विकासन्युज

होटल अन्नपुर्णमा एकाको अष्ट्रेलियन एजुकेशन फेयर शुरु, ५ हजार विद्यार्थी सहभागि हुने

काठमाडौं । उच्च शिक्षाका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर काठमाडौंको होटल अन्नपूर्णमा ‘अस्ट्रेलियन एजुकेशन फेयर २०१८’ शुरु भएको छ । अस्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्स अलायन्स (एका) को आयोजनामा भइरहेको मेला भाेलि(भदाै ९ गते)सम्म चल्नेछ । सो कार्यक्रम अष्ट्रेलियन राजदुत पिटर वडले एक औपचारीक समारोहका बिच उद्घाटन गरे । उनले अष्ट्रेलिया नेपाली विद्यार्थीहरुका लागि उच्च शिक्षा हासिल गर्ने उत्कृष्ट गन्तब्य रहेको बताएका छन् । अस्ट्रेलियाबाट संचालित एजुकेशन कन्सल्टेन्सीहरुको छाता संगठन एकाले दोस्रो संस्करणका रुपमा मेलाको आयोजना गरेको हो । एकाका अध्यक्ष निरज श्रेष्ठले मेलामा अस्ट्रेलिया जान चाहने विद्यार्थीहरु र तिनका अभिभावकलाई अस्ट्रेलियाको शैक्षिक क्षेत्रबारे विस्तृत जानकारी दिने बताए । अस्ट्रेलियाका राम्रा विश्वविद्यालय तथा कलेजमा अध्ययन गर्न चाहने विद्यार्थीलाई त्यहाँको रहनसहन, संस्कृतीका बारेमा सम्बन्धित परामर्श व्यवसायी तथा शिक्षालयका प्रतिनिधीले मेलामा जानकारी उपलब्ध गराउने छन् । यसका साथै शैक्षिक छात्रवृत्ति हासिल गर्न सक्ने बिषय र शैक्षिक संस्थाको बारेमा पनि विद्यार्थीलाई उक्त मेलामा जानकारी उपलब्ध गराइनेछ । त्यस क्रममा विद्यार्थीलाई अस्ट्रेलिया जानुपुर्व र गइसकेपछि गर्ने तयारीका विषयमा विषयगत विज्ञले विस्तृत जानकारी दिनेछन् । एका अध्यक्ष श्रेष्ठका अनुसार अस्ट्रेलियामै रहेर सञ्चालित परामर्श व्यवसायीहरुको मेला भएकाले विद्यार्थीले अस्ट्रेलिया पुगेर पनि निरन्तर तिनको आवश्यक सहयोग पाउनेछन् । अध्यक्ष श्रेष्ठ भन्छन्– अस्ट्रेलिया एजुकेसनको बारेमा एक्का सदस्य व्यवसायीहरु जत्तिको विश्वासिलो र भरपर्दो अन्य शैक्षिक परामर्श व्यवसायीहरु हुन सक्दैनन । यो जानकारी दिनपनि नेपालमा मेला आयोजना आवश्यक ठानेका हौं ।’ एउटै छाना मुनी विभिन्न विश्वविद्यालय, कलेजहरुको सहभागिता हुने भएकाले विस्तृत शैक्षिक कार्यक्रम र तिनका पाठ्यक्रमबारे विद्यार्थीले जानकारी हासिल गर्न सक्छन् । विद्यार्थीले यो मेलामा आएर वास्तविक परामर्श पाउने भएकाले अस्ट्रेलिया जाने सोचमा रहेका सम्पुर्ण विद्यार्थीलाई मेलामा सहभागि भईदिन अध्यक्ष श्रेष्ठले अपिल गरेका छन् । उक्त मेलामा ५ हजार विद्यार्थी सहभागि हुने अपेक्षा आयोजकले राखेको छ । मेलामा २२ वटा अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्सी र सातवटा अस्ट्रेलियन कलेजको सहभागिता रहेको छ । यस्तै केहि विश्वविद्यालयका प्रतिनिधीहरु सहभागी छन् । मेलामा विद्यार्थी तथा अभिभावकहरुले विश्वविद्यालय, कलेज र कन्सल्टेन्सिका प्रतिनिधीसँग सबै विषयमा खुलेर परामर्श लिन सक्नेछन् । विद्यार्थी र शैक्षिक परामर्श व्यवसायीबीच अस्ट्रेलियन शिक्षाका बारेमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले यो मेला आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

बीमा समितिको निमित्त कार्यकारी निर्देशकमा पौडेल

काठमाडौं । बीमा समितिको निमित्त कार्यकारी निर्देशकमा राजु रमण पौडेल नियुक्त भएका छन् । शुक्रबार समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले पौडेललाई निमित्त कार्यकारी निर्देशकमा बढुवा गरेका हुन् । अघिल्ला निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले असार १ गतेदेखि अवकास पाएपछि सो पद खाली थियो । यद्यपी बीमा समितिमा कार्यकारी निर्देशक पद भने चार बर्षदेखि खाली रहँदै आएको छ । बीमा समितिमा निर्देशकका रुपमा कार्यरत पौडेललाई बरिष्ठताका आधारमा निमित्त कार्यकारी निर्देशक नियुक्त गरिएको हो ।

साना तथा मझौँला उद्यम व्यवसाय विकासको वातावरण बनाउन अध्यक्ष राणाकाे आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले साना तथा मझौँला उद्यम व्यवसाय विकासको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएकी छिन् । उनले शुक्रबार ललितपुरमा साना तथा मझौला व्यवसायी महासंघद्धारा आयोजित तीज महोत्सव तथा महिला उद्यमी मेलाको उद्घाटन गर्दै सरकाले उक्त कुरामा ध्यान दिनुपर्ने बताएकी छिन् । उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष राणाले मुलुकको आर्थिक विकास एवं समृद्धिको एक कडीको रूपमा रहेका साना तथा मझौला व्यवसाय त्यसमा पनि महिलाहरूले उत्पादन गरेको वस्तुहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेला यस क्षेत्रको विकासमा सहयोगी हुने बताएकी छिन् । सरकारले यस क्षेत्रको विकासमा विशेष गरी सहज रूपमा ऋणको व्यवस्था, बजार पहुँच तथा प्रवद्र्धन र नविनतम तकनिकीमा उद्यमीहरूले सरकारको सहयोग खोजेको स्पष्ट पारेकी छिन् । यो क्षेत्रलाई विस्तार हुने वातावरण बनाइदिन आवश्यक रहेको जसले गर्दा दिगो रूपमा व्यवसाय संचालनमा सहयोग पुग्ने छ । उद्यमशीलता प्रवद्र्धन मार्फत मुलुक भित्र रोजगारीको पर्याप्त अवसर सृजना गर्न सकिने अध्यक्ष राणाले बताइन् । उक्त मेला तीन दिनसम्म संचालन हुने छ । मेला हिन्दु नारीहरूको महान चाड तीजको अवसर पारेर महिला उद्यमीहरूलाई हौसला प्रदान गर्ने एवं उद्यमीहरूबाट उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित गरिएको हो । मेलामा विभिन्न जिल्लाका साना तथा मझौला व्यवसायी महिलाहरूले आ–आफ्नो उत्पादनहरू प्रदर्शनीमा राखेका छन् । मेला महोत्सवले व्यवसाय प्रवद्र्धनमा ठूलो भूमिका खेल्नुका साथै विशेष गरि महिला दिदी बहिनीहरूलाई व्यवसाय संचालनमा थप उर्जा मिल्ने छ । समय समयमा आयोजना गरिने मेला महोत्सव मुलुकभित्र साना तथा मझौला उद्यमको यथार्थ वस्तुतथ्य बाहिर ल्याउन कोषेढुंगा हुने विश्वास लिएको अध्यक्ष राणाले बताइन् ।

डा.अनिल भट्टराईले बचाए दुई आमा छोरा, अहिलेसम्मकै दुर्लभ ‘ओपन हार्ट सर्जरी’ गर्न सफल

काठमाडौं । बरिष्ठ मुटुरोग विशेषज्ञ उप-प्रध्यापक डा. अनिल भट्टराईको नेतृत्वमा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अहिलेसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी) सफल रुपमा सम्पन्न भएको छ । रामेछाप सुनपाती गाउँपालिकाकी २४ वर्षीया (३७ हप्ताकी गर्भवती महिला) प्रमिला अर्यालको मुटुको सफल शल्यक्रिया सम्पन्न भएको हो । आमा र छोरा दुवैको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको शल्यक्रियाको नेतृत्व गरेका डा. भट्टराइले जानकारी दिए । अर्याललाई टाईप ए अरोटिक डिसेक्शन विथ प्रेगनेन्सी रोग लागेको थियो । यो दुर्लभ रोग हो । यो रोग लागेपछि विरामी बाँच्ने सम्भवना अत्यन्तै न्यून हुन्छ । तर, मनमोहनको यो ९ वर्षको ईतिहाँसमा पहिलोपटक हो यस्तो रोग लागेका विरामीको सफल शल्यक्रिया भएको डा. भट्टराईले जानकारी दिए । उनले भने,“बच्चा जन्मिँदा बेहोस थियो । तीन घण्टापछि उसको होस आएको छ । आमालाईपनि अहिले भेन्टिलेटरबाट छुट्याएर आईसियूमा सारिएको छ ।” आमा र बच्चा दुवै बचाउन सफल भएकोमा खुशी व्यक्त गर्दै डा. भट्टराईले भने,“मेरो करिअरको १३ वर्षको ईतिहासमा यस्तो दुर्लभ रोग लागेका विरामीको सफल शल्यक्रिया गरेर नयाँ जीवन दिन पाउँदा खुशी लागेको छ । मेरो टिमलाई म धन्यवाद भन्न चाहन्छु ।” सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डा. उत्तमकृष्ण श्रेष्ठलेपनि यस्तो दुर्लभ रोग लागेको विरामीको आफ्नो सेन्टर र यसका डाक्टरहरुले सफल शल्यक्रिया सम्पन्न गरेर आमा र छोरा बचाउन सफल भएकोमा खुशी व्यक्त गरे । उनले भने,‘‘म टिमप्रति आभारी छु । उहाँहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।’ उक्त शल्यक्रियामा कार्डियाक सर्जरी टिमका डा. भट्टराईका साथै डा. प्रभात खकुरेल, डा. रवि बराल र डा. निकेश भण्डारी सहभागी थिए । त्यस्तै एनस्थेसिया टिममा डा. विश्वास प्रधान, डा. विभुष श्रेष्ठ, डा. मन्दिरा बस्नेत, डा. प्रिष्का बास्तोला र डा. अर्जुन गुरुङ सहभागी थिए । गाईनोकोलोजीमा भने डा. ज्योति शर्मा, डा. बेखा लक्ष्मी मानन्धर, डा. सुनिति रावल, डा. सुनिता बज्राचार्य र डा. सुभाना माष्के सहभागी थिए । त्यस्तै बाल रोग विशेषज्ञमा भने डा. प्रदीप पौडेल र डा. कविता मानन्धर उपचारमा संलग्न थिए । परफ्युजन टिममा महेन्द्र भट्ट, पुर्ण मोक्तान र रविन्द्र शाह संलग्न थिए । नर्सिङ स्टाफहरुमा जया शर्मा, अर्चना गुरुङ, योजना रेग्मी, सरिता त्रिपाठी, लक्ष्मी योञ्जन, रुची शाह र रबिना मानन्धर थिए । डा. भट्टराई सामाजिक सेवामासमेत सक्रिय छन् । उनको पहलमा सयौं असहाय, गरिब तथा दुर्गमका मुटुरोगीहरुको सफल उपचार भएको छ । अहिलेसम्म उनले ९० भन्दा बढि विरामीको निःशुल्क मुटुको शल्यक्रिया गरिसकेका छन् । डा. भट्टराईले रुकुम, रोल्पा, कालिकोट, पर्वत, पाल्पालगायत ४० भन्दा जिल्लामा आफ्नो नेतृत्वमा निःशुल्क मुटु शिविर लिएर गएका छन् । शिविरको क्रममा भेटिएका गम्भिर प्रकृतिका मुटुरोगीहरुलाई आफ्नो पहलमा काठमाडौं ल्याई सफल उपचार गराएर घर पठाएका छन् । उनले ‘सेभ द हार्ट’ नामक सामाजिक संस्थामार्फत यस्तो कार्य गरिरहेका छन् ।

सिभिल बैंकले बालविकास समाजलाई दियो दुई लाख रुपैयाँ

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बालविकास समाजलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यद्वारा बालविकास समाजका अध्यक्ष सुवास गौतम र कोषाध्यक्ष सुरेन्द्र ढकाललाई संयूक्त रुपमा हस्तान्तरण गरेका थिए । देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरा मनन गर्दै बालविकास समाजलाई यो सहयोग गरिएको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए । सिभिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पाँचखालमा संचालित ‘समाज कल्याण बाल गृहका तीन अनाथ बालकहरूको कक्षा १० सम्मको सम्पूर्ण खर्च बैंकले विगत ८ वर्ष देखि व्योहोर्दै आइरहेको छ । यस बालविकास समाजसँग पनि बैंकले विगत २ वर्षदेखि निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आइरहेको बताएको छ ।

जलवायु परिवर्तनले हिमालमा पनि लामखुट्टे

काठमाडौँ। उच्च हिमाली क्षेत्रका बासिन्दा यतिखेर झुल हालेर सुत्नुपर्छ भन्ने सुन्नु पर्दा धेरैलाई अचम्म लाग्न सक्छ।  जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ। हिमाली क्षेत्रमा उष्णता बढ्नाका कारण पनि यही हो । यहाँ समय नहुँदै हिउँ पग्लने र बेमौसम मै फल लाग्ने स्थितिसमेत पैदा भएको छ । तराई र मधेशका फाँटमा पाइने लामखुट्टे पहाड चढेको झण्डै तीन दशक पुगिसकेको छ । हिमाली क्षेत्रमा देखिन थालेको चाहीँ करीब एक दशक पुग्न लाग्यो । हिमालपारिको जिल्ला मुस्ताङको घरबजोङ गाउँपालिका वडा नं ५ ठिनीका ६५ वर्षीय पल्डिसी थकाली विगतमा लामखुट्टेको नाम समेत नसुनेका यहाँका स्थानीयवासी यतिखेर भने झुल प्रयोग गर्न बाध्य बनेको बताउँछन्। पृथ्वीमा वर्षेनी तापमान बढेर हिमाली क्षेत्रको जनजीवन र बालीनालीमा ठूलो प्रभाव पारिरहेको उनी बताउँछन। एक दशक अघिसम्म हिउँ मात्र पर्ने ठिनीमा जलवायु परिवर्तनको असरसँगै पानी पर्न थालेपछि परम्परागत तवरले निर्माण गरिएका माटाका संरचनाहरु जोखिममा पर्दै गएका छन् । माटाले छाइएका घरहरू पानी पर्न थालेपछि पग्लने र भत्कने क्रम बढ्दा जस्ताले छाउन बाध्य हुनुपरेको स्थानीयवासी बताउँछन्। पानी पर्ने क्रमले हिमाली क्षेत्रमा बाढी पहिरोको प्रकोप बढ्नाका साथै कृषि प्रणाली पनि प्रभावित भएको छ । गर्मी क्षेत्रमा मात्र फल्ने बन्दा, काउली यतिखेर ठिनीमै फल्ने गरेको थकालीले जानकारी दिए। तापक्रम वृद्धिले चाँदी जस्तै टलक्क टल्कने हिमालहरू वर्षेनी काला पत्थरमा परिणत भइरहेका छन् । उपल्लो मुस्ताङका लोमन्थाङ, छोनुप, छोसेर, सुर्खाङ, चराङ, घमी लगायतका स्थानमा अत्यन्त कम मात्रामा हिउँ पर्न थालेपछि त्यहाँका वस्तीमा खानेपानीको अभाव चर्किएको छ । पानीको चरम अभावसँगै छोसेरको सामजुङ बस्तीलाई चार वर्ष अघि पानीकै खोजीमा नमासुङ गाउँमा सारिनु यसको ज्वलन्त उदाहरण हो । हिउँ पर्न कम हुनाका साथै हिउँ पर्ने ठाउँमा पानी पर्न थालेपछि मुस्ताङ जिल्लाका वस्तीहरू जोखिममा पर्दै गएको थसाङ गाउँपालिका वडा नं ३ लेतेका ६५ वर्षीय नरसिंह शेरचन बताउँछन्। “जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रमा फल्ने स्याउले आफ्नो ठाउँ छोडेर विस्तारै उपल्लो भागतिर सर्दै गएको छ” – उहाँले भन्नुभयो । स्याउको राम्रो उत्पादन हुने लेतेमा १० वर्ष यता स्याउ फल्नै छोडे पछि उत्पादन तथा बिक्री गरी आयआर्जन गर्दैआएका लेतेवासीलाई स्याउको विकल्प खोज्नुपर्ने अवस्था आएको छ। हिमाल पग्लने क्रमसँगै नयाँ नयाँ हिमताल बन्ने क्रम बढिरहेको छ भने बेमौसममा आउने बाढीका कारण धेरै वस्ती जोखिममा पर्ने गरेका छन् । पछिल्ला वर्षमा विश्वव्यापी रुपमा बढेको जलवायु परिवर्तनको असर नेपालमा पनि देखिने गरेको वरिष्ठ मौसमविद् विभूति पोखरेल बताउँछन्। पानी पर्दा एकसाथ ठूलो पर्ने, लामो समयसम्म नपर्ने जस्ता कारण पानीका मुहान सुक्दै जाने, खेतहरू बाँझिने क्रम बढेको छ । अध्ययनले देखाए अनुसार पछिल्ला वर्षमा पहाडी भेगमा ०.०६ प्रतिशत र हिमाली भेगमा ०.०४ प्रतिशतका दरले तापक्रममा वृद्धि भइरहेको छ। प्राकृतिक एवं मानवीय दुबै कारणबाट विश्वव्यापी तापमान बढिरहेको विज्ञहरु बताउँछन् । यसले पार्ने दीर्घकालीन प्रभावलाई न्यून गर्न सचेतता अपनाउन हतार भइसकेको सरोकारवाला बताउँछन् । जलवायु परिवर्तनसँगै हिउँ पग्लने तथा हिमताल फुट्ने क्रम पनि बढ्दै गएको अध्ययनले देखाएको छ । केही वर्ष अघि पोखरा भएर बग्ने सेती नदीमा अपत्यारिलो तवरले हिउँदमा बाढी आएर करीब दुई दर्जन सर्वसाधारणको ज्यान गयो । बाढीको कारण यकिन नभए पनि अनुसन्धानका क्रममा हिमताल फुटेकै कारण हुन सक्ने अनुमान गरिएको छ । पछिल्ला वर्षमा अन्नपूर्ण हिमालको हिउँ पग्लेर कास्कीको सिक्लेस गाउँ माथि नयाँ हिमताल अस्तित्वमा आयो । यो जलवायु परिवर्तनको अर्को उदाहरण हो । अन्नपूर्ण हिमालबाट खसेको हिउँको थुप्रो पग्लिएर कास्कीको पार्चेमा हिमताल बनेको छ र उक्त ताललाई स्थानीय बासिन्दाले ‘कफुचे’ नामकरण गरिदिएका छन् । नेपालमा चार हजार ५०० मिटरमाथि मात्रै हिमताल भेटिएका भए पनि यो ताल भने दुई हजार चार सय ३७ मिटरको उचाइमा विकसित भएको छ । पछिल्ला अध्ययनहरुसँगै जलवायु परिवर्तनको असरका कारण हिमताल फुट्दै, सुक्दै र हिमनदीका सीमामाथि सर्दै नदीहरू हिमालमाथि उक्लिरहेको तथ्य बाहिर आएका छन् । नेपालमा मात्र दुई हजार तीन सय २३ वटा हिमताल रहेका छन् । यसमध्ये महत्वपूर्ण मानिने हिमनदी र हिमाली क्षेत्रहरूबाट हिउँ पग्लदै जानु यतिखेर गम्भीर चुनौतीका रुपमा देखिएको छ । अहिले विश्वभर मानिसले पिउने ७० प्रतिशत पानी हिमखण्डबाटै प्राप्त हुने गरेको सन्दर्भमा हिउँ पग्लेर हिमाल कालापत्थरमा परिणत हुनु सबैको चासो र चिन्ताको विषय बन्न पुगेको छ । जलवायु परिवर्तनले कृषिजन्य उत्पादनमा पनि असर गरेको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत प्रकाश बस्ताकोटीले बताए। कास्की र आसपासका जिल्लामा धानखेतीमा यसले प्रत्यक्ष असर पारेको देखिएको छ । बस्ताकोटीका अनुसार मौसम फेरबदलका कारण कृषकले उचित समयमा धान रोप्न नसक्दा त्यसले उत्पादनमा ¥हास ल्याइदिएको हो । तापक्रमको फेरबदलसँगै बालीनालीमा फौजी कीराको प्रकोप पनि वर्षेनी बढ्दै गएको छ। अघिल्ला वर्षमा खडेरीका कारण मकै तथा कोदोको उत्पादन कम भएको थियो । रासस

हप्ताभरिको काठमाडाैंलाई ६ तस्विरमा हेर्दा !

  तस्बिरमा भक्तपुर दरबार क्षेत्र स्थित पाचँ तले मन्दिरको सुन्दरता । दैनिक हजारौ संख्यामा विदेशी तथा स्वदेशी पर्यटकहरुले यस क्षेत्रको अवलोकन गर्ने गर्छन् ।   हे राम! कहिले समाधान होला काठमाडाैंको जाम ? (आफ्नो गन्तव्यका लागी साझ ९ बजेसम्म गाडीको पर्खाईमा सर्वसाधारण)   बाघबजार नजिक आकाशे पुल मुनी लागेको मोटर जाम, प्राय सधै जसो उपत्यकाबासीले ट्राफिक जामको समस्या थेग्नु परेको छ ।   मरे पछि लान नमिले पनि बाचुन्जेल त चाहियो नि ! मन्दिरमा दर्शन गर्न आएका श्रदालूले दिएको पैसा गन्दै एक वृद्ध आमा ।   तिजको उपलक्ष्यमा भृकुटिमण्डपमा लागेको तिज मेलामा एैना हेर्दै एक महिला ग्राहक । तिजलाई हिन्दु महिलाहरुले बिशेष पर्वका रुपमा मान्ने गर्छन् र यस पर्वमा विवाहीत महिलाहरु आफ्नो पतिको दृघायुको कामना गर्न व्रत बस्ने गर्छन् भने अविवाहीत महिलाहरु असल बर पाउ भनि व्रत बस्ने गर्छन्।   बौध्दनाथ स्तुपमा परेवाको झुण्ड, यहाँ आउने पर्यटकहरु परेवालाई दाना हालेर रमाउँदै फोटो खिचेर आनन्द लिने गर्छन् ।

ग्रिनलाईफ हाइड्रोपावरले १८ करोडको आईपीओ निष्कासन गर्ने

काठमाडौं । ग्रिनलाईफ हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दालाई १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा काठमाडौं क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।