कोटेश्वर–जडीबुटी सडकमा अब सवारी जाम हट्ने, तिहारअघि बेलिब्रिज सञ्चालनमा आउने
काठमाडौ । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको सवारी जामकाे समस्या अस्थायी रुपमा समाधान हुने भएको छ । सरकारले हनुमन्ते नदी र मनोहरा नदीको दोभानमा तिहारअघि नै बेलिब्रिज सञ्चालनमा ल्याउने भएपछि सवारी जाम हट्ने भएकाे हाे । अरनिको राजमार्गको वैकल्पिक सडकका रुपमा हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माण अघि बढिरहेका छन् । त्यस्तै पेप्सीकोलादेखि सल्लाघारीसम्म पनि अरनिको राजमार्गको वैकल्पिक सडकका रुपमा सडकको चौडाइ बढाउन बोलपत्र आह्वान भई निर्माण अघि बढिरहेको छ । राजमार्गको सवारी चाप न्यूनीकरण गर्न विभिन्न काम अघि बढे पनि स्थानीयवासी तथा सरोकार भएका व्यक्तिले निर्माणमा अवरोध गरिरहेका छन् । सरकारले उचित क्षतिपूर्ति नदिएसम्म निर्माण अघि बढाउन नदिने भन्दै पटक पटक आन्दोलन भइरहेका छन् । सांसद महेश बस्नेतको विशेष पहलमा सडक विभाग केन्द्रीय कार्यालय ललितपुरका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठ, पिआइडी दिवाकर ढकाल, स्थानीय जनप्रतिनिधि तथा सरोकार निकायसहितको आइतबार साँझ भएको स्थलगत निरीक्षणपछि बेलिब्रिज बनाइने बताइएको हाे । भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विकासनिर्माणका कार्य कसैले रोक्न नहुने बताए । उनले भने, “काम गर्दा समस्या आउँछ, समस्या आएपश्चात् समाधानको बाटो खोज्न सरकार तयार छ । पीडित पक्ष वार्ता र छलफलमा आउनुपर्छ, अवरोध गरेर समस्या समाधान हुँदैन । सरकारको आग्रहलाई बेवास्ता गरी आन्दोलन गरे प्रशासन जवाफी कारवाही गर्दै विकास निर्माणका कार्य द्रुत गतिमा अघि बढाउँछ ।” निरीक्षणका क्रममा पूर्वमन्त्री बस्नेतले भने “कोटेश्वर–जडीबुटीमा सवारी जामका कारण लाखौँ मानिसको लामो समय बर्बाद भइरहेको छ र त्यसलाई दीर्घकालीन समस्या समाधान गर्न सुरुङमार्ग, वैकल्पिक मार्गलगायत कार्य अघि बढिरहेको छ । हनुमन्ते नदी तथा मनोहरा नदीमा स्थायी पुल निर्माणका प्रक्रियामा रहेका छन् । ती दीर्घकालीन योजना पूर्णरुपमा सञ्चालनमा नआउञ्जेल अस्थायीरुपमा बालकुमारीदेखि हनुमन्ते–मनोहरा हुँदै अरनिको राजमार्गसम्म जोड्नको लागि यो बेलिब्रिज बनाउने प्रक्रियामा अघि बढेका हौँ ।” विभागका महानिर्देशक श्रेष्ठले बेलिब्रिज सम्भव भएसम्म आगामी तिहारअघि नै सञ्चालनमा ल्याइने बताए । त्यस्तै काठमाडौँ उपत्यका विकास प्राधिकरणले समेत उक्त स्थानमा सवारी चाप समस्या समाधान गर्न सडक विस्तार, खानेपानी, ढल, पुल, हवाईपुल, स्मार्ट सिटीलगायत कार्यलाई तीव्र गतिमा अघि बढाइरहेको छ । रासस
जगदम्बा कंक्रिटो प्रयोग गर्दा ७५ प्रतिशतसम्म बचत
काठमाडौं। जगदम्बा समूहमा आवद्ध उद्यमीले बेलायती र जर्मनी प्रबिधिद्वारा निर्मित गुणस्तरीय प्रि कास्ट निर्माण सामग्रीहरु हालै बजारमा ल्याएका छन् । सीमेन्ट, स्टिल्स, लगायत विभिन्न निर्माण सामग्रीहरुको उत्पादन तथा बिक्री–बितरणको लामो अनुभवबाट ख्याति कमाएका जगदम्बा समूहका उद्योगीले जगदम्बा कंक्रिटो नामक उद्योगबाट ब्लक, ब्रिक, पेभर, को साथसाथै अन्य प्रि– कास्ट बस्तुहरु जस्तै फ्ल्याग टायल्स, ससर ड्रेन, कर्भस्ट्रोन आदिको उत्पादन थालेका छन्। त्यसैले यस उद्योगद्धारा उत्पादीत निर्माण सामाग्रीको प्रयोगले निर्माण लगानिमा १० देखि ७५ प्रतिशतसम्म बचत हुने कुरा कम्पनीले जनाएको छ । परम्परागत रुपमा उत्पादन, हुने निर्माण सामग्री भन्दा निकै टिकाउ हुने आकारमा एकरुपता भएको, उच्च गुणस्तरयुक्त विभिन्न प्रकार आकारमा एकरुपता भएको, आकर्षक भएको कम्पनीले जनाएको छ । घर, हाउजिङ्ग, अपाटमेन्ट, सपिङकम्प्लेक्स, होटल, बाटो, राजमार्ग, पार्क आदि जस्ता संरचनालाई आवश्यक हुने ईटा, ब्लक, पेभर, कर्भस्टोन, स्ल्याव आदि वस्तुहरुको प्रयोगले निर्माणको फिनसिङ्गमा गुणस्तरीयता तथा आधुनिक्ता पाउने कुरामा कम्पनीले जानकारी दिएको छ ।
ईजी मोवाइलले ल्यायो क्रेडिट कार्ड देखाएर मोवाइल किस्तामा पाइने अफर योजना
काठमाडौं । १ रुपैयाँमा मोबाइल फोन उपलब्ध गराउँदै आएको ईजी मोवाइल केयरले दशैं, तिहार र छठ पर्वको अवसर पारेर बैंकका क्रेडिट कार्ड भएका ग्राहकहरुका लागि फेष्टिवल अफर ल्याएको छ । न्यूरोडको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले विभिन्न ब्राण्डका स्मार्टफोनहरु किस्ताबन्दीमा किन्दा विभिन्न उपहारहरु पनि प्राप्त गर्नसक्ने अफर सार्वजनिक गरेको छ । बैंकको क्रेडिट कार्ड देखाउनुस्, शुन्य प्रतिशत र किस्ताबन्दीमा स्मार्टफोन लैजानुस अफरअन्र्तरगत हाल ग्लोबल आइएमइ बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, नबिल बैंक, सेन्चुरी बैंक, माछापुछ्रे बैंक, प्रभु बैंक, कुमारी बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यसको फाईदा उठाउन सक्ने कम्पनीले जनाएको छ । यो अफरअन्तरगत सुविधा लिन क्रेडिट कार्डमार्फत मासिक किस्ताबन्दी र शुन्य ब्याजमा कुनैपनि ब्राण्डको स्मार्टफोन किन्न सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले विशेषगरी बैंकका क्रेडिट कार्ड होल्डरहरुलाई सहज र सुविधाजनक रुपमा मासिक किस्ताबन्दीमा स्मार्टफोन उपलब्ध गराउने गरी यो योजना ल्याएको ईजी मोबाइल केयरका अध्यक्ष संजित पौडेलले बताए ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक खैरेनी र देवदहमा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैकले २ स्थानमा शाखा विस्तार विस्तार गरेको छ । बैंकले रुपन्देहीको देवदह नगरपालिकाको खैरेनी र शुद्घोधन गाउँपालिकाको फर्साटिकरमा शाखा कार्यालय खोली वित्तीय कारोवार शुभारम्भ गरेको छ । चुक्ता पूँजी १ अर्ब ६२ करोड रुपैयाँ रहेको बैंकले हालसम्म १४ अर्ब ६५ करोड रुपैयाँ निक्षेप परिचालन गरि १३ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । शाखा विस्तार पश्चात रुपन्देहीमा १२ शाखा कार्यालय पुगेका छन् भने कुल शाखा संख्या ३६ र १ वटा एक्सटेन्सन कार्यालय मार्फत बैंकिग सेवा प्रदान गरि रहेको छ । बैंकले रुपन्देहीको शंकरनगर र कोटिहवा तथा नवलपरासी जिल्लाको सुनवलमा छिट्टै शाखा विस्तार गर्ने तयारिमा रहेको जानकारी दिएको छ । आवश्यकता र सम्भाव्यताका आधारमा थप शाखा विस्तार गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ । बैंकको गत आर्थिक बर्षको नाफाबाट लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भइसकेकोले यहि मिति २०७५ साल आश्विन २८ दशौं बार्षिक साधारण सभा गर्न गैरहेकोे जनाएको छ ।
मंगलबारदेखि यौनजन्य वेवसाइटहरु बन्द गर्न प्राधिकरणकाे निर्देशन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीलाई यौनजन्य साइटहरु बन्द गर्न निर्देशन दिएको छ । सञ्चारमन्त्री गोकुल बास्कोटाले यौनजन्य सामाग्री प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्राधिकरणले यस्तो निर्देशन दिएको हो । कम्पनीहरुले तत्कालै साइट बन्द गर्नुपर्ने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए । उनका अनुसार हाल नेपालमा ७० वटा सेवा प्रदायक कम्पनी रहेका छन् । अटेर कम्पनीको दूरसञ्चार ऐन २०५३ अनुसार जरिवाना सहित अनुमति पत्र रद्द गर्ने प्राधिकरणले जनाएको छ । नेपालमा यौनजन्य हिसां बढेको भन्दै सरकारले यौनजन्य साइट बन्द गर्ने निर्णय गरेको हो ।
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा रवि सिंह विजयी
काठमाडौं। नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा रवि सिंह ४६६ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी यक्षध्वज कार्कीले ३५३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत बाबुराम दाहालले जानकारी दिए। अध्यक्षका उम्मेदवार रामशरण देउजा र पुरुषोत्तम मानन्धरले क्रमशः ६६ र ७ मत पाए। वरिष्ठ उपाध्यक्षमा निकोलस पाण्डेले ४६५ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मणकुमार रानाले ४२८ मत ल्याए। यसैगरी प्रदेश नं १ को उपाध्यक्षमा धीरेन्द्रकुमार दाहाल, प्रदेश नं २ को उपाध्यक्षमा सुरेन्द्रप्रसाद सिंह, प्रदेश नं ३ को उपाध्यक्षमा पेम्बा लामा (शेर्पा), गण्डकी प्रदेशको उपाध्यक्षमा राजेन्द्र पहारी, प्रदेश नं ५ को उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशको उपाध्यक्षमा रत्नबहादुर खड्का र प्रदेश नं ७ को उपाध्यक्षमा टेकबहादुर सेट्ठी निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । यसैगरी एशोशियट उपाध्यक्षमा आङदोर्जी लामा, महासचिवमा रोशन दाहाल, उपमहासचिवमा टङ्कप्रसाद चौलागाई, उपमहासचिव (आन्तरिक) मा नरहरि थपलिया, कोषाध्यक्षमा हीरणकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा सरस्वती कार्की विजयी भए। सदस्यमा प्रमोद लामिछाने, सुरेन्द्रराज केसी, अशोककुमार केसी, इञ्जिनीयर भीमबहादुर पाल, डा सूर्यबहादुर खड्का, सुमन्त कोइराला, यज्ञप्रसाद खतिवडा, सञ्जयकुमार गुप्ता, शम्भु ठाकुर, होमकुमार शर्मा आचार्य, पञ्चराम तामाङ (पद्म), उत्तम भट्ट, खिमप्रकाश मल्ल, बालाजु श्रेष्ठ, मेघजङ्ग शाह, चन्द्रप्रकाश थकाली, सुरतजङ्ग मल्ल, वीरबहादुर साउद, हरिप्रसाद भट्ट, रामजी पन्त, शिवहरि घिमिरे, उज्वल गौतम, इञ्जिनीयर विकास मल्ल निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित हुनुभएका महिला सदस्यमा मोहनकुमारी कालीकोटे, मनिकला रानामगर, बबिता कटुवाल र ताराकुमारी शाह हुनुहुन्छ । तराई क्षेत्रबाट सन्तोष साह, जनजातिबाट दावा पेम्बा तामाङ, पिछडिएको क्षेत्रबाट मङ्गलबहादुर शाही र वस्तुगत सङ्घबाट तेजबहादुर राई निर्वाचित भएको छ। निर्वाचित पदाधिकारी एवं सदस्यलाई आइतबार बेलुकी नै शपथ ग्रहण गराइएको छ। रासस
भिमसेन थापाको धरहरा केपी ओलीले शिलान्यास गर्ने
काठमाडौं । तत्कालिन प्रधानमन्त्री भिमसेन थापाले वि.सं. १८८२ सालमा धरहरा निर्माण गराएका थिए । २०७२ सालको भूकम्पले पूर्णरुपमा भत्किएको धरहराको शिलान्यास भने प्रधानमन्त्री केपी ओलीले गर्दैछन् । प्रधानमन्त्री केपी ओली अमेरिकाबाट फर्किए लगत्तै धरहराको शिलान्यास गराउने तयारीमा राष्ट्रिय पुननिर्माण प्राधिकरण जुटेको हो । ‘अर्काे हप्ता प्रधानमन्त्री केपी ओलीज्यूबाट धरहरा पुनर्मिाणको शिलान्यास गराउँदैछौं’, प्राधिकरणको सम्पदा संरक्षण महाशाखाका प्रमुख राजुमान मानन्धरले भने । भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणको ठेक्का जिआइइटिसी–रमन जेभीले पाईसकेको छ । रमन जेभीले ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माणको ठेक्का पाएको हो । कम्पनीले ठेक्का सम्झौता लागेको २ बर्षभित्रै धरहराको निर्माण सम्पन्न गर्नेछ । ठेक्का सम्झौता अघि कम्पनीले ३२ करोड रुपैंयाँ बैंक ग्यारेण्टी बुझाउनुपर्नेछ । यस्तो छ धरहराको कथा ? तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप निर्माण गर्न लगाएका थिए । त्यस समयमा यसको उचाई ११ तल्ला थियो । ९० सालको भूकम्पले धरहरा पनि भत्किएको थियो । दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर जंगबहादुर राणाले साबिक बमोजिम ९ तल्ला नै कायम गरी पुनः निर्माण गरेका थिए । पुनः विसं २०७२ को महाभूकम्पले यो पूर्ण नष्ट भयो । हाल रहेको धरहराको सातौं तल्लामा बार्दली थियो । धरहराको उचाइ ६१.८८ मिटर (२०३ फिट) थियो । धरहरा भित्र २१३ सिँढी र बाहिर २५ सिँढी थिए । धरहराको १८८ सिँढी उक्लिएपछि बार्दली आउँथ्यो बार्दलीबाट काठमाडौं उपत्यकाको अधिकांश भाग सजिलैसँग देखिन्थ्यो । धरहराको निर्माण मुगलशैलीमा गरिएको थियो भने वरिपरिको पर्खाल पनि सोहि शैलीमा निर्माण गरिएको छ । धरहराको निर्माण ईटा र बज्र (सुर्की, चून, मास र चाकुको मिश्रण) बाट भएको थियो । आधुनिक धरहरा नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिनेछ । अब बन्ने धरहरामा लिफ्ट र भ¥याङसमेत राखिनेछ । धरहरा गुम्बज र गजुरसहित ७२ मिटर अग्लो बन्नेछ । भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ । टेलिकमले आफैं नबनाए पनि १ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत ‘मेरो धरहरा मै बनाउँछु’ कार्यक्रमको धरहरा पुनःनिर्माण कोषमा २४ करोड रुपैयाँ जम्मा भइसकेको छ । बाँकी स्रोत सरकारले नै व्यहोर्ने भएको छ । धरहराले गोश्वारा हुलाक कार्यालय रहेको जग्गासमेत उपयोग गर्नेछ । कूल ३९ रोपनी क्षेत्रफलमा धरहरा, पार्किङ र बगैँचासमेत बनाइनेछ । हाल हुलाक रहेको स्थानमा बगैँचा र पार्किङ निर्माण गरिनेछ ।
सिक्टा सिँचाइ आयोजनामा बदमासी गर्नेलाई कारवाहीको दायरामा ल्याइने
काठमाडौं। सरकारले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बदमासी गर्ने जो कोहीलाई पनि कानूनी कारवाहीको दायरामा ल्याउने भएको छ । आयोजनाको नहर परीक्षणको क्रममा नै भत्किएपछि सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा दोषी देखिएका जो कोहीलाई पनि कारवाही गर्ने तयारी गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो छानबिन समितिले स्थलगत अध्ययन गरी आयोजनामा भएको बदमासी तथा खराबीको बारेमा अध्ययन गरेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनामा देखिएको समस्याको बारेमा छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा दोषी देखिए निर्माण व्यवसायी, परामर्शदाता तथा आयोजना प्रमुखलाई समेत कारवाहीको दायरामा ल्याइने जानकारी दिए। बाँकेको ४२ हजार हेक्टर कृषियोग्य जमीनमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सरकारले सो आयोजना निर्माण गरिरहेको छ। निर्माणको क्रममा रहेको सो आयोजनाको पश्चिम मूल नहरको अधिकांश काम सम्पन्न भएपछि निर्माण व्यवसायीले नहर परीक्षण गर्दा भत्कन पुगेको थियो । हाल सो आयोजनाको भौतिक निर्माण कार्य ५५ प्रतिशत सम्पन्न भएको छ । शाखा नहरको निर्माणको क्रममा सिक्टा शाखा नहरको निर्माण सम्पन्न हुने क्रममा रहेको र डुडुवा शाखा नहरको निर्माण तथा पुनः स्थापनाको साथै पूर्वी मूल नहर निर्माण भइरहेको छ । अन्य शाखा नहरको कामसमेत जारी छ । राप्ती नदीमा बाँध निर्माण कार्य सम्पन्न भए पछि मूल नहरको ३५ किलोमिटर खण्डमा परीक्षणको क्रममा पानी सञ्चालन गर्दा नहरको केही स्थानमा क्षति पुगेको छ । आयोजनाको निर्माण कम्पनी कालिका समूह रहेको छ । मन्त्री पुनले निर्माणको क्रममा डिजाइन वा प्राविधिकरुपमा कुनै कमजोरी रहेको भए पनि त्यसको उपयुक्त छानबिन गरिने जानकारी दिए। मन्त्रालयले गत साउन १८ गते नै आयोजना हस्तान्तरण नभइसकेको अवस्थामा देखापरेका समस्या समाधानका लागि ठेक्का सम्झौताअनुसार निर्माण व्यवसायीकै दायित्वमा पर्ने स्पष्ट गरिसकेको छ । समस्याग्रस्त एवं संवेदनशील स्थानको सुक्ष्म प्राविधिक अध्ययनपछि मात्रै आवश्यक सुधारका कार्य गर्न गराउनसमेत सिँचाइ विभाग तथा आयोजनालाई मन्त्रालयले निर्देशन दिएको थियो । सरकारले गठन गरेको छानबिन समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका दुई वरिष्ठ प्राविधिक कर्मचारी र सिँचाइ विभागका दुई अधिकारी रहेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवको आयोजनामा देखिएको समस्या समाधानका लागि मन्त्रालयले पहल गरेको र दोषीमाथि कारवाही हुने बताए। आयोजनाको परीक्षण गर्दा गत साउन ७ गते नहर भत्किएको थियो । नहरको पूरा भएको खण्डमा परीक्षण गर्न पानी छोड्दा नहर भत्किएको थियो । यसअघि पनि २०७३ असार १४ गते परीक्षणका क्रममा सोही खण्ड भत्केको थियो । पटकपटक नहरमा आउने समस्या र यसको समाधान गर्ने उद्देश्यले गठित समितिले दिएको प्रतिवेदनका आधारमा आवश्यक प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ । आयोजनाको नहर भत्केको खण्ड वास्तविकभन्दा फरक वा माटो बढी भरेको ठाउँ परेकाले बढी समस्या देखिएको बताइन्छ । त्यहाँ प्राविधिकभन्दा कमजोर माटोका कारण बढी समस्या उत्पन्न भएको बताइन्छ । माटो भरिएको ठाउँमा समस्या आउँछ भन्ने विषयमा प्राविधिकले अनुमान नगरेको पाइएको छ । ती विषयमा डिजाइन गर्दा नै समस्या थियो वा समस्याका बारेमा प्राविधिकले किन जानकारी दिएनन् भन्ने प्रश्न उठाइएको छ । राप्ती नदीमा बाँध निर्माण गरी बाँकेमा ४२ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले सिक्टा सिँचाइ आयोजना निर्माण भइरहेको छ । अहिलेसम्म मुख्य नहरको ३५ किलोमिटर काम सम्पन्न भएको छ । आयोजनाको कूल लागत रु २५ अर्ब रहेको छ । आयोजना आर्थिक वर्ष २०७७÷७८ मा सम्पन्न गर्ने लक्ष्य छ । निर्माण व्यवसायीको काम गर्ने शैलीका कारण तोकिएको अवधिमा निर्माण सम्पन्न हुन गाह्रो पर्नसक्ने आयोजना सम्बद्ध अधिकारीको भनाइ छ । यस्तै आयोजनामा देखिएको समस्याको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । आयोगले गरेको छानबिनबाट पनि सत्यतथ्य पत्ता लाग्ने भएकाले कारवाहीका लागिसमेत थप सजिलो बनाइदिएको भन्दै मन्त्री पुनले बदमासी गर्ने जो कोही भए पनि कारवाहीको दायरामा आउने बताउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेशकुमार घिमिरेले पनि अध्ययन समितिको प्रतिवेदन तथा आयोगको छानबिनका आधारमा आयोजनामा देखिएको समस्या समाधान हुन बल पुग्ने बताए। रासस