विकासन्युज

नाफा खोज्ने निजी एयरलाइन्सलाई उडानमा रोक

काठमाडौं। नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन् । एयरलाइन्सको व्यापारिक स्वार्थका कारण दशैँतिहारमा जिल्ला भित्रिने जिल्लावासी र जिल्लामा कार्यरत कर्मचारी जिल्ला बाहिर जान समस्या भएको छ । निजी एयरलाइन्सले उडानमा कमी ल्याएको भन्दै सिमकोट गाउँपालिकाको बिहीबार बसेको गाउँसभाले दशैँ, तिहारजस्ता पर्वमा हुम्लाका लागि उडान नभरेमा निजी एयरलान्सलाई सधैँका लागि उडानमा रोक लगाउने निर्णय गरेको छ । हुम्लीहरू अहिले नेपालगञ्ज–सुर्खेतमा हवाईजहाजले कम उडान गर्दा यात्रु टिकटका लागि भौँतारिरहेका छन् । कहिले महँगो भाडा, कहिले जहाज टिकट नपाउने समस्या हुम्लीका लागि नयाँ होइन । बैठकले सिमकोट गाउँपालिकाका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सञ्चारकर्मीलगायतको उपस्थितिमा सोे निर्णय गरेको हो। रासस

राष्ट्र बैंकको चिन्ता नगर्नुस, सहकारीले वित्तिय क्षेत्रमा संकट ल्याउँछ :गभर्नर डा. नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सहकारीका कारण वित्तिय क्षेत्रमा संकट आउन सक्ने चेतावनी दिएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा डा. नेपालले राष्ट्र बैंकको चिन्ता नगर्न आग्रह गरे । सहकारीका कारण वित्तिय क्षेत्रमा संकट आउन सक्ने चेतावनी दिएका हुन् । उनले क्रमशः विस्तार हुँदै गैरहेको बीमा क्षेत्रको नियमनमा पनि प्रश्न भने उठाएका थिए । ‘हाम्रो चिन्ता नगर्नुस, राष्ट्र बैंकको नियमन कडा छ, अरुको के छ भनेर हेर्नुस, इन्स्योरेन्सको के छ ? सहकारी क्षेत्रको के छ, अन्य क्षेत्रको के छ हेर्नुस, जसले कुनै पनि बेला वित्तिय संकट निम्त्याउन सक्छ’, गभर्नर नेपालले भने । उनले ठूला कारोबार गर्ने सहकारीहरुको राष्ट्र बैंकले तत्कालका लागि नियमन गरेको भएपनि त्यो धेरै समय सम्भव नभएको बताए । ‘ठुला कारोबार गर्ने बचत तथा ऋण सहकारीहरुको अहिले हामीले नियमन गरिरहेका छौं त्यो कहिलेसम्म सम्भव हुन्छ र ? सहकारीमा ठूलो पैसा छ, जसले जुनसुकै समयमा वित्तिय क्षेत्रको स्थायीत्व हल्लाउन सक्छ’, नेपालले भने । उनले पैसाको कारोबारलाई सधै कडा नियमन आवश्यक रहेको बताउँदै वित्तिय संस्था भन्दा बाहिर हुने पैसाको कारोबारमा कडाई गर्नुपर्नेमा जोड दिए । उनले वित्तिय क्षेत्रको स्थायीत्वमा पनि दिगोपन र निरन्तरता आवश्यक रहेको धारणा राखे । गभर्नर नेपालले वित्तिय स्थायीत्वका लागि नै आफुले बैंक तथा वित्तिय क्षेत्रको पुँजी वृद्धि गरेको तर्क पनि राखे । ‘थोरै पूँजीका धेरै संस्था हुँदा वित्तिय स्थायीत्वमा प्रश्न आउने भएपछि पूँजी बढाएको हुँ’, उनले भने । बैंक तथा वित्तिय संस्थाहरुको खराब कर्जा जम्मा १.६ प्रतिशत मात्रै रहेको तथ्यांक पनि उनले देखाए । नेपालले भुक्तानी प्रणालीलाई छिटोछरिटो बनाउने प्रक्रियामा पनि आफुले ध्यान दिएको बताएका थिए । गभर्नर डा. नेपालले बाणिज्य बैंकहरुको आइटीको समेत अडिट गर्नुपर्ने बताए ।

एक बिरामीलाई डायलासिस गर्ने पैसाले आयुर्वेदिक पद्धतिबाट १०० बिरामीको उपचार गर्न पुग्छ : वैद्य गणेशबहादुर राउत

काठमाडौं। सुविन श्रेष्ठलाई १२ वर्षको उमेरमै मिर्गौलामा समस्या देखियो । मिर्गौला फेर्नुपर्ने सल्लाहपछि निकै आत्तिएका उनी अहिलेसम्म आयुर्वेदिक उपचारबाट स्वस्थ जीवन बिताइरहेका छन् । मानिसको शरीरमा १ दशमलव ४ एमजीलाई सामान्य मानिन्छ तर सुविनको मृर्गौैैलामा क्रिटिनाइन (शरीरको फोहर) ३ एमजी देखियो । उनका बाबु फणीन्द्रले धेरै चिकित्सकको परामर्श लिए। मिर्गौला फेर्नुपर्ने नै सल्लाह दिएपछि निराश भएका उनले आयुर्वेदिक उपचार पद्धति थाले र १६ वर्षे सुविन अहिलेसम्म विना डायलासिस स्वस्थ्य छन् । काठमाडौँ महानगरपालिका–१६ पकनाजोल घर भएका सुविनका बाबु फणीन्द्रले भने, “१२ वर्षको कलिलो छोराको मिर्गौला फेर्नुपर्छ भन्दा मनले हरेश खाइसकेको थियो तर आयुर्वेदिक औषधिले ठीक गरायो, अहिले छोराको स्वास्थ्य ठीक छ ।” कुपण्डोल गुरुद्वारा नजीकै रहेको गणेश आयुर्वेदिक औषधालयका वैद्य गणेशबहादुर राउतसँग आवश्यक परामर्श लिएर औषधि खान थालेपछि क्रिटिनाइन विस्तारै कम हुँदै आएको र अहिले उनी सामान्य अवस्थामा छन् । सुविनजस्तै जनकपुर–९ धनुषा निवासी ४५ वर्षीया चन्दा साहलाई पनि चिकित्सकले डायलासिस गर्नुपर्छ भनेपछि तनाव भएर आयुर्वेदिक उपचार शुरु गरेका थिए। उनको क्रिटिनाइन ४ दशमलव ५ पुगेकामा अहिले सामान्य अवस्थामा आइसकेको छ । “मिर्गौला उपचारका लागि डायलासिस गर्नुपर्छ भनेपछि मैले हरेश खाएकी थिएँ तर आयुर्वेदिक औषधिले ठीक हुन्छ भनेपछि यसमै लागेँँ, चार वर्षसम्म लगातार उपचार गरेपछि अहिले राम्रो भएको छ”, आफू स्वस्थ्य भएकीेमा खुशी हुँदै साहले भने, “अहिले म सबै काम गर्न सक्छु, बिरामी छु भन्ने पनि महसुस हुँदैन ।” सुविन र साहजस्तै धेरैले आयुर्वेदिक पद्धतिबाट सस्तो र विना डायलासिस मिर्गौलाको उपचार गरी स्वस्थ्य जीवन बिताइरहेका छन् । वैद्य राउतका अनुसार मिर्गौलामा क्रिटिनाइन एक दशमलव चार एमजी हुनु सामान्य हो तर उमेर बढ्दै गएपछि दुई एमजीसम्मलाई पनि सामान्य मानिन्छ । मिर्गौलाले रगत र पिसाबमा भएको फोहर छान्ने काम गर्छ । “मिर्गौलाको उपचारमा डायलासिस गर्दा राज्यको र व्यक्तिको पनि अत्यधिक खर्च भइरहेको छ”, उनले थपे “एक बिरामीलाई डायलासिस गर्ने पैसाले आयुर्वेदिक पद्धतिबाट १०० बिरामीको उपचार गर्न पुग्छ ।” मिर्गौलाको समस्या नसर्ने खालको रोग हो । यस्ता बिरामीमा आयुर्वेदिक पद्धतिले सफलता पाउनु को कारण खानपानमा जिम्मेवार, उपचारमा निरन्तरता र सचेतना नै मुख्य भएको वैद्य राउतको अनुभव छ । किन हुन्छ मिर्गौलामा समस्या क्रिटिनाइन भनेको शरीरको जमेको फोहर हो । मिर्गौलामा जब क्रिटिनाइन बढेर रगत बाक्लो भएपछि पानीको अभाव हुन्छ अनि मिर्गाैलाले फोहर छानेर पठाउन सक्दैन । शरीरमा क्रिटिनाइन बढी हुन्छ । “मानिसले मिर्गौला फेल भयो भन्ने गर्छन्, तर मिर्गौला फेल भएको होइन कमजोर हुन्छ”, वैद्य राउतले भने, “मेरो अनुभवमा क्रिटिनाइनको मात्रा बढेर दश एमजी नै भए पनि आत्तिनु पर्दैन तर यस पद्धतिबाट डायलासिस शुरु नगरेको अवस्थामा मात्रै काम गर्न सकिन्छ ।” आयुर्वेदिक उपचार पद्धतिले फोहरलाई दिसा/पिसाबबाट बाहिर निकाल्छ । मिर्गौला क्रमश : प्राकृतिक रूपमै सक्षम हुँदै आउँछ । डायलासिस गरिसकेपछि यो विधिले काम दिँदैन, किनभने शरीरको प्राकृतिक संरचनामा समस्या आइसकेको हुन्छ । “आयुर्वेदिक पद्धतिबाट मिर्गौला उपचार नेपालको नितान्त मौलिक प्रविधि हो”, वैद्य राउतले थपे, “आयुर्वेदको विद्यार्थीको नाताले चोक–चोकमा सहयोग मागिरहेका देखिने क्षमतावान्हरूको पनि घरखेत गइसकेकाले मेरो मन छोयो, त्यसपछि मैले अध्ययन गरेर काम शुरु गरेको अहिले १५ वर्ष भयो ।” यथार्थ अध्ययन गरेर प्रविधिलाई सुरक्षित राख्ने कार्यमा राज्य लागिपरोस् भन्ने वैद्य राउतको चाहना छ । यो प्रविधिले भावी पुस्ता, राज्यको सम्पत्ति र जनताको सम्पत्ति जोगाउने कार्यमा ठूलो मद्दत गर्छ । “जब देशका नागरिक अस्वस्थ हुन्छन्, राज्यको समृद्धिको कल्पना पूरा हुँदैन, एक छेउबाट भए पनि राज्यलाई सहयोग पुगोस् र नेपालको मौलिक प्रविधिको संरक्षण होस् भन्ने मेरो चाहना हो”, उनको भनाइ थियो । वैद्य राउतले विसं २०४५/४६ मा विश्व स्वास्थ्य सङ्गठनको सहायतामा १५ महीने आयुर्वेदिक तालीम लिइ निरन्तर खोज तथा अनुसन्धान गरेर मिर्गौला खराबी हुँदा क्रिटिनाइन बढ्न नदिन काम गरिरहेका छन्।। उनको उपचार पद्धतिबाट क्रिटिनाइन भर्खर बढ्न शुरु भएकालाई दुई÷चार महीनामै सामान्य अवस्थामा ल्याउँछ तर अत्यधिक बढेकाका लागि भने केही समय लाग्न सक्छ । आयुर्वेदिक उपचार हेमोडायलासिस नगरेकाका लागि मात्र गरिन्छ । सस्तो र घरमै बसेर उपचार गर्न सकिन्छ । मासिक रु पाँच हजारको औषधि प्रयोग गरी वैद्यको सल्लाहअनुसार खान नहुने भनिएका खाना वर्जित गरे छिट्टै निको हुँदै जान्छ । वैद्य राउतका अनुसार मिर्गौला खराबी प्रत्येकलाई फरक–फरक कारणले हुन्छ । यो कुरा थाहा पाउनका लागि बिरामीको सूक्ष्म तरिकाले अध्ययन गर्नुपर्छ । पिसाब कम लाग्ने, वाकवाकी लाग्ने र हात–गोडा सुन्निनेजस्ता यो रोगका लक्षण हुन् । रासस

राजश्व तिरेभन्दा बढी कपडा लगेपछि विवाद, भद्रपुर भन्सार ठप्प

काठमाडौं। व्यापारीले अनावश्यक विवाद गरेपछि भद्रपुर भन्सारमा तीनदिनदेखि ठप्प छ । गत सोमबार राजश्व तिरेभन्दा बढी कपडा लगेपछि प्रहरीले गोदामबाटै कपडा बरामद गरेको थियो । सोही विषयमा विवाद भएपछि व्यापारीले भद्रपुर भन्सार ठप्प बनाएका हुन् । भद्रपुर भन्सारका नायब सुब्बा विजय शाहीका अनुसार भन्सार परिसरबाटै राजश्व नतिरी बढी लोड गरिएको कपडा नियन्त्रणमा लिइएको हो । भन्सार ठप्प हुँदा रु ५० लाखको राजश्व गुमेको छ । व्यापारीले भन्सारको गोदाममा रहेको सामान लिनसमेत नआएको शाहीले जानकारी दिए। सूर्य अडर्स एण्ड सप्लायर्सको नाममा १३ पोका कपडा राजश्व तिरेर लैजाने क्रममा पाँच पोका कपडा बढी लगेपछि वडा प्रहरी कार्यालय भद्रपुरले गोदामबाटै सो कपडा नियन्त्रणमा लिएको थियो । सप्लायर्सको गोदामबाट वडा प्रहरी कार्यालय भद्रपुरले राजश्व तिरेको स्रोत नखुलेको पाँच पोका कपडा नियन्त्रणमा लिएको जनाएको छ । रासस

पेट्रोल र डिजलमा प्रतिलिटर २ रुपैया ५० पैसा घट्याे, प्रदेश तहमा ५ रूपैयाँसम्म घट्न सक्ने

नयाँ दिल्ली । भारत सरकारले बिहीबार पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । पेट्रोल र डिजलमा प्रतिलिटर भारतीय २ रुपैया ५० पैसा घटाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । घटाएको मुल्य तत्कालै कार्यान्वयन हुने पनि उनीहरूले बताएका छन् । मुल्य घटाउन सरकारले तीन बुँदे योजना बनाएको समेत जनाएको थियो । देशका वित्तमन्त्री अरुण जेट्लीले डिजल र पेट्रोलमा राज्यको तर्फबाट लाग्ने एक रुपैयाँ ५० पैसा बराबरको कर पनि कटौती गरिएको बताए ।  त्यसमा तेल विक्री वितरण गर्ने कम्पनीहरूले प्रतिलिटरमा थप एक रुपैया घटाउने भएका छन् । त्यसैगरी तेलको मुल्य घटाउने तेस्रो उपायको रुपमा वित्तमन्त्री जेट्लीले प्रदेश सरकारहरूलाई पनि कर कटौती गर्न लगाएका छन् । उनका अनुसार प्रदेशमा त डिजल र पेट्रोलको प्रतिलिटर भारतीय पाँच रुपैयाँसम्म पनि मुल्य घट्न सक्नेछ । भारतको महाराष्ट्र र गुजरात प्रदेशमा सत्तारुढ दल भारतीय जनता पार्टीले प्रतिलिटर भारतीय दुई रुपैया ५० पैसा घटाउने घोषणा गरिसकेको जनाइएको छ ।

सांसद मोहन आचार्यको सहयोगमा ‘अवरुद्ध धैबुङ –धोबीखोला सडक सञ्चालन’

काठमाडौं । वर्षाका कारण गत असारदेखि अवरुद्ध धैबुङ घुम्तीदेखि पूर्वी भेक जिबजिबेतर्फको ग्रामीण कृषि सडकमा शुक्रबारदेखि यातायात सञ्चालन भएको छ । कालिका गाउँपालिका – ५ का वडाध्यक्ष रामहरि देवकोटाका अनुसार प्रतिनिधिसभा सदस्य मोहन आचार्यको निजी सहयोगबाट स्काभेटरको सहायताले पाँच दिनको प्रयासमा धैबुङ घुम्ती –जिबजिबेबीच धोबीखोला पहिरो पन्छाउने कार्य बुधबार सम्पन्न भई आजदेखि सवारी साधन आवातजावत हुन थालेको हो । ग्रामीण कृषि सडक खुला भएलगत्तै जिबजिबेबाट काठमाडौंका लागि चल्ने नियमित यात्रुवाहक बस सञ्चालनमा आएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।

सेञ्चुरी कमर्सियल बैंक र सुमेरु अस्पतालबीच सहकार्य, ग्राहक र सेयरधनीलाई १० प्रतिशत छुट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका सेयरधनीहरुले अस्पतालको ओपीडी लगायत सम्पूर्ण सेवामा १० प्रतिशतसम्म छुट साथै औषधीमा ८ प्रतिशतसम्म छुट पाउनेछन् । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र सुमेरु अस्पतालका अस्पताल निर्देशक दिलीप डंगोलले हस्ताक्षर गरेका छन् ।

नेपाल वायुसेवाले ताप्लेजुङ–काठमाडौं उडान शुरु गर्ने, भाडा ६४००

ताप्लेजुङ । लामो समयदेखि उडान गर्न नसकेको नेपाल बायु सेवा निगमले काठमाडौँदेखि ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ । असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधबारदेखि उडान गर्ने तयारी गरेको हो । यसअघि ७ हजार ४६० मा टिकट बिक्री गरेको निगमले अहिले १ हजार ६० छुटसहित टिकट बिक्री गरिरहेको र यही असोज २४ देखि सातामा दुई दिन बुधबार र शुक्रबार उडान गर्ने तालिका सार्वजानिक गरेको छ । यता समिट एयरले समेत सातामा एउटा उडान गर्ने तालिका सार्वजानिक गरिसकेको छ । गत सोमबारदेखि उडान गर्ने बताएको समिटले उक्त दिन मौसम खराबीका कारण उडान गर्न नसके पनि आगामी साताका लागि भने टिकट बिक्री गरिरहेको छ । मौसम खराबीलगायतका कारण उडान नियमित नहुँदा जिल्लावासीलाई समस्या हुँदै आएको छ । रासस