व्यवसायी शंकर अग्रवाललाई थुनामा पठाउन आदेश
काठमाडौं । विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी शंकरलाल अग्रवाललाई थुनामा राख्न थुनापुर्जी जारी गर्दै सम्बन्धित कारागार कार्यालय पठाउने आदेश दिएको छ । अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलास नं. १ ले विक्रम संवत् २०८३ असोज १३ गते उक्त आदेश जारी गरेको हो । नेपाल सरकार वादी रहेको यस मुद्दामा प्रतिवादी शंकरलाल अग्रवालले अन्य प्रतिवादीहरू दीपक भट्ट, साहिल अग्रवाल र सुलभ अग्रवालले गरेको सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ विपरीतको कसुरमा मतियार भई सहयोग पुर्याएको आरोपपत्रमा उल्लेख छ । कुल ४२ करोड १४ लाख ८८ हजार ८ सय ७ रुपैयाँ ७ पैसा बिगो कायम गरी त्यसको आधा २१ करोड ७ लाख ४४ हजार ४ सय ३ रुपैयाँ ५४ पैसा बिगो तथा आधा कैद सजायको दाबी सरकारी पक्षले गरेको थियो । बयानका क्रममा प्रतिवादी शंकरलाल अग्रवालले आफूले कसैसँग मिलेमतो नगरेको, जगदम्बा स्टिल्स वा ग्रीन नेपाल डेभलपर्ससँग कुनै सम्बन्ध नरहेको र दीपक भट्टलाई रकम फिर्ता गर्ने प्रयोजनका लागि मात्र स्थानान्तरण गरिएको दाबी गर्दै आरोपको खण्डन गरेका थिए । तर, अदालतले जगदम्बा स्टिल लि.को सञ्चालकका रूपमा उनका पारिवारिक सदस्यहरू रहेको र कम्पनीको खाता सञ्चालन तथा कारोबारमा उनको हस्ताक्षरसमेत रहने गरेको पाएको छ । कम्पनीले व्यावसायिक प्रयोजनका लागि बैंकबाट लिएको कर्जा रकमको दुरुपयोग गरी दीपक भट्टलाई उपलब्ध गराइएको र सो रकमबाट सेयर तथा जग्गा खरिद नगरी विभिन्न सम्पत्ति जोडिएको अदालतको ठहर छ । यसअघि उच्च अदालत पाटनमा समेत बैंकिङ कसुरतर्फ मुद्दा विचाराधीन रहेको र उपलब्ध प्रमाणका आधारमा विशेष अदालत ऐन, २०५९ को दफा ७ को खण्ड (ङ) बमोजिमको अवस्था देखिएकाले विशेष अदालत नियमावली, २०८० को नियम ३० को उपनियम (१) अनुसार शंकरलाल अग्रवाललाई थुनामा राखी मुद्दाको बाँकी कारबाही अघि बढाउन आदेश दिइएको छ ।
६ जिल्लाका सीडीओ फेरिए
काठमाडौं । गृहमन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ। असोज १२ गतेको मन्त्रीस्तरीय निर्णय आज सार्वजनिक गरिएको हो। गृहले दुई जना सहायक प्रमुख जिल्ला अधिकारीको पनि हेरफेर गरेको छ। को कहाँ ?
सिद्धार्थ बैंक र आईएफसीबीच ४ करोड अमेरिकी डलरको जोखिम साझेदारी सम्झौता
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच स्मल लोन ग्यारेन्टी प्रोग्राम (एसएलजीपी) अन्तर्गत ४ करोड अमेरिकी डलर बराबरको रिस्क सेयरिङ साझेदारी सुविधासम्बन्धी सम्झौता आदानप्रदान भएको छ । नेपालमा आईएफसीको यो पहिलो जोखिम साझेदारी पहल हो, जसअन्तर्गत सिद्धार्थ बैंकले प्रवाह गर्ने लघु, साना तथा मझौला उद्यम (एमएसएमई) कर्जामा निहित जोखिमको ५० प्रतिशत हिस्सा आईएफसीले वहन गर्नेछ । यस व्यवस्थाले चुनौतीपूर्ण आर्थिक परिस्थितिको सामना गरिरहेका देशभरका साना व्यवसायीहरूमा कर्जा विस्तार गर्ने सिद्धार्थ बैंकको क्षमतालाई थप सुदृढ बनाउने विश्वास बैंकले लिएको छ । सम्झौताबारे जानकारी दिँदै सिद्धार्थ बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले आईएफसीसँगको यो साझेदारीले एमएसएमई कर्जा पोर्टफोलियो विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए । उनका अनुसार विवेकपूर्ण कर्जा मापदण्ड कायम राख्दै यस क्षेत्रमा कर्जा प्रवाह बढाएर उद्यमशीलता प्रोत्साहन गर्ने, रोजगारी सिर्जना गर्ने र नेपालको समावेशी आर्थिक वृद्धिमा योगदान पुर्याउने बैंकको लक्ष्य रहेको छ । सन् २०१४ मा आईएफसीको ग्लोबल ट्रेड फाइनान्स प्रोग्राममा आबद्ध भएदेखि सुरु भएको यी दुई संस्थाबीचको सहकार्य सन् २०२३ मा ५ करोड ५० लाख अमेरिकी डलरको सिन्डिकेटेड कर्जा हुँदै थप सुदृढ भएको हो । यसबाहेक सिद्धार्थ बैंकले जोखिम व्यवस्थापन, लैङ्गिक वित्त, डिजिटल वित्त तथा जलवायु वित्तका क्षेत्रमा पनि आईएफसीसँग परामर्श सेवामार्फत साझेदार गर्दै आएको छ ।
पुरानो साटेर नयाँ टीभिएस चढ्ने मौका, भृकुटीमण्डपमा ५० भन्दा बढी भ्यालुएटरसहित महा एक्सचेन्ज मेला
काठमाडौं । नेपालका लागि टीभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले भृकुटीमण्डपमा 'अचम्मैको महा एक्सचेन्ज' मेलाको आयोजना गरेको छ । असोज १२ गते देखि असोज १८ गतेसम्म सञ्चालन हुने उक्त मेलाको उद्घाटनसँगै टीभिएसका दुई नयाँ मोडल- एन्टोर्क १५० र एपाचे आरटीआर २०० ४भी युएसडीसहितको प्रोजेक्टर हेडल्याम्प मोटरसाइकलको अनावरण गरिएको छ । कार्यक्रममा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियार, निर्देशक दीपा अग्रवाल, टीभिएस इन्डियाका एसिया रिजनल बिजनेस हेड अनुभव बाली तथा ब्रान्ड म्यानेजर प्रसाद सुन्दरमले नयाँ सवारी साधनहरूको संयुक्त रूपमा अनावरण गरेका थिए । आगामी दशैं-तिहारलाई लक्षित गर्दै प्रिमियम र रेसिङ डीएनमा आधारित एन्टोर्क १५० को मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ र अपसाइड-डाउन फोर्क तथा प्रोजेक्टर हेडल्याम्पयुक्त नयाँ एपाचे आरटीआर २०० ४भीको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ । उद्घाटन समारोहमा चर्चित कलाकार व्योमाको सांगीतिक प्रस्तुति, लो मान्थाङ विशेष भिडियो र रोमाञ्चक स्टन्ट शोले भृकुटीमण्डपको माहोल ऊर्जामय बनाएको थियो । कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवाल र टीभिएसका एसिया रिजनल बिजनेस हेड अनुभव बालीले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय प्रविधि र पर्फर्मेन्स उपलब्ध गराउन दुवै मोडल कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे । मेलामा ग्राहकका लागि पुरानो दुईपाङ्ग्रे सवारी साधनको उच्चतम मूल्याङ्कनका लागि ५० भन्दा बढी भ्यालुएटरहरू खटाइएको छ । साथै १०० प्रतिशत क्यासब्याक, १० लाखसम्मको नगद छुट वा गोल्ड की जित्ने अवसर, नागरिकता र लाइसेन्सकै आधारमा सरल फाइनान्स, र दैनिक दुई जनालाई ५ वर्षसम्म निःशुल्क सर्भिस जस्ता सुविधाहरू राखिएका छन् । जिमखाना स्टन्ट, टेस्ट राइड, गेम जोन र फुड स्टलसहित बिहान १० बजेदेखि साँझसम्म सञ्चालन हुने यो मेलाले चाडपर्वको माहौललाई अझ विशेष बनाउने अपेक्षा गरिएको छ ।
सुनचाँदी आयात तथा बिक्री-वितरणका समस्या सल्टाउन बैंक, व्यवसायी र राष्ट्र बैंक एकै ठाउँमा
काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा जारी सुनचाँदीको आयात तथा बिक्री-वितरणसम्बन्धी कार्यविधिको कार्यान्वयनका क्रममा वाणिज्य बैंक तथा व्यवसायीहरूले भोगिरहेका व्यावहारिक कठिनाइ र चुनौतीबारे छलफल गर्न बैंक-व्यवसायी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनासको अध्यक्षतामा मंगलबार महासंघको सचिवालयमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रतिनिधि, नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत, विभिन्न वाणिज्य बैंकका विभागीय प्रमुखहरू तथा महासंघका पदाधिकारीहरूको सहभागिता रहेको थियो । महासंघका सचिव केशरबहादुर विश्वकर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा व्यवसायीहरूले बैंकबाट सुन खरिद गर्दा अपनाउनुपर्ने झन्झटिलो प्रक्रिया, आवश्यक कागजात, भुक्तानी व्यवस्था, भन्सार दर तथा सुनको मूल्यमा हुने उतार-चढावले बजारमा पारेको नकारात्मक प्रभावबारे ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा बैंकका प्रतिनिधिहरूले सुन बिक्री-वितरणसम्बन्धी नियामकीय प्रक्रिया, मूल्य व्यवस्थापन र अभिलेखीकरणबारे स्पष्ट पार्दै व्यवसायीहरूसँगको समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । नेपाल राष्ट्र बैंकका उपनिर्देशक यज्ञ श्रेष्ठ र नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले व्यवसायीहरूले उठाएका समस्या र प्राप्त सुझावहरूलाई नियामक निकायसमक्ष पुरÞ्याई समाधानका लागि पहल गर्ने आश्वासन दिए । महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्माले धन्यवाद ज्ञापन गर्दै समापन गरेको अन्तरक्रियामा पछिल्लो समय सुनचाँदी बजारमा देखिएको सुस्तता अन्त्य गर्न तथा बजारलाई चलायमान बनाउन सुनचाँदीमा लाग्ने भन्सार महसुल र अन्य करका दरहरू छिमेकी राष्ट्रहरूसँग प्रतिस्पर्धी हुने गरी घटाउन सरकारसमक्ष पुनः पहल गर्ने निष्कर्ष निकालिएको छ ।
बजाज चेतकले ल्यायो चाडपर्व लक्षित अफर, १ लाखसम्म क्यासब्याक र ५ वर्षे वारेन्टी
काठमाडौं । नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आसन्न चाडपर्वलाई लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ । दशैंदेखि छठसम्म लागू हुने यो सीमित अवधिको अफर ग्राहकहरूलाई स्वच्छ तथा प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा सहजै जोड्ने उद्देश्यले ल्याइएको हो । यस अभियानअन्तर्गत बजाज चेतकका कुनै पनि मोडल खरिद गर्दा ग्राहकहरूले ५ प्रतिशत ब्याजदरमा ईएमआई फाइनान्सिङ, १ लाखसम्मको क्यासब्याक, ५ वर्षको वारेन्टी, ५ वर्षसम्म ईएमआई भुक्तानी सुविधा र निःशुल्क प्रिमियम एसेसरिज गरी पाँचवटा विशेष सुविधाहरू प्राप्त गर्नेछन् । नयाँ योजनाबारे जानकारी दिँदै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले चाडपर्वको अवसरमा ग्राहकहरूलाई आर्थिक रूपमा सहज र झन्झटरहित सुविधा प्रदान गर्न यो अफर ल्याइएको बताए । शून्य प्रतिशत ब्याज, आकर्षक क्यासब्याक र दीर्घकालीन वारेन्टीजस्ता सुविधाहरूले गर्दा चालकहरूले कुनै पनि दुविधाबिना ढुक्क भएर स्मार्ट तथा वातावरणमैत्री यात्रा रोज्न सक्ने विश्वास कम्पनीले लिएको छ । क्लासिक डिजाइन, आधुनिक पर्फर्मेन्स र स्मार्ट कनेक्टिभिटीका कारण नेपाली बजारमा भरपर्दो इलेक्ट्रिक स्कुटरका रूपमा स्थापित चेतकको यो फेस्टिभ फाइभ अफर देशभरका सबै आधिकारिक बजाज तथा चेतक शोरुमहरूमा छठसम्म उपलब्ध रहनेछ ।
इन्जिनियर बनेर छिरे, सचिव बनेर निस्किए सिग्देल
काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल अनिवार्य अवकाशमा गएका छन् । उनी २८ वर्ष ५ महिनाको निजामती सेवापछि मंगलबार (आज)देखि अनिवार्य अवकाशमा गएका हुन् । सिग्देलको सम्मानमा मन्त्रालयको सभाहलमा आयोजित बिदाइ कार्यक्रममा मन्त्री सुनिल लम्सालसहित मन्त्रालयका कर्मचारीहरूले उनको लामो राष्ट्रसेवा र योगदानको स्मरण गर्दै आगामी जीवन सुख, शान्ति, सुस्वास्थ्य र सफलताको शुभकामना व्यक्त गरे । सिग्देल २०५५ साल वैशाख १५ गते सिँचाइ विभागमा इन्जिनियरका रूपमा निजामती सेवामा प्रवेश गरेका थिए । त्यसपछि सिडिई (उपसचिव) र सहसचिव हुँदै उनले २०७८ साल असोज १४ गते सचिवको जिम्मेवारी सम्हालेका थिए । निजामती सेवाका क्रममा उनले सिँचाइ, सडक, सहरी विकास तथा पूर्वाधार विकासका विभिन्न क्षेत्रमा जिम्मेवारी निर्वाह गरे । राष्ट्रिय गौरवका आयोजनादेखि जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका भौतिक पूर्वाधार तथा सिँचाइसम्बन्धी विकास निर्माणका काममा उनले योगदान पुर्याएका थिए । आफ्नो सेवाकालमा विकास निर्माणमार्फत जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्न सकेकोमा आत्मसन्तुष्टि मिलेको सिग्देलले बताएका छन् । तनहुँमा जन्मिएका सिग्देलको बाल्यकाल तथा एसएलसीसम्मको अध्ययन बर्दियामा भएको थियो । उनले त्रिचन्द्र कलेजबाट आईएस्सी, पुल्चोक इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा जर्मनीबाट वाटर रिसोर्सेज विषयमा स्नातकोत्तर अध्ययन गरेका हुन् । बिदाइ कार्यक्रममा कर्मचारीहरूले सिग्देलको सरल व्यवहार, समर्पण र राष्ट्रसेवाको प्रशंसा गर्दै सेवानिवृत्त जीवन सुखमय रहोस् भन्ने शुभकामना दिएका थिए ।
देउवा आए १५औं महाधिवेशनको उद्घाटन सत्रको अध्यक्षता गर्नुहुन्छ : राणा
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले केही नेता तथा कार्यकर्ताले महाधिवेशन प्रक्रियामा सहभागी नहुँदैमा पार्टी विभाजन भएको भन्न नमिल्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै राणाले असन्तुष्ट पक्षले राखेका माग सम्बोधन गर्न पार्टीले अधिकतम लचकता अपनाएको दाबी गरे । उनले नेता डा. शेखर कोइरालाले राखेका सातबुँदे र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले राखेका पाँचबुँदे माग सम्बोधन भइसकेको बताए । उनका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्ने, १४औं महाधिवेशनको सूचीमा रहेका सदस्यलाई कायम राख्ने तथा पुराना केन्द्रीय सदस्यलाई समायोजन गर्नेलगायत मागमा पार्टी सहमत भइसकेको छ । राणाले पार्टीबाट केही नेता तथा कार्यकर्ता टाढिएर महाधिवेशनमा सहभागी नभएको विषयलाई पार्टी विभाजनका रूपमा बुझ्न नहुने बताए । ‘पार्टी फुट्ने त कुरै आएन । हामी महाधिवेशन गरिरहेका छौं । कतिपय नेता तथा क्रियाशील सदस्य साथीहरू अधिवेशनमा भाग मात्र नलिएको हो । अहिले पार्टी हामी एउटै छौं,’ उनले भने । राणाले पूर्वसभापति शेरबहादुर देउवा १५औं महाधिवेशनमा सहभागी हुन आए उद्घाटन सत्रको अध्यक्षता गराउन पार्टी तयार रहेको बताए । ‘शेरबहादुर दाइ आइदिनुभयो भने त्यो अधिवेशनको उद्घाटन उहाँले नै गर्नुहुन्छ । त्योभन्दा बढी हामीले के गर्ने ? घाँटी नै काटेर दिन चाहिँ अलि गाह्रो होला, तर अरू सबै हामीले दिइसक्यौँ भन्ने मलाई लाग्छ,’ उनले भने । तर विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान नेतृत्वले आफ्नो पद छाडेर पुनः पुरानै नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्न नसक्ने उनले स्पष्ट पारे । ‘अब विशेष महाधिवेशनबाट आएको नेतृत्वले सबै कुर्सी छोडेर उहाँहरूलाई फेरि स्वागत गरेर तपाईंहरू नै कुर्सीमा बस्नुस् भन्न हामी सक्दैनौं,’ राणाले भने । उनले महाधिवेशनको तयारीमा ‘गिभ एन्ड टेक’ हुने भए पनि यसपटक असन्तुष्ट पक्षका माग सम्बोधन गर्न पार्टीले आफ्नो तर्फबाट अधिकतम लचकता अपनाएको दाबी गरे । यसैबीच, राणाले सरकार सेवा प्रवाहमा भन्दा सामाजिक सञ्जालमा बढी सक्रिय रहेको आरोप लगाए । सरकारका गतिविधि र कार्यशैलीमा परिपक्वताको अभाव देखिएको उनको टिप्पणी थियो ।