विकासन्युज

खसी किलाेकाे ५०० र च्याङग्रा ७०० मा बेच्दै खाद्य संस्थान, बजार मूल्यभन्दा ५० रुपैयाँ सस्तो

काठमाडौं । नेपाल खाद्य संस्थानले दशैंका लागि शुक्रबारदेखि खसी र च्याङग्रा बिक्री शुरु गर्ने भएको छ । संस्थानले शुक्रबार ५०० च्याङग्रा र ३०० खसी बिक्री शुरु गर्न लागेकाे हो । संस्थानले जीउदाे खसी मूल्य प्रति किलाे ५००  र जीउदाे च्याङग्रा प्रतिकिलाे ७०० रुपैंयाँ तोकेको छ । बजार मूल्य भन्दा सस्तोमा खसी च्याङग्रा बिक्री गर्न लागेको संस्थानको सूचना अधिकृत शंकर सापकोटाले बताए । उनका अनुसार संस्थानले खसी बजार मूल्य भन्दा ४५ रुपैंया र  च्याङग्रा ५० रुपैंया सस्तोमा बिक्री गर्न लागेको हो । संस्थानले शुक्रबार ९ बजेदेखि बिक्री शुरु गर्ने तयारी गरेको छ । संस्थानसँग हाल भएको खसीले २ दिनको भाग धान्ने अनुमान गरिएको छ । त्यपछि थप खसी च्याङग्रा थप गर्ने छ । हाल लोकल खसीको बजार मूल्य ५३० र भारतीय खसीको  ५४५ रूपैयाँमा कारोबार भैरहेको चौपाय खरिद बिक्री सेवा संघका संरक्षक दिपक थापाले बताए । उनका अनुसार च्याङग्राको बजार मूल्य ७५० रहेको छ । संस्थानले दशैका लागि मकवानपुर र दाङबाट १ हजार खसी र मुस्ताङबाट १ हजार च्याङग्रा काठमाडौं ल्याएको हो । खसी च्याङग्रा संस्थानको थापाथलीस्थित डिपोबाट बिक्री गर्ने संस्थानले जनाएको छ । यसैगरी संस्थानले राजधानीको ४ स्थानमा सुपथ मूल्यको पसल सञ्चालन गरिरहेको छ । सूचना अधिकृत सापकोटाका अनुसार असोज १२ गतेदेखि शुरु भएको सुपथ मूल्यको पसलमा ग्राहककाे चाप उल्लेख्य रहेकाे छ । संस्थानले हाल पसलमा सोना मनसुली चामल प्रतिकिलो ४० रुपैंयामा बिक्री गरिरहेको छ । यसैगरी, जिरा मसिनो ५५, बास्मती ८१, गोरखनाथ ३८ र जापानिज चामल ७५ रुपैंयामा बिक्री गरिरहेको छ । यस्तै सिमी दाना १२० र फापर ७० रुपैंया प्रतिकेजी बिक्री गरिहेको छ । महानगरपालिकाले गर्यो पशु बजारको अनुगमन काठमाडौं महानगरपालिकाले बिहीबार कलंकी, बालाजु, बिजुलीबजार र टुकुचाका चौपाया बिक्री केन्दैको पशुको निरीक्षण गरको छ । महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको नेतृत्वमा पशु बजारको अनुगमन गरिएको हो । अनुगमन टोलीले ४ वटा चौपायाँ बिक्री केन्द्रमा २ हजार ५११ चौपायाँ जाँच गरको छ । जसमा सबैभन्दा बढी कलंकीमा १ हजार २४५ वटा खसी, १६५ वटा बोका, ६० वटा भेडा, ७ वटा थुमा र ३६५ वटा च्याङ्ग्रा जाँचिएको हो । यीमध्ये २ वटा खसी खान अयोग्य रहेको टोलीले जनाएको छ ।

वाटर एटीएमको नमुना सार्वजनिक, २ रुपैयाँमै पानी पिउन पाईने

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा नेपालमा पहिलो पटक वाटर एटीएमको नमुना सार्वजनिक गरिएको छ । खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा बिहीबार आयोजना गरिएको वाटर एटीएमको नमुना सार्वजनिकीकरण कार्यक्रममा खानेपानी मन्त्री मगरले एटीएमको निरीक्षण गरेका थिए । एटीएमबाट पानी झारेर उनले पानी पिएका थिए । यस्तो प्रविधि नेपालमै पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा. संजीव विक्रम राणाले जानकारी दिए । ललितपुरको सैंबु, भैंसेपाटीस्थित बोर्डको परिसरमा वाटर एटीएमको नमुना प्रदर्शन गरिएको थियो । वाटर एटीएमलाई नेपालीमा पँधेरो नामाकरण गरिएको छ । निश्चित थोरै पैसा तिरेपछि पानी पिउन पाईने अवधारणा स्वरुप वाटर एटीएमको सुरुवात गरिएको हो । उक्त एटीएमबाट २ सय मिलि लिटर र एक लिटर पानी झारेर पिउन पाईने व्यवस्था गरिएको छ । २ सय मिलिलिटर पानीको मूल्य दुई रुपैंया र एक लिटर पानीको मूल्य १० रुपैंया राखिएको छ । उक्त एटीएममा दुई रुपैंयाको क्वाईन हाले पछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाईने व्यवस्था गरिएको छ । यस्तो खालको वाटर एटीएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौं उपत्यका भित्र विस्तार गर्दै लगिने बोर्डका कार्यकारी निर्देशक राणाले बताए । उनले काठमाडौं उपत्यकामा मान्छेको चाप बढी भएको ठाउँहरुमा पहिलो चरणमा वाटर एटीएम राख्दै लगिने जानकारी दिए । यो वर्षभित्र २० वटा वाटर एटीएम राखिने बोर्डको भनाई छ ।

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंककोे नायव प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा महेश शर्मा ढकाल नियुक्त भएका छन् । बैंकमा सिनियर डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत रहेका ढकालले असोज २५ गतेदेखि बैंकको नायवप्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन् । अर्थशास्त्रमा स्नातकोत्तर ढकाल चार्टर्ड एकाउन्टेन्ट समेत हुन् । बैंकिङ् क्षेत्रमा १८ वर्षभन्दा बढिको अनुभव सँगालेका ढकाल तत्कालिन टुरिजम डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा र नेपाल बैंकमा डेपुटी जनरल म्यानेजरको साथै केहि समय व्यवस्थापन समूहको संयोजकको रुपमा रहेका थिए । ढकाल तत्कालिन कर्मज एण्ड ट्रष्ट बैंकमा समेत कार्यरत रहेका थिए । साथै, उनीसंग विभिन्न संघसंस्थाहरुको संचालक समितिमा रहि कार्य गरेको अनुभव समेत रहेको छ । नवनियुक्त नायब सीईओ ढकाल हाल नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पार्षद समेत हुन् ।

सेनाको एक्लो प्रयासले मात्रै भ्रष्टाचार अन्त्यको सम्भव छैन : प्रधानसेनापति थापा

काठमाडौं । ‘सेनाभित्र भ्रष्टाचार छ र केही पक्षमा सुधार पनि गर्नुछ’ । तर, ‘सेनाको एक्लो प्रयासले मात्रै त्यो सम्भव छैन’ प्रधानसेनापति पूर्णचन्द्र थापाले भने । सेनाको भर्ना छनौट बेलामा आर्थिक चलखेलदेखि शान्ति सेनाको विषयसम्ममा विभिन्न कुरा उठ्ने गरेको उल्लेख गर्दै उनले भने, ‘त्यसको जरो पहिल्याएर कारबाही सुरु हुन्छ ।’ थापाले विखण्डनकारी समूहको नेपाली सेनाले सुक्ष्म अध्ययन गरिरहेको बताएका छन् । भोलि कस्तो परिस्थिति निर्माण हुनसक्छ भन्ने बारेमा सेना चनाखो रहेको पनि उनले बताए । बिहीबार आर्मी क्लबमा आयोजित दशैंको शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘अहिले विखण्डनकारी समूहको गतिविधिलाई राज्यले प्रहरी प्रशासनको क्षमताभित्रको विषय ठानेर होला, हाम्रो डोमेनमा यो पर्दैैन । यद्यपि, सुक्ष्म निगरानी गरिरहेका छौं । राज्यले आवश्यक ठाने सेना तयार छ ।’ उनले यस्ता विषयको समाधान राजनीतिक तहबाटै हुनु पर्ने धारणा व्यक्त गरे । ‘समाधानका अन्य विकल्पहरु पनि राज्यसँग हुन्छन् । सेना संविधानले दिएको आफ्नो भूमिकामा जिम्मेवार छ,’ उनले भने । सेनाले संविधानद्वारा निर्र्देिशत दायित्व मात्रै निर्वाह गर्ने उल्लेख गर्दै थापाले त्यही अनुसार सेनालाई उभ्याउने बताए ।

नेपाल इन्भेष्टमेण्ट बैंकको मास्टरकार्ड सञ्चालनमा, कारोबार गरेबापत रकम पाइने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले मास्टरकार्डसँग सहकार्य गरी मास्टर डेविट कार्डको सुरुवात गरेको छ । बैंकले मास्टरकार्डको सहकार्यमा आन्तरीक तथा बाह्य बजारलाई लक्षित गरी दुई प्रकारको कार्ड प्रयोगमा ल्याएको हो । स्थानीय(डोमेस्टिक) कार्ड नेपाल लगायत भारतमा समेत प्रयोग गर्न सकिन्छ भने अन्तर्राष्ट्रिय(इन्टरनेशनल) कार्ड विश्वभर प्रयोग गर्न सकिने बैंकले जनाएको छ । एनआईबीएल मास्टरकार्डको उद्घाटनसंगै बैंकले तीन महिनासम्म आफ्ना ग्राहकहरुलाई निशुल्क कार्ड जारी गर्ने भएको छ । साथै, यस्तो मास्टर कार्डबाट कारोवार गरेवापत नगद फिर्ता भुक्तानी पनि उपलब्ध गराउने योजना बैंकले ल्याएको छ । यसका लागि भने केहि शर्तहरु लागू हुने बैंकले जनाएको छ । त्यस्तै, एनआईबीएल माष्टर कार्डले आर्थिक कारोवार गर्न सहयोग पुर्याउने बैंकको विश्वास छ ।

साँसद पोल्देन छोपाङ गुरुङ स्याउ खेतीमा, ३० करोड लगानीमा एग्रो मनाङ स्थापना

मनाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको बिहीबार उद्घाटन गरेका छन् ।सो अवसरमा उनले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने बताए । स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम एग्रो मनाङले गरेको भन्दै प्रधानमन्त्रीले आधुनिक प्रविधिको प्रयोग गरी कृषि क्षेत्रबाट उद्योगतर्फ जान सकिने विचार व्यक्त गरे। उनले सरकारले यो वर्ष स्याउ कृषकका लागि १० करोड रुपैयाँ अनुदान दिएको र १ लाख स्याउ बिरुवा वितरण गर्ने योजना रहेको जानकारी दिए।अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले सुशासन र विकासको बाटोबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको लक्ष्य रहेको भन्दै विकट र असुरक्षित स्थानमा विकास गर्न कठिनाइ हुने भएकाले त्यस्ता बस्तीलाई सारेर एकीकृत बस्ती बनाउनुपर्नेमा जोड दिए । मनाङका प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले स्थापना गरेको स्याउ बगैँचामा ६८ हजार स्याउका बिरुवा छन् । आगामी वर्ष १० हजार बिरुवा थप्ने उनले बताए। ७३५ रोपनी क्षेत्रफलमा स्याउ लगाइएकामा ४२५ रोपनी क्षेत्रफलबाट उत्पादन भएको छ । स्याउ बगैँचा ३० करोड रुपैयाँ लगानी रहेको छ । प्रालिका अध्यक्ष समराज गुरुङका अनुसार ५५ जना कर्मचारी रहेका छन् । उहाँका अनुसार अत्याधुनिक चिस्याङ केन्द्रमा जुस उद्योगको समेत स्थापना गरिएको छ ।रासस

सुन्धारामा खुल्यो मोबाइल हब, दशैँ धमाकामा ६० प्रतिशत छुट

काठमाडाँै । दशैंको पूर्वसन्ध्यामा काठमाडौंको सीटीसी मलमा नयाँ मोबाइल गन्तव्य सुरु भएको छ । सुनधारास्थित सिभिल ट्रेड सेन्टरको भुई तल्लामा बिहीबारदेखि सञ्चालनमा आएको सिटिसी मोबाइल हबले भारी छुट सहित मोबाइल मेला समेत सञ्चालन गर्ने भएको छ । औपचारीक सुरुवातसँगै मोवाइल हबले असोज ३१ गतेसम्म दशैको धमाका मोबाइल मेला सञ्चालन गर्न लागेको हो । दशै धमाकामा मोबाइ खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म छुट पाउनेछन् । त्यसका साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर पनि राखिएको छ । सिटिसि मोबाइल हबमा सुन्य प्रतिशत किस्ताबन्दी तथा व्याजदरमा मोबाइल खरिद गर्न सकिन्छ । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिने आयोजकले जनाएको छ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रण्डका मोवाइल बितरण पनि गरिने भएको छ पार्किङको अभावले आजित बनेका राजधानीबासीलाई मोबाइल किन्न वा मर्मत गर्न मोबाइल हब जाँदा निशुल्क पार्किङ पर्याप्त मात्रामा रुपमा उपलब्ध हुनेछ । मोबाइल हबमा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । एमआइ, आइफोेन, सामसङ, सोनी, जियोनी, ओप्पो, एचटिसी, जेडटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो, ओबिआइ लगायत ब्राण्डका टच एण्ड फिल काउन्टर समेत मोबाइल हबमा रहने छ ।

सिटिजन्स बैंक र खल्तीबीच डिजिटल भुक्तानीका लागि सम्झौता

काठमाडौं। ‘सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड’ र ‘खल्ती डिजिटल वालेट’ बिच मोबाईल भुक्तानीमा सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सिटिजन्स बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले बिहिबारउक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। उक्त सम्झौता समारोहमा सिटिजन्स बैंकका डेपुटी सीइओ गणेश राज पोख्रेल र खल्तीका डाइरेक्टर ध्रुब अधिकारीको समेत उपस्थिति रहेको थियो । यस सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन्।  यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । उक्त सम्झौताको बारेमा बोल्दै सिटिजन्स बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्लेले भने, “हामी प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेका छौँ, जसको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ । यो सहकार्य पश्चात हाम्रा ग्राहकहरुले खल्ती प्रयोग गरेर सहजता पूर्वक दैनिक भुक्तानी सेवा प्राप्त गर्न सक्नुहुनेछ । यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेका छौँ भन्ने महसुस गरेका छौ ।” साथै बैंकका डेपुटी सीइओ गणेश राज पोख्रेलले आफू डिजिटल प्रविधिमैत्री रहेको र मोबाईलबाटै फिल्मको टिकट काट्ने र अन्य दैनिक भुक्तानीहरु पनि मोबाईल एप मार्फत नै गर्ने गरेको बताए । “मप्रविधिको विकास र यसले मानिसको दैनिक जीवनमा ल्याएको सहजताबाट एकदमै प्रभावित छु । हामी खल्ती वालेटसँग सहकार्य गरी हाम्रा ग्राहकहरु माझ खल्तीको सजिलो मोबाईल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा अत्यन्तै उत्साहित भएका छौँ ।” उनले थपे। त्यसै गरी खल्तीका निर्देशक अमित अग्रवालले भने, “हामी सिटिजन्स बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब सिटिजन्स बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नुपर्दैन । उनिहरुले बैंकबाट सिधै ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नेछन्। नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यो पार्टनरशिपसँगै हामीलाई खल्ती नगद पैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ ।” सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो। खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरुको मोबाइल बाटै भुक्तानी गर्न सकिन्छ ।