विकासन्युज

पोलियो रोग विरुद्धको नयाँ खोप एफआईपीभीको शुभारम्भ

काठमाडौं। । बालबालिकाहरुलाई पोलियो रोग विरुद्धको नयाँ खोप ‘फ्याक्स्नल डोज इनएक्टीभेटेड पोलियो भ्याक्सिन (एफआईपीभी) दिन शुरु गरिएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विहीबार आयोजित विशेष कार्यक्रमकाबीच एफआइपिभी खोपको शुभारम्भ गरेका छन् । सो अवसरमा स्वास्थ्य क्षेत्रलाई गुणस्तर बनाउनुपर्नेमा जोड दिँदै उनले अस्पताललाई उपचारयोग्य बनाउन सम्बन्धित सबैको ध्यान जानुपर्छ भने । कार्यक्रममा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जिल्लास्थित कार्यालयलाई निरन्तरता दिएमा प्रदेश सरकारलाई काम गर्न सहज हुने बताए । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र परिवार कल्याण महासङ्घले संयुक्तरुपमा आयोजना गरेको समारोहमा भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनार, सामाजिक विकासमन्त्री नवलकिशोर साह लगायतले खोप, अवस्था, व्यवस्थापनबारे धारणा राखेका थिए । सरकारले करीब तीन बर्ष अघि मात्रै पोलियोविरुद्ध नयाँ भनिएको खोप इनएक्टीभेटेड पोलियो भ्याक्सिन (आइपीभी) सुरु गरेको थियो । सो खोप सुरु गरेको एक बर्ष नपुग्दै विश्वव्यापी रुपमा अभाव (ग्लोबल सर्टेज) भएपछि विकल्पको रुपमा नयाँ खोप एफआईपीभी ल्याइएको हो । यो खोप शिशुलाई दुई चरणमा दिइने गरिन्छ । जन्मेको ६ हप्तामा पहिलो डोज र १४ हप्तामा दोस्रो डोज दिएर पुरा गरिन्छ । ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेशन (गाभी)को सतप्रतिशत सहयोगमा प्राप्त खोप भदौ देखि नै अनौपचारिक रुपमा शुरु गरिसकिएको छ । रासस

दशैैंमा बसले जुन रुटमा पनि यात्रु बोक्न पाउने, मोटरसाइकल दर्ता सोमबारदेखि खुल्ने

काठमाडौं । दशैं अवधिभर सार्वजनिक यातायातले जुनसुकै रुटमा पनि यात्रु ओसार पोसार गर्न पाउने भएका छन् । यातायात व्यवस्था विभागले असोज २४ देखि ३१ सम्म देशभर रुटपरमिट खुल्ला गरेको हो । दशैंको समयमा उपत्यका बाहिरिने यात्रुको चाप उच्च हुने भएकोले यातायात सेवा प्रभावकारी बनाउन रुट परमिट खुल्ला गरेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । उनका अनुसार ३१ गतेसम्म सार्वजनिक बसले जुनसुकै रुटमा यात्रु लिएर हिड्न पाउनेछ । दशैं मनाउन उपत्यकाबाट २० लाख भन्दा बढी यात्रु उपत्यका बाहिरिने भएकाले यात्रु सहजताको लागि विभागले रुटपरमिट खुल्ला गरेको हो । अब उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारीलाई बाहिर यात्रु बोक्ने बाटो खुलेको छ । यसैगरी विभागले मोटरसाइकल कार लगायत सवारी बोक्ने मल्टिएक्ली ट्रायक्टर टेलरलाई नारायणघाटदेखि काठमाडौंसम्म प्रवेशमा रोक लगाएको छ । अब ती टेलरहरु असोज ३१ गते पछि मात्रै काठमाडौं प्रवेश गर्न पाउनेछन् । सोमबारदेखि बाग्मतिमा मोटरसाइकल दर्ता विभागले सोमबारबाट पुनः मोटरसाइकल दर्ता सुरु गर्ने भएको छ । मोटसाइकलमा प्रयोग गरिने लट नम्बर १०० पुगेपछि बाग्मतिमा मोटरसाइकल दर्ता रोकिएको थियो । विभागका प्रवक्ता उपाध्ययायका अनुसार नयाँ दर्ता गर्नका लागि मन्त्रिपरिषदको निर्णयको आवश्यक पर्नेछ । विभागले कुन मोडलमा नयाँ दर्ता भन्ने विषय छलफल गरि मन्त्रिपरिषदमा पेस गरिसकेको छ । मन्त्रिपरिषदको बैठक २१ गते राख्ने सरकारको तयारी रहेको छ । २१ गते मन्त्रिपरिषदले निर्णय गरेपछि २२ गतेबाट पुन नयाँ मोटरसाइकल दर्ताको प्रक्रिया सुरु हुनेछ । विभागको अनुसार हाल देशभर सवारीसाधनकाे संख्या ३२ लाख पुगेका छन् । त्यसमध्ये २५ लाख भन्दा बढी मोटरसाइकल रहेका छन् । बाग्मतिमा मात्रै मोटरसाइकलको संख्या १० लाख पुगेको छ ।

अख्तियारद्धारा ४० करोड ३३ लाख बिगो दाबीसहित ४२६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूर्व नै प्रचारप्रसार गर्ने प्रवृत्ति अन्त्य गरी अनुसन्धानको गोपनीयता राख्ने कार्यदिशा अघि बढाएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा आयोगको तर्फबाट प्रस्तुत गरिएको आगामी रणनीति तथा कार्यदिशामा पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित नभई तथ्य प्रमाण र विधिसम्मत ढङ्गबाट अनुसन्धान अघि बढाउने स्पष्ट गरिएको छ । अघिल्ला केही कालखण्डमा प्रतिशोधको भावनाबाट कुनै व्यक्ति विशेषको मानमर्दन गर्ने कार्य गरेको भनी आयोगको काम कारवाहीप्रति व्यापक आलोचना भएको थियो । आयोगबाट प्रस्तुत गरिएको कार्यदिशामा भनिएको छ, “दबाब र प्रभावबाट मुक्त अनुसन्धान र अभियोजन कार्य अघि बढाइनेछ, आन्तरिक सुदृढीकरणमार्फत प्रभावमुक्त अनुसन्धान गरिनेछ ।” उजुरीको वास्तविक अनुसन्धान गरी भ्रष्टाचार गरेको पाइएमा मुद्दा दायर गरिने, भ्रष्टाचार गरेको नपाइएमा तामेलीमा राख्ने स्पष्ट पद्दतिको विकास गर्ने तथा भ्रष्टाचार भए नभएको विषयमा निगरानी गर्ने गरी नागरिक समूहको स्थापना र प्रवद्र्धन गर्ने कार्यदिशा रहेको आयोगले जनाएको छ । आयोगले भ्रष्टाचार निगरानी प्रणालीको स्थापना तथा विकास निर्माणको काममा गुणस्तर र समयमा काम सम्पन्न नगरेका पाइएमा कारवाही गर्ने प्रक्रियाको अवलम्बनजस्ता कार्यशैलीगत सुधारको कार्यदिशा अघि सारेको हो । बैठकमा आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भने्, “भ्रष्टाचारमा संलग्न व्यक्तिलाई आयोगले कानूनी दायरामा ल्याउँछ तर आयोजनाको काम भने रोकिँदैन, नहर निर्माणको नाममा सोडियम रहेको क्षेत्रमा अर्बै रुपैयाँ बजेट खन्याउने काम भएको छ, त्यसमा आयोगले अनुसन्धान गरिरहेको छ ।” प्रतिबद्धता विकास निर्माण तथा आयोजना व्यवस्थापनको बाधक नभई गुणस्तर कायम गर्न सहयोग पु¥याउन क्रियाशील निकाय भएकाले आयोगले आयोजना समयमै गुणस्तरीयरुपमा पूरा गर्न सहयोगी हुनेगरी अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको छ । आयोगले भनेको छ, “सार्वजनिक जग्गा अतिक्रमण गर्ने, सरकारी बजेट हिनामीना गर्ने, राजश्व असुलीमा भ्रष्टाचार गर्ने, घुस लिने दिनेलगायतका प्रवृत्ति नियन्त्रण गरिनेछ । सार्वजनिक क्षेत्रका साथै निजी र गैरसरकारी क्षेत्रको भ्रष्टाचार नियन्त्रणसमेत गरी समग्ररुपमा भ्रष्टाचार नियन्त्रण गर्ने कानूनी व्यवस्थाका लागि अग्रसरता दिने तथा भ्रष्टाचार नियन्त्रणलाई थप प्रभावकारी बनाउन अन्य नियामक निकायको निरन्तर सहयोग र सहकार्य र सक्रियाताका लागि क्रियाशील रहने पनि आयोगले अठोट व्यक्ति गरेको छ । भ्रष्टाचार नियन्त्रण गरी सुशासन तथा समृद्धि हासिल गर्न सबै निकायको सहयोग आवश्यक रहेको पनि संसदीय समितिसमक्ष आयोगले अपेक्षा गरेको छ । अनुचित कार्य हेर्ने निकायको अभाव भएकाले उक्त कार्यको जिम्मेवारी आयोगमा रहने गरी संविधान र कानून संशोधनका लागि पहल हुन तथा भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसङ्घीय महासन्धिको कार्यान्वयन गर्न कानून निर्माण÷परिमार्जनको काम पनि आयोगले समितिबाट होस् भनेको छ । आयोगको जिम्मेवारी, अधिकार र भूमिका सवल बनाई भ्रष्टाचार नियन्त्रण गर्नु तथा अनुचीत कार्य उपरको अनुसन्धान र कारवाहीको व्यवस्था गर्नुलगायतका विषयलाई आयोगले चुनौती र समस्याका रुपमा लिएको छ । आयोगले आर्थिक वर्ष २०७४÷७५ मा १९४ वटा मुद्दामा ४० करोड ३३ लाख ३४ हजार ५१२ बिगो दाबीसहित ४२६ जनाविरुद्ध मुद्दा दायर गरेको जनाएको छ । तीमध्ये घुससम्बन्धी ९७, नक्कली प्रमाणपत्र ६४, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी १३, अकुत सम्पत्ति चार, गैरकानूनी लाभहानी आठ, राजश्व हिनामिना पाँच र अन्य तीन मुद्दा रहेको जनाइएको छ । रासस

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको १० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स लिमिटेडले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । फाइनान्सको बिहीबार बसेको सञ्चालक समिति बैठकले ८.७७ प्रतिशत अर्थात ७ करोड रुपैयाँ नगद लाभांश र १.२३ प्रतिशत अर्थात ९८ लाख ५० हजार रुपैयाँ बोनस सेयर दिने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र २४ औं वार्षिक साधारणसभाले पारित गरेपछि लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।

राष्ट्रिय भवन निर्माण संहिता लागू हुनुपूर्व निर्माण गरिएका भवनको नक्सापास शुरु

काठमाडौं। भीमदत्त नगरपालिकामा राष्ट्रिय भवन निर्माण संहिता लागू हुनुपूर्व निर्माण गरिएका भवनको नक्सापास गर्न शुरु गरिएको छ । उक्त नगरपालिकाको तेस्रो नगरसभाले उक्त निर्णय गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ बमोजिम भवन संहिता लागू हुनुपूर्व प्रक्रिया पु¥याएर निर्माण गरिएका सबै भवनको नक्सापास गर्न थालिएको हो । उक्त परिच्छेदमा भवन निर्माण तथा सडकसम्बन्धी व्यवस्थाअन्तर्गत स्थानीय तहबाट नक्सापास नगरी भवन निर्माण गर्न नपाइने प्रावधन छ । नगरपालिका वा गाउँपालिकाकाले तोकेको क्षेत्रमा भने नक्सापास नगराई भवन निर्माण गर्न सकिने व्यवस्था छ। नगर प्रमुख सुरेन्द्र विष्टले राष्ट्रिय भवन निर्माण संहिताको प्रभावकारी कार्यान्वयनका लागि तेस्रो नगरसभाबाट उक्त संहिता लागू हुनुपूर्व निर्माण गरिएका भवनको नक्सापास गरिने निर्णय भएको जानकारी दिए । गत भदौ १ गतेदेखि शुरु गरिएको नक्सापास ६ महीनासम्म जारी रहनेछ । नगरपालिकाका वडा कार्यालयले पनि नगरसभाको निर्णयबमोजिम पुराना भवनको नक्सापास गराउन सार्वजनिक सूचना गरिसकेको छ । वडा नं २ का अध्यक्ष डम्मरसिंह कार्कीले नगरसभाको निर्णयअनुसार नक्सापास गराउन सार्वजनिक सूचना जारी गरिएको बताए। उक्त नगरपालिकाले हालसम्म सात हजार ५०० भवनको नक्सापास गरिसकेको छ । नगरपालिका क्षेत्रमा २२ हजारभन्दा बढी घरधुरी छन् । नक्सापास नगरी निर्माण गरिएका भवनको सङ्ख्या अधिक भएपछि नगर प्रमुख विष्टले चालु आवमा भने भवन संहिता कार्यान्वयनलाई प्राथमिकता दिएका छन्। ।गत आर्थिक वर्षमा नगरपालिका कार्यालयमा ३८२ भवनका नक्सा दर्ता भएकामा २७५ को पास गरिएको थियो । रासस

पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था

काठमाडौं। नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ । साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै रुट अनुमति पाएको बाबा गोकर्णेश्वर यातायात अटो प्रालिका २५ वटै बसमा पत्रकारका लागि अग्रपङ्क्तिका दुई सिट आरक्षित कोटामा राखेको हो । उपत्यकाभित्र लामो दूरीको सञ्चालन अनुमति पाएको उक्त कम्पनीका ४० सिट क्षमताका सबै बसमा सिट नं. १ र २ पत्रकार लागि छुट्याइएको छ । उक्त कम्पनीले अन्य बसहरूमा जस्तै महिला, ज्येष्ठ नागरिक, असक्त, बच्चा–आमा र अपाङ्गता भएका व्यक्तिका लागि पनि प्राथमिकताका साथ दुई–दुई सिट छुट्याएको बा५ख ६३९३ का चालक लीलाबहादुर कार्कीले जानकारी दिए। दक्षिणकाली र साँखुबाट एकैसाथ बिहान ४ः३० देखि साँझ ५ः३० सम्म प्रत्येक १५ मिनेटमा छुट्ने उक्त कम्पनीले तीनवटा रुटमा बस सञ्चालनको अनमुति पाएको छ । पहिलो रुटमा साँखु, जोरपाटी, चावहिल, कोटेश्वर बल्खु हुँदै दक्षिणकाली, दोस्रो रुट साँखु, जोरपाटी, चक्रपथ, कलङ्की, बल्खु हुँदै दक्षिणकाली र तेस्रो रुट साँखु, जोरपाटी, चावहिल, रातोपुल, ज्ञानेश्वर डिल्लीबजार, रत्नपार्क, त्रिपुरेश्वर, बल्खु हुँदै दक्षिणकालीसम्म कायम गरिएको छ । साँखुदेखि दक्षिणकालीसम्मको भाडा रु ९८ तोकिएकोे छ । पत्रकारलाई किन प्राथमिकता दिएर सिट आरक्षणको व्यवस्था गरिएको भन्ने ज्ञिजासामा लगानीकर्तासमेत रहेका चालक कार्की भन्छन् , “क्यामेरा, डायरी, झोला बोकेर सधैँ हतार–हतारमा हिँडेर काम गर्नुपर्ने भएकाले बोकेका सामग्रीको सुरक्षा र राष्ट्रको चौँथो अङ्गका रुपमा रहेका पत्रकारलाई यात्रामा सुविधा होस् भनेर आरक्षणको व्यवस्था गरेका हौँ ।” रासस

दशैंलगतै माथिल्लो तामाकोसीको १ अर्ब ५८ करोड आईपीओ आउदै, असारदेखि बिजुली बल्ने

काठमाडौं । निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (तेस्रो आईपीओ) दशैं लगतै निष्कासन हुने भएको छ । प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई चुत्तापुँजीको १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आयोजना प्रभावित दोलखावासीलाई निष्कासन गरेको बाँडफाँडअघि नै सर्वसाधारणलाई आईपीओ ल्याउने तयारी गरिएको अपर तामाकोसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले बताए । स्थानीयबासिन्दालाई निष्कासन गरेको आईपीओ बाँडफाँडमा ढिलाइ हुने भन्दै उनले नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर दशैंअघि नै ल्याउने तयारी भइरहेको जानकारी दिए । स्थानीयबासिन्दालाई बाँडफाँडबीचको समयलाई उपयोग गर्न लागिएको उनको भनाई छ । तामाकोसीले निष्कासन गर्न लागेको यो अन्तिम आईपीओ हो ।स्थानीयबासिन्दाका लागि कम्पनीले १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरिसकेको छ । करिब ३ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासीलाई १० प्रतिशत निष्कासन गरेको हो । आयोजनाले यसअघि नै सञ्चय कोषका कर्मचारी र पाँच लाख बढी सञ्चयकर्तालाई २४ प्रतिशत आईपीओ निष्कासन गरिसकेको छ । स्थानीय तथा सर्वसाधारणलाई छुट्याएको क्रमशः १० र १५ प्रतिशत आईपीओ बिक्री भएपछि मात्रै कर्मचारीलाई ३ वर्षअघि निष्कासन गरिएको सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत गर्ने तयारी गरिएको हो । कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि छुट्याएको २४ प्रतिशत सेयर बाँडफाँड गरिसकेको छ । तामाकोसीको ९७ प्रतिशत काम सकिएको छ । अब आयोजनाको काम सक्न ३ प्रतिशत मात्र बाँकी छ । आउँदो असारदेखि मात्र बिजुली उत्पादन हुनेछ । लट २ को ठेकेदारले ढिलाइ गर्दा आयोजना पछि धकेलिएको हो । असारमा परीक्षणका रुपमा बिजुली उत्पादन थाल्ने लक्ष्य लिइएको श्रेष्ठले जानकारी दिए । अन्य लटको काम लगभग सकिएको र लट २ को हाइड्रोमेकानिकलको ठुलो काम मात्र बाँकी छ ।

राम्रो सेवा दिन काठमाडौं महानगरपालिकाले सम्पूर्ण घरको तथ्याङ्क लिने

काठमाडौं। सेवालाई प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले सम्पूर्ण घर र नगरवासीको तथ्याङ्क लिने भएको छ । पानी, बिजुली, सुरक्षा, फोहरमैला जस्ता सेवाको सहजताका लागि ३२ वटै वडाका नागरिकका साथै यहाँ बसोवास गर्ने नागरिकको पनि लिइने महानगरका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। काठमाडौँमा कति घर छन्, ती घरमा कति मानिस बस्छन् र ती मानिसले के गर्छन्, कुन–कुन बैङ्कमा खाता छ, त्यस घरको नागरिक विदेश गएका छन् कि छैनन् जस्ता सम्पूर्ण पक्षको जानकारी लिइनेछ । प्रत्येक घर कति जग्गामा बनेको छ, उक्त घरले विभिन्न शीर्षकमा महानगरमा वार्षिक कति कर तिर्नुपर्छ जस्ता विषयको पनि जानकारी लिइनेछ। कामपामा हाल दुई लाख ५६ हजार घर छन् । तथ्याङ्क लिएपछि महानगरले प्रत्येक घरको विस्तृत विवरण सर्भरमा राखी सर्भर कोडको आधारमा सेवाग्राहीले खोजेको तीन÷चार मिनेटमै घरमै बसी सेवा लिन सक्नेछन् । महानगरको कुनै पनि सुविधा नलिएको कारण मुलुकको प्रशासनिक केन्द्र सिंहरबारमा भने उक्त सुविधा उपलब्ध हुने छैन ।