
काठमाडौ । कोटेश्वरबाट पूर्वी नेपालमा सञ्चालन हुने माइक्रो बसले तोकेभन्दा बढी भाडा लिएका छन् । सरकारले कोटेश्वरबाट बर्दिवाससम्मको भाडा ५७६ रुपैयाँ तोके पनि ९०० रुपैयाँसम्म लिएका छन् । यसैगरी कोटेश्वरबाट धरानसम्मको भाडा १ हजार ४१ तोकिए पनि हजार ५०० रुपैयाँसम्म लिइएको छ । कोटेश्वरबाट जनकपुरसम्मको भाडा ७८५ सम्म तोकिए पनि १०० हजारसम्म लिइएको नागरिक अनुगमनका क्रममा भेटिएको यातायात सुधार अभियानमा लागेका रामबहादुर थापाले सुनाए।
“किन तोकेभन्दा बढी भाडा लिएको भनेर सोध्दाा हाम्रो व्यक्तिगत सवारी हो, किन सरकारले तोकेको भाडा मात्र लिने ? हामीलाई लागे जति लिएका छौँ भनी जवाफ दिए”, उनले भने।ट्राफिक प्रहरीले कोटेश्वर चोकमा भाडा सूची राखे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याय कोटेश्वरबाट पूर्व चल्ने साना सवारी साधनले बढी भाडा लिइरहेको गुनासो आइरहेको बताए।
विभागले प्रभावकारी अनुगमन गर्न नसक्दा पनि समस्या भइरहेको यात्रुको गुनासो छ । विभागले भने अनुगमन बढाउने गृहकार्य गरिरहेको जनाएको छ ।
बुकिङ नगरी सकियो टिकट
असोज ९ गतेदेखि नै दशैँका लागि अग्रिम टिकट बुकिङ गरिए पनि यो मार्गमा सञ्चालन हुने सवारीले बेवास्ता गरेका छन् । अग्रिम टिकट नदिई कालाबजारी भइरहेको यात्रु रामचन्द्र शर्माले गुनासो गरे।
भनसुनका आधारमा मात्र टिकट दिइरहेको उनको भनाइ छ । सप्तकोशी यातायात सङ्घका महासचिव नारायण भट्टराई असोज २५ गतेसम्मका लागि टिकट बुकिङ गरिसकिएको दाबी गर्छन । यात्रुले भने टिकट नखोलीकनै कालाबजारीमा बेचेर सकेको आरोप लगाएका छन् ।
सङ्घले २५० सवारी थपेर आजदेखि टिकट दिन शुरु गरिएको जनाएको छ । थप सवारी व्यवस्था गरेर पनि पूर्व जाने सबै यात्रुलाई दशैँ मान्न लगिने उहाँको प्रतिबद्धता छ । २४ गतेदेखि सवारी जुनसुकै रुटमा जानसक्ने गरी व्यवस्था गरिएको विभागका प्रवक्ता उपाध्यायले बताए।
सरकारले टिकट खुलिसक्यो भन्दा पनि किन नदिएको भन्दा हामीलाई मन लागेन खोलेनौँ भनी जवाफ दिएको कोटेश्वरमा टिकट कुरेर बसेका यात्रुले गुनासो गरेका छन् । रासस