१० प्रतिशत बोनसपछि सानिमा माई हाइड्रोपावरको सेयर मूल्य समायोजन
काठमाडौं । सानिमा माई हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बिहीबार मात्रै कम्पनीको १० प्रतिशत बोनस पछिको सेयर मूल्यलाई समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६० रुपैयाँ तोकिएको छ । जसको आधारमूल्य प्रतिकित्ता ३०५.५० रुपैयाँ रहेको थियो । बिहीबारको बजारमा कम्पनीको सेयर मूल्यमा गिरावट आइरहेको छ ।
कालिका पावरको आईपीओ र मिर्मिरे लघुवित्तको हकप्रद सेयर सूचिकृत
काठमाडौं । बिहीबार मात्रै कालिका पावर कम्पनीको आईपीओ र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । नेप्से कालिका पावरको ६० लाख कित्ता आइपीओ थपिएको छ । त्यस्तै, मिर्मिरे लघुवित्तको ४ लाख ५० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । अब यी दुई कम्पनीको उक्त सेयरको कारोबार आगामी ७ दिनपछि नेप्सेमा खुल्ला हुने छ ।
ब्याजदर घटाउन वाणिज्य बैंकबीच भद्र सहमति, मुद्धति निक्षेपमा १० प्रतिशतसम्म दिने
काठमाडौं । वाणिज्य बैंकबीच मुद्धतिको ब्याजदर घटाउने सहमति भएको छ । नेपाल बैंकर्स एसोसियसनको पहलमा बिहीबार बसेको २८ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्मिलित बैठकले मुद्धति निक्षेपमा १० प्रतिशत ब्याजदर कायम गर्नेे भद्र सहमति भएको हो । लगानीयोग्य पुँजीको कमी हुन थालेपछि निक्षेप बढाउन २ वटा वाणिज्य बैंकले यसअघि गरेको भद्र सहमति तोडेपछि एसोसियसनको आकास्मिक बैठकले मुद्धतिमा ब्याजदर घटाउने निर्णय गरेको हो । सहमतिअनुसार शुक्रबारदेखि बैंकहरुले संस्थागत मुद्धतिमा ९ र व्यक्तिगत मुद्धतिमा १० प्रतिशतसम्म ब्याज दिने आन्तरिक सहमति भएको सेन्चुरी कमर्शियल बैंकका सीइओ तुलसीराम गौतमले बताए । यस्तै बैंकहरुले साधारण वचतमा ७ प्रतिशत भन्दा बढी ब्याज दिन नपाउने सहमति भएको उनले जानकारी दिए । यसअघि बैंकले व्यत्तिगतलाई ११ र संस्थागतलाई साढे १० प्रतिशत ब्याज दिदै आएका थिए । बैंकहरुले धमाधम योजना ल्याएर निक्षेप तान्न थालेका छन् । बैंकहरुले मुद्धतिमा साढे १० प्रतिशत भनेपनि यसअघि भएको भद्र सहमति तोडेर केही बैंकले १२ प्रतिशतसम्म ब्याज दिएपछि बैंकले सहमति खोजेका हुन् । बैंकहरु ब्याजदर बढाउदा कर्जा महंगो हुने र यसले मूल्यवृद्धि गराउने र अर्थतन्त्रलाई पनि समस्यामा पार्ने निष्कर्षमा बैंकर पुगेका छन् । बुधबारसम्म बैंकिङ प्रणालीमा ४० अर्ब रुपैयाँ तरलता रहेको राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेलले बताए । गत साउनमा तरलता बढेर १ खर्ब १५ अर्ब रुपैयाँ पुगेको थियो । पछिल्ला २ महिनामा बैंकले लगानी बढाएपछि प्रणालीमा लगानीयोग्य पुँजीको अभाव देखिएको छ । कर्जाको मागअनुसार बैंकले निक्षेप परिचालन बढाउन सकेका छैनन् । मौद्रिक नीतिमा अनिवार्य नगद अनुपात घटाएपछि बैंकिङ प्रणालीमा थप ४८ अर्ब रुपैयाँ तरलता बढेको थियो ।
विश्व बैंकले नेपाललाई २३ अर्ब सहुलियत ऋण दिने
काठमाडौं। विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करीब रु २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको बालीमा जारी वार्षिक बैठकका बेला उक्त रकमऋण सहयोग गर्ने समझदारी भएको हो । अर्थमन्त्री युवराज खतिवडा तथा बैंकको दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरको उपस्थितिमा अर्थमन्त्रालय आर्थिक सहायता समन्वयन महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र उक्त बैंकका देशीय निर्देशक चिम्याओ फ्यानले सम्झौतापत्रमा बुधबार हस्ताक्षर गरेको अर्थमन्त्रालयले जनाएको छ । उक्त अवसरमा अर्थमन्त्रीले विश्व बैंकले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्र र पर्यटन विकासमा गरेको सहयोगको सराहना गर्दै नेपाललाई थप स्रोतको आवश्यकता भएकाले आगामी दिनमा सहयोग अझ वृद्धि हुने विश्वास व्यक्त गरे। उनले नेपालको थप राजश्व परिचालनका सम्भावना कम भएको अवस्थामा विकास सहायताको भूमिका अझ बढेको बताउँदै भूकम्पपछिको पुनःनिर्माण कार्य जारी रहेको र सोको लागि आवश्यक स्रोतको कमी भएको जानकारी दिए। रासस
फोर्डले गर्यो एकै दिनमा १०० वटा गाडीहरु हस्तान्तरण
काठमाडौं। गो फोर्डले आफ्ना ग्राहकवर्गको माग उच्च तवरले पूरा गर्न एकै दिनमा आज १०० वटा नयाँ गाडीहरु आफ्ना ग्राहकवर्गहरुलाई हस्तान्तरण गरेको छ । आफ्ना ग्राहकहरुले यो चाडपर्व फोर्डको नयाँ गाडीसँग मनाउन पाओस् भन्ने उद्देश्यले एकै दिनमा १०० वटा नयाँ गाडीहरु हस्तान्तरण गरेको हो । बजारमा फोर्ड गाडीको उच्च माग छ र घटस्थापनाको शुभ दिनमा हामीले नेपालभरीका आफ्ना डिस्ट्रिव्यूटर्सहरुको माध्यमबाट १०० वटा गाडीहरुको हस्तान्तरण गरेका छौ, जसमध्ये १० वटा विराटनगर, ४ वटा पोखरा, ३ वटा नारायणघाट, ६ वटा वुटवल, १५ वटा नेपालगंज, ३ वटा धनगढी, ८ वटा विर्तामोड, १ वटा दांग, २ वटा बनेपा, ३ वटा जनकपुर, ४ वटा भैरहवा, १० वटा वीरगंज र ३१ वटा काठमाडौमा हस्तातरण गरिएको छ । ग्राहकहरुले फोर्ड गाडीको खरिदमा फोर्ड फेस्टिभ अफर मार्फत उपहारहरु पनि पाएका छन् । यस अफरमा ग्राहकवर्गले फोर्ड गाडीको खरिदमा विशेष नगद छुटको साथै रु. ५०,००० देखि रु. २,५०,००० बराबरको पक्का उपहार पाउने छन् । साथै बम्पर लक्की ड्र मार्फत ५ भाग्यशाली जोडीले स्वीट्जरल्याण्ड मा ४ रात ५ दिनको टूर प्याकेज जित्ने अवसर पनि पाउनेछन् ।
गौतम, मानन्धर र नेकपा सचिवालयलाई सात प्रश्न
कपिलदेव ढकाल आइजीपि बनाउनको लागि पत्रकार मार्फत २० लाख रुपैयाँ बामदेव गौतमले मागे । अच्युत कृष्ण खरेलले आफनो पुस्तक मार्फत गौतमलाई सोझो आरोप लगाए । खरेलले मानमर्दन गर्न खोजे । यो आरोप झुठ्ठा हो । गौतमले खरेललाई जवाफ फर्काए । खरेल र गौतम बिच चलेको आरोप प्रत्यारोपले बजार तातिरहेको समयमा काठमाण्डौ क्षेत्र न ७ का प्रतिनिधि सभाका सांसद रामविर मानन्धरले गौतमलाई क्षेत्र खाली गरेको घोषणा गरेका छन् । उपनिर्वाचनमा सोहि क्षेत्रबाट नेकपाको तर्फबाट गौतम उम्मेदवार बन्ने चर्चा चलेको छ । उपनिर्वाचन भएको खण्डमा प्रमुख प्रतिपक्षि दलको तर्फबाट को उम्मेदवार बन्छ एकिन भएको छैन । सामाजिक संजालमा अच्युत कृष्ण खरेललाई चुनाव लडाउन नेपाली काँग्रेसलाई सुझाव दिएको देखिन्छ । यि दुई पात्रहरु आमने सामने नभएमा पनि खरेलको आरोपको सामना गौतमले सम्भावित उपनिर्वाचन अवधिभर गर्नु पर्ने देखिन्छ । किनकी यस्ता विषयहरु निर्वाचन ताका सबै भन्दा बिकाउ एजेण्डा बन्ने गरेका छन् । गौतमले सामान्य प्रश्नहरुका अतिरिक्त कैयौं त्यस्ता प्रश्नहरुको सामना गर्नु पर्ने छ जुन प्रश्नहरु लोकतन्त्र र पार्टी संचालनका मान्यताहरुसँग सम्बन्धित हुनेछन् । प्रश्नहरुले गौतम र मानन्धरलाई पुर्नविचार गर्न र नेकपाको सचिवालयले गर्ने सम्भावित निर्णयलाई जवाफदेहि बनाउन बाध्य पार्ने छन् । यि प्रश्नहरुको जवाफ गौतम र मानन्धरले मात्र होइन नेकपाको सचिवालय समेतले दिनु पर्ने छ (उपनिर्वाचनको निर्णय सचिवालयले गरेमा) प्रश्न १: राजीनामा के को लागि ? संविधानको धारा ८५ ले संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधि सभाको कार्यकाल ५ बर्षको लागि तोकेको छ । ५ बर्ष संवैधानिक दायित्व पुरा गर्नु सांसदको कर्तब्य हो । विशेष परिस्थीतिमा सांसद पद समाप्त हुन सक्छ । संविधानको धारा ८९ ले निम्न आधारमा संसद सदस्य नरहने ब्यवस्था गरेको छ । राजीनामा दिएमा । संसद पदको योग्यता नरहेमा । प्रतिनिधिसभाको कार्यकाल समाप्त भएमा । सदनलाई जानकारी नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा । निर्वाचित हुँदाको दल त्याग गरेको सूचना सम्बन्धित दलले सूचित गरेमा । मृत्यु भएमा । संवैधानिक प्रावधान हेर्दा कुनै पनि संसदले राजीनामा दिन पाउँछन् यो अधिकारको कुरा हो । अधिकार प्रयोग गर्ने संसदले संवैधानिक कर्तब्य बिर्सन मिल्दैन । सामान्यतया ५ बर्षको कार्यकाल पुरा गर्नु निर्वाचित सांसदको संवैधानिक दायित्व हो । संवैधानिक दायित्व पुरा गर्न नसक्ने सांसदलाई पुन राजनीति गर्ने अधिकार हुदैन । रामविर मानन्धरले कुनै पनि प्रकारको राजनीतिक नियुक्ति नलिने, निर्वाचनमा उम्मेदवारको हैसियतले भाग नलिने घोषणा गरेमा उनको राजीनामा स्वीकृत हुनु पर्छ । अन्यथा कुनै व्यक्ति विशेषसँगको लेनदेनको आधारमा निर्वाचित संसद पद नै खरिद बिक्रीको शैलिमा लिलाम चढाउनु न्याय संगत देखिदैन । के राजीनामा दिन लगाउनेले राजीनामा गर्नेलाई राजनीतिबाट विश्राम लिन लगाउन सक्छन ? असान्दर्भिक राजीनामाले उपनिर्वाचन गर्दा राज्य कोषमा अनावश्यक व्यय भार बढ्न जान्छ । जनताले तिरेको करको यस्तो दुरुपयोगको जिम्मा कस्ले लिन्छ ? राजीनामा दिनेले राष्ट्रिय सभामा मनोनयन लिई मन्त्री पद हत्याउने शर्तमा सहमत भएका हुन भने यस्लाई भष्ट्राचारकै रुप मान्नु पर्ने हुन्छ । होइन भने उनको राजीनामामा अब उप्रान्त राजनीति गर्दिन र राजनीतिक नियुक्तिका कुनै पनि सुविधा लिन्न भन्ने किटान हुनु पर्छ । यो प्रश्न सम्बन्धमा गौतम, मानन्धर र सचिवालयको के जवाफ छ ? प्रश्न २: राजीनामा गराउन लगाउने आधार के ? नेकपाको सचिवालयले निर्वाचित सांसदलाई राजीनामा गराएर पराजीत सांसदलाई टिकट दिने निर्णय कुन आधारमा गर्न सक्छ ? यस्तो निर्णयको शैद्धान्तिक, राजनीतिक, संवैधानिक र कानूनी आधार के हुन्छ ? यो उपनिर्वाचनमा गौतमले जित्ने सत प्रतिशत ग्यारेन्टि के छ ? भएको सिट घटेमा त्यसको दोषि को हुन्छ ? प्रश्न ३: गौतम प्रधानमन्त्रीको हकदार कसरी ? गौतमलाई दुइ तिहाइको सरकार बन्ने अवस्थामा पार्टी फुटाएको अपजस छ । दुइ तिहाइको सरकार बनाउनको लागि पार्टि जुटाएको जस पनि छ । पार्टी जुटाएको जसको आधारमा गौतमले प्रधानमन्त्री बन्ने सपना देखे । चुनाव ताका त्यसै अनुसार प्रचार पनि गरे । चुनावमा पराजीत भए । गौतमलाई प्रधानमन्त्री बन्न नदिनका लागि पार्टीकै अर्को तप्काले असहयोग ग¥यो भन्ने आरोप लाग्यो । तर यि सबै विषय इतिहास र समिक्षाको विषय बनेका छन् । पार्टी फुटाएको कारणले पार्टी प्रमुख बन्ने सपना त्यागि सकेका गौतममा प्रधानमन्त्री बन्ने सपना जीवितै छ । यहि जिवित सपनालाई गौतमले पच्छाएका छन् । यो सपनाले देशको रुपान्तरण भन्दा बढि प्रधानमन्त्री पद धारण गर्ने अभिलाषा बोकेको देखिन्छ । प्रधानमन्त्रीको अभिलाषा पुरा गर्न गौतमले नेकपामा विभाजन नल्याउलान भन्न सकिन्न । सम्भावित दुर्घटनाको जिम्मा कस्ले लिन्छ ? गौतम् प्रधानमन्त्री बन्नु पर्छ भन्ने न जनमत छ न त उनले हिजो गरेका कार्यहरुले सो पदको हकदार बनाउछ । प्रश्न ४ : बामदेव प्रधानमन्त्री की प्रयोग ? प्रचण्डका विश्वास पात्र मानिएका गौतमलाई प्रयोग गरेर प्रचण्डले नेकपामा बलियो पकड जमाउन खोजेको आशंका गरिएको छ । प्रचण्डले पार्टी एकता अगाडि प्रधानमन्त्रीमा आलो पालो सहमतिको प्रस्ताव गरेका थिए । सोहि आधारमा पार्टी एकिकरण भयो भनिएको छ । तर एकिकरण पश्चातको अवस्थाले एउटा अध्यक्षलाई प्रधानमन्त्रीबाट राजीनामा गर भनेर अर्को अध्यक्षले भन्न नमिल्ने अवस्थामा प्रचण्ड छन् । तीन बर्ष पछि ओलीले प्रधानमन्त्री पद छोड्छन वा छोड्दैनन् ? खरो स्वभावका गौतम्ले ओलीको राजीनामा सजिलै माग्न सक्छन् । ओलीलाई प्रधानमन्त्री छोडाउन्को लागि पनि संसदमा गौतमको आवश्यक्ता प्रचण्डले महशुश गरेको देखिन्छ । यस्तो अवस्थामा प्रचण्डले बामदेवलाई प्रधानमन्त्री बनाउने गरि सांसद बनाउन प्रस्ताव गरेको मान्न सकिदैन । प्रश्न ५ : प्रधानमन्त्री क्लबको औचित्य के ? नेकपाको सचिवालयमा तीन जना पूर्व प्रधानमन्त्री र एक जना बहालवाला प्रधानमन्त्री गरी चार जनाको प्रधामन्त्री क्लब छ । वर्तमान र पूर्व उपप्रधानमन्त्रीहरु प्रधानमन्त्री क्लबका सदस्य छन् । समग्रमा भन्नुपर्दा नेकपाको सचिवालयलाई प्रधानमन्त्रीहरुको क्लब भन्न सकिन्छ । यो क्लबले उप निर्वाचनको निर्णय ग¥यो भने सचिवालय विघटन गर्दा नै हुन्छ । कम्तीमा देशको प्रधानमन्त्री भइसकेका व्यक्तिलाई संविधान, नैतिकता र लोकतन्त्रको सिमा थाहा हुन्छ भनेर विश्वास गर्नै पर्दछ । लोकतान्त्रीक सिमा भन्दा बाहिर गएर निर्णय हुन्छ भने त्यस्तो सचिवालयले राष्ट्र हितको काम कसरी गर्न सक्ला ! यो गम्भिर प्रश्नको जवाफ सचिवालयले कसरी दिन्छ ? प्रश्न ६ : अध्यक्ष द्धयले राजीनामा गर्नु हुन्छ ? सचिवालयबाट उप निर्वाचनको निर्णय भएमा अध्यक्ष द्धयलाई नेकपाको अध्यक्ष बन्ने नैतिक हक हुने छैन । यस्तो निर्णय भएमा सबै भन्दा पहिलो माग अध्यक्ष द्धयको राजीनामा हुनु पर्छ । किनकी यस्तो निर्णयले नेकपालाई संगठित होइन कि शक्ति संघ्रशमा प्रवेश गराउने छ । पार्टी र सरकार कम्जोर बन्दै जानेछन् । दुई तिहाईको सरकार प्रधानमन्त्री उत्पादनको लागि हो कि देश विकासका लागि ? सरकारको प्राथमिकता उपनिर्वाचन हो कि शुसाशन र विकास ? प्रश्न ७ : पहिलो पुस्तासँगै पार्टी कमजोर बन्दैन भन्ने ग्यारेण्टि के ? यो पार्टी सिमित व्यक्तिहरुको क्लब होइन । हजारौंको बलिदानी र सहयोगबाट निर्माण भएको पार्टी हो । नेकपाको सचिवालयमा रहेकाहरुले देशको लागि योगदान गरे बापतको प्रतिफल पनि लिइ सकेका छन् । प्रतिफल लिइसकेपछि भविष्यको चिन्ता स्वभाविक रुपमा कम नै हुन्छ । देशको लागि योगदान गर्न कटिबद्ध पुस्ताले त्यो अवशर खोजीरहेको छ । यो पार्टीको चिन्ता स्वभाविक रुपमा दोस्रो पुस्तालाई बढि नै छ । पहिलो पुस्ताले आफुहरुसँगै पार्टीलाई पनि समाप्त गर्ने निर्णय गर्नु हुदैन । यि प्रश्नहरु ह्ुन । यस्ता प्रश्नहरुको चित्त बुझदो जवाफ नपाउदा सम्म कुनै पनि औचित्य नभएका निर्णयलाई लालमोहर लगाउनु पर्छ भन्ने बाध्यता छैन । लोकतन्त्रको सुन्दरता विचारमा विमती राख्न पाउनु पनि हो । सम्भावित निर्णयलाई रोक्नको लागि सबै तह र तप्काबाट आवाज बुलंद गरौं । बेलैमा खबरदारी गरौं । प्रश्न सोधौं । जवाफ मागौं । नेकपालाई ठिक बाटोमा हिडाउन आलोचनात्मक सुझाव दिन पाउनु आम कार्यकर्ताको हक हो । आफनो हक प्रयोग गरौं ।
वुद्ध एयरले सेयर बिक्री गर्ने, अन्तर्राष्ट्रिय उडानको तयारी
काठमाडौं । निजी क्षेत्रको ठुलो वायुसेवा कम्पनी वुद्ध एयरले सेयर बिक्री गर्ने भएको छ । बुद्धलाई पब्लिक कम्पनी बनाएर सेयर बिक्री गर्न लागेको हो । कम्पनीले अन्तर्राष्ट्रिय उडानको ३० प्रतिशत मात्र सेयर राखेर पब्लिक कम्पनीमा लैजाने तर आन्तरिक उडानका लागि पब्लिकमा नलगिने निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए । अन्तर्राष्ट्रिय उडानको ३० प्रतिशत रणनीतिक साझेदार र बाँकी हवाई क्षेत्रमा आउन चाहनेलाई दिइने उनले स्पष्टपारे । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्धले पब्लिक कम्पनीका रूपमा पहिलो चरणमा भारत र चीन उडान भर्ने जनाएको छ । बुद्ध एयरले स्थापनाको २१ वर्षे सफल यात्रामा आफूलाई अग्रणी संस्थाको रूपमा स्थापित गरेको छ । पहिलो पटक १९९७ मा १९०० ‘डी’ विमानबाट उडान शुरु गरेको बुद्धले एटिआरको सफल यात्रा तय गरिसकेको छ । कम्पनीसँग हाल छ एटिआर ७२–५००, तीन एटिआर ४२–३२० र दुई बीचक्राफ्ट १९०० ‘डी’ विमान छन् । आन्तरिक र क्षेत्रीय उडानमा देशकै अब्बल कम्पनी बुद्धले अबको यात्रा अन्तर्राष्ट्रिय गन्तव्यतर्फ केन्द्रित गर्ने भएको छ । अबको तीन वर्षपछि अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरिसकेको बुद्धले त्यसको तयारी पनि थालेको छ । अन्तर्राष्ट्रिय उडानमा १४ विमान अन्तर्राष्ट्रिय उडानको योजना बनाएको बुद्धले तीन वर्षपछि १४ वटा विमानबाट विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । हाल कम्पनीले बोइङ, एयरबस, इम्ब्रेररलगायत विमान उत्पादक कम्पनीसँग वार्ता गरिरहेको जनाएको छ ।“पोखराबाट १४ विमानले सेवा दिन्छौँ, पहिलो चरणमा भारत र चीनका गन्तव्यमा नै केन्द्रित हुन्छौँ, हामी यो वर्षको अन्त्यमा एयरबस वा बोइङ भित्र्याउने आर्थिक स्रोत व्यवस्थापनसहितको कार्ययोजना नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउँछौँ”, प्रबन्ध निर्देशक बस्नेतले भने। भारतको नयाँदिल्ली, मुम्बइ, बैङ्लोर, चेन्नाइ, हैदरावाद र चीनको बेइजिङ, साङ्घाइलगायत गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्ने बुद्धको योजना छ । अन्तर्राष्ट्रिय उडानका लागि लाइसेन्स पाइसकेको बुद्धले काठमाडौँबाट भारतका केही शहरमा उडान गरिरहेको छ । हवाई मार्ग इजाजत तथा प्रक्रियाका हिसाबले भारतमा पहिला उडान हुने भए पनि पोखराबाट चीनमा पनि उडान गरिने जनाइएको छ । “इपिसिएफ मोडलबाट निर्माण भइरहेको विमानस्थल तोकिएभन्दा छिट्टै निर्माण होला भन्ने विश्वास छ । यो बीचमा तयारीका लागि हामीसँग प्रशस्त समय पनि छ । उक्त अवधिसम्म व्यावसायिक योजना र जनशक्ति तयारी पूरा गर्छौँ”, उनी भन्छन् ।पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि केही सीमा हुने भए पनि पर्यटकीय सम्भावनालाई मध्यनजर गरी सेवा विस्तारको योजना अघि सारिएको कम्पनीले जनाएको छ । बुधबारदेखि २२ औँ वर्षमा प्रवेश गरेको बुद्धले एटिआर जहाज उडान थालेको १० वर्ष पुगेको छ । नेपालको भूबनोटअनुसार एटिचार सुरक्षित र भरपर्दो विमानको रूपमा स्थापित भएकाले आन्तरिक उडानमा एटिआरमै सीमित हुने बस्नेतले उल्लेख गरे। भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज, भरतपुर र पोखरामा उडान गरिरहेको एयरलाइन्सले काठमाडौँबाट भारतको वनारसमा नियमित उडान शुरु गरेको छ । निकट भविष्यमै नेपालगञ्जबाट नयाँदिल्ली उडान शुरु गर्ने योजना छ । दक्षिण एशियाकै उत्कृष्ट ह्याङ्गर बुद्ध एयरले सञ्चालन गरिरहेको ह्याङ्गर व्यवस्थापन दक्षिण एशियाकै उत्कृष्ट ह्याङ्गर भएको दाबी गरिएको छ । सिङ्गापुर एटिआरका बिक्री तथा सेवा प्रमुख बिली वोले बुद्ध एयरको ह्याङ्गर दक्षिण एशियास्तरको रहेको बताउनुुहन्छ ।आफ्नो १० वर्षे सहकार्यमा बुद्ध एयरले हवाई सुरक्षाका साथै अन्तर्राष्ट्रियस्तरको मर्मत सम्भारलाई विशेष प्राथमिकता दिएको उनले बताए । रासस
दशैँ तिहारका लागि दार्चुलाबाट ७५० भेडा–च्याङ्ग्रा निर्यात
काठमाडौं। दशैँ तिहारका लागि दार्चुलाबाट करीब ७५० भेडा–च्याङ्ग्रा पोखरा तथा काठमाडौँ निर्यात गरिएको छ । जिल्लामै भेडा खसीको मासु अभाव भइरहेका बेला अपिहिमाल, मार्मा, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकाबाट भेडा–च्याङ्ग्रा निर्यात गरिएको गोकुलेश्वरस्थित ट्राफिक प्रहरी पोष्टले जनाएको छ । जिल्ला पशु शाखा कार्यालयले स्वास्थ्य परीक्षण प्रतिवेदन दिएपछि २६० भेडा, तथा स्कालिम जातका ४७३ च्याङ्ग्रा ढुवानी गरिएको पशु चिकित्सक मोहनदेव भट्टले बताए । विगतमा तिब्बतबाट भेडा–च्याङ्ग्रा आयात हुने गरेकामा पछिल्लो समय दार्चुलाबाटै बाह्य जिल्ला निर्यात हुन थालेको उनको भनाइ थियो । यस वर्ष तिब्बतेली भेडा–च्याङ्ग्रा हालसम्म आयात नभएको व्यास गाउँपालिका वडाअध्यक्ष अशोकसिंह बोहराले बताए। विगतमा सयौँ भेडा–च्याङ्ग्रा तिब्बतबाट आयात हुन्थ्यो उनले भने, “यस वर्ष हालसम्म आएको छैन ।” व्यापारीले जिल्लाबाट रु ७० हजार भाडा तिरेर भेडा च्याङ्ग्रा पोखराका लागि ढुवानी गरेको ट्रक व्यवसायी मोहनसिंह ऐरीले बताए। रासस