दुखाई कम गर्ने ट्रमाडोल औषधीमा प्रतिवन्ध, सिफारिशविना बिक्री गर्न नपाइने
काठमाडौ । औषधि व्यवस्था विभागले ट्रमाडोल नामक औषधि चिकित्सकको सिफारिशविना बिक्री वितरण नगर्न रोक लगाउने भएको छ ।सो औषधि दुखाइ कम गर्न प्रयोग हुन्छ । केही मुलुकमा बिक्रीवितरणमा रोक लगाइएको सो औषधिलाई नेपालमा अन्यत्र प्रयोग हुन थालेपछि विभागले यही भदौ १५ गतेदेखि चिकित्सकको सिफारिशविना बिक्रीवितरणमा रोक लगाउन लागेको हो । औषधि पसलबाहेक अन्य खुद्रा पसलमा बिक्री वितरण गर्न बाँकी रहेका ती औषधि थोक बिक्रेतालाई फिर्ता गर्न विभागले आग्रह गरेको छ ।विभागका महानिर्देशक नारायण ढकालले चिकित्सकले सिफारिश गरेका ट्रमाडोलको सङ्ख्या औषधि पसलले भदौ १५ गतेदेखि अभिलेख राखेर मात्र वितरण गर्नुपर्ने व्यवस्था गर्न लागेको जानकारी दिए। सो औषधि वर्षेनी कति खपत हुन्छ भन्ने कुनै तथ्याङ्क छैन । अब औषधि उत्पादक कम्पनी तथा आयातकर्तालाई पनि के कति मात्रामा सो औषधि उत्पादन एवं आयात गरिएको हो भन्ने यकिन तथ्याङ्क विभागमा बुझाउन भनिएको छ । यसैबीच विभागले हालसम्म ११७ प्रकारका अत्यावश्यक औषधिको मूल्य निर्धारण गरी कार्यान्वयनमा ल्याएको छ । ती औषधिमा प्यारासिटामोलदेखि अल्मिनाडोेलसम्मका छन् । विशेषगरी पछिल्लो समय मुटु, मिर्गौला, रक्तचापमा प्रयोग हुने औषधिको मूल्य निर्धारण भएको छ । नेपालमा पछिल्लो समय सर्नेभन्दा नसर्ने रोगीको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । कार्यविधि बनाई औषधिको मूल्य निर्धारण गरिएको महानिर्देशक ढकालले जानकारी दिए । रासस
दुधौली नगरपालिकामा व्यक्तिगत घटना दर्ता र सिफारिश निःशुल्क
सिन्धुली । दुधौली नगरपालीकाले दिने सिफारिश तथा व्यक्तिगत घटना दर्ता निःशुल्क बनाएको छ । दुधौली नगरपालिका कार्यालय र वडा कार्यालयबाट दिइने सिफारिश तथा व्यक्तिगत घटना दर्ता शुल्क निःशुल्क बनाइएको हो । सो नगरपालिकाका बासिन्दाले ३५ दिनसम्म व्यक्तिगत घटना निःशुल्क दर्ता गराउन सक्ने र ३५ दिनभन्दा बढी भएमा दर्ता गर्न रु ५० शुल्क लाग्ने प्रमुख घनश्याम राउतले बताए । अब स्वास्थ्योपचार, दैविक प्रकोप, आर्थिक अवस्था कमजोर भएको, छात्रवृत्ति, विपन्नता आदि सिफारिश, भूकम्प प्रभावित लाभग्राहीलाई नक्सापास दस्तुर, शहरी स्वास्थ्य सेवा सञ्चालन अनुमति, योजनाको सम्झौता र विद्यालयको बैंक खाता सञ्चालन सिफारिश निःशुल्क हुने छ । विद्यालयमा कर्मचारी र शिक्षक पदपूर्तिको अनुमति तथा विद्यालयको नामाकरण, अनाधिकृत निर्माण रोक्ने, सार्वजनिक सम्पत्तिको अतिक्रमण रोक्ने, झगडीयाबीचको मध्यस्थता, मेलमिलाप, ज्येष्ठ नागरिक, अपाङ्ग परिचयपत्र वितरण, सामाजिक सुरक्षा भत्ता पाउन लाभग्राहीको नाम समावेश गर्ने, संरक्षक प्रमाणित गर्ने संस्थागत तथा व्यक्तिगत संरक्षक सिफारिश अब निःशुल्क पाउने प्रमुख राउतले जानकारी दिए । आफूहरुले पहिलादेखि नै सिफारिश र दर्ता शुल्क नलिएकाले अहिले अन्य ठाउँका स्थानीय तहले सिफारिश र व्यक्तिगत घटना दर्तामा शुल्क बढाएकाले आफूहरुले पहिलादेखि नै कायम रहेको निर्णयलाई सार्वजनिक गरेको उनले बताए । नागरिकता सिफारिशका लागि दुधौली नगरपालिकाले प्रतिव्यक्ति ३०० लिने गरेको थियो । तर हालै भएको नगरसभाबाट प्रतिव्यक्ति २०० रुपैयाँ लिने निर्णय गरिएकोमा यसमा फेरि बैठक बसी निःशुल्क वा अझ कम शुल्क लिने भनी निर्णय गर्ने उनको भनाई छ । जनतामा जताततै कर बढाएको भन्ने तीव्र असन्तुष्टि आएको बेला दुधौलीले नागरिकसँग प्रत्यक्ष सरोकार रहने सिफारिश निःशुल्क बनाउनु राम्रो भएको स्थानीयले बताएका छन् । सिन्धुलीका अरु स्थानीय तहले सो निर्णयलाई स्वागत र सिको गर्नुपर्ने नवराज दाहालले बताए। जिल्लाका अन्य स्थानीय तहले भने सामान्य प्रकृतिको सिफारिशमा समेत शुल्क लिने गरेका छन् । रासस
“नाफा कमाउने व्यवसायलाई दुहुने गाई बनाउनु हुँदैन”- अध्यक्ष दाहाल
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले रोजगारीको सिर्जना गर्न राज्यले प्रोत्साहन गर्नुपर्ने बताएका छन्। इभेन्टस् एण्ड भेन्यू एशोसिएशन अफ नेपालको आठौँ वार्षिक साधारणसभाको आज यहाँ उदघाटन गर्दै उनले राज्यले अनावश्यकरुपमा व्यवसायीलाई नियन्त्रण गर्न नहुने र व्यवसायीले सरकारलाई तिर्नुपर्ने कर छल्न नहुने बताए। अध्यक्ष दाहालले भने, “मुलुकमा निकै ठूलो संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ, यसका लागि निकै ठूलो क्रान्ति गर्नुपर्यो, अबको सरकारको मुख्य काम भनेकै देश र जनताको आर्थिकस्तरमा वृद्धि गर्नु हो, यसमा सरकारी र निजी दुवै क्षेत्र लाग्नुपर्छ ।” मानिसको जन्मदेखि मृत्यु संस्कारसम्मका क्रियाकलापमा पार्टी प्यालेस र क्याटरिङ व्यवसायको महत्व बढ्दै गएको र यसले मुलुकको आर्थिक विकासमा समेत मद्दत पुगेको उनको भनाइ थियो । अध्यक्ष दाहालले आगामी दिनमा स्वदेशमै रोजगारीको सिर्जना गर्नेलाई राज्यले प्रोत्साहन गर्ने खालको नीति निर्माणमा सरकारले ध्यान दिनका लागि आफूले भूमिका खेल्ने र नेपालको उद्योग व्यवसायीलाई सेवामुखी संस्थाका रुपमा विकास गर्ने बताए। अहिले बलियो सरकार भएको हुँदा जनता र व्यवसायीबाट आएका गुनासालाई सम्बोधन गर्ने उल्लेख गर्दै उनले पार्टीका तर्फबाट आफूले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकमा पार्टी प्यालेस र क्याटरिङ व्यवसाय फस्टाउँदै गएको र सकेसम्म हरेक कार्यक्रम देशभित्र गर्दा देशको अर्थतन्त्रमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे। इभेन्टस् एण्ड भेन्यू एशोसिएशन अफ नेपालका अध्यक्ष अनिल शर्माले सामाजिक सुधार ऐन २०३३ संशोधनका क्रममा संसद्मा विचाराधीन रहेको हुँदा देशको खुल्ला अर्थनीतिलाई सहयोग पुग्ने नीतिअनुरुप कुनै खालको सीमा तोक्न नहुने माग गरे। सामाजिक सुधार ऐन २०३३ अनुसार विवाहमा ५१ जनामात्र जन्ती लानुपर्ने, निश्चित खर्च गर्नुपर्नेजस्ता सीमा राख्न नहुने व्यवसायीको माग छ । देशभर चार हजारभन्दा बढी पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी छन् ।रासस
कसरी व्यवसाय संचालन गर्ने सम्बन्धि नाडा र वाडाबीच अन्तरक्रिया कार्यक्रम
पोखरा । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा)सँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त अन्तरक्रिया कार्यक्रमले स्थानीय स्तरमा बसेर कसरी व्यवसाय संचालन भइरहेको छ । ति व्यवसाय संचालनको दौरान कस्ता समस्या झेल्नु परेको छ । के कस्ता समस्या प्रदेश सरकार र कस्ता समस्या केन्द्रियतवरबाट समाधान गर्ने भन्ने विषयमा लामो अन्तर्क्रिया भएको थियो । वाडाका अध्यक्ष कालिदास पौडेलको नेतृत्वमा भएको उक्त अन्र्तक्रिया कार्यक्रमा अधिकासं ब्यवसायीले स्थानीय सरकारले लगाएको कर, बजेटले सवारी साधनमा बढाएको कर, पोखरामा अटो भिलेज निर्माण, नाडा अटो शो पोखरमा गर्नु पर्ने जस्ता बिषयको उठान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद बिन्दु थापाले गण्डकी प्रदेश सरकारले जनतामा कुनै किसिमको कर नलगाएको जानकारी दिँदै यदि यस्ता कर सरकारले लगाउन खोजे आफुहरु त्यसको विपक्षमा उभिने जानकारी दिए । उनले विकास निर्माणको काम अगाडी बढिरहेको जानकारी दिँदै व्यवसाय मैत्री वातावरण निर्माणमा आफुहरु लाग्ने जानकारी दिएका थिए । नाडा र वाडाबीचको सम्बन्धको बिस्ताको बिषयमा बोल्दै नाडाका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालले भने ‘नाडाले सबै प्रदेशमा रहेर अटोमोवाईल क्षेत्रसँग जोडिएर व्यवसाय गर्ने व्यवसायीको हक र हितमा काम गर्ने हुँदा सबै प्रदेशमा आफ्नो उपस्थिति गराउने कार्य अगाडि बढेको छ । संघिय सरकारसँग गर्नुपर्ने कामको लागि नाडाले पहल गर्ने प्रतिवद्धता गर्छु ।’ त्यसैगरी उनले यो क्षेत्रको विकासमा सबै मिलेर काम गर्नु पर्ने बताउँदै पोखरा क्षेत्रमा रहेका पर्यटकिय गन्तब्यमा सामुहिक पहलमा सार्वजनिक यातायात सेवा बिस्तार गर्न सुझाव दिएका छन् । कार्यक्रमा अधिकांश वाडाका पदाधिकारीहरुले नाडाको कार्यक्रममा आफुहरुको सक्रिय सहभागिताको अपेक्षा गरेका थिए भने स्थानीय स्तरमा व्यवसाय बिस्तारको लागि पहल गर्न आग्रह गरेका थिए ।
मजदुरको ज्याला वृद्धि, दैनिक ११३० रुपैयाँसम्म
नुवाकोट । विभिन्न क्षेत्रमा काम गर्ने मजदूरको ज्यालामा वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालयको जिल्ला दररेट निर्धारण समितिले निर्माण क्षेत्रमा संलग्न दक्ष, अर्धदक्ष र अदक्ष कामदारको दैनिक ज्यालादर चालू आर्थिक वर्षको लागि वृद्धि गरेको हो । श्रमिक सङ्गठन, निर्माण व्यवसायी र विकास निर्माणमा संलग्न सरकारी निकायसँगको परामर्श, नेपाल राष्ट्र बैंकले जारी गरेको ज्यालादर सूचकाङ्क, हालको बजारमूल्य र श्रमिकको उपलब्धतालाई आधार मानेर ज्यालादर वृद्धि गरिएको प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताए । समितिले मजदूरको ज्याला वृद्धिको साथै ढुवानी दररेट र वस्तुको मूल्यमा समेत वृद्धि गरेको छ । दक्ष कामदारको १ हजार १३० तथा विस्फोटक पदार्थ ढुवानी गर्ने, ज्यामी, डकर्मी, सिकर्मी र कम्प्युटर अपरेटरको रु ८९० कायम गरेको छ । अर्धदक्ष कामदारको रु ६९० र अदक्ष कामदारको दैनिक ज्याला रु ५२० देखि कामको प्रकृति हेरि रु ६३० सम्म कायम गरेको छ । समितिले गत आवको तुलनामा चारदेखि पाँच प्रतिशतसम्म ज्यादादर वृद्धि गरेको हो । समितिले इँटाको मूल्य र सामग्री ढुवानीको दरसमेत वृद्धि गरेको छ । मेशिनबाट उत्पादित प्रतिहजारको इँँटा २१ हजार ८०३ र स्थानीय चिम्नी भट्टाको १ नम्बर इँटा प्रतिहजारको १३ हजार २०० रुपैयाँ कायम गरेको छ । गत आवमा मेशिनबाट उत्पादित इँटाको मूल्य एक हजारको २० हजार ७६५ र स्थानीय चिम्नी भट्टाको १२ हजार २०० रुपैयाँ रहेको थियो । माटो, गिट्टी, सिमेन्ट र बालुवाजस्ता सजिलो सामान ढुवानीका लागि प्रतिकिलोमिटर प्रतिक्विन्टल ७८ तथा जस्ता, छड, जिआइ पाइप, ट्रस, ऐनाजस्ता टुटफुट हुने सामग्रीको ९३ रुपैयाँ दररेट निर्धारण गरिएको छ । रासस
अन्तर्राष्ट्रिय हवाई परिवहनसम्बन्धी महासन्धि अनुमोदन
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयका नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । बैठकमा सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले “अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए । महासन्धिलाई अनुमोदनपूर्व प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, सञ्जयकुमार गौतम र रामबहादुर विष्टले महासन्धिका प्रावधानका बारेमा जिज्ञासा राखेका थिए । सांसदको जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले उक्त महासन्धिका प्रावधानले मुलुकलाई फाइदै फाइदा हुने र अन्तर्राष्ट्रिय उडानमा हुने दुर्घटनामा नेपाली र विदेशी यात्रुले पाउने बीमा रकम समान हुने जानकारी दिए । आजै बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले “जैविक विविधता महासन्धिअन्तर्गत जारी भएको आनुवंशिक स्रोतमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँडसम्बन्धी नागोया अभिसन्धिको सम्मिलन माथि सामान्य छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरे । उक्त प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको थियो । बैठकमा सांसदका जिज्ञासाको जवाफ दिँदै मन्त्री बस्नेतले अभिसन्धिका प्रावधान आनुवंशिक स्रोतका सम्बन्धमा परम्परागत ज्ञानको उपयोगबाट लाभान्वित हुने विषयसँग सम्बन्धित भएको बताए । उनले अभिसन्धिमा प्राकृतिक स्रोत संरक्षणमा संलग्न स्थानीय समुदायका ज्ञान र सीपको उपयोगका साथै उनीहरुलाई लाभ पुग्ने प्रावधानसमेत रहेको जानकारी गराए । उक्त प्रस्ताव माथिको छलफलमा भाग लिँदै देवप्रसाद गुरुङ र सुवालले अभिसन्धिका प्रावधानका बारेमा जिज्ञासा राख्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ८ गते बिहान ११ बजे बस्नेछ ।
सिन्डिकेटधारी ५० यातायात व्यावसायी निजी कम्पनीको रुपमा दर्ता
काठमाडौं । यातायात क्षेत्रमा रहेको एकाधिकार तोडिएसँगै सार्वजनिक सवारीसाधन निजी संस्था वा सहकारी संस्थाका रुपमा दर्ता हुन थालेका छन् । सरकारले गत फागुनमा लागू गरेको यातायात व्यवस्थापन कार्यविधिका आधारमा सवारीसाधन दर्ता प्रक्रियामा आएका हुन् । यातायात व्यवस्था कार्यालय वाग्मती अञ्चल कार्यालयको ठूला तथा साना सवारी शाखामा निजी बस तथा मिनीबस पञ्जीकरण र दर्ता हुनसँगै मार्ग माग्न आएको कार्यालयले जनाएको छ । अहिलेसम्म झण्डै ५० सार्वजनिक सवारी पञ्जीकरण भएर मार्ग अनुमति लिइसकेको कार्यालयका प्रमुख वसन्तप्रसाद पन्थीले बताए । उनले भने, “अरु धेरै वटा दर्ता प्रक्रियामा नै छन् ।” पहिले यातायात व्यवसायी सङ्घ वा महासङ्घअन्तर्गत सञ्चालित सार्वजनिक सवारीसाधनलाई यातायात कार्यालयमा दर्ता हुन सरकारले आगामी मङ्सिरसम्मको म्याद तोकेको छ । उनले भने, “ठूला यातायात सेवा प्रदायक पनि धमाधम आइरहेका छन् ।” यहाँ दर्ता भएका सबै सवारीसाधनलाई कार्यालयले मार्ग दिइरहेको छ । कतिपय सेवा प्रदायक घरेलु तथा साना उद्योग कार्यालय र कति सहकारीमार्फत दर्ता भइरहेको प्रमुख पन्थीले बताए । थोरै मात्रै गाडी भएका घरेलु तथा साना उद्योग कार्यालय र धेरै सवारीसाधन हुने सहकारीका रुपमा दर्ता भएका छन् । साझा जसरी नै सहकारीका रुपमा दर्ता हुने र यात्रुलाई सुविधा दिने यातायात प्रदायक बढ्दै छ । अघिल्लो वर्षसम्म अधिकांश सडकका मार्ग व्यवसायी सङ्घको नियन्त्रणमा थियो । आफूले चाहेको मार्गमा गाडी चलाउनु नयाँ यातायात व्यवसायीलाई सम्भव थिएन । व्यवसायी सङ्घले मोटो रकम लिएर मात्रै मार्ग दिने गरेको धेरैको गुनासो थियो । प्रमुख पन्थीले भने, “अहिले व्यवसायीले सरकारलाई तोकिएको राजश्व बुझाएरै रुट पाएका छन् ।” अहिलेसम्म मार्ग व्यवस्थापनभन्दा पनि सवारीसाधनलाई दर्ता प्रक्रियामा ल्याउने काम भइरहेको प्रमुख पन्थीले बताए । अहिलेसम्म व्यवसायीले छानेको मार्ग दिइँदा धेरै जनघनत्व बढी भएका ठाउँका रुट मात्रै छान्ने गरेको पाइएको छ । जनघनत्व कम भएका ठाउँलाई यसले असर गर्ने भन्दै सरकारले कुन मार्गमा कति सवारीसाधन चलाउने भन्ने तय गर्नेछ । “केही महिनामा नै कुन रुटमा कति वटासम्म गाडी आवश्यक छ भन्ने टुङ्गाइनेछ ।” व्यवसायीले स्वेच्छाले मार्ग छान्दा धेरैले चक्रपथ नै छान्ने गरेका छन् । चक्रपथ बाहिरका स्थानबाट आउने सवारीसाधनले चक्रपथ पनि घुम्न चाहेको उहाँले बताउनुभयो । धेरै सवारीसाधन एउटै मार्गमा चल्दा एकातिर कुनै रुटमा जाने सवारीसाधन हुँदैन भने कुनै मार्ग धेरै सवारीसाधनका कारण जाम हुन सक्छ । पहिले कुन गाडीलाई कुन मार्गमा चल्न दिने वा नदिने व्यवसायी सङ्घले नै तय गर्दै आएका थिए । सङ्घले कुन मार्गमा कति र कुन–कुन सवारीसाधन चल्न दिने निर्णय गर्ने अधिकार सङ्घमा थियो । सङ्घले सबै अधिकार पाउँदा एकातिर सवारीसाधन यात्रुप्रति नभई व्यवसायीप्रति जिम्मेवार थिए । नयाँ व्यवसायीले कुनै रुटमा गाडी चलाउन नपाउने र चलाउनका लागि पनि सङ्घलाई मोटो रकम दिनुपर्ने अवस्था थियो । रासस
ओपो एफ९ स्मार्ट फोन भदौं १३ गते देखि नेपाली बजारमा
काठमाडौं । ओपोको एफ९ स्मार्ट फोन भदौ १३ गतेदेखि नेपाली बजारमा आउने भएको छ । नयाँ सेल्फी एक्स्पर्ट एफ९ आईएनटीएम (ईन्डियाज् नेक्स्ट टप मोडल) सुपर मोडल सबिता कार्की र बुगीवुगी नेपाल संस्करणकी विजेता कविता नेपाली लगायतले अनवरण गर्नेछन् । कम्पनीले मोबाइल सार्वजनिक समारोहमा सहभागीताका लागि फेसबुकबाट ‘प्रोफाइल ब्याड्ज क्याम्पेन’ मार्फत १ जनालाई विजेता घोषणा गरेर २ जनाका लागि पास उपलब्ध गराउने छ । एफ९ फोन वाटर ड्रप स्क्रिन डिजाइन सहितको पहिलो ह्याण्डसेट हो । फोनको अघिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ । यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै प्रयोगकर्तालाई ठूलो स्क्रिनको मज्जा दिनेछ । ओपो एफनाइनमा रहेको ९०.८ रेसियो सहितको १९.५ः ९ वाटर ड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक देखाउनेछ । फोनमा क्यामेरा र फ्ल्याश लाइट एकै साथ उपलब्ध हुनेछ । फ्लिप एलईडी प्रविधि, रिसिभर टप स्टेरिङ साउण्ड कन्डक्सन, लाइट सेन्सेसन हर्न सेप्ड लाइट कन्डक्सन, ग्याप एप्रोचिङ डिजाइन लगायत ४६ ओटा प्याटेन्ट सहित ओपो एफ९ को डिजाइन आँखाका लागि आरामदायी हुने बताइएको छ ।