कामपाको कार्यालय विभिन्न स्थानमा छरिएर रहँदा सेवाग्राहीलाई सास्ती
काठमाडौं। कलङ्कीबाट घर निर्माण सम्पन्न प्रमाणपत्र लिन आएका हरि उप्रेती भूकम्पअघि काठमाडौं महानगरपालिकाको काम हुने स्थान राष्ट्रिय सभागृहमा गए। त्यहाँ उनलाई ‘सुनधाराको हरिभवनमा जानु’ भनियो । उनी हरिभवन जाँदा पनि उनको काम हुने सुरसार नभएपछि उनले ‘नक्शाको काम कहाँ हुन्छ’ भनी सोद्धा बबरमहल भनियो । उप्रेती त्यसतर्फ त्यता लागे । त्यस्तै अर्का नगरवासी कुमार कार्की बालाजुबाट नक्शा पास गर्नका लागि आए तर उनलाई पनि महानगरको सो विभाग अन्त सरेको विषयमा जानकारी थिएन । कार्कीले भने, “स्थानको अभाव भएपछि अन्यत्र सरे पनि कुनै सूचनामार्फत नागरिकलाई जानकारी दिनुपर्छ, अन्यथा नागरिले दुःख पाउनेछन् ।” कार्की र उप्रेती त प्रतिनिधि पात्र मात्रै हुन् । हरेक दिन कामपामा फरक फरक सेवा लिनका लागि सयौँको सङ्ख्यामा नागरिक आउँछन् । पहिले सेवा लिँँदै आएको स्थान अन्यत्र सरेका विषयमा जानकारी नहुँदा नागरिकहरु समस्या भोग्न बाध्य भएका छन् । कामपामा अहिले १३ विभाग छन् । तिनका सेवा कार्यालय भने पाँच स्थानमा छन् । भूकम्पअघि हरिभवनबाट आफ्नो सबै सेवा प्रदान गर्दै आएको कामपाले भूकम्पका कारण विभिन्न स्थानमा छरिएर सेवा दिँदै आएको छ । कामपाको कार्यालय विभिन्न स्थानमा छरिएर रहँदा सेवाग्राहीलाई सास्ती भएको छ । भूकम्प गएलगत्तै राष्ट्रिय सभागृहबाट सेवा दिँदै आएको कामपाका केही विभाग सुनधारामा नै रहेको जेडिए कम्प्लेक्समा छन् । त्यस्तै वातावरण विभाग टेकुमा, सार्वजनिक निजी साझेदारी र सूचना प्रविधि महाशाखा जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा सरेका छन् । त्यस्तै नक्शा र भौतिक पूर्वाधार महाशाखाले तत्कालीन कर कार्यालय रहेको भवन बबरमहलबाट नै सेवा दिँदै आएका छन् । त्यस्तै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सुनधारामा रहेको जेडिए कम्प्लेक्सबाट नै आफ्नो काम गरिरहनु भएको छ । ती विभाग सरेको बारे नागरिकलाई जानकारी नहुँदा नागरिकले समस्या भोग्नाका साथै तिनको समयको बर्बादी भइरहेको छ । महानगरका उपप्रमुख खड्गीका अनुसार यी सबै समस्या भूकम्पको कारण भएको हो । त्यसअघि सबै सेवा एकै स्थानबाट दिई नै आए पनि नागरिकलाई परेको समस्याको समाधान खोज्न महानगर लागिरहेको बताउँछन्। भूकम्पअघि सेवा दिँदै आएको हरिभवनमा पनि भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको छ । त्यसलाई भत्काएर पुनःनिर्माण गरी सोही स्थानबाट नै नागरिकलाई सेवा दिने तयारी कामपाको रहेको र भत्काउनका लागि बोलपत्र आह्वान समेत गरिसक्दा सर्वोच्च अदालतले गत बुधबार अन्तरिम आदेश जारी गरी तत्कालका लागि भत्काउने प्रक्रिया अघि नबढाउन र अहिलेकै अवस्थामा संरक्षण गर्न आदेश दिएको छ । कामपाका सूचना अधिकारी वसन्त आचार्यका अनुसार नागरिकलाई सास्ती दिने कामपाको उद्देश्य नभई कार्यालयका लागि भाडाको भवन खोज्ने क्रममा जहाँ जहाँ प्राप्त हुन्छ त्यहीँ लिइएको बताउँछन्। “महानगरमा धेरै विभाग छन्, त्यसमा प्रमुख र उपप्रमुखको लागि पनि त छुट्टै स्थान चाहियो, विकल्प नभएर नै नागरिकले समस्या भोग्नुपरेको हो”, आचार्यले भने। टेकुमा रहेको वातावरण विभागले भूकम्पअघिदेखि नै नागरिकलाई उक्त स्थानबाट सेवा दिँदै आएको भए पनि अन्य विभाग भने भूकम्पपछि र केही त एक महीनाअघि मात्र सुनधाराबाट अन्यत्र सरेका हुन् । रासस
बागलुङमा ‘एक घर एक धारा’ जडान
काठमाडौं। बागलुङ नगरपालिकाले खानेपानीको सहज आपूर्तिका लागि ‘एक घर एक धारा’ अभियानलाई तीव्रता दिएको छ । नगरले आगामी पाँच वर्षभित्र नगरका सबै घरमा धारा जोड्ने अभियानअन्तर्गत वडा नम्बर ८ सिगानका ४४ घरधुरीमा धारा जडान गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा सिगानाको लागि एक घर एक धारा अभियानलाई विनियोजित गरेको रु पाँच लाख बजेटमा धारा निर्माण सम्पन्न गरेको वडाध्यक्ष राजन जिसीले बताए । “पानीको सहज आपूर्तिका लागि तीन वर्षभित्र सिङ्गो वडालाई नै एक घर एक धारा पु¥याउने लक्ष्य लिएका छौँ” जिसीले भने ‘‘खानेपानीका लागि घण्टौँ हिँडेर आउजाउ गर्ने समय वचत भएको छ ।” सिगानाको छरछरे खानेपानी आयोजनामार्फत हवल्दार थर, थापाथर र नौमुरेका ४४ घरपरिवारलाई एक–एक धारा जडान गरिएको हो । घरमै पानीको धारा आउँदा स्थानीय पनि हर्षित भएका छन् । सामुदायिक धारा तथा कुवाको पानी लिन जाने स्थानीयलाई घरमै धारा जडानपछि समयको वचत भएकोे छरछरे खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष रेशम थापाले बताए। आयोजनामा १८ घनमिटरको एउटा ट्याङ्की निर्माण गरी तीनवटा टोललाई छुट्टाछुट्टै शाखामा विभाजन गरी ‘गे्रयाभिटज’ प्रविधिबाट ४४ वटा धारामा पानी वितरण गरिएको आयोजनाका इञ्जिनीयर गौरव शर्माले बताए। नगरले हालै बानपा–७ ढिकीचौरमा १६५ धारा, कुँडुलेमा ११९ धारा जडान गरी पानी वितरण भइरहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए। हाल बानपाभित्रका ५०० घरधुरीमा एक घर एक धारा आयोजना निर्माणाधीन अवस्थामा रहेको खानेपानी आयोजनाका इञ्जिनीयर गौरव शर्माले बताए। शर्माले पानीको स्रोत भएको ठाउँमा पनी खेर जाने र स्रोत नभएको ठाउँमा समस्या भएको भन्दै स्रोतलाई व्यवस्थित गरी प्रत्येक घरमा धारा वितरण गर्दा पानीको आपूर्ति सहज हुने बताउँछन्।
देउखुरी क्षेत्रमा एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती गरिने
काठमाडौं। जिल्लाको देउखुरी क्षेत्रमा एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती गरिने भएको छ । अहिले उक्त क्षेत्रमा करीब हजार हेक्टरमा मकै खेती शुरु भइसकेको छ भने बाँकी ३०० हेक्टरमा पनि छिट्टै नै हिउँदे मकै खेती हुने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाइ (मकै सुपरजोन) लमही दाङले जनाएको छ । कार्यालयका कृषि अधिकृत पीताम्बर बस्नेतका अनुसार अहिले लमही नगरपालिका र राप्ती गाउँपालिकामा हिउँदे मकै रोपी सकिएको छ । गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा हिउँदे मकै खेतीको तयारी थालिएको उनले बताए। परियोजनाले चालू आवदेखि गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा कार्यक्रम विस्तार गरेको हो । जिल्लामा मकै उत्पादन बढाएर आयातलाई रोक्ने लक्ष्यसाथ परियोजनाले काम गरी रहेको अधिकृत बस्नेतले बताए। वसन्त तथा हिउँदको समयमा मकैको उत्पादनमा समेत तीन गुणा बढ्ने उनको भनाइ थियो । उत्पादनमा वृद्धि हुने भएपछि यो खेतीमा कृषक आकर्षित भएका छन्। यो समयमा हरियो मकैसमेत सहजरुपमा बिक्री हुने गरेको छ जुन अन्य समयमा भन्दा महँगो पर्छ । एक कट्ठामा करीब दुई हजार २०० घोगा मकै हुने गरेको बस्नेतले बताए । जिल्लामा तीन बाली मकै खेती गरिने परियोजनाले जनाएको छ । परियोजनाले उत्पादनको आधारमा कृषकलाई अनुदानसमेत दिने गरेको छ । कृषकलाई प्रविधिको प्रयोग गरी खेती गरेमा प्रतिहेक्टर रु १० हजारका दरले रकमसमेत दिने गरेको छ । अहिले खेती गर्नको लागि जनशक्ति नहँुदा खेतीयोग्य जमीन बाँझो राख्ने गरिएको छ । परियोजनाले मशिन खरीदमा ५० प्रतिशत अनुदान दिने गरेको छ । मकै खेती गरेको स्थानमा सहजरुपमा सिँचाइको सुविधा नभएको स्थानका लागि सिँचाइमा समेत अनुदान दिने गरेको छ । सौर्य उर्जामार्फत सिँचाइ पु¥याउन परियोजनाले ८५ प्रतिशत ब्योहोरी दिने गरेको छ । कृषकले १५ प्रतिशत लगानी गर्नुपर्छ । रासस
सुर्या लाइफ इन्स्योरेन्सकाे बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
काठमाडौं। सुर्या लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बबरमहलमा रहेकाे एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले साविकका शेयरधनीहरुलाई १०ः ७ को अनुपातमा हकप्रद सेयर जारी गर्न अाफ्नाे बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेकाे हाे । उक्त नियुक्ती सम्बन्धि सम्झौतामा सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र एनआईसी एशिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले हस्ताक्षर गरेका हुन्।
नेपाल बङ्गलादेश बैंकको थप दुई शाखा बुलिङ्गटार र रामपुरमा
काठमाडौं। नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ७९ र ८० औं शाखाहरु संचालनमा ल्याएको छ । बैंकले आश्विन २१ गतेबाट नवलपरासी जिल्लाको बुलिङ्गटारमा बैँकका सञ्चालक दिपक कार्कीद्वारा उद्घाटन भई औपचारिक कारोबार शुभारम्भ भएको छ। त्यसैगरी आश्विन २२ गतेबाट सल्यान जिल्लाको रामपुर,कालिमाटिमा बैँकका सञ्चालक मुकुन्द नाथ ढुङ्गेलद्वारा एक समारोह बिच नया शाखाको शुभारम्भ भएको थियो। बैँकले यस् क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो। साथै यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।
जयनगर-जनकपुर रेलः मंसिरमा मोदी चढेर आउने, बर्दिबास-निजगढ पनि अघि बढ्यो
काठमाडौं । जयनगर–जनकपुर रेल मंसिर देखि सञ्चालनमा आउने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्भावित नेपाल भ्रमणका क्रममा जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म निर्माण गरिएको ३४ किलोमिटर लामो रेल उद्घाटन गर्न लागिएको हो । रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर अमन चित्रकारका अनुसार आगामी डिसेम्बर(मंसिर)महिनाभित्र सो रेल सेवा सञ्चालनमा ल्याउने तयारी भैरहेको छ । नेपाल र भारतबीच वेट लिजमा सो रेल सेवा सञ्चालन गर्ने सहमति भैसकेको छ । भारतीय रेल सेवा निगमले रेलका इञ्जिन, चालक र प्राबिधिक उपलब्ध गराउनेछ । भारतीय जनशक्तिसँगै नेपाली जनशक्ति पनि रेल सञ्चालनमा खटिनेछन र नेपालीहरुले रेल सञ्चालनको ज्ञान प्राप्त गरिसकेपछि आफैं सञ्चालन गर्नेछ । जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र त्यहाँबाट ६ किलोमिटर कुर्था भन्ने ठाउँसम्म रेल मार्गको लिक समेत निर्माण सम्पन्न भैसकेको छ । नेपालमा निर्माण भएको रेल वे नेटवर्क ब्रोडगेजको हो । ६ वटासम्म डब्बा तान्न सक्ने चार वटा इञ्जिन राख्ने तयारी भैरहेको छ । भारत सरकारले १० अर्ब लागतमा जयनगरदेखि बर्दिबाससम्मको ६९ किलोमिटर रेल निर्माण गरिदिने सम्झौता भएको थियो । सोमध्ये ३४ किलोमिटरमा रेल गुडाउने तयारी अन्तिम चरणमा पुगेको हो । बर्दिबास–निजगढमा पुल कालिञ्जोर र फुल्चोर खोलामा पुल निर्माण गरिरहेको रेल बिभागले पौराही खोला, साथीहरी खोला, अमो खोला, चाँदी खोला, लामाहा खोलामा पुल निर्माणका लागि टेण्डर आव्हान गरेको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले पुर्वपश्चिम रेलमार्गलाई निजगढबाट मकवानपुर हुँदै चितवनबाट नवलपरासीको तम्सरिसयामा जोड्ने गरि डीपीआर निर्माणको काम अघि बढाएको जानकारी दिए । मिश्रले काठमाडौं बिरगञ्ज विद्युतिय रेलमार्ग पनि निजगढ हुँदै अघि बढ्ने जानकारी दिए । पर्सा राष्ट्रिय निकुञ्जका कारण बिरगञ्ज काठमाडौं रेलमार्गलाई निजगढ लगिएको हो भने पर्सा निकुञ्ज र चितवन निकुञ्जका कारण पुर्वपश्चिम रेलमार्गलाई पनि निजगढबाटै मकवानपुर मोडिएको हो ।
दशैँका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा
मुस्ताङ । दर्शैंका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडौंलगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् । भेडाच्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका व्यापारी जोमसोम आइपुगेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमस्थित सेवा केन्द्रले हालसम्म १६ हजार भेडाच्याङ्ग्रा बिक्री भइसकेको जनाएको छ । सोरबारसम्म १० हजार भेडा र ६ हजार च्याङ्ग्रा बिक्रीका लागि स्वास्थ्य परीक्षण गरिएको केन्द्रका पशु चिकित्सक डा शिव भुसालले जानकारी दिए। दशैंका लागि जिल्लाबाट करीब २० हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ । नेपाल खाद्य संस्थानले यस वर्ष मुस्ताङबाट १ हजार च्याङ्ग्रा काठमाडौँ लैजाने भएको छ । ५५० च्याङ्ग्रा मुस्ताङबाट पठाइसकेको संस्थानको जोमसोमस्थित कार्यालयका प्रमुख गङ्गाप्रसाद शाहले बताए । थप ४५० च्याङग्रा खरिद गरेर पठाउने तयारी भइरहेको छ । मुस्ताङमा एउटा च्याङग्रा १७ हजारदेखि २२ हजार तथा भेडा १४ हजारदेखि १७ हजार रुपैयाँका दरले खरिद बिक्री भइरहेको छ । प्रतिकिलो ५३० का दरले च्याङ्ग्रा खरिद गरेको संस्थानले काठमाडौंमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो ६५० का दरले बिक्री गर्ने जनाएको छ । रासस
आँखुखोला जलविद्युत कम्पनीको आईपीओ आजदेखि, ६ हजार कित्तासम्म आवेदन दिन पाइने
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले मंगलबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १३ करोड ७६ लाख रुपैयाँ बराबरको १३ लाख ७६ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । आईपीओ निष्कासन बन्द हुने छिटोमा असोज २६ र ढिलोमा कात्तिक ६ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । सिभिलका अनुसार न्युनतम ५० कित्ता र अधिकतमा ६ हजार कित्तासम्म आईपीओ भर्न पाइने छ । कम्पनीले १२ करोड रुपैयाँ र आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन गर्दा बिक्री नभएको १ करोड ७६ लाख रुपैयाँको समेत गरी आईपीओ निष्कासन गर्न लागेको हो । कुल निष्कासन मध्ये ६८ हजार ८०१ कित्ता आईपीओ सामूहिक लगानी कोष र २७ हजार ५२० कित्ता कर्मचारीलाई छुट्टाइएको सिभिलले जानकारी दिएको छ । कम्पनीले धादिङमा ८.४ मेगावाटको आँखुखोला आयोजना सञ्चालन गरिरहेको छ । २०७० मंसिरदेखि कम्पनीले व्यापारिक रुपमा बिजुली उत्पादन गरेको हो । आयोजना बनाउन २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ लगानी भएको छ । आयोजनामा ७५ प्रतिशत अर्थात ६० करोड रुपैयाँ संस्थापक र २५ प्रतिशत अर्थात २० करोड रुपैयाँ सर्वसाधारणको लगानी हुने गरी सेयर संरचना तयार पारिएको छ । चुत्तापुँजी ८० करोड रुपैयाँ पुग्ने छ । आयोजनाबाट ९ वर्षमा लगानी फिर्ता हुने छ ।