाट शुरु भई केरुङ हुँदै नेपाल चीन सीमाना रसुवागढीबाट काठमाडौंसम्म बिस्तार हुने उक्त रेल परियोजनाको पूर्वसंभाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख भएका विभिन्न विषयहरुमा गहन छलफल गरी सुझाव दिएको थियो ।
गत भदाै ३ देखि ५ (अर्थात अगष्ट १९-२२)सम्म मित्रराष्ट्र चीनको सियान सहरमा नेपाल-चीन सीमापार रेल आयोजनाको पूर्वसंभाव्यता अध्ययन प्रतिवेदनको नेपाली एवं चिनीयाँ अधिकारीहरुबीच छलफल सम्पन्न भएकाे थियाे ।
उक्त छलफलमा नेपाली पक्षका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीको नेतृत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह-सचिव, रेल विभागका महानिर्देशक, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधीहरु सहितको आठ जनाको सहभागिता थियो भने चिनीयाँ पक्षबाट राष्ट्रिय रेल प्रशासनका उप-प्रशासक जेहेन्ज जियानको नेतृत्वमा परराष्ट्र मन्त्रालय, यातायात मन्त्रालय, नेशनल रिफर्म एण्ड डेभलपमेन्ट कमिसन, एवं स्वशासित क्षेत्र तिब्बतका प्रतिनिधीहरुको सहभागिता थियो ।
साथै उक्त छलफलमा पूर्वसंभाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने चिनीयाँ परामर्शदाता एफएसडीअार्इले प्रतिवेदन छलफलका लागि प्रस्तुत गरेको थियो भने रेल यातायात क्षेत्र, विद्युत क्षेत्र, रेल निर्माण कम्पनी तथा डिजाइन कन्सल्टेण्ट र सम्बद्ध विभिन्न निकायका विशेषज्ञहरुको सहभागिता थियो ।