विकासन्युज

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् । समितिका अनुसार लालपुर्जा प्राप्त गर्ने यी परिवारहरू २०४७ सालदेखि सो क्षेत्रमा बसोबास गर्दै आएका थिए । लामो समयदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका उनीहरूले आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गरेका हुन् । समितिले सार्वजनिक गरेको विवरणअनुसार केही जग्गा आवास प्रयोजनका लागि र केही जग्गा कृषि प्रयोजनका लागि छन् । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो ।

भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहसँग गरे बिदाइ भेट

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन्द्र शाहसँग बिदाइ भेट गरेका छन् । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका श्रीवास्तवले मंगलबार (आज) बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगी प्रधानमन्त्री शाहसँग भेट गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतबीचको सम्बन्ध सधैं सुमधुर र प्रगाढ रहँदै आएको बताए । उनले हालैको बाढीपहिरो तथा विपद्को समयमा भारत सरकारले पु‍र्याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गरे । भेटका अवसरमा सम्माननीय प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल सम्पन्न गरेकोमा बधाई दिँदै आगामी जीवनका लागि शुभकामना समेत व्यक्त गरे । सो भेटघाटका क्रममा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीच थुप्रै विकास परियोजनाहरू सम्पन्न भएको जानकारी गराउँदै नेपाल बसाइका क्रममा सहयोग पु‍र्याउने नेपाल सरकार र नेपाली जनतालाई विशेष धन्यवाद व्यक्त गरेका थिए । नेपालमा आफ्नो कार्यकाल पूरा गरी श्रीवास्तव भारत फर्किन लागेका हुन् ।

जीपीटी–६.१ अस्ट्रा तत्काल नआउने, देखियो यस्तो समस्या

काठमाडौं । च्याटजीपीटी बनाउने कम्पनी ओपनएआईले नेक्स्ट–जेन एआई मोडल जीपीटी–६.१ अस्ट्रा तत्काल सार्वजनिक नगर्ने पुष्टि गरेको छ । कम्पनीका अनुसार उक्त मोडल सुरक्षा र विश्वसनीयताका लागि तय गरिएका मापदण्डमा पूर्ण रूपमा खरो उत्रिन नसकेकाले तत्काल सार्वजनिक नहुने भएको हो । ओपनएआईकी सेफ्टी सिस्टम्स प्रमुख साची जैनले उक्त एआई मोडलले आफैं इन्टरनेट ब्राउज गर्ने र एपहरू प्रयोग गर्नेजस्ता काम गर्न सक्ने भए पनि यसको कार्यसम्पादन कम्पनीको अपेक्षाअनुसार हुन नसकेको बताइन् । उनका अनुसार मोडलले आफूले कुन सीमाभित्र र कति अधिकार प्रयोग गरेर काम गर्नुपर्ने हो भन्ने बुझ्न कठिनाइ देखाएको थियो । त्यस्तै, मोडलले आफूले गरेका कामबारे प्रयोगकर्तालाई कति सही र पारदर्शी जानकारी दिन्छ भन्ने विषय पनि स्पष्ट हुन नसकेको उनले बताइन् । साची जैनले भनिन्, ‘हामी हाम्रा मोडलहरूको विकास पूर्ण रूपमा सुरक्षित होस् भन्ने चाहन्छौं । तर कुनै मोडल सर्वसाधारणका लागि सार्वजनिक गर्दा सुरक्षा र जिम्मेवार व्यवहारका विषयमा हाम्रो मापदण्ड निकै उच्च हुन्छ ।’ पछिल्ला केही सातामा ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यान र एन्थ्रोपिकका प्रमुख डारियो अमोडेईसहित एआई क्षेत्रका विभिन्न दिग्गजहरूले तीव्र गतिमा भइरहेको एआई विकासप्रति चिन्ता व्यक्त गर्दै उद्योगलाई सतर्क भएर अघि बढ्न आग्रह गरेका छन् ।

असोज १८ मा कांग्रेस महाधिवेशन उद्घाटन, केही क्षेत्रमा प्रतिनिधि चयन अझै बाँकी

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ । यसअघि महाधिवेशन उद्घाटन असाेज १६ गते खुलामञ्जमा हुने तयारी थियाे । कांग्रेस केन्द्रीय कार्यालयले मंगलबार (आज) जारी गरेको विज्ञप्तिअनुसार उद्घाटन समारोह दिउँसो २ बजे हुनेछ । कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन् । त्यसपछि प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशनको प्रक्रिया अघि बढिरहेको पार्टीले जनाएको छ । तर, विभिन्न स्थानमा परेको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएको कांग्रेसले जनाएको छ । त्यस्ता क्षेत्रमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अझै जारी रहेको पार्टीको भनाइ छ । निर्वाचन समिति तथा पार्टीका तहगत कार्यसमितिबाट प्राप्त जानकारीलाई आधार बनाउँदै कांग्रेसले केही स्थानमा प्रतिनिधि चयनको काम बाँकी रहे पनि महाधिवेशन उद्घाटन समारोह निर्धारित मितिमै गर्ने निर्णय सार्वजनिक गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस परिस्थितिलाई मध्यनजर गरी १५औं महाधिवेशन उद्घाटन समारोह २०८३ असोज १८ गते २ बजे खुलामञ्चमा हुने’ जानकारी गराइएको छ । यससँगै कांग्रेसको १५औं महाधिवेशनको औपचारिक उद्घाटनको मिति तय भएको छ । यद्यपि, केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया भने उद्घाटनअघि नै पूरा गर्नुपर्ने अवस्था देखिएको छ ।

नेशनल लाइफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धिका लागि आयोजना गरेको चारदिने कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । नेपालगञ्जस्थित होटल सिद्धार्थमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारी गरी ३०० भन्दा बढीको सहभागिता रहेको थियो । कम्पनीकी अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारीलाई प्राविधिक रूपमा सक्षम बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल प्रविधिसम्बन्धी तालिमलाई प्राथमिकता दिने बताइएको थियो । कर्मचारीको क्षमता अभिवृद्धिले कम्पनीको व्यवसाय विस्तारमा समेत सहयोग पुग्ने अध्यक्ष सिंहले बताइन् । कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने सात जना कर्मचारीलाई ‘बेस्ट इम्प्लोई अवार्ड–२०८३’ प्रदान गरिएको थियो । सम्मानित हुनेमा शिवेश ठाकुर, गीता कुमारी थिङ, रुक्मणी कुमारी शर्मा, अनिल श्रेष्ठ, सुवासमणि पोखरेल, प्रमिला मल्ल र विष्णुजंग शाही रहेका छन् । उनीहरूलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले ग्राहकलाई सरल, छिटो र सम्मानजनक सेवा दिनुपर्नेमा जोड दिए । उनले संस्थाका नीति तथा नियमको पालना र कामप्रतिको जवाफदेहितालाई संस्थागत संस्कारका रूपमा विकास गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बीमाको माध्यमबाट हुनसक्ने सम्पत्ति शुद्धीकरणका गतिविधिप्रति सचेत रहन कर्मचारीलाई आग्रह गरे । प्रशिक्षक विश्वराज पौडेलले एआईको प्रयोगसम्बन्धी व्यावहारिक प्रशिक्षण दिए भने संजोग कोइरालाले कर्मचारीको व्यवहार र आचरणले संस्थाको पहिचानमा पार्ने प्रभावबारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा कर्मचारीको सिर्जनात्मकता, नेतृत्व क्षमता, सहकार्य र कार्यसम्पादन बढाउने उद्देश्यले विभिन्न अतिरिक्त गतिविधि पनि सञ्चालन गरिएको थियो । सातै प्रदेशबाट सहभागी कर्मचारीले दैनिक कार्यसँग सम्बन्धित विषयमा नाटक प्रस्तुत गरेका थिए । त्यस्तै, विभागीय प्रमुखसँग प्यानल छलफल, कर्मचारीबीच परीक्षा तथा फुटसल, टेबल टेनिस र टग अफ वारलगायत खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो। विजेता टोली तथा खेलाडीलाई पुरस्कार र सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रमको अन्तिम दिन कर्मचारीलाई मनोरञ्जन तथा विश्रामका लागि कर्णाली चिसापानी भ्रमणसमेत गराइएको थियो । कम्पनीले चारदिने कार्यक्रमले कर्मचारीको प्राविधिक ज्ञान, व्यावसायिक दक्षता, नेतृत्व क्षमता, व्यवहार र संस्थागत कार्यसंस्कृति विकासमा सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ ।

हिमालय एअरलाइन्सको काठमाडौं–सांघाई उडान पुनः सञ्चालन

काठमाडौं । हिमालय एअरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं सिधा उडान सेवा पुनः सुरु गरेको छ। एअरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं र चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच सोमबारदेखि नियमित उडान सुरु गरेको हो । हिमालय एअरलाइन्सको काठमाडौंबाट सांघाई जाने पहिलो उडान सेप्टेम्बर २८ मा साँझ ७ः११ बजे प्रस्थान गरी सेप्टेम्बर २९ बिहान २ः३६ बजे सांघाई पुगेको थियो । त्यस्तै, सांघाईबाट काठमाडौं आउने उडान सेप्टेम्बर २९ बिहान ४ः३६ बजे प्रस्थान गरी सोही दिन बिहान ८ः१३ बजे काठमाडौं आइपुगेको थियो । एअरलाइन्सले प्रारम्भिक चरणमा यस रुटमा सातामा दुईवटा उडान सञ्चालन गर्ने जनाएको छ । काठमाडौं–सांघाई उडान सोमबार र शुक्रबार तथा सांघाई–काठमाडौं उडान मंगलबार र शनिबार सञ्चालन हुनेछ । यात्रुको माग र यात्रु चापअनुसार आगामी दिनमा उडान संख्या थप गर्ने एअरलाइन्सले जनाएको छ । उडान पुनः सुरु भएसँगै हिमालय एअरलाइन्स काठमाडौं–सांघाई–काठमाडौं रुटमा नियमित सिधा उडान सञ्चालन गर्ने एकमात्र वायुसेवा कम्पनी बनेको जनाएको छ । एअरलाइन्सका अनुसार सिधा उडानले नेपाल र चीनबीच पर्यटन, व्यापार तथा जनस्तरको सम्पर्कलाई थप सहज बनाउनेछ । मुख्य पर्यटन सिजनको सुरुवातसँगै उडान पुनः सञ्चालन हुँदा चीनबाट नेपाल आउने पर्यटकको संख्या बढ्ने र पर्यटन तथा आतिथ्य क्षेत्रमा समेत सहयोग पुग्ने अपेक्षा एअरलाइन्सले गरेको छ । हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौं–सांघाई उडानले नेपाल र चीनबीचको सम्बन्ध, पर्यटन तथा व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने बताए । उनले यात्रुलाई सुरक्षित र गुणस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गरे । काठमाडौं–सांघाई–काठमाडौं उडानको टिकट एअरलाइन्सका टिकट काउन्टर, आधिकारिक ट्राभल साझेदार, आधिकारिक वेबसाइट तथा मोबाइल एपबाट बुक गर्न सकिने एअरलाइन्सले जनाएको छ ।

निजामती विधेयक आएन, अध्यादेशको आशंकाले संसदमा प्रश्न

काठमाडौं । सरकारले ४५ दिनभित्र संसदमा ल्याउने घोषणा गरेको संघीय निजामती सेवा विधेयक चालु अधिवेशन सकिन लाग्दासमेत प्रतिनिधिसभामा प्रवेश नगरेपछि सरकारको तयारीमाथि संसदमै प्रश्न उठेको छ । विधेयक संसद्बाट पारित गराउने तयारी हो वा अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत निजामती सेवा कानुन ल्याउने तयारी हो भन्ने विषयमा सांसदहरूले सरकारसँग जवाफ मागेका छन् । सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्ययोजनामा संघीय निजामती सेवा विधेयकलाई प्राथमिकतामा राख्दै ४५ दिनभित्र अघि बढाउने प्रतिबद्धता जनाएको थियो । तर, तोकिएको समय बितिसक्दा पनि विधेयक प्रतिनिधिसभामा पेस हुन सकेको छैन । यही विषयलाई लिएर प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सरकारको प्राथमिकता र विधेयक अघि बढाउने प्रक्रियामाथि प्रश्न उठाएका हुन् । नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले संसद् चलिरहेका बेला महत्वपूर्ण कानुन अध्यादेशमार्फत ल्याउने तयारी भए त्यसले संसद्को भूमिकामाथि प्रश्न उठाउने बताइन् । ‘निजामती सेवा ऐन अध्यादेशबाट ल्याउने कुरा गरिएको छ । यो असाध्यै नराम्रो छ। संसद् छलेर किन निजामती ऐन अध्यादेशबाट ल्याउन खोजियो ?’ उनले प्रश्न गरिन् । संसद्को चालु अधिवेशन अन्त्यको तयारी भइरहेका बेला निजामती विधेयक संसद्मा नआएको हो । प्रतिनिधिसभाको कार्यतालिका यसअघि असोज १५ गतेसम्मका लागि निर्धारण गरिएको थियो । पछि एक दिन थप गरी असोज १६ गतेसम्म बैठक सञ्चालन गर्ने क्यालेन्डर बनाइएको छ । अधिवेशन अन्त्यअघि नै महत्वपूर्ण विधेयक अघि बढ्न नसकेको विषयमा सांसदहरूले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले संघीय निजामती सेवा विधेयकसँगै विद्यालय शिक्षा विधेयकसमेत संसद्मा आउन नसकेको विषय उठाइन् । सरकारका प्राथमिकतामा रहेका विधेयकहरू नै संसद्मा पेस हुन नसक्नुको कारण स्पष्ट हुनुपर्ने उनको भनाइ थियो । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले पनि सरकारको प्राथमिकतामाथि प्रश्न उठाए । सरकारले घोषणा गरेका प्राथमिकता र संसदमा भइरहेको विधेयक प्रक्रियाबीच मेल नदेखिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । एमालेका सांसद पुष्पराज कँडेलले भने सरकार अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजिरहेको हो कि भन्ने प्रश्न गरे । संसद् अधिवेशन चलिरहेको अवस्थामा विधेयक ल्याएर छलफल र निर्णयको प्रक्रिया अघि बढाउनुपर्नेमा अध्यादेशको बाटो रोज्ने तयारी भए त्यसबारे सरकारले स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो । संघीय निजामती सेवा विधेयक संघीय संरचनाअनुकूल निजामती प्रशासन सञ्चालनका लागि आवश्यक कानुनी आधार निर्माण गर्ने महत्वपूर्ण विधेयक हो । कर्मचारीको नियुक्ति, सेवासर्त, अवकाश, बढुवा तथा संघ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक व्यवस्थापनसँग सम्बन्धित विषय यस विधेयकसँग जोडिएका छन् । विधेयकमा प्रस्तावित अनिवार्य अवकाश, सेवाअवधि र पेन्सनलगायत व्यवस्थामा लोकसेवा आयोगले समेत फरक मत राख्दै सरकारलाई राय दिएको छ । त्यसका कारण पनि विधेयकलाई अन्तिम रूप दिन सरकारमाथि दबाब रहेको छ । तर, संसद्को अधिवेशन अन्त्यको तयारी भइरहँदा विधेयक प्रतिनिधिसभामा पेस हुन नसकेपछि यसको आगामी प्रक्रिया थप अन्योलमा परेको छ । अब सरकारले विधेयक संसदमा नै ल्याएर अघि बढाउँछ वा अधिवेशन अन्त्यपछि अध्यादेशको बाटो रोज्छ भन्ने विषयमा सांसदहरूको चासो केन्द्रित भएको छ । सांसदहरूले भने संसद् अधिवेशन चलिरहेका बेला महत्वपूर्ण कानुन निर्माणको प्रक्रिया संसद्बाटै अघि बढाउनुपर्नेमा जोड दिएका छन् । अध्यादेशमार्फत कानुन ल्याउने तयारी भए त्यसको औचित्य सरकारले स्पष्ट पार्नुपर्ने उनीहरूको माग छ ।

२० वर्ष कैद सजाय भएका फरार कैदी पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका फरार कैदी राजकुमार श्रेष्ठ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार काठमाडौं महानगरपालिका–९ स्थायी ठेगाना भएका ६० वर्षीय श्रेष्ठलाई काठमाडौं महानगरपालिका–३१ भिमसेनगोलाबाट पक्राउ गरिएको हो । श्रेष्ठले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका थिए । उनले २०६५ कात्तिक ११ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका थिए । प्रहरीका अनुसार २०८२ भदौ २४ गते भएको आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए। त्यसपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएको विशेष सूचनाका आधारमा सीआईबीबाट खटिएको टोलीले उनलाई २०८३ असोज १३ गते पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय सुन्धारा पठाइएको सीआईबीले जनाएको छ । सीआईबीले आफ्नो टोलछिमेकमा अपराध गरी लुकेर बसेका व्यक्तिबारे जानकारी भए प्रहरीलाई सूचना दिनसमेत आग्रह गरेको छ ।