विकासन्युज

एनसीसी बैंकको ४० प्रतिशत हकप्रद सेयरलाई आवेदन परेन, ९९ लाख कित्ता लिलामीमा जाने

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले निष्काशन गरेको हकप्रद सेयरमा ६० प्रतिशतलाई मात्र आवेदन परेको छ । बाँकी ४० प्रतिशत लिलामीमा जाने भएको छ । एनसीसीले चुक्ता पुँजी बढाउन निष्कासन गरेको २ अर्ब ३३ करोड ९५ लाख २९ रुपैयाँको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता मध्ये १ अर्ब ३५ करोड रुपैयाँलाई मात्र आवेदन परेको निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । अझै विवरण आउन बाँकी भएकाले केही थप हुने संभावना रहेको क्यापिटलले जनाएको छ । पहिलो चरणमा न्युन आवेदन परेपछि १५ दिन म्याद थप गरिएको थियो । बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ पुग्नेछ । राष्ट्र बैैंकले तोकेको न्यूनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बैंकलाई अझै ९९ करोड अपुग हुने देखिन्छ । यस्तै ३८ लाख कित्ता संस्थापक हकप्रद सेयर बिक्री भएको छैन। एनबी ग्रुपले आवेदन नदिएपछि संस्थापक हकप्रद सेयर बिक्री नभएको हो । संस्थापक हकप्रद सेयर खरिद गर्न कर्मचारी संचय कोषले चासो देखाएको छ ।

हिमालयन बैंकद्धारा विभिन्न ५ सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रहेका सामुदायिक विद्यालयहरुलाई सहयोग स्वरुप कम्प्युटरहरु प्रदान गरेको छ । बैंकले आफ्नो पच्चीसौं वार्षिकोत्सवको अवसरमा उक्त सहयोग गरेको छ । बैंकले कुलेश्वर माध्यमिक विद्यालय (कुलेश्वर, काठमाडौं) लाई ६ थान, तरुण माध्यमिक विद्यालय (बालाजु, काठमाडौं) लाई १२ थान, सरस्वती उच्च माध्यमिक विद्यालय (ठेचो, ललितपूर) लाई १२ थान, जनजागृति आधारभूत विद्यालय (खोल्माटोल, निजगढ) लाई ५ थान तथा महेन्द्रोदय माध्यमिक विद्यालय (भीमेश्वर, दोलखा) लाई १० थान कम्प्युटर प्रदान गरेको छ । बैंकले यी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सर्वसुलभ तथा गुणस्तरिय कम्प्युटर शिक्षा हासिल गर्न सहयोग पुर्याउने उद्देश्यले कम्प्युटरहरु प्रदान गरेको छ । उक्त कम्प्युटरहरु एक समारोहका बीच बैंकका वरिष्ठ महाप्रबन्धक, महाप्रबन्धक तथा बैंकका कर्मचारीले हस्तान्तरण गरेका छन् ।

४० हजारको पछि लाग्दा यसरी फसे उपसचिव लालबाबु शाह

काठमाडौं । ४० हजारको पछि लाग्दा नेपाल सरकारको उपसचिव जस्तो पदका लालबाबु साह फसेका छन् । शिक्षा विकास तथा समन्वय इकाई, पर्साका इकाई प्रमुख लालबाबु साह घुस चक्करमा अख्तियार फन्दामा परेका हुन् । विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भएपछि बैङ्कमा रोक्का भएको रकम फुकुवा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेपछि पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए । उनका अनुसार हेटौंडाको अख्तियार टोलीले साहलाई उनकै सरकारी निवास वीरगंज महानगरपालिका वडा नं १४ बाट पक्राउ गरिएको हो । साहमाथी आयोगले थप अनुसन्धान भइरहेका प्रवक्ता दंगालले जानकारी दिए ।

जम्मा एक मिसकल गर्नुहोस्, आफ्नो खाताको बारेमा जान्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मिसकल बैंकिङ् सेवा सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत ग्राहकहरुले बैंकले उपलब्ध गराएका विभिन्न मोवाईल नम्बरहरुमा मिसकल दिएर आफ्नो खाताको बारेमा जानकारी लिन सकिनेछ । ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ् सेवा ग्लोबल स्मार्टमा आवद्ध बैंकका ग्राहकहरुले उपभोग गर्न मिल्ने यो सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो खातामा रहेको मौज्दात रकमको बारेमा जानकारी लिन ९८०१२३१२९४ नम्बरमा, खाताको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९५ नम्बरमा, आफ्नो मोबाइलमा १०० रुपैयाँ टपअप गर्न ९८०१२३१२९६ नम्बरमा, क्रेडिट कार्डको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९७ नम्बरमा, आफुले बैंकमा बुझाउनुपर्ने कर्जाको किस्ता रकमको बारेमा जानकारी लिन ९८०१२३१२९८ नम्बरमा र बैंकले प्रदान गर्ने विभिन्न कर्जाहरुको बारेमा जानकारी लिन ९८०१२३१२९९ नम्बरमा मिसकल दिन सक्नेछन् । ग्राहकहरुले माथि उल्लेखित फोन नम्बरहरुमा डायल गरेपछि उक्त नम्बरहरुमा १ घण्टी जाने र आफैँ फोन काटिने छ । त्यसपछि बैंकले ग्राहकले बुझ्न चाहेको जानकारी मोबाइलमा म्यासेज मार्फत पठाउनेछ ।

सौरभ ग्रुपले स्टील उद्योगमा लगानी गर्दै, वार्षिक ४ लाख ४१ हजार टन थपिने

काठमाडौं । सौरभ ग्रुपको लगानीमा स्टील कम्पनी खुल्ने भएको छ । सर्वोत्तम स्टील प्राइभेट लिमिटेडले वीरगञ्ज महानगरपालिकाको वडा नं २२ मा स्टील उद्योग स्थापना गर्न लागेको हो । वार्षिक ४ लाख ४१ हजार मेट्रिकटन फलाम र स्टीलस् उत्पादन हुने गरी उद्योग स्थापना हुन लागेको कम्पनीले जनाएको छ । स्टील उद्योग स्थापनका लागि ग्रुपले वातावरणीय प्रभाव मूल्याङकन (इआए) को काम शुरु गरेको छ । ईआईए स्वीकृत हुन ८ महिना लाग्ने परामर्शदाता आमाता कन्सल्टका संञ्चालक हरिदत्त जोशीले बताए । उनका अनुसार हाल उद्योग स्थापनाबाट पर्ने प्रभावको विषयमा सरोकारवाला निकाय, व्यक्ति संघ संस्थाले लिखित राय तथा सुझाव दिन सक्नेछन् । ईआईए सम्बन्धित सुझाव सर्वोत्तम स्टील्स र औरा कन्सल्टको कार्यालयमा पेश गर्न सकिनेछ । यसअघि सौरभ ग्रुपले सिमेन्ट लगायत निर्माण सामाग्रीहरुको उत्पादन गर्दै आएको छ ।

लगानी कोषका अध्यक्ष रामचन्द्र भट्टराईद्धारा पदबहाली

काठमाडौं । नागरिक लगानी कोषका अध्यक्ष डा.रामचन्द्र भट्टराईले शुक्रबार पदबहाली गरेका छन् । कोष संचालक डा.रामशरण खरेलले डा भट्टराईलाई पद तथा गोपनियताको शपथ गराएका थिए । डा.भट्टराईलाई २१ असोजको मन्त्रिपरिषदको बैठकले कोष अध्यक्षमा नियुक्त गरेको थियो । ‘इन्भाइरोमेन्ट इकोनोमिक्स’ मा विद्याबारिधी गरेका भट्टराईले हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसमा सुक्ष्म र बृहत अर्थशास्त्रको अध्यापन गराउदै आएका छन् । खोटाङ लामिडाडाँमा जन्मेका भट्टराईसंग राष्ट्रिय बाणिज्य बैकको संचालक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, अर्थमन्त्रालयमा वरिष्ठ आर्थिक सल्लाहकारको रुपमा लामो समय काम गरिसकेको अनुभव छ । साथै, उनीसंग नेपाल राष्ट्र बैक, न्याय सेवा तथा कृषि क्षेत्रमा काम गरेको पनि अनुभव रहेको छ ।

उपल्लो मुस्ताङको चराङमा विमानस्थल सम्भाव्यता अध्ययन

काठमाडौं। उपल्लो मुस्ताङको ल्यो घ्यकर दामोदर कुण्ड गाउँपालिका–१ चराङमा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन थालिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर पुष्पराज न्यौपानेको नेतृत्वमा आएको प्राविधिक टोलीले विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन गरेको हो । छोटो समयका लागि जिल्लाको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयवासीको सुविधाका लागि विमानस्थल निर्माण गर्न पहल गरिएको ल्यो घ्यकर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष राजु बिष्टले बताए। जोमसोम हुँदै उपल्लो मुस्ताङ भ्रमणमा जान धेरै समय लाग्ने र सडक यातायातको सहज सुविधा नभएकाले पर्यटक मारमा पर्ने गरेका छन् । पछिल्लो समय उपल्लो मुस्ताङको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पृथक भूगोल, तिब्बती कला र संस्कृति, ऐतिहासिक दरबार, गुफा र हिमाली जीवनशैली उपल्लो मुस्ताङका आकर्षण हुन् । चराङमा विमानस्थल निर्माण गर्न सकेमा उपल्लो मुस्ताङको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए । प्राधिकरणका इञ्जिनीयर न्यौपानेले चराङको भूगोल विमानस्थलका लागि उपयुक्त भएको बताए। विमानस्थलका लागि आवश्यक पर्ने सार्वजनिक जग्गा पर्याप्त रहेको उनको भनाइ छ । रासस

मोरङमा अब मापसेमा परे ट्राफिक परीक्षा, उत्तीर्ण नहुन्जेलसम्म लाईसेन्स नपाईने

काठमाडौं। के तपार्इं मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने गर्नुहुन्छ ? छ भने अब मोरङ प्रहरीले लिने ट्राफिक परीक्षा दिन तयार हुनुहोस् । जिल्ला प्रहरी कार्यालय, मोरङ र जिल्ला ट्राफिक प्रहरीले मापसे गरी सवारी साधन सञ्चालनका कारण हुने दुर्घटना नियन्त्रण गर्न यो नयाँ अभियान सञ्चालन गरेको हो । मापसे गरी सवारी साधन सञ्चालन गर्दा चेकजाँचमा पक्राउ पर्दा प्रहरीले सवारी चालक अनुमतिपत्र लिन्छ र चिट (पूर्जी) दिन्छ । त्यही चिटकोे नम्बरको आधारमा ट्राफिकसम्बन्धी परीक्षा दिनुपर्ने हुन्छ। विभिन्न मूल र शाखा सडकलगायत अन्य स्थानमा गत मङ्गलबारसम्ममा आकस्मिक चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ८८ चालकलाई २४ घण्टे पूर्जी थमाउँदै लिखित परीक्षाका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको थियो । मापसेमा पक्राउ परेका मध्ये ३० जना परीक्षामा सहभागी भई १५ जनाले ८० प्रतिशत बढी अङ्क ल्याएर उत्तीर्ण गरेको प्रहरीले जनाएको छ । अनुत्तीर्ण चालकलाई पुनः परीक्षा लिई उत्तीर्ण भएमा मात्र सम्बन्धित ट्राफिक प्रहरी कार्यालयमा जानुपर्ने व्यवस्था गरिएको छ। मोरङ प्रहरीले हालै प्रयोगमा ल्याएको एप्समा घर वा जिल्ला प्रहरी कार्यालयमा गई चिटमा लेखिएको नम्बर एप्समा राखी परीक्षा दिनुपर्नेछ, जसमा उत्कृष्ट (८० प्रतिशत) अंङक ल्याएमा मात्र उत्तीर्ण गराइन्छ। परीक्षा दिई उत्तीर्ण नहुञ्जेलसम्म सवारी चालक अनुमति प्राप्त गर्न नसकिने जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं उपरीक्षक मनोजकुमार केसीले बताए। सवारी चालकको आफ्नो घर, कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा मोबाइल, ल्यापटप वा डेक्सटपबाट एप्स डाउनलोड, चिटको नम्बर दाखिला गरी ट्राफिक परीक्षा दिनुपर्छ। ट्राफिक परीक्षासम्बन्धी जाँचपरीक्षा सम्बन्धित व्यक्तिले दिएको हो वा अन्यले भन्ने परीक्षा दिएको बेला जिप्रकामा रहेको कम्प्युटर सफ्टवेयरले भिडियो रेकर्डिङबाट थाहा पाउन सकिने व्यवस्था गरिएको छ। मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या वृद्धि थालेपछि चालकलाई सचेतनामूलक कारवाहीस्वरुप परीक्षा प्रणाली शुरु गरिएको प्रहरी उपरीक्षक केसीको भनाइ छ।