विकासन्युज

कानुन संसोधनमा एग्रेसिभ सरकारः १८ वटा बिधेयकका मस्यौदा संसद पुगे

काठमाडौँ । नेपालको संविधानको मौलिक हक कार्यान्वयनसँग सम्बन्धितसहित १८ महत्वपूर्ण विधेयक विभिन्न संसदीय समितिमा अहिले छलफलको क्रममा रहेको छ । सङ्घीय संसद्को विधेयक शाखाका अनुसार भूमि सम्बन्धी ऐन २०२१ लाई सशोधन गर्न बनेको विधेयक, अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धित समितिले सदस्यलाई अध्ययनको लागि वितरण गरेको छ । वैयक्तिक गोपननीयता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र खाद्य तथा खाद्य सम्प्रभूताको अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि सांसदहरुले अध्ययन गरिरहनुभएको छ । आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भुक्तानी तथा फछर्यौट सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि सम्बन्धित समितिमा सामान्य छलफल भएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राहदानी सम्बन्धी कानूनलाई सशोधन गर्न बनेको विधेयक २०७५, नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक र उपभोक्ता संरक्षण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सम्बन्धित समितिमा दफावार छलफल भइरहेको छ । समितिमा निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, बीमा सम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ र लेखापरीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि दफावार छलफल भइरहेको छ । सार्वजनिक सुरक्षा ऐन, २०४३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ प्रतिनिधिसभाले पारित गरिसकेको छ भने जातीय भेद्भाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक २०७५ अध्ययनका लागि सांसदलाई वितरण गरिएको छ । यसअघि संसद्बाट सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राष्ट्रियसभा सदस्यको निर्वाचन गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७५ पारित भई प्रमाणीकरणसमेत भइसकेको छ । विनियोजन विधेयक २०७५, राष्ट्र ऋण उठाउने विधेयक २०७५ र ऋण तथा जमानत (बाइसौँ संशोधन) विधेयक २०७५ गत असार मै पारित भई प्रमाणिकरण भइसकेको छ । रासस

नेपाली बजारमा आफ्नो उचाई अनुसार सिट घटाउन र बढाउने मिल्ने स्कुटर

काठमाडौँ । तपाई स्कुटर प्रयोग गर्दा अग्लो वा होचो भएर समस्यामा पर्नु भएको छ ? यदि छ भने अब आफ्नो आवश्यता अनुसारको उचाई घटाउन र बढाउन मिल्ने स्कुटर पनि नेपाली बजारमा उपलब्ध छ । महिन्द्राले स्कुटर चालकहरुलाई मध्यनजर गरेर आफ्नो ब्रान्डको गस्टो भिएक्स स्कुटरलाई ३ इन्चसम्म घटाउन र बढाउन सकिने स्कुटर बजारमा बिक्री भैरहेको छ । महिन्द्राको मार्केटिङ डिपार्टमेन्टका सुजित लुइंटेलले भने, ‘नेपाली बजारमा महिन्द्रा गुस्टो भिएक्स स्कुटरको मात्रै सिट अग्लो र होचो बनाउन सकिन्छ ।’ अरु कम्पनीको भन्दा महिन्द्राको स्कुटर र बाइक बढि बिक्री भएका छन् । महिन्द्रा गस्टोे भिएक्स ११० सिसिको स्कुटर हो । महिन्द्रा १२५ सिसिको गस्टोे भिएक्सको मूल्य १ लाख ७६ हजार ९ सय र १२५ सिसिको नै अर्काे गस्टो भिएक्सको मूल्य १ लाख ८७ हजार ९ सय कम्पनीले तोकेको छ । महिन्द्रा गस्टोे भिएक्सको २ वटै स्कुटरमा स्पोर्टी बडि ग्राफिक्सको साथ रातो र सेतो रंग, साथै नीलो र सेतो रंगको अत्यन्त आकर्षक संयोजन गरिएको छ । यसका साथै डिस्प्ले प्यानलमा सरल तथा छिटो पहुंचका लागी आकर्षक फन्ट स्टोरेज पनि राखिएको छ । गस्टो भिएक्स स्कुटर स्टाइलिस, सहज, सुविधा र आकर्षक रहेको छ । महिन्द्राको बाइकहरु १ लाख ५१ हजार देखी ५ लाख ८० हजार सम्मका छन् । त्यसैगरी स्कुटर १ लाख ७८ हजार देखी १ लाख ८७ हजार सम्मका छन् । महिन्द्रा कम्पनीले बिक्री गर्ने बाइक ११० सिसिको सेन्चुरो रकस्टार बाइकको मूल्य १ लाख ५१ हजार ५ सय कम्पनीले तोकेको छ । ११० सिसिको सेन्चुरो डिक्स ब्रेक बाइकको मूल्य १ लाख ६३ हजार ९ सय र त्यसैगरी ३०० सिसिको मोजो बाइकको मूल्य ५ लाख ८० हजार कम्पनीले तोकेको छ । महिन्द्रा कम्पनीले बिक्री गर्ने स्कुटर १२५ सिसिको रोडियो युजो स्कुटरको मूल्य १ लाख ७८ हजार ९ सय, कम्पनील ११० सिसिको गस्टो आर एस स्कुटरको मूल्य १ लाख ६७ हजार ५ सय र त्यसैगरी १२५ सिसिको गस्टो आर एस स्कुटरको मूल्य १ लाख ६७ हजार ५ सय कम्पनीले तोकेको छ ।

कर घटाउने गृहकार्यमा भरतपुर महानगर, जन्म दर्ता र मृत्यु दर्ता निःशुल्क

चितवन । स्थानीय तहमा तय गरिएको करको चर्को विरोध भइरहँदा भरतपुर महानगरपालिकाले वैज्ञानिक र व्यावहारिक कर निर्धारणका लागि गृहकार्य गरिरहेको छ । कर तिर्नेकै संलग्नतामा कर निर्धारण गरेर महानगरले कतिपय लागू गरिसकेको छ भने कतिपय समायोजनको तयारीमा छ । महानगरपालिकाले श्रेणी निर्धारण गरेर व्यवसायीको स्वघोषणाको आधारमा कर लिने कार्य अघि बढाएको हो । पूँजी, लगानी, कारोवार, स्थानको आधारमा पहिलो पटकका लागि स्वघोषणा गर्न भनिएको हो । आउँदो आर्थिक वर्षबाट कारोबारको आधारमा कर तय हुनेछ । स्वघोषणा गर्दा कम गरेमा भने अर्को वर्ष थप कर तिर्नुपर्ने हुन्छ । श्रेणी विभाजन गरेर नगरवासीलाई मर्का नपर्ने गरी कर निर्धारण गरिएको महानगरपालिकाका प्रमुख रेणु दाहालले बताइन। एउटै क्षेत्रमा छ वटासम्म श्रेणी विभाजन गरेर कर निर्धारण गरिएको उनले बताइन । जसका कारण ठूलो कारोवार गर्ने धेरै र थोरै कारोवार गर्नेले कम कर तिरे पुग्नेछ । कर निर्धारण वैज्ञानिक र व्यावहारिक भएको भन्दै उद्योग वाणिज्य सङ्घ चितवनले स्वागत गरेको छ । सङ्घका अध्यक्ष सहनलाल प्रधानले व्यवसायको वर्गीकरण गरेर कर निर्धारण गरेका कारण व्यवसायीले स्वागत गरेको बताए । एउटै प्रकृतिको व्यवसायमा वर्ग निर्धारण गरेर कर निर्धारण गरेकाले आफ्नो कारोवारअनुसारको कर तिर्न व्यवसायी राजी भएका छन् । जसका कारण करको दायरामा नआएका ३५ प्रतिशत हाराहारी व्यवसायी दायरामा आउने अवस्थामा रहेको प्रधानको भनाइ छ । कारोवारको आधारमा तिर्ने करमात्रै पूर्ण वैज्ञानिक भए पनि महानगरले व्यवसायीको राय सुझाव ग्रहण गरेका कारण व्यवसाय कर निर्धारण व्यावहारिक बनेको व्यवसायीको भनाइ छ । महानगरले गत आर्थिक वर्षमा ४९ करोड ११ लाख राजश्व सङ्कलन गरेको थियो । चालू आवमा ५६ करोड पु¥याउने लक्ष्य लिएको छ । कार्यालयले जन्म, विवाह, मृत्यु, बसाइँसराइ, सम्बन्ध बिच्छेदजस्ता व्यक्तिगत घटना दर्ता निःशुल्क गरेको छ । कृषि प्रयोजनमा घर बहाल करमा एक प्रतिशत, आवासमा दुई प्रतिशत र व्यावसायिकमा १० प्रतिशत कर निर्धारण गरिएको छ । १५ वडाबाट कर सङ्कलन गर्दै आएकोमा सेवाग्राहीलाई सहज र सरल सेवा प्रदान गर्नका लागि एक महिनाभित्रमा महानगरका २९ वडाबाट सङ्कलन गर्ने तयारी गरिएको छ । रासस

सडक निर्माणमा जुट्दै दोलखाली काँग्रेस

दोलखा । रासस । जिलु सडक अवरुद्ध भई जनताले दुःख पीडा भोगेकाले नेपाली काँग्रेस दोलखाको पहलमा सडक निर्माण शुरु गरिएको छ । काँग्रेस वडा समिति ४ को आह्वानमा जनता स्वस्फूर्त उपस्थिति भइ करीब ३० मिटर सडक आइतबारबाट गाडी गुड्न सक्ने गरी निर्माण गरेको काँग्रेस वडा नं ४ का सभापति दुर्गाप्रसाद चौलागाईले बताए । दैनिक सयौँको सङ्ख्यामा सदरमुकाम चरिकोटमा तरकारी, चामल, दूध, दही बिक्री गर्न असजिलो भोगेका जनताको दुखकष्टलाई हेर्दै कोदालो घन, खैंती, हम्बर, बेल्चा बोकेर काँगे्रस सडक बनाउन निस्किएकाले जनता आफैँ जागेका छन् वडासभापति चौलागाईले भने । “वडा सरकारले बनाएको उपभोक्ता समितिले झारा टार्ने गरी जिलु सडक मर्मत गरी ठूलो पैसा हिनामिना गरेको आरोप जनताले लगाइरहेको अवस्थामा जनताको सेवामा काँग्रेस लागि परेको हो ।” तरुण दलका नेता भोजराज चौलागाईले भने । काँग्रेस जिल्ला कार्यसमिति सदस्य लोकशङ्कर चौलागाईले ढुङ्गा बोक्न आफ्नो ट्र्याक्टर, नेपाल टे«ड युनियान काँग्रेस दोलखाका अध्यक्ष रामजीप्रसाद चौलागाईले बाटो सम्याउन आफ्नो जेसी भी, युवा नेता भोजराज चौलागाईले आफ्नो डोजर निःशुल्क प्रदान गरेपछि आइतबारबाट सडक गाडी गुड्ने गरी निर्माण गरेको काँग्रेस भीमेश्वर नगरपालिका उपसभापति मोतीप्रसाद चौलागाईले बताए ।

२० करोडको मध्यपुर अस्पताल, नर्सिङ कलेज छिट्टै

३६ बर्ष लामो जागिरे जीवनपछि ज्ञानकृष्ण श्रेष्ठले ८ बर्ष अघि स्थानिय साथीभाइहरुको सहयोगमा मध्यपुर अस्पताल खोलेका हुन्। २०६७ साल माग ६ गते नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मंत्रालयबाट अनुमति लिएर अस्पताल संचालनमा आएको थियो । करीब ५ करोड को लागतमा सुरु गरिएको अस्पतालमा हासम्म २० करोड भन्दा बढी लगानी भैसकेको छ । ६५ जना सेयर सदस्यहरु मध्ये २० जना बिशेषज्ञ डाक्टरहरुको करीब ३३ प्रतिसत शेयर रहेको छ ।  किडनी ,ब्रेन र मुटुको बाहेक अरु सबै उपचार यस अस्पतालले प्रदान गर्दै आईरहेको छ। प्रस्तुत छ, अस्पतालको भावी योजनाका बारेमा अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठसंग विकासन्युजका लागि डोमी शेर्पाले गरेको विकास वहस । कुन उदेश्यको साथ यस अस्पतालको स्थापना भएको हो ? मेरो इच्छा यस मध्यपुर ठिमी  क्षेत्रमा एउटा अस्पताल स्थापना गरेर यहाँका जनताहरुलाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु थियो । यस मध्यपुर ठिमी अस्पतालको उदेश्य लोकन्थली, बालकोट, सिरुटार, कटुञज, दुवाकोट, दधिकोट र भक्तपुर क्षेत्रका बिरामीहरुलाई स्तरीय र सुलभ स्वास्थ्य सेवा प्रदान गर्नु रहेको छ । यसकारण यस ठाउँमा हामीले यो अस्पताल खोलेका हौ। हाल आएर छिमेकी जिल्ला काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा , रामेछाप र सिन्धुली जिल्लाका बिरामीहरुलाई समेत हामी स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौ । मध्यपुर नाम नै किन? कान्तिपुर र भक्तपुरको बीच भागमा रहेको मध्यपुर थिमि सहरबाट नामाकरण गरी यो अस्पताल स्थापना गरीएको हो । यहाँको नगरपालिकाको नाम पनि मध्यपुर ठिमी रहेको छ । सुरुवातमा कति जना डाक्टर र कर्मचारीबाट यो अस्पताल संचालन गर्नुभएको हो ? सुरुवातमा २५ जना डाक्टरहरु र ३५–४० जना प्राबिधिक तथा प्रशासनिक कर्मचारीहरुबाट हामीले यस अस्पातल संचालन गरेका थियोै । हालको अवस्थामा यस अस्पतालमा प्रविधिक र प्रशासनिक गरेर करिब २०० जना कर्मचारी कार्यरत छन् भने विशेषज्ञ डाक्टरहरु अन कलमा समेत गरी ७२ जना कार्यरत छन् । अस्पतालको हालको अवस्था ? भक्तपुर जिल्लामा लिफ्ट समेत भएको ५१ शैयाको भुकम्प प्रतिरोधि अस्पताल भवन यहि मात्र रहेको छ । यस अस्पतालमा ४९ शैया थप गरी १०० शैयामा स्तरोन्नति गर्न स्वास्थ्य सेवा विभागमा अनुरोध भइसकेको छ । यस अस्पतालमा ३ वटा भेन्टीलेटर सहित, १० वटा मोनिटर सहित १२ शैया आइ सि यु कक्ष, ८ वटा सुबिधा युक्त क्याबिन, अत्याधुनिक उपकरण सकितको दई वटा अपरेशन थिएटर रहेको छ । यस अस्पतालमा एमआरआई, सिटीस्क्यान, डिजीटल एक्स-रे, कम्प्युराईज्ड अल्ट्रासाउन्ड, कम्प्युराईज्ड ल्याब, सि-आर्म मेसिनका साथै अन्य उच्च प्रबिधिको उपकरण राखी उपचार सेवा प्रदान गरी आएको छ । यहि २०७५ असार २७/२८ गते आएको बाढीले यस अस्पतालको भुई तलामा रहेका उपकरणहरु बाढीले डुबाएर नोक्सान पारेको छ । हामीले नेपाल इन्सुरेन्स कम्पनिसँग इन्सुरेन्स गरेको भएतापनि बाढी भन्ने शब्द नरहेको कारण हामीले कुनै किसिमको क्षेतिपुत्र्ति नपाउने अवस्था छ । यसमा जग्गा खरीद गर्न भवन बनाउन नेपाल बैँक लि. ले लगानि गरेको भएता पनि बाढी शव्द नपरेकोले क्षतिपूति नपाउने भनि रहनु भएको छ। तापनि हामिले वनाउन मिल्ने अस्पताल उपकणहरु मर्मत सुधार गरी प्रयोगमा ल्याउने प्रयत्न गरी रहेका छौ । कतिपय सामानहरु प्रयोगमा ल्याउन नसकिने स्थिति छ । तपाईहरुकोमा के कस्तो उपचार सेवा उपलब्ध छ सेवा ग्राहीको चाप कुन क्षेत्रमा बढी देखिन्छ ?  यस अस्पताल अरनिको राजमार्गको छेउमा रहेको हुँदा हामीले हाडजोर्नी तथा नशा रोग विषयको सेवामा फोकस गरी आएका छौँ । हामीले हाडजोर्नीको विषयमा फोकस गर्नुको कारण भक्तपुर जिल्लाको अति व्यस्त यस अरनिको राजमार्गमा चल्ने धेरै सवारी साधनहरु दुर्घटना भई रहेको मूल कारण हो । यहाँ राम्रो फराकिलो सडक भएता पनि सडकको सवै पुर्वाधार पूरा नभएको कारणले गर्दा बढी दुर्घटना भइरहेको छ । । यस अस्पताल अगाडी चोकमा मात्र १०/१५ जना भन्दा बढीेले ज्यान गुमाईसकेका छन् । यही कुरालाई ध्यानमा राख्दै हामीले अर्थोपेडिक सेवामा बिशेष ध्यान दिएका हौ। हामीसँग ५ जना अर्थोपेडिक डाक्टरहरु कार्यरत हुनुहुन्छ । कथंकदाचित रातको समयमा दुर्घटना भएर कोही ब्यक्ति यस अस्पतालमा ल्याईयो भने राती नै बिरामीका उपचारको लागि डाक्टरहरु तयार हुन्छन् । हाम्रो अर्थोपेडिक डाक्टरहरुको बासँस्थान पनि अस्पताल नजिकै रहेकोले उपचारमा थप सजिलो भएको छ । त्यसैगरी हाम्रो अर्को मनपराईएको सेवा  स्त्री रोगको उपचार हो।  यस अस्पतालमा  स्त्री रोगको उपचार पनि ब्यवस्थित रुपमा भईरहेको छ । यस अस्पतालमा प्रसुती गृहमा २०-३० वर्ष काम गरेर अवकास पाइसकेका ४ जना विशेषज्ञ डाक्टरहरु कार्यरत हुनुहुन्छ् । उहाँहरु बिशेष दक्षता हाँसिल गरीसक्नु भएर पोख्त हुनुहुन्छ । स्त्री रोग सम्बन्धी जस्तोसुकै केस आए पनि वहांहरु एक आपसमा मिलेर छिटो छरितो स्तरीय उपचार गर्नुहुन्छ । अहिले अस्पतालहरुको सेवा शुल्कका बारेमा प्रश्नहरु उठिरहेका छन्, मध्यपुर अस्पतालको सेवा शुल्क कस्तो छ ? हामीले अस्पतालको लागि जग्गा खरिद गरी भवन निर्माण गर्न नेपाल वैंक लि वाट ऋण लिई भवन बनाएका हौ। हामी आँफैले थोरै थोरै जम्मा गरेर सेयर रकम बटुलेर अस्पतालको लागि आवश्यक उपकरण खरिद गरी संचालन गरि आएका छौँ । कतिपय सेवाग्राहीहरु यस अस्पतालमा महँगो भयो भन्छन तर उपकरण धेरै महँगो पर्छ । मुश्किलले हामीले खर्च धानी आएका छौ । अस्पताल उपकरण खरिद गर्न नेपाल सरकारको तर्फबाट हामीले कुनै पनि किसिमको छुट सुविधा पनि पाएका छैनौ । बरु हामी हरेक वर्ष सरकारलाई करोडौ राजश्व बुझाउँछौ। हुनत यसै आ.व २०७५/०७६ देखि नेपाल सरकारले स्वास्थ्य सेवा कर हटाएको छ । यसले गर्दा बिरामीलाई ५ प्रतिशतमात्र भए पनि शुल्कमा सस्तो पर्न गएको छ । त्यसैगरी हामी पनि कसरी बिरामीलाई सस्तो, राम्रो, छिटो, सुलभ र स्तरीय उपचार दिने भन्ने कुरामा सधै लागि परेका छौँ। हामीले बिरामीहरुलाई सहुलियत कार्ड पनि वितरण गर्दै आएका छौँ । हजारौँ भन्दा बढीले सहुलियत कार्ड पाईसक्नु भएको छ। उक्त सहुलियत कार्ड प्राप्त गरेकाहरुले विभिन्न सेवामा ५ देखि २० प्रतिशत सम्म छुट सहुलियत पाउँछन् । यस अस्पतालका व्यवस्थापन समितिका पदाधिकारीहरु यसै क्षेत्रका गन्य मान्य प्रतिष्ठित बर्ग हनु भएकोले वहाँहरुबाट पनि गरीब, असहाय, बेवारिसे, अनाथ, तथा जेष्ठ नागरीकहरुलाई सहुलियतको अनुरोध हुने भएकोले वहाँहरुलाई बिशेष छुट दिई सेवा प्रदान गर्दै आएका छौ । अरु भन्दा मध्यपुर अस्पतालले बिरामीलाई के अतिरिक्त सुबिधा दिएको छ ? हामीले आफुलाई पक्कै पनि अरुभन्दा फरक पाएका छौँ । छिटो, छरितो स्तरीय उपचार गर्न पाउने कारणले भक्तपुरका अन्य अस्पतालहरुले पनि यहाँ बिरामी रिफर गरी पठाउने गरेका छन्। यहाँ सबै किसिमको उपचार सेवा उपलब्ध छ र यहाँ तुरुन्त उपचार पाईन्छ । भक्तपुर जिल्लामा ८-१० वटा अस्पताल रहेका छन् । सबै ठाउँमा सवै उपकरण उपलब्ध छैनन्। सबै बिषयका पर्याप्त डाक्टरहरु पनि छैनन् । यहाँ सबै उपचार सेवा उपलब्ध रहेको हुनाले पनि बढी बिरामीहरुद्वारा रुचाईएको हो । शिक्षा र स्वास्थ्यको निजीकरण विरुद्ध आवाज उठ्न थालेको छ, राज्यले यसलाई व्यवस्थापन गर्न र तपाईहरुका लागि पनि के गरोस भन्ने लाग्छ ? नेपाल सरकारको तर्फबाट निजि क्षेत्रबाट संचालित अस्पतालहरुको लागि गर्नुपर्ने धेरै कुराहरु छन् । सरकारले यदि सर्वसाधारणलाई उपचार महँगो नपार्ने हो भने अस्पताल उपकरणहरुमा छुट सुविधा दिनु जरुरी छ । सरकारले उपचार खर्चको मुल्य निर्धारण गरिदिनु पर्छ । सरकारले जसरी कन्सल्टेन्ट डाक्टरले कसले कति शुल्क लिने पाउने भन्ने तोकि सकेको छ । त्यसैगरी कुन कुन सेवा दिँदा कसलाई के कति शुल्क लिने सम्बन्धी पनि मुल्य निर्धारण गर्न जरुरी छ । स्वास्थ्य मन्त्रालयमा गत बर्षमा नै यो विषयमा छलफल भईरहेको थियो । चाँडै मुल्यनिर्धारण होला भनेर हामीले सोचीरहेको थियौ । तर अहिले सम्म त्यसको अत्तोपत्तो छैन । सरकारले कुनै पनि निजी अस्पतालले १० प्रतिसत बिरामीलाई निःशुल्क गर्नुपर्ने प्रावधान छ । त्यो निःशुल्कको लागि कहाँ कहाँ बाट लेखेर आएकोलाई सेवा दिने भन्ने कुरा पनि स्पष्ट गर्नुपर्छ । किनभने स्थानिय नगरपालिकाले , जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय जिल्ला प्रशासन कार्यालयबाट पनि पठाउने गरेको छ । कहाँबाट आएकोलार्ई आधार मान्ने भन्ने स्पष्ट छैन । निःशुल्क के- के मा कतिसम्म दिने भनि तोक्नु जरुरी छ । किनभने कुनै कुनै खालको मेजर अप्रेशन गर्दा ३ -४ लाख सम्म पनि पर्न जान्छ । जसमा निः शुल्क गर्न सकिने अवस्था हुदैन । तसर्थ स्पष्ट नीति निर्देशन सहित शुल्क तोक्न जरुरी छ । यसले अस्पताल संचालकहरुलाई सजिलो हुन जान्छ । हाम्रो निजी अस्पतालहरुको एउटा छाता संगठन रहेको छ । त्यसलाई अफिन भनिन्छ । सरकारले कुनै किसिमको स्वास्थ्य सम्वन्धी निति नियम निर्माण गर्दा सो संथाको प्रतिनिधि पनि राखेमा कार्यान्वयनमा सजिलोपन हुन आउँछ । यसले निति नियम दीगो र प्रभावकारी हुन जान्छ । खासगरी नेपालमा निजी क्षेत्रका स्वास्थ्य संस्थाहरुले ५० प्रतिसत जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ। स्वास्थ्य क्षेत्रमा करीब ६० अर्ब लगानी निजी क्षेत्रको रहेको छ भनि अफिनको प्रतिबेदनमा उल्लेख छ । तर नेपाल सरकारको निजी क्षेत्रका अस्पताललाई हेर्ने दृष्टिकोण फरक रहेको छ । निजी क्षेत्रबाट संचालित स्वस्थ्य संस्थाहरुलाई नेपाल सरकारले बेलाबेलामा अनुगमन हुनुपर्ने नियमित रुपमा अनुगमन भएको पाइएको छैन । कुनै कुनै अस्पतालमा १०-१५ प्रतिसत पनि बेड अकुपेन्सीन भएको अस्पतालहरुले नसिड. कलेज संंचालन गर्न पाईरहेका छन् भने कसैको सम्पूर्ण पूर्वाधार तयार गरी जहिले पनि ६५-७० प्रतिसत वेड अकुपेन्सी भएता पनि कलेजको लागि प्रयास गरेको ४ वर्ष बितिसक्दा पनि पाएका छैन्न। कागजमा मात्र बेड अकुपेन्सीको कुरा छ खासै व्यवहारमा यो लागु भएको छैन । सेवा क्षेत्र विस्तारका भावी योजना के के छन् ? हाम्रो अस्पतालको भावि कार्यक्रम भनेको हालको ५१ शैयाको अस्पतालमा ४९ शैया थप गरी१००शैया बनाउनु हो । जसको लागि हाम्रो अस्पतालमा पुर्वाधारहरु तयार छन् । नेपाल सरकार समक्ष अनुमतिको लागि अनुरोध भइरहेकोमा पाएको छैन । हाम्रो अस्पतालमा हाल ठाउको अभाव भएकोले केही जग्गा खरीद गरी अर्को एउटा भवन बनाउने तरखरमा पनि छौ । हाम्रो अर्को लक्ष्य भनेको नर्सिडं लगायत फमेर्सी, रेडियोग्राफी र ल्याव बिषयकोकलेज संचालन गर्ने हो । जस्कोलागि हामीले ५ बर्ष अघि देखि प्राबिधिक तथा व्यवसायिक तालिम केन्द्रमा अनुरोघ गरी आएका छौ । र, अन्त्यमा ? हामीले जहिले पनि अपाङ्ग, अनाथ, असक्त,वृद्धवृद्धा तथा वेवारिस विरामीहरुको उपचार सेवामा छुट तथा सहुलियत दिई सेवा गरिआएका छौँ। हामीले ईमर्जेन्सीमा आएका बिरामी लाई आउने बित्तिकै छिटो, छरितो उपचार सेवा र सहयोगको आवश्यक पर्ने भएकोले सहयोग गर्ने मानिसहरु राखेका छौँ । समयमा उपचार ग–यो कि गरेन, डाक्टर तथा प्राबिधिकले राम्रोसँग हेर्यो की हेरेन भन्ने रेखदेख गर्ने छुटै व्यतिmकोे पनि ब्यवस्था गरि आएका छौँ । अर्को महत्वपुर्ण कुरा यस अस्पतालको नाक, कान घाँटीको विशेषज्ञ डा. रविन्द्र भक्त प्रधानाङ्गले जन्मे देखिनै काननसुन्ने वच्चाहरुलाई कक्लियर नामक इम्ल्पान्ट राखी कान सुन्ने बनाउने शल्यकृया पनि गरी आएको छ । हाल सम्ममा ५ जना बालकहरुको यो शल्यकृया भई सकेको छ । यो शल्यकृया काठमाडौ स्थित टिचिङ अस्पतालमा हुने गरेको छ । निजी अस्पतालमा यसै अस्पतालमा मात्र हुने गरेको छ । ४ बिरामीहरुलाई छिटो छरितो उपचार सेवामा कहिं कतै कसैलाई असुबिधा भएको छ छैन रेख देख गर्न सि सि क्यामेरा, वाके टवाके, शिघ्र सम्पर्ककोलागि टेलिफोन एक्चेन्ज,उजुरी पेटिका आदिको व्यवस्था गरी आएका छौ ।

केसीसी व्यावसायिक पत्रकारिता पुरस्कार मोहन मैनाली र माया पकुवाललाई

काठमाडाैं । कान्तिपुर सिटी कलेज (केसीसी)द्वारा स्थापित केसीसी व्यावसायिक पत्रकारिता पुरस्कार २०७५ बाट वरिष्ठ पत्रकार मोहन मैनाली र मोफसलबाट झापाका पत्रकार माया पकुवाल सम्मानित भएका छन् । जनही नेपाली रूपैयाँ २५ हजार रूपैयाँको उक्त सम्मानसँगै पत्रकारद्वयलाई नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्य तथा राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदादेवी तिम्सिनाले ताम्रपत्रसहित सम्मान गरेका हुन् । वरिष्ठ पत्रकार मोहन मैनालीले विगत २८ वर्षदेखि अनुसन्धानमूलक रिपोर्टिङ्ग, वातावरण बिट, ग्रामीण क्षेत्रमा फिल्ड रिपोर्टिङ्ग, डकुमेन्ट्री र मिडिया तालिमकर्ताका रूपमा कार्य गर्दै आएका छन् । त्यसैगरी, पत्रकार माया पकवाल झापाबाट प्रकाशित वरुण साप्ताहिक प्रधान सम्पादक छिन् । उनको भर्खरै मात्र किड्नीको शल्यक्रिया गरिएको थियो । कार्यक्रममा बोल्दै विशेष अतिथि यशोदादेवी तिम्सिनाले दुबै पुरस्कृतहरू उत्कृष्ट र विवादरहित भएको बताइन् । त्यसैगरी, नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्यले पत्रकारिता आफैमा सुधार हुनुपर्ने पक्षहरू भएता पनि नयाँ आएका कानूनी व्यवस्थाले नेपाली पत्रकारहरूलाई सशङ्कित बनाएको बताए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा मिडिया शिक्षक डा. कुन्दन अर्यालले प्रेसलाई जिम्मेवार बनाउन अघि बढ्नुपर्ने र कानूनले यसलाई सहयोग नै गर्ने बताए । कान्तिपुर सिटी कलेजले नेपाली पत्रकारिता क्षेत्रमा व्यावसायिक अभ्यासमा लाग्दै देश र जनताको सेवामा महत्वपूर्ण योगदान पुर्याउने दुई जना क्रियाशील पत्रकारलाई सम्मान गर्ने उद्देश्यले यो अवार्ड स्थापना गरिएको हो । सन् २००१ देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई आमसञ्चार तथा पत्रकारिता विषयको स्नातकोत्तर विषयमा अध्यापन गर्दै आएको कान्तिपुर सिटी कलेज पत्रकारितामा स्नातकोत्तर शिक्षणमा अग्रणी मध्ये हो । यस क्रममा यहाँका पत्रकारिताका करिब ३५० भन्दा बढी विद्यार्थीहरू देश–विदेशमा प्रतिष्ठित सञ्चार माध्यम तथा विश्वविद्यालयमा कार्य गर्दै छन् । सोही कार्यक्रममा केसीसी मिडिया जर्नल अङ्क २ को विमोचन पनि गरिएको थियो । जनार्दन विष्टको सम्पादन, राजीव तिमल्सिनाको संयोजकत्व तथा आभास धरानन्द राजोपाध्यायको सह–सम्पादन रहेको उक्त जर्नल कान्तिपुर सिटी कलेजको आमसञ्चार तथा पत्रकारिता विभागले प्रकाशन गरेको हो । पत्रकारका लागि आत्मनिरीक्षण सम्बन्धी प्रा. रामकृष्ण रेग्मी, टिभी कार्यक्रममा मानवीय भावना विरुद्ध जनजाति भावनाबारे डा. भानुभक्त आचार्य, मिडियाले अभियुक्तलाई अपराधी लेखिदिनेबारे डा. दीपेश केसी, सूचनाको हकको अडिटबारे एकराज पाठक, भूकम्पपछि रेडियो भूमिकाबारे जनार्दन विष्ट, धरहरा र काष्ठमण्डपबारे कभरेजले दिएको मिडियाको शिक्षाबारे आभास धरानन्द राजोपाध्याय, विकास पत्रकारिताबारे सुजिना शाक्य र मोदीको भ्रमणसँगै नेपाल–भारत सम्बन्धबारे राजेश कुमार पाठकका नौवटा अनुसन्धानमूलक आलेखहरू उक्त जर्नलमा समावेश छन् । कार्यक्रममा कान्तिपुर सिटी कलेजबाट आमसञ्चार तथा पत्रकारिताको स्नातकोत्तर तहमा पूर्वाञ्चल विश्वविद्यालयबाट ओमप्रकाश गोयल स्वर्ण पदक प्राप्त गर्नुहुने माधव थापा क्षेत्री (२०१५को स्वर्ण पदक) तथा चिरञ्जीवि देवकोटा (२०१४को स्वर्ण पदक) विजेतालाई सम्मान पनि गरिएको थियो ।

प्रभु इन्स्योरेन्सका ग्राहकले मेडिसिटी अस्पतालमा नगदरहित सेवा पाउने

काठमाडौं । प्रभु इन्स्योरेन्सका ग्राहक तथा सेवाग्राहीले नेपाल मेडिसिटी अस्पतालमा नगदरहित सेवा प्राप्त गर्ने भएका छन् । उक्त सेवाको लागी दुई संस्थाले एकआपसमा क्यासलेस(नगदरहित) सम्झौता गरेका छन् । उक्त सम्झौतापत्रमा नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले हस्ताक्षर गरेका छन् । उक्त क्यासलेस सेवा बिरामी भर्नाको अवस्थामा लागू हुनेछ । सम्झौतासंगै दुई संस्था बीमा र स्वास्थ्य उपचारका माध्ययमबाट जोडिने भएका छन् ।

नेपाल बङ्गलादेश बैंकको थप नयाँ शाखा दमौली र सन्धिखर्कमा

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ७५ र ७६औं शाखाहरु संचालनमा ल्याएको छ । बैंकले तनहुँ जिल्लाको दमौलीमा र अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नयाँ शाखाहरु विस्तार गरी संचालनमा ल्याएको हो । बैंकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो । साथै यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । यीसहित बैंकले ७६ शाखा, ७ एक्सटेन्सन काउन्टर, ६ शाखारहित घरदैलो बैंकिङ् सेवा तथा ५७ वटा एटीएमबाट बैंकिङ् सुविधा दिँदै आएको छ ।