भिमसेन थापाको धरहरा केपी ओलीले शिलान्यास गर्ने

<p>काठमाडौं । तत्कालिन प्रधानमन्त्री भिमसेन थापाले वि.सं. १८८२ सालमा धरहरा निर्माण गराएका थिए । २०७२ सालको भूकम्पले पूर्णरुपमा भत्किएको धरहराको शिलान्यास भने प्रधानमन्त्री केपी ओलीले गर्दैछन् । प्रधानमन्त्री केपी ओली अमेरिकाबाट फर्किए लगत्तै धरहराको शिलान्यास गराउने तयारीमा राष्ट्रिय पुननिर्माण प्राधिकरण जुटेको हो । ‘अर्काे हप्ता प्रधानमन्त्री केपी ओलीज्यूबाट धरहरा पुनर्मिाणको शिलान्यास गराउँदैछौं’, प्राधिकरणको सम्पदा संरक्षण [&hellip;]</p>

काठमाडौं । तत्कालिन प्रधानमन्त्री भिमसेन थापाले वि.सं. १८८२ सालमा धरहरा निर्माण गराएका थिए । २०७२ सालको भूकम्पले पूर्णरुपमा भत्किएको धरहराको शिलान्यास भने प्रधानमन्त्री केपी ओलीले गर्दैछन् । प्रधानमन्त्री केपी ओली अमेरिकाबाट फर्किए लगत्तै धरहराको शिलान्यास गराउने तयारीमा राष्ट्रिय पुननिर्माण प्राधिकरण जुटेको हो ।

‘अर्काे हप्ता प्रधानमन्त्री केपी ओलीज्यूबाट धरहरा पुनर्मिाणको शिलान्यास गराउँदैछौं’, प्राधिकरणको सम्पदा संरक्षण महाशाखाका प्रमुख राजुमान मानन्धरले भने । भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणको ठेक्का जिआइइटिसी–रमन जेभीले पाईसकेको छ । रमन जेभीले ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माणको ठेक्का पाएको हो ।

कम्पनीले ठेक्का सम्झौता लागेको २ बर्षभित्रै धरहराको निर्माण सम्पन्न गर्नेछ । ठेक्का सम्झौता अघि कम्पनीले ३२ करोड रुपैंयाँ बैंक ग्यारेण्टी बुझाउनुपर्नेछ ।

यस्तो छ धरहराको कथा ?
तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप निर्माण गर्न लगाएका थिए । त्यस समयमा यसको उचाई ११ तल्ला थियो । ९० सालको भूकम्पले धरहरा पनि भत्किएको थियो । दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर जंगबहादुर राणाले साबिक बमोजिम ९ तल्ला नै कायम गरी पुनः निर्माण गरेका थिए । पुनः विसं २०७२ को महाभूकम्पले यो पूर्ण नष्ट भयो ।

हाल रहेको धरहराको सातौं तल्लामा बार्दली थियो । धरहराको उचाइ ६१.८८ मिटर (२०३ फिट) थियो । धरहरा भित्र २१३ सिँढी र बाहिर २५ सिँढी थिए । धरहराको १८८ सिँढी उक्लिएपछि बार्दली आउँथ्यो बार्दलीबाट काठमाडौं उपत्यकाको अधिकांश भाग सजिलैसँग देखिन्थ्यो ।
धरहराको निर्माण मुगलशैलीमा गरिएको थियो भने वरिपरिको पर्खाल पनि सोहि शैलीमा निर्माण गरिएको छ । धरहराको निर्माण ईटा र बज्र (सुर्की, चून, मास र चाकुको मिश्रण) बाट भएको थियो ।

आधुनिक धरहरा
नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिनेछ । अब बन्ने धरहरामा लिफ्ट र भ¥याङसमेत राखिनेछ । धरहरा गुम्बज र गजुरसहित ७२ मिटर अग्लो बन्नेछ । भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ । टेलिकमले आफैं नबनाए पनि १ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत ‘मेरो धरहरा मै बनाउँछु’ कार्यक्रमको धरहरा पुनःनिर्माण कोषमा २४ करोड रुपैयाँ जम्मा भइसकेको छ । बाँकी स्रोत सरकारले नै व्यहोर्ने भएको छ । धरहराले गोश्वारा हुलाक कार्यालय रहेको जग्गासमेत उपयोग गर्नेछ । कूल ३९ रोपनी क्षेत्रफलमा धरहरा, पार्किङ र बगैँचासमेत बनाइनेछ । हाल हुलाक रहेको स्थानमा बगैँचा र पार्किङ निर्माण गरिनेछ ।

Share News