विकासन्युज

२० अर्ब लगानी भएको डेरीले दैनिक ५० हजार लाख लिटर दूध उत्पादन, ३० हजारलाई रोजगारी

पाल्पा । डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई प्रत्यक्ष रोजागरी दिएको छ । नेपालका करीब पाँच लाख किसानले दूध उत्पादन गरी रोजगार र स्वजरोगार बन्दै गएका छन् । पशुपालनतर्फ युवाको आकर्षण बढ्दा रोजगारी पाउनेको सङ्ख्या बर्सेनी बढेको हो । पछिल्ला वर्ष विदेशबाट फर्केका र शिक्षित युवाको पशुपालन पेशामा आकर्षण बढेपछि डेरी उद्योग फस्टाएको छ । डेरी उद्योग फस्टाउँदा उपभोक्ताले घरघरमा दूध पाउन थालेका हुन् । नेपाल डेरी एशोसिएशन केन्द्रीय समितिका अध्यक्ष राधाकृष्ण सापकोटाले नेपालमा डेरी उद्योगमा लगानी बढ्दा बेरोजगार युवाले डेरीबाट रोजगार पाउन सफल भएको बताए । डेरी उद्योगको विकासका लागि २० अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको र दैनिक ५० हजार लाख लिटर दूध उत्पादन हुनेमा औपचारिक क्षेत्र १७ र अनौपचारिक ३३ प्रतिशत र किसान स्वयंले उपभोग गर्ने ५० प्रतिशत दूध खर्च हुने गरेको उनले उल्लेख गरे। महासचिव प्रल्हाद दाहालका अनुसार दैनिक ३ करोड रुपैयाँ भन्दा बढी रकम शहरबाट गाउँमा प्रवाह हुँदै आएको छ । वार्षिक १ अर्ब रुपैयाँ राजश्व डेरी क्षेत्रबाट सरकारलाई बुझाउने गरिएको महासचिव दाहालको भनाइ छ । विदेशी लगानीमा डेरी उद्योगको सञ्चालन गरेको अवस्थामा स्वदेशी डेरी उद्योगहरु धराशायी हुने उद्योगीको धारणा रहेको छ । डेरी एशोसिएसनले विदेशी लगानीमा स्वदेशमा डेरी उद्योग सञ्चालनमा आएमा ४ लाख ५० हजार किसानको घरपरिवारको रोजीरोटी गुम्न सक्ने अवस्था प्रति सचेत गराएका छन् । डेरी क्षेत्रमा २० अर्बको लगानी जोखिम हुने र स्वदेशी पैसा विदेशिन सक्छ भन्दै विदेश लगानीलाई नेपाली भूमिमा प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्ने पक्षमा छैनन् । श्रम ऐन २०७५ पास भई न्यूनतम पारिश्रमिकमा वृद्धि हुन गएकाले र बैंकको ब्याज दर बढ्न गई आर्थिक भार बढ्न गएको, घर भाडा बढेर आर्थिक भार बढ्न गएको डेरी व्यवसायीको भनाइ छ । विसं २०५५ मा नेपाल डेरी एशोसिएशन नेपालको स्थापना भएको हो । हाल डेरी उद्योग ७७ जिल्ला शाखा विस्तार भएको छ । यस संस्थामा देशभरका २५० भन्दा बढी उद्योग आबद्ध छन् । रासस

बुढीगण्डकी जलविद्युत आयोजना खोसाखोस, १६ महिनामा सरकारका ३ निर्णय

काठमाडौं । वैदेशिक लगानी भित्र्याउनुपर्ने बेला जलविद्युत आयोजना निर्माणको जिम्मेवारी कहिले दिने, कहिले खोस्ने जस्ता निर्णयले लगानीकर्तालाई निरुत्साहित गरेको छ। लगानीकर्ताको स्रोत र क्षमता जस्ता विषयलाई नहेरी प्रभावका भरमा निर्णय गर्दा आयोजना निर्माणमा समेत असर पर्ने देखिएको छ। २०७५ देखि अबको १० वर्षसम्मलाई ऊर्जा तथा जलस्रोत दशकको रुपमा अगाडि बढाउने र यो समयावधिभित्र १५ हजार मेगावाट विद्युत् उत्पादनमा जोड दिने लक्ष्य सरकारको छ। १ हजार २०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा प्रचण्ड नेतृत्वको सरकारले गएको वर्षको जेठको सुरुमा चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप लिमिटेडलाई दिने निर्णय गरेको थियो। सो निर्णयको विभिन्न क्षेत्रबाट आलोचना भैरहेकाबेला शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त कम्पनीसँग भएको सम्झौता खारेज गरेर नेपाल आफैँले निर्माण गर्ने निर्णय गरेको थियो। तर हालैमात्र केपी ओली नेतृत्वको सरकारले उक्त आयोजना पुनः चिनियाँ कम्पनी गेजुवालाई नै दिने निर्णय गरेको छ । झन्डै १६ महिनाको अवधिमा उक्त आयोजनाबारे सरकारका तीनवटा निर्णय भएका छन्। यस्ता निर्णयले लगानीको वातावरण विगार्ने जलस्रोतविद् सुर्यनाथ उपाध्याय बताउँछन्। मन लाग्यो दियो, मन नलाग्यो फिर्ता लियो त्यसले त यस्तो आयोजनामाथि खेलाँची गरेको देखियो।“ विदेशी लगानीकर्तालाई यसले राम्रो सन्देश दिँदैन। देशको निर्णय गर्ने तौरतरिकामाथि पनि जग हँसाउने काम भएको रूपमा व्याख्या हुन थाल्छ” उनले भने, “यस्तो वातावरणमा लगानीकर्तालाई लगानी गर्ने की नगर्ने भन्ने पर्छ। आज आफूले पाएको योजना भोलि अर्कोलाई दिइने हो कि काम गर्दागर्दै अर्को कुनै निर्णय हुने हो कि भन्ने त्रास उनीहरुमा पर्छ।” कानूनसम्मत काम नगर्दा सरकारको विश्वसनीयता समेत हराउने उनको तर्क छ । जलाशययुक्त उक्त आयोजनाबाट विद्युत मात्रै उत्पादन गर्ने वा अन्य योजनाहरु पनि सँगसँगै लैजाने जस्ता निर्णय गर्न बाँकी रहेको छ। यस्तो अवस्थामा भएका यस्ता निर्णयले आयोजनामाथि नै खेलाँची भएको भनाइ जलस्रोतविद द्वारिकानाथ ढुङ्गेलको छ। उनले भने, “मन लाग्यो दियो, मन नलाग्यो फिर्ता लियो, त्यसले त यस्तो आयोजनामाथि खेलाँची गरेको देखियो। विदेशी लगानीकर्तालाई यसले राम्रो सन्देश दिँदैन। देशको निर्णय गर्ने तौरतरिकामाथि पनि जग हँसाउने काम भएको रूपमा व्याख्या हुन थाल्छ।” आयोजनाहरूलाई गति दिनु पर्ने बेलामा अधिकांश जलविद्युत आयोजनाहरू निर्माण गर्न नसक्ने कम्पनीहरूलाई दिने प्रवृत्ति बढेको ऊर्जाविद रत्नसंसार श्रेष्ठले बताए। गेजुवाले विगतमा गरेका कामको तौरतरिका पनि त्यस्तै भएकाले उक्त आयोजना अगाडि बढ्नेमा उनी शंका व्यक्त गर्छन्। स्राेतः बीबीसी

विराटनगरकाे चप्पल उद्योग र हाेटलमा व्यापक श्रम शोषण, पाेल खुल्ने डरले ५० जना श्रमिक थुनामा

विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार वटा ट्रेड युनियनले आइतबार गरेको अनुगमनमा उद्योगले त्यहाँ कार्यरत श्रमिकलाई श्रम सम्झौताबिना कार्य गराएको पाइएको छ । बूढीगङ्गा–३ मा रहेको उक्त उद्योगमा दुई सय मजदुर कार्यरत रहेकामा वर्षौंदेखि श्रम शोषण गर्दै आएको अनुगमनका क्रममा फेला परेको हो । उद्योगमा अनुगमन टोली आउने सूचना प्राप्त भएपछि उद्योगका व्यवस्थापक कौशल मण्डलले श्रमिकलाई एउटा कोठामा थुनेर राखेको थिए । श्रम शोषण गरेको पोल खुल्ने डरले करीब ५० जनाभन्दा बढी श्रमिकलाई एउटा कोठामा थुनेर राखेको अनुगमन टोलीका सदस्य नेपाल समाजवादी ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष तेजलाल कर्णले बताए । “उद्योगले वर्षौंदेखि श्रम शोषण गरेको कुरा श्रमिकले अनुगमन टोलीलाई सुनाइदिने डरले लुकाएको रहेछ,” कर्णले भने । चप्पल उद्योगले श्रमिकको व्यापक रुपमा श्रम शोषण गर्ने गरेको फेला परेको श्रम कार्यालय विराटनगरका प्रमुख मणिनाथ गोपले बताए ।  श्रम कार्यालयले हाइलाइफ चप्पल उद्योगमा कार्यरत श्रमिक कर्मचारीको हाजिर खाता र तलब भर्पाइसमेत नियन्त्रणमा लिएको छ । आगामी १५ दिनभित्र मजुदरका सम्पूर्ण सबै समस्याको हल गरी श्रम ऐनले तोकेअनुसार तलब नदिए उद्योग नै बन्द गरिने श्रम कार्यालयका प्रमुख गोपले बताए । त्यसैगरी विराटनगर विमानस्थल नजीकै रहेको होटल एशिया टिकमा गरिएको अनुगमनका क्रममा होटलमा काम गर्ने अधिकांश मजदुरलाई श्रम श्रोषण गरिएको पाइएको जिफन्ट नेपालका प्रदेश अध्यक्ष किशोर धमलाले जानकारी दिए । होटलले ग्राहकबाट १० प्रतिशत लिएको सेवाशुल्क रकम मजदुरलाई नदिएको अध्यक्ष धमला बताए ।  होटलमा ४० जना मजदुर कार्यरत रहेका छन् । रासस

स्वर्गद्वारी विमानस्थल निर्माण गर्न ७७ करोड बजेट, वातावरण प्रभाव मूल्याङ्कन सम्पन्न

प्यूठान । प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि रु ७७ करोड लाग्ने योजना सार्वजनिक गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण प्रभाव मूल्याङ्कन गरी यसबारे स्थानीयवासीलाई जानकारी गराएको हो । स्वर्गद्वारी आन्तरिक विमानस्थलको आयोजनाको वातावरणीय प्रमाव मूल्याङ्कन अध्ययनसहित कूल बजेटबारे सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । स्वर्गद्वारी नगरपालिकाको बर्जिवाङ चाल्नेटारमा निर्माण हुन लागेको विमानस्थल करीब ६०.७९ हेक्टर क्षेत्रफल ओगटेको छ । आयोजना निर्माणले चाल्नेटारका १२ र माथिल्लो दमारका दुई गरी १४ घरधुरीमा प्रभाव हुने र १३ घरधुरीका १०७ जना विस्थापित हुनुपर्ने मूल्याङ्कनमा समेटिएको छ । आयोजना निर्माणका क्रममा ५५.१८ हेक्टर वन अधिग्रहण गर्दा १८ प्रजातिका ६ हजार २५६ बिरुवा नोक्सान हुने वातावरण प्रभाव मूल्याङ्कन टोलीका प्रमुख डा महेन्द्रनाथ सुवेदीले बताए । यस्तै ०.४ हेक्टर आवास लगायतका अन्य संरचनामा स्थायीरुपले असर पुग्ने उहाँले जानकारी दिनुभयो । वातावरण मूल्याङ्कन प्रभाव प्रतिवेदन सार्वजनिक भएसँगै आयोजनास्थलका प्रभावित बासिन्दाले उचित क्षतिपूर्तिबिना आफूहरु बस्दै आएको बसोबास नछोड्ने बताएका छन् । वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनमा अधिग्रहण गरिने निजी जमीनको प्रतिरोपनी रु तीन लाखका दरले क्षतिपूर्ति दिइने प्रस्ताव गरे पनि त्यो रकम आफूहरुका लागि न्यायोचित नभएको स्थानीयवासीको गुनासो छ । जमीन तथा भौतिक संरचनाको उचित क्षतिपूर्ति र रोजगारीको सुनिश्चित भएमा मात्रै आफूहरु जन्मथलो छोड्न तयार रहेको स्थानीयवासी भोजराज खड्काले बताउनुभयो । प्रतिरोपनी तीन लाखका दरले क्षतिपूर्तिका लागि रु दुई करोड ७७ लाख पाँच हजार ६२५, पुनर्वास र पुनः स्थापनाका लागि रु तीन करोड ३९ लाख ८१ हजार ११० र क्षति हुन जाने अन्नबालीको रु ६७ हजार ६७७ गरी कूल रु ६ करोड १७ लाख ६२ हजार ४१२ खर्च हुने प्रतिवेदनमा उल्लेख छ । आयोजनाको कूल लागत रु ७७ करोडमध्ये वातावरणीय प्रभाव न्यूनीकरण, अनुगमन लगायतका २०.६२ प्रतिशतबाट हुन आउने करीब रु १५ करोड ८८ लाख १७ हजार ८२९ छुट्याइएको छ ।

काठमाडौं उपत्यकाभित्र २७ रुपैंयासम्म भाडा तिनुपर्ने, कुन ठाउँमा जान कति भाडा हेर्नुहोस् (सूचिसहित)

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा न्यूनतम भाडादर  १४ रूपैयाँ कायम गरेको छ । अधिकतम  २७ रूपैयाँ  हुनेछ । न्यूनतम चार किलोमिटर यात्रा गर्दा यात्रु १४ रूपैयाँ तिर्नुपर्नेछ । साविकमा १३ रूपैयाँ न्यूनतम भाडा भए पनि सवारी साधनले यात्रुसँग  १५  रूपैयाँ लिँदै आएका थिए । नयाँ व्यवस्थाअनुसार पाँच किलोमिटरसम्म  १६, छ किलोमिटरसम्म १७, आठ किलोमिटरसम्म  १८, १० किलोमिटरसम्म  २१, १३ किलोमिटरसम्म २३, १६ किलोमिटरसम्म  २५, १९ किलोमिटरसम्म २६ र सोभन्दा माथि २७ रूपैयाँ भाडा कायम भएको छ । विभागले हाल भाडादर समायोजन गर्दा डिजलको मूल्य प्रतिलिटर १०१  पेट्रोलको मूल्य  ११४ का आधारमा गरिएको जनाएको छ । पेट्रोलियम पदार्थमा  ५ रूपैयाँ भन्दा बढीले घटबढ भएमा नयाँ भाडादर कायम गरिने विभागले जनाएको छ । यस्तै चक्रपथ बाहिर ४ किलोमिटरभन्दा बढी दूरी भएमा प्रतिकिमी २ रुपैयाँ ५ पैसाका दरले हिसाब गरी भाडा लिने व्यवस्था गरिएको छ । तराईको लामो दूरी अर्थात् २५० किलोमिटरभन्दा बढी पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रु बस, मिनीबसका लागि प्रतिकिलोमिटर १ रुपैयाँ ९० पैसा भाडादर कायम गरिएको छ । तराई र उपत्यकामा २५ किलोमिटरदेखि २५० किलोमिटरसम्म दूरीका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनिबसका लागि प्रतिकिलोमिटर १ रुपैयाँ ९५ पैसा भाडा दर र काठमाडौँ–पोखरा र पोखरा नारायणगढ खण्डका लागि प्रतिकिलोमिटर २ रुपैयाँ ९ पैसा भाडा कायम गरिएको छ । यस्तै मिटर जडित सार्वजनिक भाडाका ट्याक्सीको प्रतिकिलोमिटर भाडा दर ३९ रूपैयाँ कायम गरिएको छ । प्रति २०० मिटरमा साविकको रु सातलाई बढाएर ७ रुपैयाँ ८० पैसा कायम गरिएको छ । पर्यटक ट्याक्सीको भाडा ४८१ रूपैयाँ रहेकामा हाल बढाएर रु ५२९ पु¥याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चल्ने पर्यटक ट्याक्सीको हकमा उक्त भाडादर कायम हुनेछ । उक्त दर ५ किलोमिटरको हकमा मात्रै लागू हुनेछ । सो भन्दा बढी भएमा १ हजार १५७ सम्म कायम गरिएको छ । विभागले देशभरका ५०१ गन्तव्यको नयाँ भाडा दर कायम गरेको हो । मालसामान ढुवानीका लागि प्रयोग हुने ट्रक तथा कन्टेनरको समेत नयाँ भाडा दर कायम गरिएको छ । मालबाहक ट्रक तथा कन्टेनरको हकमा वीरगञ्ज–काठमाडौँको भाडा २० हजार ७७३, वीरगञ्ज–पोखरा १८ हजार ८८३ कायम भएको छ । काँकडभिट्टा–महेन्द्रनगरको भाडा  ४५ हजार १८९ रूपैयाँ कायम गरिएको छ । कुन स्थानमा जान कति भाडा काठमाडौँ–सिलगढी रु १६७५ काठमाडौँ–इलाम रु १३४८ काठमाडौँ–उर्लाबारी रु १०८४ काठमाडौँ– कटारी रु ८०४ काठमाडौँ– कलैया रु ५६३ काठमाडौँ– काँकडभिट्टा रु ११७२ काठमाडौँ–कुमारखोज ९झापा० रु ११७२ काठमाडौँ–कुरिनटार रु २०९ काठमाडौँ–कृष्णनगर रु ६८६ काठमाडौँ–कोठियाघाट रु ११३६ काठमाडौँ–खोपासी रु ८४ काठमाडौँ–गल्छी रु ९९ काठमाडौँ–गाइघाट रु ८६८ काठमाडौँ–गुलरिया रु १०९१ काठमाडौँ–गोरखा रु ३०७ काठमाडौँ–गोलधाप रु ११६९ काठमाडौँ–गौर रु ६५१ काठमाडौँ–गौरीगञ्ज रु ११२३ काठमाडौँ–महोत्तरी रु ७१३ काठमाडौँ–चिसापानी कर्णाली रु ११०० काठमाडौँ–चौतारा रु १९५ काठमाडौँ–जनकपुर रु ७३६ काठमाडौँ–जलेश्वर रु ७६५ काठमाडौँ–जिरी रु ५३२ काठमाडौँ–तातोपानी रु २७५ काठमाडौँ–त्रिशूली रु १७५ काठमाडौँ–धनगढी रु १३२१ काठमाडौँ–साँफेबगर रु १८७३ काठमाडौँ–धरान रु १०४१ काठमाडौँ–धादिङबेँसी रु १८४ काठमाडौँ–धुन्चे रु २९७ काठमाडौँ–धुलिखेल रु ६३ काठमाडौँ–नारायणगढ रु ३०७ काठमाडौँ–नारायणगढ– हेटौडा रु ४५३ काठमाडौँ–नेपालगञ्ज रु १०२५ काठमाडौँ–पनौती रु ६३ काठमाडौँ–पोखरा रु ४२८ काठमाडौँ–बालिङ रु ५८५ काठमाडौँ–फत्तेपुर रु ९२२ काठमाडौँ–भालुवाङ–प्यूठान रु ९२८ काठमाडौँ–भैरहवा रु ५६१ काठमाडौँ–मटिहानी रु ७८४ काठमाडौँ–मलङ्गवा रु ६७१ काठमाडौँ–महेन्द्रनगर रु १३३२ काठमाडौँ–मेलम्ची रु १६२ काठमाडौँ–राजगढ रु ११६६ काठमाडौँ–बाग्लुङ रु ६०८ काठमाडौँ–वीरगञ्ज रु ५४० काठमाडौँ–सिन्धुली रु ७३५ काठमाडौँ–सुर्खेत रु १२११ काठमाडौँ–सिराहा रु ८०० काठमाडौँ–बुटवल रु ५१९ काठमाडौँ–स्याङ्जा रु ५१० काठमाडौँ–तम्घास रु ८४० काठमाडौँ–तानसेन रु ६१५ काठमाडौँ–धनकुटा रु १२०१ काठमाडौँ–वसन्तपुर रु १३२२ काठमाडौँ–सन्धिखर्क रु ७८८ काठमाडौँ–सल्यान रु ७९९ रासस

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउँदै, लुम्बिनी भ्रमण गर्ने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउने भएका छन् । बिमिस्टेक सम्मेलनका लागि तेस्रो पटक नेपाल आएका मोदी पुन नेपाल आउने भएका हुन् । मोदी आगामी नोभम्बर महिनामा नेपाल आउने तयारी रहेको नेपाल स्थीत भारतीय दुतावासको उच्च श्रोतले जनाएको हो । मोदी मंसिर १२ गते काठमाडौं आइपुग्ने श्रोतले बताएको छ । दुई दिने भ्रमणमा मोदीले लुम्बिनी भ्रमण र उच्च स्तरीय राजनितिक भेटघाट गरी मंसिर १३ गते भारत फर्किने कार्यक्रम रहेको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ । यसअघि मोदीले दोस्रो भ्रमणमा  जनकपुर, मुक्तिनाथ गएका थिए । तर सुरक्षाको कारण देखाउँदै लुम्बिनी भने गएका थिएनन । मोदी नेपालमा सबैभन्दा धेरै भ्रमण गर्ने भारतीय प्रधानमन्त्री बन्दैछन् ।

विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम “मोदीकेयर” लागु, १६ अर्ब अमेरिकी डलरमा ५० कराेड जनाकाे बीमा

नयाँदिल्ली । भारतमा विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बीमा कार्यक्रम आइतबार घोषणा गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने बताएका छन । “मोदीकेयर” उपाधि दिइएको यो कार्यक्रमले गम्भीर बिरामी भएर उपचार गराउनुपर्ने हरेक गरिब परिवारलाई भारु ५ लाख बराबरको स्वास्थ्य सुविधा उपलब्ध हुनेछ । यो कार्यक्रमका लागि केन्द्र र २९ वटा राज्य सरकारलाई प्रतिवर्ष १६ अर्ब अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ । माग बमोजिम लगानीलाई बिस्तारै थप गर्दै लगिने केन्द्र सरकारको योजना छ । प्रधानमन्त्री मोदीले झारखण्ड राज्यको राजधानी राँचीमा आयोजित समारोहमा पहिलो मेडिकल कार्ड आइतबार हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका छन् । त्यस अवसरमा प्रधानमन्त्री मोदीले स्वास्थ्य क्षेत्रमा भारतको यो पहिलो ऐतिहासिक दिन भएको बताए । उनले यो बीमा कार्यक्रम भारतका गरिब परिवारका लागि स्वास्थ्य सेवाको पहुँच र गुणस्तर कायम गर्न ठूलो कदम भएको बताउँदै यसबाट बर्सेनि १० करोडभन्दा बढी परिवारले लाभ लिन सक्ने बताए । भारतमा अस्पताल र चिकित्सकको अभावका कारण अधिकांश भारतीयले निजी स्वास्थ्य क्लिनिक र अस्पतालबाट उपचार लिइरहेको पाइन्छ । तर निजी क्लिनिकमा उपचार गर्न चाहने व्यक्तिले चिकित्सकको शुल्कबापत भारु १००० तिर्नु पर्दछ । दैनिक २ डलरभन्दा कम आम्दानी हुने यहाँका गरिब परिवारका लागि यो रकम ज्यादै बढी हो । सरकारी अनुमान अनुसार भारतमा आम्दानीको ६० प्रतिशतभन्दा बढी रकम स्वास्थ्य उपचारमा खर्च हुने गरेको छ । विज्ञहरुले सरकारको पछिल्लो अभियानलाई स्वागतयोग्य भनी प्रशंसा गरेका छन् । तर उनीहरुले यो सेवा सामान्य र दैनिक उपचार सेवामा पनि उपलब्ध हुनुपर्ने बताएका छन् । एजेन्सी

एभरेष्ट बैंकका कार्ड होल्डरले स्टार हस्पिटलमा छुट पाउने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडका डेबिट तथा क्रेडिट कार्डका होल्डर ग्राहकहरुले स्टार हस्पिटलको सेवामा विशेष छुट पाउने भएका छन् । उक्त छुट दिने सम्बन्धि एभरेष्ट बैंक र स्टार हस्पिटलबीच सम्झौता भएको छ । सम्झौतामा बैंकका जनरल मेनेजर राजिव जैन तथा हस्पिटलका प्रमुख संचालन अधिकृत सन्देश जीसीले हस्ताक्षर गरेका छन् । यो छुट बैंकका डेविड तथा क्रेडिट कार्ड होल्डरहरुले बेड चार्ज, ल्याव टेष्ट, एक्स्रे, इसिजी, अपरेशन चार्ज, इन्डस्कोपि तथा कोलोनोस्कोपी, यूएसजी, सीटी स्क्यान, तथा पीटीएफ मेडिसिनमा पाउन सक्नेछन् ।