काठमाडौं । नेकपाका प्रभावशाली नेता बामदेव गौतम बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने भएका छन् । नेकपाले सो क्षेत्रका प्रतिनिधी सभा सदस्य नन्दलाल रोकायलाई राजीनामा गराएर गौतमलाई चुनाव लडाउन लागेको हो । नेकपाका महासचिव बिष्णु पौडेलले रोकायलाई भेटेर राजीनामा गरेर सहयोग गर्न आग्रह गरिसकेको श्रोतले बतायो । ‘महासचिवले रोकायलाई राजीनामा गरेर सहयोग गर्न आग्रह गर्नु भएको छ, तर रोकायले मान्नु भएको छैन्’, नेकपा उच्च श्रोतले भन्यो ।
बर्दियामा काँग्रेसका सञ्जय गौतमसँग पराजित भएका गौतम सोही क्षेत्रको सिमामा पर्ने बाँकेको क्षेत्र नम्बर ३ मा निर्वाचन लड्ने तयारीमा जुटेका हुन् । गौतमले सो क्षेत्रको जनआधार बुझ्नका लागि सुत्रहरु परिचालन समेत गरिसकेको बताइएको छ । प्रतिनिधी सभा निर्वाचनमा तत्कालिन एमालेका उम्मेदवार रोकायले काँग्रेसका बादशाह कुर्मीलार्ई ५३ सय मत अन्तरले पराजित गरेका थिए ।
नेपालगञ्ज उप महानगरपालिकाको २ वटा वडा, खजुरा, जानकी र बैजनाथ गाउँपालिका मिलेर क्षेत्र नम्बर ३ बनेको छ । यी तीन वटै स्थानीय तहमा तत्कालिन एमालेले जितेको छ । बर्दियामा बामदेव गौतमलाई निर्वाचन हराउन भूमिका खेलेको भनिएका सुर्खेतबाट झरेकाहरुको संख्या यहाँ पनि निर्णायक तहमा रहेको छ । हालका सांसद रोकाय पनि सुर्खेतबाटै झरेका हुन् ।
आधा दर्जन वडामा थारुहरुको बाहुल्यता छ भने केहि वडामा मुस्लिम समुदायको राम्रो पकड छ । निर्णायक मत भने सुर्खेतबाट झरेका पहाडियाहरुको रहेको बताइन्छ ।