विकासन्युज

यी हुन् मन्त्रिपरिषद बैठकका ६ मुख्य निर्णय

काठमाडौं । मंगलबार (आज) बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ ।  बैठकले विभिन्न ६ निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू : १. अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ अमेरिकी डलर मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने । २. पूर्वपश्चिम राजमार्ग अन्तर्गतको कमला–ढल्केश्वर पतलैया सडकखण्ड, गर्जनखोला साना जलविद्युत् आयोजना, बलेफीखोला जलविद्युत् आयोजना र सशस्त्र प्रहरी बल, नेपाल कार्यालयलाई तालिम शिक्षालय गुल्महरू तथा सीमा सुरक्षा पोस्ट निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने । ३. पशु, बधशाला र मासु जाँच ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद् समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने । ४. संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद् समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने । ५. अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद् समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने । ६. नेपाल प्रशासन सेवा, समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा सहसचिव आभा श्रेष्ठ कर्णलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको प्रमुख सचिव पदमा र नेपाल इन्जिनियरिङ सेवा समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा डा. जगदीश्वर कर्मचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने ।

सचिवमा आभा कर्ण बढुवा

काठमाडौं । सरकारले सचिवमा सहसचिव आभा कर्णलाई बढुवा गरेको छ ।मंगलबार (आज) बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । आभा मधेश प्रदेशमा कार्यरत थिइन् । यसअघि बढुवा समितिले कर्णसँगै चक्रबहादुर बुढा र जयनारायण आचार्यको नाम पनि सिफारिस गरेको थियो ।

निमा गिरी कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सहमहामन्त्री तथा प्रदेशसभा सदस्य निमा गिरी १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएकी छन् । प्युठानबाट खुला महिला क्लस्टरतर्फ गिरीको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएकी हुन् । कांग्रेसको विशेष महाधिवेशनमा समेत सहभागी गिरीले त्यतिबेला महाधिवेशन सञ्चालनमा समेत जिम्मेवारी सम्हालेकी थिइन् । पार्टीको लुम्बिनी प्रदेश संगठनमा सक्रिय गिरी हाल प्रदेशसभा सदस्यसँगै प्रदेश सहमहामन्त्रीको भूमिकामा छिन् । महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएसँगै गिरीले अब कांग्रेसको १५औँ महाधिवेशनमा प्युठानबाट प्रतिनिधित्व गर्नेछिन् ।

७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर

काठमाडौं । कर्जा प्रवाहका क्रममा व्यवसायीहरूसँग ७४ लाख रुपैयाँ घुस लिएको अभियोग लागेका नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी दोषी ठहर भएका छन् । विशेष अदालतले सोमबार (असोज १२ गते) अधिकारीलाई दोषी ठहर गरेको हो ।  विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले ती मुद्दामा फैसला गरेको हो । कर्जा प्रवाहमा तीन व्यवसायीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठमा अधिकारीलगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अधिकारीसँग सम्बन्धित ६ वटा छुट्टाछुट्टै मुद्दा दायर भएका थिए । . विशेष अदालतका अनुसार छवटा मुद्दामध्ये दुईवटामा दोषी ठहर, दुईवटामा आंशिक ठहर र दुईवटामा सफाइको फैसला भएको छ । यसै मुद्दामा प्रतिवादी बनाइएका सुमित्राकुमारी घिमिरे र ईश्वरीप्रसाद गौतमले भने सफाइ पाएका छन् । ऋणीसँग घुस लिने नेपाल बैंकका अध्यक्ष अधिकारीविरुद्ध मुद्दा दर्ता

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर । जनस्वास्थ्य कार्यालय, ललितपुरले गरेको वार्षिक स्वास्थ्य सेवा मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम भएको छ । जनस्वास्थ्य कार्यालयले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा समीक्षा कार्यक्रममा ललितपुर जिल्लाका १५ वटा निजी अस्पताल सहभागी भएका थिए । कार्यक्रममा अस्पतालहरूले वर्षभरि प्रवाह गरेका स्वास्थ्य सेवासम्बन्धी तथ्यांक प्रस्तुत गरेका थिए । वार्षिक समीक्षाका क्रममा विभिन्न स्वास्थ्य सेवा सूचकका आधारमा अस्पतालहरूको सेवा प्रवाह र कार्यसम्पादन मूल्यांकन गरिएको थियो । उक्त मूल्यांकनमा किष्ट शिक्षण अस्पतालले उत्कृष्ट प्रदर्शन गर्दै सहभागी निजी अस्पतालमध्ये पहिलो स्थान हासिल गरेको हो । स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न स्वास्थ्य सेवा सूचकमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै जनस्वास्थ्य कार्यालय, ललितपुरले अस्पताललाई प्रशंसापत्र प्रदान गरेको छ । अस्पतालका अनुसार प्राप्त सम्मान गुणस्तरीय स्वास्थ्य सेवा, प्रभावकारी व्यवस्थापन र तथ्यमा आधारित सेवा प्रणालीलाई प्राथमिकता दिँदै आएको प्रयासको मान्यता हो । यस उपलब्धिले स्वास्थ्य सेवाप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको अस्पतालले जनाएको छ । ग्वार्को, ललितपुरमा रहेको किष्ट शिक्षण अस्पताल सन् २००६ मार्च २३ देखि सञ्चालनमा छ । करिब दुई दशकदेखि स्वास्थ्य सेवा दिँदै आएको अस्पतालले जटिल तथा गम्भीर अवस्थाका बिरामीका लागि विशेषज्ञ चिकित्सकीय सेवा, उन्नत प्रविधि र आधुनिक उपचार सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । अस्पतालले आगामी दिनमा पनि गुणस्तरीय, विश्वसनीय तथा सेवाग्राहीमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि प्राप्त सशर्त अनुदान रकम फिर्ता नगरेको, पेश्की रकम फर्छ्यौट नगरेको तथा सरकारी सामानसमेत बरबुझारथ नगरी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरेको आरोपमा अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । अख्तियारका अनुसार आर्थिक वर्ष २०७६/७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि राइनास नगरपालिकाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट १६ लाख ७२ हजार रुपैयाँ सशर्त अनुदान पाएको थियो । उक्त रकम कार्यक्रम सञ्चालनमा प्रयोग नगरी फिर्ता गर्नुपर्नेमा तत्कालीन रोजगार संयोजक न्यौपानेले पेश्की लिई अन्य प्रतिवादीहरूको खातामा समेत रकम जम्मा गरेको र हालसम्म फर्छ्यौट नगरेको अख्तियारको अनुसन्धानबाट खुलेको जनाएको छ । त्यस्तै, न्यौपानेले नगरपालिकाबाट बुझेका एक थान ल्यापटप, एक थान प्रिन्टर र एक थान क्यामेरा कार्यालयबाट बर्खास्त भएपछि पनि बरबुझारथ नगरेको अख्तियारले जनाएको  छ। ती सामानको परल मूल्य १ लाख ६७ हजार २५६ रुपैयाँ रहेको छ । अख्तियारले न्यौपानेविरुद्ध १८ लाख ३९ हजार २५६ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना, कैद तथा बिगो असुलउपरको मागदाबी गरेको छ । त्यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी र तत्कालीन लेखापाल नवीनकुमार बरालविरुद्ध १६ लाख ७२ हजार रुपैयाँ बिगो कायम गरी सोहीअनुसार कैद, जरिवाना र बिगो असुलउपरको मागदाबी गरिएको छ । राइनास नगरपालिका वडा नम्बर १ का तत्कालीन वडा अध्यक्ष रमेश न्यौपानेविरुद्ध ८९ हजार १८५ रुपैयाँ, वडा नम्बर ४ का तत्कालीन वडा सदस्य ओजराज पौडेलविरुद्ध २ लाख ९९ हजार ६६२ रुपैयाँ, वडा नम्बर २ का तत्कालीन वडा अध्यक्ष जैमान गुरुङविरुद्ध १ लाख २४ हजार ८५९ रुपैयाँ र वडा नम्बर ५ का तत्कालीन वडा अध्यक्ष नन्दबहादुर कुमालविरुद्ध ८२ हजार ५० रुपैयाँ बिगो कायम गरिएको छ । त्यस्तै, वडा नम्बर ६ का तत्कालीन वडा अध्यक्ष रूकबहादुर तामाङ गुरुङविरुद्ध २ लाख ३९ हजार १६ रुपैयाँ, वडा नम्बर ७ का तत्कालीन वडा अध्यक्ष कृष्णप्रसाद लामिछानेविरुद्ध १ लाख २१ हजार २९२ रुपैयाँ र वडा नम्बर ८ का तत्कालीन वडा अध्यक्ष माधवप्रसाद पराजुलीविरुद्ध २ लाख ५३ हजार २८६ रुपैयाँ बिगो कायम गरी सजाय तथा बिगो असुलउपरको मागदाबी गरिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को सम्बन्धित दफाअनुसार आरोपपत्र दायर गरिएको हो । आरोपपत्रमा प्रतिवादीहरूबाट कुल ४७ लाख २० हजार ६०६ रुपैयाँ बिगो असुलउपरको मागदाबी गरिएको छ ।

म्यानमारको रखाइनमा हवाई हमला, ४९ जनाको मृत्यु

काठमाडौं । म्यानमारको रखाइन राज्यको क्याउक्ताव सहरमा भएको हवाई हमलामा परी मृत्यु हुनेको ४९ पुगेको छ । अराकान आर्मी (एए) का अनुसार हमलामा करिब ६० जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । बीबीसी न्युज बर्मिजका अनुसार स्थानीय स्रोतहरूले भग्नावशेषबाट शव निकाल्ने काम जारी रहेकाले मृतकको संख्या ५८ सम्म पुग्न सक्ने दाबी गरेका छन् । क्याउक्तावस्थित किस्सापनादी पुल क्षेत्र र भारतीय बजार आसपासमा हवाई हमला भएको बताइएको छ । अराकान आर्मीले हमलाका लागि म्यानमारको सेनालाई जिम्मेवार ठहर गर्दै निन्दा गरेको छ । साथै उसले जवाफी कारबाही गर्ने चेतावनीसमेत दिएको छ । यता, सेना समर्थक टेलिग्राम च्यानलहरूले भने मारिनेहरू अराकान आर्मीका सदस्य रहेको दाबी गरेका छन् । यी दाबीको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । यो घटना पछिल्ला केही महिनामा रखाइन राज्यमा सर्वसाधारणमाथि भएका सबैभन्दा घातक हमलामध्ये एक मानिएको छ ।

मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद बैठक सुरु भएको छ ।  बैठक मंगलबार (आज) अपरान्ह पौने ४ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको हो । ३ बजे बस्ने भनिएको बैठक ढिलागरी सुरु भएको हो । बैठकले महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।