कृषि उत्पादनको क्यानिङ र प्याकेजिङ उद्योग खाेल्न ७० प्रतिशत सरकारी अनुदान
काठमाडौं । कृषि उपजको व्यवसायीक र बजारीकरणका लागि सरकारले क्यानिङ तथा प्याकेजिङ उद्योग स्थापना गर्नेलाई ७० प्रतिशत पुँजीगत अनुदान दिने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले लागत सहभागिताका आधारमा क्यानिङ तथा प्याकेजिङ उद्योग स्थापनाका लागि निजी क्षेत्रबाट प्रस्ताव आब्हान गरेको छ । उद्योग स्थापना गर्न चाहाने उद्योगीले ३१ दिनभित्र शिलबन्दी प्रस्ताव आब्हान गरेको छ । कृषि उपजको उत्पादनपछिको क्षति न्युनिकरण, गुणस्तर प्रवद्र्धन, व्यवसायिक तथा औद्योगिक उत्पादन र बजारिकरणमा सहयोग पुर्याउन परियोजनाले उद्योग स्थापना गर्नका लागि अनुदान दिने तयारी गरेको हो । मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पहिलो चरणमा काभ्रे जिल्लामा प्रतिस्पर्धाका आधारमा अनुदान सहयोग गरेर उद्योग स्थापना गर्न लागेको हो । उद्योगीले ३० प्रतिशत स्वपुँजी लगानी गर्नुपर्ने छ । सो लगानी कम्पनीको जग्गा र चालुखर्चमा समावेश गर्न नपाइने भएको छ । उद्योग स्थापनाको अवधि, क्षमता र प्रकृतिअनुसार बढीमा २ वर्षको हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ । उद्योग स्थापना गर्न आवश्यक जग्गा सञ्चालकको आफनै हुनुपर्ने भएको छ । उद्योग स्थापना हुने प्रस्तावित जग्गामा सडक, बिजुलीलगायत पुर्वाधार तयार हुनुपर्ने परियोजनाले जनाएको छ । उद्योगलाई अनुदान दिन छनौट गर्दा प्रतिस्पर्धाका आधारमा मूल्याँकन गरिने भएको छ । उद्योगीले प्रस्ताव गर्ने व्यवसायिक योजनामा कार्यविधिले तोके बमोजिम न्युनतम उत्तिर्ण अंक सहित कम्तिमा ७० प्रतिशत अंक प्राप्त गर्नुपर्ने परियोजनाले जनाएको छ । कृषि उपजको उत्पादनपछिको क्षति न्युनिकरण, गुणस्तर प्रवद्र्धन, व्यवसायिक तथा औद्योगिक उत्पादन र बजारिकरणमा सहयोग पुर्याउन परियोजनाले उद्योग स्थापना गर्नका लागि अनुदान दिने तयारी गरेको हो ।
सामाजिक सञ्जाल फेसबुक पनि ह्याकरको पहुंँचमा, ३ करोड प्रयोगकर्ताको विवरण चोरी
सानफ्रान्सिस्को । विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुक इंकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ ।फेसबुकले यसअघि साइबर आक्रमणका कारण ५ करोड प्रयोगकर्ताका एकाउन्टमा प्रभाव परेको जनाएको थियो । “अहिले हामीले के थाहा पाएका छौं भने सोचिएभन्दा केही कम व्यक्तिलाई असर परेको छ,” फेसबुकका उपाध्यक्ष गाए रोसेनले बताए । पहिचान अझै नखुलेका केही व्यक्ति (ह्याकर) ले करिब १ करोड ५० लाख फेसबुक प्रयोगकर्ताको नाम, फोन नम्बर र इमेल ठेगाना चोरेको उनले जानकारी दिए ।अरु १ करोड ४० लाख प्रयोगकर्ताका विवरण पनि जोखिममा रहेका छन् । फेसबुकले साइबर आक्रमणकारीले प्रयोगकर्ताका अरु विवरणहरु जस्तै लिङ्ग, धर्म, गृहनगर, जन्ममिति र स्थान तथा हालै भ्रमण गरेका ठाउँ पनि सङ्कलन गरेको जनाएको छ । यस आक्रमणबाट फेसबुकले सञ्चालन गरेका मेसेन्जर, मेसेन्जर किड्ज, इन्स्टाग्राम, ह्वाट्सएप, ओक्युलस, वर्कप्लेस, पेजेज, पेमेन्टमा असर नगरेको कम्पनीले बताएको छ ।क्यालिफोर्नियास्थित फेसबुक कम्पनीले यस घटनाका सम्बन्धमा अमेरिकी सङ्घीय जाँच ब्यूरो (एफबीआई), अमेरिकी सङ्घीय व्यापार आयोग, आइरिस डाटा प्रोटेक्सन कमिसन तथा अरु निकायसँग छलफल थालेको छ । रासस÷एएफपी
नेपालमा वाथ रोगीको संख्या बढ्दो; धुम्रपान, बढी तौल र विलासी जीवनशैली मुख्य कारण
काठमाडौ । मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण बाथरोगले दिनानुदिन बढी व्यक्तिलाई ग्रसित पार्दै छ ।विश्व बाथरोग दिवशका अवसरमा नर्भिक अस्पतालले गरेको जनचेतनामूलक कार्यक्रममा दिइएको जानकारी अनुसार सबै उमेर समूहका मानिस बाथरोगबाट ग्रसित हुँदै आएका छन् । बाथरोग र अस्थिपञ्जर सम्बन्धी रोग झण्डै २०० भन्दा बढी प्रकारका रहेका छन् । बाथरोग लागिसकेपछि सामान्यतया रोग लागेको भाग वा अङ्ग दुख्ने, चलाउन कठिन पर्ने, कक्रक्क पर्नेआदि समस्या देखा पर्दछ । धूमपान, बढी तौल तथा अनावश्यक मोटोपना, वंशानुगत कारण मानिसमा बाथरोग लाग्ने जोखिम बढ्ने गर्छ । बाथरोग सम्बन्धी जनचेतनाको अभिवृद्धि गराउन सो अस्पतालले आज बिहान एक प्रभातफेरी कार्यक्रमको आयोजना गर्यो । नर्भिक प्राङगणबाट शुरु भई थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्यूरोड गेट, कमलपोखरी, कालोपूल, जयवागेश्वरी, गौशाला, पुरानो बानेश्वर, बबरमहल हुँदै नर्भिकको प्राङगणमा आएर समापन भएको थियो । कार्यक्रममा बाथरोगीका अलावा सर्वसाधारण, चिकित्सकसहित करीब १५० जनाको सहभागिता थियो । विश्व बाथरोग दिवस हरेक वर्ष अक्टोबर १२ मा विश्वभर मनाइन्छ । सोही अवसरमा नर्भिकका नायब महाप्रबन्धक आरपी मैनालीले प्रत्येक तीन नेपालीमध्ये एकलाई जीवनको कुनै न कुनै क्षणमा कुनै न कुनै प्रकारको बाथरोगले दुःख दिने गरेको बताए। बाथरोग वा मांशपेशी र अस्थिपञ्जरसम्बन्धी रोग लागिसकेका वा लाग्नसक्ने जोखिममा रहेका व्यक्तिलाई उपचारतर्फ उन्मुख गराई सजग गराउनु, रोग रोकथाम तथा नियन्त्रणतर्फ उन्मुख गराउनका लागि कार्यक्रम गरेको नर्भिकका बाथरोग विशेषज्ञ डा अरुणकुमार गुप्ताले बताए।नेपालमा करीब १० लाख भन्दा बढी जनसङ्ख्या यस रोगबाट पीडित भएको अनुमान गरिएको छ । रासस
सिटीसी मोबाइल हबमा शुन्य प्रतिशत व्याजदरमा मोबाइल किन पाइने
काठमाडौं । राजधानीको सुनधारामा केही दिन पहिले सञ्चालनमा आएको सिटीसी मोबाइल हबमा मोबाइल किन्नेको भिड लागेको छ । मोबाइल हबको सुरुवातका साथै दशैं लक्षित धमाका अफरमा मोबाइल किन्नेहरुको भिड लागेको हो । मोबाइल पारखीहरुका लागि नयाँ गन्तव्य मानिएको मोबाइल हबमा निशुल्क पार्किङको सहज व्यवस्था भएकाले पनि ग्राहकको भिड लागेको हो । मोबाइल हबले ६० प्रतिशतसम्मको छुटमा विभिन्न ब्राण्डका मोबाइलहरु बिक्री गरिरहेको छ । दशैधमाका साथै अफर भित्र पनि अफर नामक मोबाइल मेलामा शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल समेत किन्न सकिन्छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको छ । हात खाली नजाने उपहारका कारण पनि मोबाइल मेलामा सेवाग्राहीको विशेष आकर्षण देखिएको हो । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा अफर मेलाको अर्को आकर्षण बनेको छ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रण्डका मोवाइल बितरण भैरहेको छ । नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सिर्भस सेण्टर मोबाइल हबमा छन् । नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आएको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिल जोनको समेत व्यवस्था छ । सबैभन्दा धेरै ब्राण्ड, सबैभन्दा धेरै भेराईटी समेटेको मोबाइल हबमा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । मोबाइलका एक्सेसरिजका साथैनेपालमा चल्तीमा रहेका अधिकांस ब्राण्डका ल्यापटपका लागि पनि सिटिसी मोबाइल हबमा उचित गन्तव्य बन्ने छ ।
क्लियरिङ हाउसले ४० प्रतिशत लाभांश दिने
काठमाडौँ । नेपाल क्लियरिङ हाउसले ४० प्रतिशत लाभांश दिने भएको छ । हाउसले २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने भएको हो । कम्पनीको सातौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७४÷७५ मा गरेको नाफाका आधारमा उक्त बोनस दिने निर्णय गरेको हो । कम्पनीले सो आवमा १८ करोड १६ लाख नाफा गरेको थियो । कम्पनीको चुक्ता पूँजी १८ करोड रहेको छ । बोनस शेयर पारित भएपछि चुक्ता पूँजी बढेर २१ करोड ६० लाख पुगेको छ । कम्पनीले आव २०७४÷७५ मा ९६ लाख ८६ हजार चेकमार्फत् २६ अर्ब ६० करोड बराबरको राफसाफ गरेको छ । कम्पनीले विभिन्न ८० वटा बैंक तथा वित्तीय संस्थाको चार हजार ८० वटा शाखाबाट खिचिएका चेक राफसाफ गरेको जनाएको छ । कम्पनीमा केन्द्रीय बैंकको दश प्रतिशत, बैंक तथा वित्तीय संस्थाको ८० प्रतिशत र एक निजी कम्पनीको दश प्रतिशत शेयर स्वामित्व रहेको छ । रासस
एनआरएनएमा ६ जना उपाध्यक्ष रहने, विधानसभा नरहने
काठमाडौ । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)मा छ उपाध्यक्ष रहने गरी विधान संशोधन हुने भएको छ । शुक्रबार राजधानीमा भएको पहिलो विधानसभाले विषयगतरू रुपमा छ उपाध्यक्ष रहने गरी विधान संशोधन गर्ने निर्णय गरेको महासचिव डा बद्री केसीले जानकारी दिए । वैदेशिक रोजगार, लगानी, नेपालीले सिकेको सीप, प्रशासन र महिला, युवा तथा दोस्रो पुस्ताको प्रतिनिधित्व गर्ने गरी छुट्टाछुट्टै छ उपाध्यक्ष राख्ने विधानसभामा सहमति जुटेको छ । यसअघि एक महिलासहित तीन उपाध्यक्ष रहने व्यवस्था थियो । विधानसभाले गरेको निर्णय विशेष महाधिवेशनमा लगेर पारित गर्नुपर्ने भएकाले अब विधानसभा नरहने उनले जानकारी दिए । परिषद्को कार्यकाल भने साविक झै दुई वर्ष नै रहने भएको छ । महाधिवेशनमा प्रतिनिधि सङ्ख्या भने पुरानै विधानअनुसार प्रति एक हजार बराबर १०० नै रहने भएका छन् । हाल तीन उपाध्यक्ष रहेकामा विषयगत उपाध्यक्ष थप्ने, एनआरएनएको दुई वर्षे कार्यकाललाई तीन वर्षे बनाउने, महाधिवेशन प्रतिनिधि सङ्ख्यामा पुनःमूल्याङ्कन गर्नेलगायत प्रस्ताव विधानसभामा प्रस्तुत भएको प्रवक्ता भूषण घिमिरेले जानकारी दिए । सात समूहमा भएको छलफलले उपाध्यक्ष थप्ने र विधानसभा नरहने निर्णयबाहेक अरु नयाँ प्रस्ताव पारित गर्न सकेन । सल्लाहकार डा हेमराज शर्माको संयोजकत्वमा बनेको विधान समितिले संशोधन प्रस्ताव पेश गरेको थियो । सन् २००३ मा स्थापनापछि पहिलो पटक विधानसभामार्फत संशोधनको विषय प्रवेश भएको थियो । यसैबीच शुक्रबारदेखि गैरआवासीय नेपालीको ‘विश्व विज्ञ सम्मेलन’ शुरु भएको छ । असोज २८ गतेसम्म चल्ने सम्मेलनमा कृषि, जलविद्युत् यातायात, वातावरण प्रदूषण नियन्त्रण, ऊर्जा, पूर्वाधार विकास, व्यावसायिक सीप, स्वास्थ्य र शिक्षालगायतका विषयमा छलफल भइरहेको छ । सम्मेलनमा गैरआवासीय नेपालीले विदेशमा सिकेको ज्ञान र सीप उपयोग र यसमा आइपर्ने चुनौतीबारे छलफल तथा विभिन्न अध्ययन अनुसन्धान र अन्वेषणमा सहभागी विज्ञ, लगानीकर्ता र सरकारी प्रतिनिधिबीच अन्तक्र्रिया गरिने छ । सम्मेलनमा नेपालसँग जोडिएका विदेशी विज्ञ, परराष्ट्रविद्, नीति निर्माता, स्वतन्त्र बुद्धिजीवी, निजी क्षेत्रको समेत सहभागिता रहने जनाइएको छ । सम्मेलनमा कूल १६० कार्यपत्रमाथि छलफल हुनेछ ।
पन्ध्र पृष्ठको मतपत्र, ८०० उम्मेदवार, कसरी हाल्ने मत ?
काबुल । आठ सयभन्दा बढी अनुहार छन् उम्मेदवारका । अनि मतपत्र १५ पृष्ठको । तर मत दिने हो एकजनालाई । अब कसरी हाल्ने मत ? काबुलका मतदाताले आगामी अक्टोबर २० मा हुने निर्वाचनमा यस्तो समस्या झेल्दैछन् । अखबार–आकारको मतपत्र छ र त्यहाँ छापिएका ८०० जना उम्मेदवारको तस्वीरबाट मन परेका उम्मेदवारको खोजी गर्नुपर्नेछ । त्यो पनि एकजना मात्र । एकजना उम्मेदवार छान्न यस्तो समस्या झेल्दैछन् अफगानिस्तानका मतदाता । अर्कातर्फ विद्रोहीले मत हाल्न नजान र गएमा आक्रमण गर्ने भनी दिएको धम्की झेल्नु त छँदैछ । तर पनि अफगान नागरिकले तालिवानहरुबाट निरन्तर खतरामा रहेको यस शहरमा मतपत्रमा आफ्ना उम्मेदवार छनौट गर्न निकै मिहिनेत गर्नुपर्नेछ । अक्टोबर २० मा अफगानिस्तानमा संसद्को तल्लो सदनको निर्वाचन हँुदैछ । सो निर्वाचनमा करीब दुई हजार ५०० जनाले उम्मेदवारी दिएका छन् । ढिलागरी आह्वान गरिएको अफगानिस्तानको संसद्को तल्लो सदन वोलेसी जिर्घामा प्रतिनिधित्वको निर्वाचनका लागि ठूलो सङ्ख्यामा उम्मेदवारी दिइएको छ । ठूलो सङ्ख्यामा उम्मेदवारी दिएकाले यति काबुलका मतदाताका लागि भने अप्ठेरो परेको छ । यहाँका मतदाताले एकजनालाई मात्र मत हाल्नुपर्नेछ तर मतपत्रमा उम्मेदवारको सङ्ख्या भने ८०० जना रहेको छ । उनीहरुलाई १५ पृष्ठको सो मतपत्रबाट छानेर एकजनालाई मात्र मत दिन गाह्रो हुनसक्ने समाचारमा जनाइएको छ । काबुलबाट प्राप्त समाचारमा भनिएको छ त्यो मतपत्र एउटा ट्याबलोइड अखबारको आकारमा छ । यो मतदान प्रक्रिया बढी नै जटिल हुने देखिएको छ । जसका कारण उम्मेदवारहरुले मतदाताहरुलाई आफ्नो पहिचान दिन नम्बर याद गराएर प्रचार प्रसार गर्ने गरेका छन् । प्रचारका क्रममा उम्मेदवारहरुले मतपत्रमा आफ्नो तस्वीर कति पेजमा छ र कस्तो छ भनेर मात्र चिनाउने गरेका बताइन्छ । साथै उनीहरुले मतपत्रमा छापिएको आफ्नो तस्वीर पनि टेलिभिजन र पत्रिकामार्फत प्रचार गर्ने गरेका छन् । प्रचार सामग्रीमा उम्मेदवारहरुले ‘यो तस्वीर यति पेजमा छ हेर्नुहोला’ भनेर आफ्नो तस्वीर चिनाउने गरेका छन् । तर यस निर्वाचनमा पनि पहिलेजस्तै तालिवान र इस्लामिक स्टेटले कारवाही गर्ने जनाएका छन् । उनीहरुले मतदान केन्द्रमा पनि हमला गरिरहेका छन् । उनीहरुले मतदान गर्न नजान सर्वसधारण नागरिकलाई भनिरहेका छन् । एजेन्सी
सिक्टामा ठेकेदारको वदमासी भएको छानबिन समितिको ठहर
काठमाडौ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा देखिएका समस्या समाधानका सम्बन्धमा गठित छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई आज छानबिन समितिका संयोजक एवं मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीले प्रतिवेदन बुझाएका हुन् । बाँके जिल्लाको करीब ४२ हजार हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ निर्माणाधीन आयोजनाको मूल नहरमा समस्या देखिएपछि सरकारले छानबिन समिति गठन गरेको थियो । राप्ती नदीको बाँध निर्माण सम्पन्न भएसँगै मूल नहरको परीक्षणको क्रममा पानी सञ्चालन गर्दा नहरमा क्षति पुगेको थियो । निर्माण व्यवसायीबाट आयोजना हस्तान्तरण नभएको अवस्थामा देखा परेको समस्या समाधानको लागि ठेक्का सम्झौताअनुसार निर्माण व्यवसायीकै दायित्व हुने देखिएको छ । कूल २५ अर्ब रुपैयाँ लगानीको सो आयोजनाको कूल भौतिक प्रगति ५५ प्रतिशत छ । समस्याग्रस्त सम्भावित स्थानको भौगर्भिक अवस्था तथा माटोको सम्बन्धमा समेत विशेषज्ञसहितको संलग्नतामा सुक्ष्म प्राविधिक अध्ययन अनुसन्धान गरी आवश्यक सुधारका कार्य गराउन यसअघि नै मन्त्रालयले आवश्यक निर्देशन दिएको थियो । माटोको अवस्था नहेरिकन नहर निर्माण गर्दा समस्या आएको भन्दै छानबिन समितिले निर्माण व्यवसायीले समेत केही बदमासी गरेको पाइएको प्रतिवेदन तयार पारेको छ । छानबिन समितिले तयार पारेको प्रतिवेदन केही दिनभित्रै सार्वजनिक गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभाको कृषि तथा जलस्रोत समितिले समेत सो आयोजनाको स्थलगत अध्ययन गरेको छ । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत आयोजनामा देखिएको समस्याका बारेमा सुक्ष्म अध्ययन गरेको छ । रासस स