
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले साना तथा मझौँला उद्यम व्यवसाय विकासको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएकी छिन् । उनले शुक्रबार ललितपुरमा साना तथा मझौला व्यवसायी महासंघद्धारा आयोजित तीज महोत्सव तथा महिला उद्यमी मेलाको उद्घाटन गर्दै सरकाले उक्त कुरामा ध्यान दिनुपर्ने बताएकी छिन् ।
उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष राणाले मुलुकको आर्थिक विकास एवं समृद्धिको एक कडीको रूपमा रहेका साना तथा मझौला व्यवसाय त्यसमा पनि महिलाहरूले उत्पादन गरेको वस्तुहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेला यस क्षेत्रको विकासमा सहयोगी हुने बताएकी छिन् ।
सरकारले यस क्षेत्रको विकासमा विशेष गरी सहज रूपमा ऋणको व्यवस्था, बजार पहुँच तथा प्रवद्र्धन र नविनतम तकनिकीमा उद्यमीहरूले सरकारको सहयोग खोजेको स्पष्ट पारेकी छिन् । यो क्षेत्रलाई विस्तार हुने वातावरण बनाइदिन आवश्यक रहेको जसले गर्दा दिगो रूपमा व्यवसाय संचालनमा सहयोग पुग्ने छ । उद्यमशीलता प्रवद्र्धन मार्फत मुलुक भित्र रोजगारीको पर्याप्त अवसर सृजना गर्न सकिने अध्यक्ष राणाले बताइन् ।
उक्त मेला तीन दिनसम्म संचालन हुने छ । मेला हिन्दु नारीहरूको महान चाड तीजको अवसर पारेर महिला उद्यमीहरूलाई हौसला प्रदान गर्ने एवं उद्यमीहरूबाट उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित गरिएको हो । मेलामा विभिन्न जिल्लाका साना तथा मझौला व्यवसायी महिलाहरूले आ–आफ्नो उत्पादनहरू प्रदर्शनीमा राखेका छन् ।
मेला महोत्सवले व्यवसाय प्रवद्र्धनमा ठूलो भूमिका खेल्नुका साथै विशेष गरि महिला दिदी बहिनीहरूलाई व्यवसाय संचालनमा थप उर्जा मिल्ने छ । समय समयमा आयोजना गरिने मेला महोत्सव मुलुकभित्र साना तथा मझौला उद्यमको यथार्थ वस्तुतथ्य बाहिर ल्याउन कोषेढुंगा हुने विश्वास लिएको अध्यक्ष राणाले बताइन् ।