काठमाडौं। बागलुङ नगरपालिकाले खानेपानीको सहज आपूर्तिका लागि ‘एक घर एक धारा’ अभियानलाई तीव्रता दिएको छ । नगरले आगामी पाँच वर्षभित्र नगरका सबै घरमा धारा जोड्ने अभियानअन्तर्गत वडा नम्बर ८ सिगानका ४४ घरधुरीमा धारा जडान गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा सिगानाको लागि एक घर एक धारा अभियानलाई विनियोजित गरेको रु पाँच लाख बजेटमा धारा निर्माण सम्पन्न गरेको वडाध्यक्ष राजन जिसीले बताए । “पानीको सहज आपूर्तिका लागि तीन वर्षभित्र सिङ्गो वडालाई नै एक घर एक धारा पु¥याउने लक्ष्य लिएका छौँ” जिसीले भने ‘‘खानेपानीका लागि घण्टौँ हिँडेर आउजाउ गर्ने समय वचत भएको छ ।”
सिगानाको छरछरे खानेपानी आयोजनामार्फत हवल्दार थर, थापाथर र नौमुरेका ४४ घरपरिवारलाई एक–एक धारा जडान गरिएको हो । घरमै पानीको धारा आउँदा स्थानीय पनि हर्षित भएका छन् ।
सामुदायिक धारा तथा कुवाको पानी लिन जाने स्थानीयलाई घरमै धारा जडानपछि समयको वचत भएकोे छरछरे खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष रेशम थापाले बताए। आयोजनामा १८ घनमिटरको एउटा ट्याङ्की निर्माण गरी तीनवटा टोललाई छुट्टाछुट्टै शाखामा विभाजन गरी ‘गे्रयाभिटज’ प्रविधिबाट ४४ वटा धारामा पानी वितरण गरिएको आयोजनाका इञ्जिनीयर गौरव शर्माले बताए।
नगरले हालै बानपा–७ ढिकीचौरमा १६५ धारा, कुँडुलेमा ११९ धारा जडान गरी पानी वितरण भइरहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए। हाल बानपाभित्रका ५०० घरधुरीमा एक घर एक धारा आयोजना निर्माणाधीन अवस्थामा रहेको खानेपानी आयोजनाका इञ्जिनीयर गौरव शर्माले बताए। शर्माले पानीको स्रोत भएको ठाउँमा पनी खेर जाने र स्रोत नभएको ठाउँमा समस्या भएको भन्दै स्रोतलाई व्यवस्थित गरी प्रत्येक घरमा धारा वितरण गर्दा पानीको आपूर्ति सहज हुने बताउँछन्।