बक्यौक्ता करमा काठमाडौं महानगरले दियो जरिवाना छुट, १० करोडसम्मको सम्पत्ति कर ९० हजार मात्रै
काठमाडौं । काठमाडौं महानगरपालिकाले म्याद नाघिसकेको बक्यौता घरबहाल करमा जरिवाना छुटको व्यवस्था गरेको छ । महानगरले नयाँ प्रणालीमा सम्पती कर असुली गर्न थालेपछि पुरानो बक्यौता करमा जरिवाना छुट गरेको हो । महानगरले आर्थिक ऐन २०७५ मा सम्पत्ति कर घर र बहाल कर अब प्रति वर्गमिटर अनुसार तिर्नुपर्ने व्यवस्था गरेको छ । महानगरले पहिलो पटक कर निर्धारण गर्ने नयाँ मापदण्ड तयार गरेको हो । महानगर राजस्व विभागका निर्देशक राज्यप्रकाश प्रधानाङगाका अनुसार चालू आर्थिक वर्षको सम्पत्ति कर असोज मसान्तभित्र बुझाए १० प्रतिशत छुट हुनेछ । साथै सम्पत्ति करमा समावेस भएको जग्गामा भूमिकर लाग्ने छैन । नयाँ प्रणालीको कर असुलीमा ठाउँ अनुसारको जग्गा हेरी प्रति आना जग्गाको मूल्य तोकिएको छ । प्रतिआना जग्गाको रकमलाई १०० ले भाग गरी आउने रकमलाई स्थान अनुसार फरक-फरक अंकले गुणन गरिनेछ । यसपछि घरको बनावट अनुसार प्रतिवर्गमिटर गुणन गरी आउने रकम र घरको मूल्यलाई ०.२० ले गुणन गरी आउने योगफललाई पहिलेको जग्गाको मूल्यमा जोडेर प्रतिवर्गमिटर क्षेत्रफलसँग गुणन गरी निकालिने योगको १० प्रतिशत कर तिर्नु पर्नेछ । यस हिसाबले रत्नपार्क, खिचापोखरी, न्युरोड, असन, त्रिपुरेश्वर लगयतको क्षेत्रमा आनाको ५० लाख रुपैयाँ तोकिएको छ । यस्तै दरबारमार्ग, पुतली सडक लगायतको क्षेत्रमा ४० लाख प्रतिआना तोकिएको छ । महानगरले तोकेको कर अनुसार सुरुको १ करोडसम्मको कर १ हजार रूपैयाँ तिर्नु पर्नेछ । त्यसपछिको २ करोडमा १ हजार ५००, ३ करोडमा २ हजार, ४ करोडमा ४ हजार, ५ करोडमा ६ हजार, ६ करोडमा १० हजार, ८ करोडमा ६० हजार र १० करोडसम्मको सम्पतीमा ९० हजार रूपैयाँ कर तिर्नु पर्नेछ । अब महानगरभित्र आठ तलासम्मको घर निर्माण गर्न पाउने ऐनमा व्यवस्था गरिएको निर्देशक प्रधानाङगाले बताए । ‘महानगरभित्र अब हाइराइज बिल्डिङलाई पनि स्वीकृति दिइएको छ । यसको उदेश्य अग्ला बिल्डिङ बनाउने र खाली स्थानको बृद्धि गर्ने रहेको छ, प्रधानाङगाले विकासन्युजसँग भने यो वर्ष गत आर्थिक वर्ष भन्दा बढी कर असुल गर्ने उदेश्य राखेका छौं ।’ यसअघि सरकारले भूकम्पछि २ तला भन्दा माथिका घर बनाउन रोक लगाएको थियो । यसअघि महानगरले बहालकर अन्दाजी मूल्यको १२ प्रतिशत उठाउँदै आएको थियो ।
कस्ता छन् तपाईंको हाकिम ?
काठमाडौं। यदि तपाई कुनै नोकरीमा आवद्ध हुनुहुन्छ भने तपाईको काम गर्ने क्षमता दुई गुणाले वृद्धि भएर जान्छ जब तपाईको कार्यालय प्रमुखले तपाईसँग राम्रो व्यवहार गर्छ। क्वार्टर म्यागेजिनमा प्रकाशित एक अनुसन्धानले अमेरिकाका करिव ७५ प्रतिशत कामदारहरुको डिप्रेसनको मुख्य कारण उनीहरुको हाकिम भएको खुलासा भएको छ। हावर्ड विजनेश स्कुल र स्ट्यानफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको २ सय भन्दा बढी अध्ययनले कामका क्रममा लिइने तनावले स्वास्थ्यलाई नकारात्मक असर पुर्याउने र यो चुरोट भन्दा बढी हानिकारक हुने देखाएको हो। तनावको मुख्य कारण भने खराब प्रवृत्तिको हाकिम रहेको छ। अनुसन्धानमा भनिएको छ की ‘खराब प्रवृत्तिको हाकिमले चुरोट भन्दा बढी हानी गर्छ, तपाई जती दवाव दिइराख्ने हाकिमसँग बसेर काम गर्नुहुन्छ त्यती तपाईको शारिरिक तथा मानसिक स्वास्थ्यमा नकरात्मक असर पर्छ।’ यस्तै केहि कर्मचारिहरु आफुले गर्दै आएको नोकरी जान्छ की भन्ने पिरले समेत तनावमा रहने गरेका अध्ययनले सार्वजनिक गरेको छ। अध्ययनले भनेको छ ‘तपाईको हाकिम राम्रो छ हरेक कुरामा सघाउँछ तपाईसँग सकारात्मक व्यवहार प्रदर्शन गर्छ भने तपाई हरेक काममा सफल बन्न सक्नुहुन्छ तर खराब छ भने तपाईको भविष्यनै खतरामा पर्न सक्छ।’ नराम्राे प्रवृत्तिको हाकिम सधै रिसालु र हिंस्रक हुने जसले सधै ‘मैले यस्तो गरेको त्यस्तो गरेको तिमीहरु यत्ति काम पनि गर्न नसक्ने’ भन्दै झर्कने ‘तिमीहरुसँग अहिले सम्म नोकरी छ आफुलाई भाग्यमानी ठान’ भन्ने तथा ‘एकछिन समेत म यहाँ भएन भने तिमीहरुले सम्पुर्ण कुरा विगार्छौ’ भन्दै कर्मचारीसँग झर्कने गरेका अनुसन्धानमा उल्लेख छ।
एनआईसी एशिया बैंकका लगानीकर्ताले कमाए १३६ रुपैयाँ, किन बढ्दै छ सेयर मूल्य ?
काठमाडौं । एक महिनायता एनआईसी एशिया बैंकको सेयर मूल्य निरन्तर बढ्दै गएको छ । सेयर मूल्य बढेसंगै कारोबार रकममा पनि वृद्धि भएको छ । गत साउन २७ गते प्रतिकित्ता ३०४ रुपैयाँमा सेयर कारोबार भएकोमा असोज ७ सम्म आइपुग्दा बढेर ४४० रुपैयाँ पुगेको छ । एक महिनाको अवधिमा एनआईसी एसियाका लगानीकर्ताले १३६ रुपैयाँ कमाएका छन् । आइतबार मात्रै एनआईसी एसियालेको ७ करोड ४ लाख ६२ हजार रुपैयाँमा १ लाख ६१ हजार ६९३ कित्ता सेयर किनबेच भएको छ । एनआईसी एशियाको व्यवसाय वृद्धिले लगानीकर्ताको विश्वास बढाएको बैंकका सञ्चार अधिकृत सुधीर पाण्डे बताउँछन् । निक्षेप, कर्जा लगानी र वासलातको आकारका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक एनआईसी एसिया भएको उनको दाबी छ । निक्षेप र लगानीको आकारमा भएको वृद्धिले आगामी दिनमा राम्रो प्रतिफल दिने आधार तयार पारेकाले लगानीकर्ता लोभिएको तर्क पाण्डेको छ । उनका अनुसार बैंकले हालसम्म १ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ३४ अर्ब रुपैया कर्जा लगानी गरेको छ । एनआईसी एशियाले आगामी तीन आर्थिक वर्ष अवधिमा १५ अर्ब रुपैयाँ खुद नाफा गर्ने योजना सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब १९ करोड रुपैयाँ मात्र खुद नाफा गरेको थियाे । बैंकले गत वर्ष, चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दुबै दिने जानकारी दिएको छ । तीन वर्षको अवधिमा निक्षेप ३ खर्ब ५० अर्ब, कर्जा लगानी २ खर्ब ५८ अर्ब, पुँजी बजारमा लगानी ४६ अर्ब पुर्याउने जनाएको छ । आइतबार सेयर बजार २.६ अंकले बढ्याे सेयर बजार सामान्य बढे पनि ६९ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकिङ, जलविद्युत, व्यापार र होटल समूहको सेयर मूल्य बढेको छ भने बीमा, लघुवित्त र उत्पादनको घटेको छ । आइतबार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र प्रभु बैंकका लगानीकर्ताले पनि कमाएका छन् ।
एमबीबीएस र बीडीएसको सिट सङ्ख्या तोकियो
काठमाडौं। नेपाल मेडिकल काउन्सिलले विभिन्न मेडिकल कलेजका लागि एमबीबीएस र बीडीएस तर्फको सिट संख्या निर्धारण गरेको छ । काउन्सिलले काठमाडौंँ विश्वविद्यालय अन्तर्गत १० मेडिकल कलेजका लागि ८९० सिट संख्या निर्धारण गरेको छ भने त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सात वटा मेडिकल कलेजका लागि ७६१ सिट तोकेको छ । नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले दिएको जानकारी अनुसार विराट मेडिकल कलेजले एमबीबीएस तर्फ ७५ सिट पाएको छ । गतवर्ष पनि विराटले ७५ संख्या पाएको थियो । यस्तै कलेज अफ मेडिकल साइन्सेज भरतपुरले यसवर्ष एमबीबीएस तर्फ एकसय सिट पाएको छ । गत वर्ष पनि उक्त मेडिकल कलेजले एकसय सिट नै पाएको थियो । बीडीएसतर्फ यो वर्ष ३५ सिट मात्र पाएको छ । गत वर्ष बीडीएसतर्फ ४० सिट पाएको थियो । काउन्सिलका अनुसार देवदह मेडिकल कलेज रुपन्देहीले एमबीबीएसमा ४० सिट प्राप्त गरेको छ । कान्तिपुर डेन्टल कलेज काठमाडौले बीडीएसतर्फ ५० सिट पाएको छ । यो कलेजले गतवर्ष पनि ५० सिट पाएको थियो । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एकसय सिट पाएको छ । बीडीएसमा केएमसीले ५० सिट प्राप्त गरेको छ । काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेज धुलिखेलले यो वर्ष एमबीबीएसका लागि ७५ सिट पाएको छ । बीडीएसतर्फ भने ५० सिट मात्र पाएको छ । त्यसैगरी, लुम्बिनी मेडिकल कलेजले पाल्पाले एकसय सिट पाएको छ भने मणिपाल मेडिकल कलेज पोखराले पनि ७५ सिट पाएको छ । जोरपाटीस्थिति नेपाल मेडिकल कलेजले एकसय सिट पाएको छ । बीडीएसतर्फ एनएमसीले ५० सिट पाएको छ । नेपालगञ्ज मेडिकल कलेजले एकसय सिट एमबीबीएसतर्फ पाएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजले ९० सिट पाएको छ । गतवर्ष भन्दा यो वर्ष नोबेलको १० सिट कम भएको छ । बीडीएसतर्फ नोबेलले ३० सिट पाएको छ । गत वर्ष बीडीएसमा ३५ सिट पाएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले ७५, नेसनल मेडिकल कलेज वीरगन्ज, युनिभर्सल मेडिकल कलेज भैरहवा, नेपाली सेना मेडिकल कलेज र चितवन मेडिकल कलेज प्रत्येकले एक÷एकसय सिट पाएका छन् । यस्तै, किस्ट मेडिकल कलेजले ९०, गण्डकी मेडिकल कलेजले ९५ सिट पाएका छन् । यो वर्ष पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ६५ सिट पाएको छ भने धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एकसय सिट पाएको छ । काउन्सिलका प्रवक्ता डा. अधिकारीले काउन्सिल तथा विश्वविद्यालयले गरेको अनुगमनबाट सिट संख्या निर्धारण गरिएको जानकारी दिए। श्रोत- मेरो स्टडी
नेपाल–भारत जोड्ने पुल निर्माण तीन महिनादेखि अलपत्र
काठमाडौं। लेकम गाउँपालिका–३ लालीमा निर्माणाधीन नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य विगत तीन महिनादेखि रोकिएको छ। पुल निर्माण असार महिनादेखि शुरु हुनसकेको छैन । बर्खाको समयमा पानीको सतह बढेको भन्दै रोकिएको निर्माण अझै शुरु भएको छैन। ०७३ असोज ४ गते पुल निर्माणका लागि मनोमालिका कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । कूल रु एक करोड ३२ लाख लागतमा ठेक्का सम्झौता भएको दुई वर्ष पूरा हुँदा पनि निर्माणको काम जस्ताको त्यस्तै छ । पुलको दुई पटक म्याद थप गरिएको छ । पछिल्लो समय आगामी मङ्सिर महिनासम्मको लागि म्याद थप गरिएको भए पनि काम भने सञ्चालन भएको छैन । पहिलो पटक केपी शर्मा ओलीले प्रधानमन्त्रीको बागडोर सम्हाल्दा तुइन विस्थापन गर्ने निर्णय गर्नु भएपछि पुल निर्माणको लागि टेण्डर भएको थियो । तर दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि पुल निर्माणकार्यले गति लिएको छैन । सो क्षेत्रका नागरिक अहिले पनि ट्युवको सहारामा नदी वारपार गर्ने गर्छन् । पुलको एकापट्टी मात्रै पिलर गाड्ने काम भएको छ । पहिलो वर्ष भारत सरकारको स्थानीय प्रशासनले समयमै अनुमति दिन नसक्दा काम भएन, निर्माण व्यवसायी दीपक साउदले भन्नुभयो, गत वर्ष भारतबाट पुल निर्माणका लागि निर्माण सामाग्री ल्याउन सकिएन । अहिले निर्माणस्थलमा सामग्री ढुवानी गरिएको भए पनि नदीमा पानीको सतह नघटेका कारण काम गर्न सकिएको छैन । चाडपर्व नजिकिएसँगै स्थानीयवासीलाई सामान ओसारपसार गर्ने चटारो चलेको छ, लेकम गाउँपालिका–३ का तारा भण्डारीले भन्नुभयो । उस्तै पनि वारीपारी (नेपाल–भारत) रोटीबेटीको सम्बन्ध छ, वारिका चेली पारि अनि पारिका चेली वारि छन् । तिहारमा झनै माइत आवतजावत गर्नेदेखि लिएर चाडपर्वका सामग्री ल्याउन यही ट्युवको प्रयोग हुन्छ ।
मुलुकी संहितासम्बन्धी विधेयक राष्ट्रियसभामा पारित
काठमाडौं। राष्ट्रियसभाले “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५ लाई पारित गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पेश गरेका थिए। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्णायार्थ प्रस्तुत गर्नुभएको सो विधेयक सर्वसम्मतिले पारित भएको हो । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रामनारायण बिँडारी, जीतेन्द्रनारायण देव र विमला राईले समितिको प्रतिवेदन बैठकअघि नै सांसदलाई वितरण गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको “पारमाणविक विज्ञान तथा प्रविधिसम्बन्धी अनुसन्धान, विकास र तालीमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौतामाथि सामान्य छलफल गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत ग¥यो । सांसद ठगेन्द्रप्रकाश पुरी, नन्दा चपाईँँ, खेमराज नेपाली, रामप्रीत पासवानलगायतले स्रष्टाको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए। राष्ट्रियसभाको अर्को बैठक यही असोज ९ गते अपराह्न ३ बजे बस्नेछ। रासस
दिगम्बर झालाई काम गर्न बाटो खुल्यो, सरकारले लगाएको ४ प्रतिबन्ध फुकुवा
दिगम्बर झा-अध्यक्ष नेपाल दुरसञ्चार प्राधिकरण काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई काम गर्ने बाटो खुल्ला भएको छ । मन्त्रिपरिषदको बैठकले प्राधिकरणमा लागाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । प्राधिकरणलाई फुकुवाको पत्राचार गर्ने तयारी भैरहेको मन्त्रालयका प्रवक्ता रामप्रसाद ढकालले बताए । यसअघि सरकारले प्राधिकरणलाई ४ प्रतिबन्ध लगाएको थियो । फुकुवापछि फ्रिकोइन्सी, इजाजत अनुमति, ग्रामिण दूरसञ्चार कोषको रकम सञ्चालन र दुरगामी महत्वको निर्णय गन झालाई बाटो खुलेकाे छ । यसअघि सरकारले प्राधिकरणलाई दुरगामी प्रभाव पार्ने निर्णय नगर्न पत्राचार गरेको थियो । प्राधिकरणलाई सल्लाह सुझाव दिन सरकारले गत असारमा ३ सदस्यीय सुझाव समिती समेत गठन गरेको थियो । समितिले सुझाव समेत दिइकेको प्राधिकरणले जनाएको छ ।
बर्दियाबाट फुस्किएका बामदेव बाँके ३ मा चुनाव लड्दै, के गर्छन रोकाय ?
काठमाडौं । नेकपाका प्रभावशाली नेता बामदेव गौतम बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने भएका छन् । नेकपाले सो क्षेत्रका प्रतिनिधी सभा सदस्य नन्दलाल रोकायलाई राजीनामा गराएर गौतमलाई चुनाव लडाउन लागेको हो । नेकपाका महासचिव बिष्णु पौडेलले रोकायलाई भेटेर राजीनामा गरेर सहयोग गर्न आग्रह गरिसकेको श्रोतले बतायो । ‘महासचिवले रोकायलाई राजीनामा गरेर सहयोग गर्न आग्रह गर्नु भएको छ, तर रोकायले मान्नु भएको छैन्’, नेकपा उच्च श्रोतले भन्यो । बर्दियामा काँग्रेसका सञ्जय गौतमसँग पराजित भएका गौतम सोही क्षेत्रको सिमामा पर्ने बाँकेको क्षेत्र नम्बर ३ मा निर्वाचन लड्ने तयारीमा जुटेका हुन् । गौतमले सो क्षेत्रको जनआधार बुझ्नका लागि सुत्रहरु परिचालन समेत गरिसकेको बताइएको छ । प्रतिनिधी सभा निर्वाचनमा तत्कालिन एमालेका उम्मेदवार रोकायले काँग्रेसका बादशाह कुर्मीलार्ई ५३ सय मत अन्तरले पराजित गरेका थिए । नेपालगञ्ज उप महानगरपालिकाको २ वटा वडा, खजुरा, जानकी र बैजनाथ गाउँपालिका मिलेर क्षेत्र नम्बर ३ बनेको छ । यी तीन वटै स्थानीय तहमा तत्कालिन एमालेले जितेको छ । बर्दियामा बामदेव गौतमलाई निर्वाचन हराउन भूमिका खेलेको भनिएका सुर्खेतबाट झरेकाहरुको संख्या यहाँ पनि निर्णायक तहमा रहेको छ । हालका सांसद रोकाय पनि सुर्खेतबाटै झरेका हुन् । आधा दर्जन वडामा थारुहरुको बाहुल्यता छ भने केहि वडामा मुस्लिम समुदायको राम्रो पकड छ । निर्णायक मत भने सुर्खेतबाट झरेका पहाडियाहरुको रहेको बताइन्छ ।