
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ऋणपत्रमार्फत जनताको प्रत्यक्ष सहयोगबाट विकास निर्माणका कार्य गर्न सकिने बताएका छन् । ‘समृद्धि नेपालको आर्थिक आधार–गतिशील, विश्वसनीय तथा पूँजी बजार’ भन्ने मूलनाराका साथ नेपाल धितोपत्र बोर्डद्वारा आयोजित पहिलो प्रादेशिक पूँजी बजार प्रदर्शनी–२०७५ को शुक्रबार यहाँ उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।
मुख्यमन्त्री राईले महानगरपालिका, नगरपालिका र गाउँपालिकाले ऋणपत्र जारी गरेर जनतालाई प्रत्यक्ष लाभमा सहभागी गराई पूँजीको विकासबाट ठूला तथा मझौला विकास निर्माण कार्य गर्नुपर्नेमा जोड दिए ।
जनताको प्रत्यक्ष सहयोगमार्फत प्रदेश नं १ मा खेर गइरहेका पानीको सदुपयोग गरी जलविद्युत्, सिँचाइजस्ता योजना कार्यान्वयन गर्नका लागि प्रदेश सरकारले सहयोगको नीति लिएको उल्लेख गर्दै उनले यसबाट यस क्षेत्रका जनताले रोजगारी प्राप्त गरी आर्थिक समृिद्धमा सहयोग पु¥याउने बताए।
मुख्यमन्त्री राईले तीन तहका सरकारको साझा लक्ष्य मुलुकको आर्थिक समृद्धि भएको उल्लेख गर्दै पूँजी निर्माणबाट मुलुकको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले गरीबी, पछौटेपनबाट जनतालाई मुक्त गर्न प्रदेश सरकार अग्रसर भएको बताउँदै जलविद्युत् र उद्योग स्थापनामा सरकारले निजी क्षेत्रसँग साझेदारी गर्ने धारणा राखे ।
विश्व लगानीकर्ता सप्ताह २०१८ को उपलक्ष्यमा धितोपत्रसम्बन्धी ज्ञान र आवश्यक सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यका साथ विराटनगरमा पहिलो पटक दुईदिने ‘प्रादेशिक पूँजी बजार प्रदर्शनी २०७५’ शुक्रबारदेखि शुरु भएको हो ।
प्रदर्शनीमा १०७ वटा धितोपत्र कारोवार गर्ने संस्था एवम् बैंकका स्टल राखिएका छन् । प्रदेश नं १ मा वित्तीय नयाँ बजारको पहँच पुगेको अवस्थामा यस क्षेत्रका नागरिकलाई धितोपत्र बजारका बारेमा सम्पूर्ण जानकारी गराउने उद्देश्य सो प्रदर्शनीको आयोजना गरिएको अध्यक्ष डा कार्कीले बताए ।
प्रदर्शनीस्थलमा धितोपत्र बजारसम्बन्धी विभिन्न पुस्तक तथा प्रकाशनको निःशुल्क वितरण, प्रदेश तथा स्थानीय निकायको विकास निर्माणका लागि आवश्यक पूँजी परिचालनको सम्भावनका सम्बन्धमा जानकारी दिने छ । प्रदर्शनीमा सहभागी हुन आउने आगन्तुकहरुलाई एकै छानामुनि धितोपत्र र वस्तु विनियम बजारसम्बन्धी विविध जानकारी बोर्डले दिने जनाएको छ ।
सो अवसरमा पूँजी बजारसम्बन्धी प्रादेशिक परिसूचक पुस्तकको समेत विमोचन गरिएको छ । नेपालमा १५ लाख नागरिक पूँजी बजारमा प्रत्यक्ष सहभागी छन् । प्रदर्शनी आयोजना गरिएको उपलक्ष्यमा आजदेखि १५ दिनसम्म डिम्याट खाता निःशुल्क खोल्न सकिने व्यवस्था गरिएको सो अवसरमा जानकारी दिइयो । रासस