विकासन्युज

एनआईसी एशियाको निक्षेप १६५ अर्ब पुग्यो, निजी क्षेत्रको सबैभन्दा ठुलो बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक बर्षको पहिलो त्रैमासमा १४ अर्ब रुपैयाँ निक्षेप बढाएको छ । बैंकको निक्षेप परिचालन बढेर १ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म बैंकको निक्षेप १ खर्ब ५१ अर्ब रुपैयाँ थियो । यो वृद्धिसँगै बैंक निक्षेप परिचालनमा निजी क्षेत्रको सबैभन्दा ठुलो कायमै छ । गत आर्थिक बर्षको अन्तिममा समेत सो बैंक सबैभन्दा बढी निक्षेप परिचालन गर्ने बैंक बनेको थियो । यस्तै, बैंकको कर्जा लगानीमा पनि विस्तार भई १ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले जानकारी दिए । निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक भएको उनले दावी गरे । बैंकको वासलातको आकार पनि बढेर २ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ । ग्राहक संख्या १२ लाख १९ हजार पुगेको बैंकले जनाएको छ । बैंकको मुलुकभर २५६ शाखा कार्यालय, २४९ एटीएम, २२ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग इकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको उनको दावी छ । हालसम्मग्राहकको बढेर १२ लाख १९ हजार रहेको छ । १५ महिनाको अवधिमा बैंकले झण्डै ८० अर्ब रुपैयाँ निक्षेप परिचालन बढाएको छ । आक्रामक रुपमा बजारमा विस्तारमा गएपछि बैंकको निक्षेप परिचालन र कर्जा लगानीमा विस्तार भएको हो ।

मङ्सिरदेखि माइक्रोबसका चालकले फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने

काठमाडौ । काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ ।शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको टोलीसँग बसेको बैठकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा उक्त ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकले सुन्तला र सहचालकले हरियो रङ्गको ज्याकेट लगाउनुपर्ने निर्णय भएको जानकारी दिए। तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन शुरुवात गरिए पनि माइक्रोबसका चालक तथा सहचालकले अटेर गर्दै आएका थिए । महासङ्घका महासचिव सरोज सिटौलाले उक्त ज्याकेटले चालकको पहिचान हुने, रातिको समयमा चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने बताए । “ठूला सवारीसाधनमा समेत क्रमश ज्याकेट लगाउने व्यवस्था गर्नेछौँ”, उनले भने । महाशाखाले यसअघि उपत्यकामा सञ्चालित ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको थियो । सोहीअनुसार हाल उपत्यकाका झण्डै ८० प्रतिशतभन्दा बढी ट्याक्सी चालकले उक्त ज्याकेट लगाउँदै आएका छन् । रासस

ऋणपत्रमार्फत विकासमा जनतालाई सहभागी गराउने सरकारको तयारी

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ऋणपत्रमार्फत जनताको प्रत्यक्ष सहयोगबाट विकास निर्माणका कार्य गर्न सकिने बताएका छन् । ‘समृद्धि नेपालको आर्थिक आधार–गतिशील, विश्वसनीय तथा पूँजी बजार’ भन्ने मूलनाराका साथ नेपाल धितोपत्र बोर्डद्वारा आयोजित पहिलो प्रादेशिक पूँजी बजार प्रदर्शनी–२०७५ को शुक्रबार यहाँ उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। मुख्यमन्त्री राईले महानगरपालिका, नगरपालिका र गाउँपालिकाले ऋणपत्र जारी गरेर जनतालाई प्रत्यक्ष लाभमा सहभागी गराई पूँजीको विकासबाट ठूला तथा मझौला विकास निर्माण कार्य गर्नुपर्नेमा जोड दिए । जनताको प्रत्यक्ष सहयोगमार्फत प्रदेश नं १ मा खेर गइरहेका पानीको सदुपयोग गरी जलविद्युत्, सिँचाइजस्ता योजना कार्यान्वयन गर्नका लागि प्रदेश सरकारले सहयोगको नीति लिएको उल्लेख गर्दै उनले यसबाट यस क्षेत्रका जनताले रोजगारी प्राप्त गरी आर्थिक समृिद्धमा सहयोग पु¥याउने बताए। मुख्यमन्त्री राईले तीन तहका सरकारको साझा लक्ष्य मुलुकको आर्थिक समृद्धि भएको उल्लेख गर्दै पूँजी निर्माणबाट मुलुकको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले गरीबी, पछौटेपनबाट जनतालाई मुक्त गर्न प्रदेश सरकार अग्रसर भएको बताउँदै जलविद्युत् र उद्योग स्थापनामा सरकारले निजी क्षेत्रसँग साझेदारी गर्ने धारणा राखे । विश्व लगानीकर्ता सप्ताह २०१८ को उपलक्ष्यमा धितोपत्रसम्बन्धी ज्ञान र आवश्यक सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यका साथ विराटनगरमा पहिलो पटक दुईदिने ‘प्रादेशिक पूँजी बजार प्रदर्शनी २०७५’ शुक्रबारदेखि शुरु भएको हो । प्रदर्शनीमा १०७ वटा धितोपत्र कारोवार गर्ने संस्था एवम् बैंकका स्टल राखिएका छन् । प्रदेश नं १ मा वित्तीय नयाँ बजारको पहँच पुगेको अवस्थामा यस क्षेत्रका नागरिकलाई धितोपत्र बजारका बारेमा सम्पूर्ण जानकारी गराउने उद्देश्य सो प्रदर्शनीको आयोजना गरिएको अध्यक्ष डा कार्कीले बताए । प्रदर्शनीस्थलमा धितोपत्र बजारसम्बन्धी विभिन्न पुस्तक तथा प्रकाशनको निःशुल्क वितरण, प्रदेश तथा स्थानीय निकायको विकास निर्माणका लागि आवश्यक पूँजी परिचालनको सम्भावनका सम्बन्धमा जानकारी दिने छ । प्रदर्शनीमा सहभागी हुन आउने आगन्तुकहरुलाई एकै छानामुनि धितोपत्र र वस्तु विनियम बजारसम्बन्धी विविध जानकारी बोर्डले दिने जनाएको छ । सो अवसरमा पूँजी बजारसम्बन्धी प्रादेशिक परिसूचक पुस्तकको समेत विमोचन गरिएको छ । नेपालमा १५ लाख नागरिक पूँजी बजारमा प्रत्यक्ष सहभागी छन् । प्रदर्शनी आयोजना गरिएको उपलक्ष्यमा आजदेखि १५ दिनसम्म डिम्याट खाता निःशुल्क खोल्न सकिने व्यवस्था गरिएको सो अवसरमा जानकारी दिइयो । रासस

लोभले लाभ, लाभले विलापमा जेलिएका कमल ज्ञवाली अन्ततः कानूनको फन्दामा

काठमाडौ । कुनै समय नेपालको बैंक तथा वित्तीय क्षेत्रमा कमल ज्ञवालीलाई आर्दशका रुपमा लिइन्थ्यो । गुल्मीको सामान्य किसान परिवारमा जन्मिएका ज्ञवालीले देशकै व्यावसायिक बैंकिङ घरानालाई टक्कर दिने हैसियत बनाए । तर ज्ञवालीलाई धन कमाउने लोभले नराम्ररी च्याप्यो । नेपाली उखान ‘लोभले लाभ, लाभले विलाप’ भनेजस्तै भयो ज्ञवालीका लागि । तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक रहेका ज्ञवालीले आफैँले स्थापना गरेको बैंकलाई समस्यामा पार्ने गरी ऋण लिने वा दिने दुवै काम गरे। सफलता र प्रगतिले ज्ञवालीलाई चरम महत्वाकांक्षी बनायो । जसका कारण आफैँले स्थापना गरेको बैंकको अस्तित्वसमेत मेटियोे । सेयर कारोबार र घरजग्गाको व्यवसायमा नराम्ररी फसेका ज्ञवालीले नागरिकको निक्षेपमाथि चलखेल गरेर आफूमात्र सकिएनन् बैंकलाई समस्या पारे । बैंकिङ क्षेत्रमा जसरी दिन दुई गुणा रात चार गुणाले प्रगति गरे, सोही रफ्तारमा उनले असफलताको नमीठो पाठ पनि पाए । बैंक ठगीको आरोप लागेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ज्ञवालीको खोजी गर्न थाल्यो । बैंकिङ क्षेत्रमा स्थापित भइसकेको किष्ट बैंक प्रभु विकास बैंकसँग गाभिएसँगै अस्तित्वसमेत मेटियो । त्यसपछि प्रभु बैंकले २०७१ साल भदौ ३० गतेदेखि ‘क’ वर्गको बैंकको रुपमा कारोवार गर्दै आएको छ । प्रहरीको अनुसन्धान र अदालतको आदेशपछि प्रभु बैंकले ज्ञवालीको नाममा रहेको २३ करोड बराबरको सेयर बिक्री गरिसकेको छ । किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवालीसमेतले जम्को प्रकाशन प्रालिसँग कमसल धितो लिई, धितोको अधिक मूल्याङ्कन गरी बैंकलाई स्टकको गलत विवरण पेश गरेका थिए । उनलाई बैंक ठग्ने उद्देश्यले स्वीकृतिबिना कर्जा दुरुपयोग गरेको अभियोग लागेको छ । जम्को प्रकाशन प्रालि ज्ञवालीको श्रीमती गौरी खनाल ज्ञवालीको नाममा खोलिएको संस्था हो । पाटन उच्च अदालतले गौरीलाई समेत तीन वर्ष जेल सजाय र ६ करोड २५ लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको थियो । बैंकिङ कसूरको अभियोग लागेका ज्ञवालीलाई नेपाल प्रहरीले शुक्रबार कैलाली र कञ्चनपुर जिल्लाको सीमानामा पर्ने मोहना नदीको पुल नजिक गड्डा चौकीबाट पक्राउ गरेको छ । बैंकिङ कसूर र कीर्ते जालसाझी मुद्दामा उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौँले कैद सजाय र जरिवाना तोकेको छ । बैंकको स्वीकृतिसमेत नलिई सेयरधनी एवं सञ्चालक पटकपटक परिवर्तन गरी जम्को प्रकाशन प्रालिको नाममा किष्टमा नागरिकले जम्मा गरेको निक्षेप अन्यत्र प्रयोग गरेका थिए । ऋण रकम र सोको ब्याज चुक्ता नगरी कर्जा दुरुपयोग गरेको आरोप ज्ञवालीमाथि लागेको छ । बैंकिङ कसूर गरेको मुद्दामा उच्च अदालत पाटनले २०७३ साल जेठ १३ गते ज्ञवालीलाई चार वर्ष कैद र रु ४ करोड २६ लाख ८३ हजार ५११ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । तत्कालीन किष्ट बैंक हाल प्रभु बैंकका तर्फबाट कार्यकारी अधिकृत कुमार लम्सालले ज्ञवाली विरुद्ध जाहेरी दिएका थिए। ज्ञवालीलाई कीर्ते जालसाझी मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०७४ साल जेठ चार गते २९ लाख ७७ हजार ३५६ जरिवाना ठहर्ने फैसला गरेको थियो । महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीका अनुसार बैंकिङ कसूरको अभियोगमा ज्ञवालीलाई आज पक्राउ गरिएको हो । प्रहरी प्रवक्ता शैलेश थापाले जतिसुकै ठूलो पद र प्रतिष्ठामा रहेर अपराध गरेको भए पनि त्यो धेरै दिन नटिक्ने र कुनै न कुनै दिन कानूनको दायरामा आएरै छाड्ने बताए ।

१ अर्ब ६९ करोड चलखेल अरोप पुष्टी गर्न मन्त्री मातृका यादवको चुनौती

काठमाडौं । उद्योग मन्त्री मातृका यादवले लेखा समितीको आरोपको खण्डन गरेका छन् । चिनीको आयत र भाउ बढाउन चलखेल भएको आरोप पुष्टी गर्न यादवले चुनौती दिएका हुन् । यादवले १ अर्ब ६९ करोड अनियमितता भएको भन्ने कुराको छानमिन गरिपाँउ भन्दै संघिय संसदको कार्यालयमा पत्राचार गरेका हुन् । समितिले बजार भाउ बढाउन चलखेल गरेको भन्दै प्रश्न गरेपछि मन्त्रालयले प्रमाणित गर्न चुनौती दिएको हो । चिनीको भाउ नघट्ने उद्योग मन्त्रालयले चिनीको भाउ नघट्ने स्पष्ट पारेको छ । प्रधानमन्त्री कार्यालयबाट नै भाउ बढाउन आदेश आएकोले आफुहरुले चिनीको भाउ घटाउन नसक्ने बताएको हो । बिहिबार लेखा सार्वजनिक लेखा समितिले चिनीको भाउ ६३ रुपैंया कायम गर्न निर्देशन दिएको थियो । मन्त्रालयले भने ७० रुपैंया नै कायम हुने बताएको छ ।

एनआईसी एशिया बैंकले सुरु गर्यो अष्ट्रेलियन डलरको बिक्री

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो अष्ट्रेलियन डलर नगद आयात गरी बिक्री शुरु गरेको छ । बैंकसँग हाल अमेरिकी डलर, अष्ट्रेलियन डलर लगायत विदेशी मुद्राको नगद संञ्चित यथेष्ठ रहेको छ । प्रचलित विनिमय दर बमोजिम ग्राहकहरूको आवश्यकता अनुसार निर्वाध सटही सुविधा प्रदान गरिरहेको बैंकले जनाएको छ  । बैंकले बिदा मनाउन, अध्ययन गर्न र अन्य विभिन्न सिलसिलामा विदेश जाने नेपालीका लागि सम्बन्धित देशको मुद्राको सरल सटहीको सुविधा उपलब्ध गराउँदै आएको छ । अध्ययन तथा भ्रमण लगायतका अन्य कामका लागि विदेश जाने ग्राहकले विदेशी मुद्रा खरिदका लागि आफ्नो म्याद नसकिएको भिसा र प्लेन टिकट साथमै ल्याएको बैंकले जनाएको छ । प्रक्रिया पु¥याएर आउने ग्राहकले भिसा यूएसडी प्रिपेड कार्डसमेत खरिद गर्न सक्ने बैंकले जानकारी दिएको छ ।बैंकले काठमाडौं उपत्यकाका सबै शाखाहरूमा प्रशस्त मात्रामा अष्ट्रेलियन मुद्रा लगायत अन्य विदेशी मुद्राहरु उपलब्ध गराएको छ ।बैंकले हालका लागि काठमाडौं भित्रका सम्पूर्ण ४४ शाखा कार्यालयबाट उपलब्ध गराउदै आएको छ ।

राजधानी बाहिर जाने माइक्रोबसले लिए मनपरी भाडा, सरकार वेखबर

काठमाडौ । कोटेश्वरबाट पूर्वी नेपालमा सञ्चालन हुने माइक्रो बसले तोकेभन्दा बढी भाडा लिएका छन् । सरकारले कोटेश्वरबाट बर्दिवाससम्मको भाडा ५७६ रुपैयाँ तोके पनि ९०० रुपैयाँसम्म लिएका छन् । यसैगरी कोटेश्वरबाट धरानसम्मको भाडा १ हजार ४१ तोकिए पनि हजार ५०० रुपैयाँसम्म लिइएको छ । कोटेश्वरबाट जनकपुरसम्मको भाडा ७८५ सम्म तोकिए पनि १०० हजारसम्म लिइएको नागरिक अनुगमनका क्रममा भेटिएको यातायात सुधार अभियानमा लागेका रामबहादुर थापाले सुनाए। “किन तोकेभन्दा बढी भाडा लिएको भनेर सोध्दाा हाम्रो व्यक्तिगत सवारी हो, किन सरकारले तोकेको भाडा मात्र लिने ? हामीलाई लागे जति लिएका छौँ भनी जवाफ दिए”, उनले भने।ट्राफिक प्रहरीले कोटेश्वर चोकमा भाडा सूची राखे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याय कोटेश्वरबाट पूर्व चल्ने साना सवारी साधनले बढी भाडा लिइरहेको गुनासो आइरहेको बताए। विभागले प्रभावकारी अनुगमन गर्न नसक्दा पनि समस्या भइरहेको यात्रुको गुनासो छ । विभागले भने अनुगमन बढाउने गृहकार्य गरिरहेको जनाएको छ । बुकिङ नगरी सकियो टिकट असोज ९ गतेदेखि नै दशैँका लागि अग्रिम टिकट बुकिङ गरिए पनि यो मार्गमा सञ्चालन हुने सवारीले बेवास्ता गरेका छन् । अग्रिम टिकट नदिई कालाबजारी भइरहेको यात्रु रामचन्द्र शर्माले गुनासो गरे। भनसुनका आधारमा मात्र टिकट दिइरहेको उनको भनाइ छ । सप्तकोशी यातायात सङ्घका महासचिव नारायण भट्टराई असोज २५ गतेसम्मका लागि टिकट बुकिङ गरिसकिएको दाबी गर्छन । यात्रुले भने टिकट नखोलीकनै कालाबजारीमा बेचेर सकेको आरोप लगाएका छन् । सङ्घले २५० सवारी थपेर आजदेखि टिकट दिन शुरु गरिएको जनाएको छ । थप सवारी व्यवस्था गरेर पनि पूर्व जाने सबै यात्रुलाई दशैँ मान्न लगिने उहाँको प्रतिबद्धता छ । २४ गतेदेखि सवारी जुनसुकै रुटमा जानसक्ने गरी व्यवस्था गरिएको विभागका प्रवक्ता उपाध्यायले बताए। सरकारले टिकट खुलिसक्यो भन्दा पनि किन नदिएको भन्दा हामीलाई मन लागेन खोलेनौँ भनी जवाफ दिएको कोटेश्वरमा टिकट कुरेर बसेका यात्रुले गुनासो गरेका छन् । रासस

काष्ठमण्डप पुनःनिर्माण कात्तिक १ देखि

काठमाडौ । भूकम्पले क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माण आगामी कात्तिक १ गतेदेखि औपचारिक शुरु गरिने भएको छ । पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमापूजा भने सम्पन्न भइसकेको छ । अहिले पुनःनिर्माणका लागि आवश्यक सामग्री सङ्कलन भइसकेको छ । अब सबैले देख्ने गरी काम शुरु गरिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । आगामी आर्थिक वर्षको पहिलो साता नै पहिलो तला निर्माण सम्पन्न गर्ने गरी काम शुरु गरिने कामपा, भौतिक पूर्वाधार तथा पुनःनिर्माण विभागका प्रमुख राम थापाले जानकारी दिए । तीन वर्षमा सबै निर्माण सम्पन्न हुने जनाइएको छ । काष्ठमण्डप पुनः निर्माणका लागि आवश्यक पर्ने सामग्री, काठ, इँटा र माटाको समेत परीक्षण भइसकेको छ । “अब नियमित रुपमा निर्माणको काम गर्न बाँकी हो, आगामी कात्तिक १ गतेदेखि शुरु हुन्छ”, प्रमुख थापाले भन्नुभयो । काठबाट निर्माण गरिने भएको हुँदा अन्य निर्माण सामग्रीभन्दा बढी काठको प्रयोग हुनेछ । निर्माणका लागि झण्डै १० करोड रुपैयाँको काठ प्रयोगमा आउनेछ । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणमा प्रयोग हुने इँटा र माटाको गुणस्तर परीक्षणसँगै निर्माणका लागि आवश्यक पर्ने काठ जम्मा गर्ने काम भइसकेको छ । बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको इतिहासमा उल्लेख छ । पछि मरुसतःमा गोरखनाथ र अन्य मूर्ति थपिएको थियो । केही वर्षअघि बेलायतको दुर्हाम विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको खोजअनुसार मरुसत्तल सातौँ शताब्दीको भएको बताइएको थियो । नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको भनाइ छ । रानीपोखरीको टुङ्गो दशैँअघि भूकम्पकै कारण पूर्ण रुपमा क्षति भएको ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणका लागि दशैँअघि पहिलो चरणको आशयपत्रको मात्र टुङ्गो लाग्ने छ । केही दिनअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण गर्दा प्राचीन शैली र ऐतिहासिक महत्वलाई ध्यान दिँदै गरिनुपर्ने बताएका थिए । भूकम्प जाँदाका बेला पोखरीको स्वरुप जस्तो थियो सोहीअनुरुप निर्माण छिटो गर्न समय समयमा सम्पदाप्रेमी र राजनीतिक दलका प्रतिनिधिले ज्ञापनपत्र पेश गरेका छन् । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराइएको शिलालेखमा उल्लेख छ । पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । पोखरीको चारैतिर चार मन्दिर स्थापना गरिएको छ । तीमध्ये उत्तर पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश मन्दिर छन् । रासस