पोखरा फाइनान्सका ग्राहकलाई जेनस अस्पतालमा २० प्रतिशत छुट
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका ग्राहकले बुटवल–८, सुखानगरस्थित जेनस हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउने भएका छन् । सम्झौताअनुसार पोखरा फाइनान्सका खातावालाले जेनस अस्पतालमा उपचार तथा स्वास्थ्यसम्बन्धी सेवा लिँदा पोखरा फाइनान्सको डेबिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गरेमा उपलब्ध सबै सेवामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई थप सुविधा तथा लाभ उपलब्ध गराउने उद्देश्यले गरिएको उक्त सहकार्यबाट पोखरा फाइनान्सका खातावालाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास फाइनान्सले व्यक्त गरेको छ । पोखरा फाइनान्सले हाल ३८ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ, सीआईएसलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । साथै, फाइनान्सले मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडलगायतका डिजिटल बैंकिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।
इसेवाबाट किस्ताबन्दीमा विद्युतीय स्कुटर किन्न सकिने
काठमाडौं । इसेवाले ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक गरेको छ । यो सेवामार्फत ग्राहकले इसेवा एपबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन् । यसका लागि इसेवा, रिलायन्स फाइनान्स र विद्युतीय स्कुटर बिक्रेता परिमिता इन्भेष्टमेन्टबीच त्रिपक्षीय साझेदारी भएको छ । असोज ८ गते इसेवाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा साझेदारी पत्रमा हस्ताक्षर गरिएको हो । साझेदारीअनुसार परिमिताका विद्युतीय स्कुटर खरिद गर्न इसेवा प्लेटफर्ममार्फत ‘बाइ नाउ, पे लेटर’ सुविधा लिन सकिनेछ । रिलायन्स फाइनान्सले वित्तीय साझेदारका रूपमा कर्जा उपलब्ध गराउनेछ भने परिमिताले विद्युतीय स्कुटर उपलब्ध गराउनेछ । रिलायन्स फाइनान्सले यस सेवाअन्तर्गत ९.९९ प्रतिशत ब्याजदरमा अधिकतम २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा उपलब्ध गराउनेछ । ग्राहकले उक्त कर्जा अधिकतम ३६ महिनासम्मको किस्तामा भुक्तानी गर्न सक्नेछन् । इसेवाका अनुसार ग्राहकले स्कुटर खरिदका लागि आवश्यक प्रक्रिया इसेवा एपबाटै पूरा गर्न सक्नेछन् । यसले एकैपटक ठूलो रकम भुक्तानी गर्नुपर्ने अवस्थालाई सहज बनाउने कम्पनीको भनाइ छ । इसेवाले डिजिटल माध्यमबाट वित्तीय सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले नयाँ सेवा ल्याएको जनाएको छ । विद्युतीय स्कुटर खरिदलाई सहज बनाउने यो सेवाले विद्युतीय सवारीसाधनको प्रयोग तथा दिगो यातायात प्रवर्द्धनमा समेत सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।
सेयर बजारमा ४ अर्ब ६५ करोडको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.६२ अंकले घटेर २६०३ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ६९ कम्पनीको सेयर मूल्य बढ्दा १९९ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३६३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टीलरीको भएको छ । हिमालयनको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै शिवम् सिमेन्टको १७ करोड, सिद्धार्थ बैंकको १६ करोड, गरिमा विकास बैंकको १५ करोड र हाथवे इन्भेष्टमेन्टको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेका अधिकांश उपसूचक घटेका छन् । कारोबारमा रहेका १३ उपसूचकमध्ये ११ वटा घट्दा दुई वटा उपसूचक बढेका छन् । सबैभन्दा धेरै ट्रेडिङ उपसूचक १.८७ प्रतिशतले घटेको छ । होटल तथा पर्यटन उपसूचक ०.६५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५० प्रतिशत, विकास बैंक ०.४५ प्रतिशत, म्युचुअल फन्ड ०.४३ प्रतिशत र माइक्रोफाइनान्स उपसूचक ०.५५ प्रतिशतले घटेका छन् । त्यस्तै जलविद्युत उपसूचक ०.५२ प्रतिशत, जीवन बीमा ०.३७ प्रतिशत, वित्त ०.३२ प्रतिशत, बैंकिङ ०.१३ प्रतिशत र लगानी उपसूचक ०.२२ प्रतिशतले घटेका छन् । कारोबारमा निर्जीवन बीमा र अन्य उपसूचक भने बढेका छन् । निर्जीवन बीमा उपसूचक ०.११ प्रतिशत र अन्य उपसूचक ०.१२ प्रतिशतले बढेको छ ।
दीपक मनाङे कांग्रेसको देउवा समूहमा, यस्तो छ उनको राजनीतिक यात्रा
काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन् । कांग्रेसको १५औं महाधिवेशनको तयारी भइरहेका बेला मनाङे इतर समूहमा जोडिएका हुन् । मंगलबार (आज) १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले गुरुङलाई पार्टीमा स्वागत गरेका हुन् । गुरुङलाई औपचारिक रूपमा कांग्रेसमा प्रवेश गराइएको नेता डा.प्रकाशशरण महतले जानकारी दिए । मनाङे गण्डकी प्रदेशको राजनीतिमा स्वतन्त्र सांसदका रूपमा स्थापित नेता हुन् । उनी २०७४ र २०७९ को प्रदेशसभा निर्वाचनमा मनाङको प्रदेशसभा क्षेत्रबाट निर्वाचित भएका थिए । २०७४ मा उनलाई नेकपा एमालेले समर्थन गरेको थियो भने २०७९ मा उनी निर्विरोध निर्वाचित भएका थिए । २०७४ को निर्वाचनपछि गण्डकीमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार गठन हुँदा मनाङे युवा तथा खेलकुदमन्त्री बने । त्यसपछि सत्ता समीकरण परिवर्तन भएसँगै कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा पनि उनी मन्त्री बने । २०७९ को निर्वाचनपछि भने मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । तर, त्यसमा उनी लामो समय टिकेनन् । २०८० चैतमा उनले नेकपा एस परित्याग गरी आफू स्वतन्त्र रहेको जानकारी प्रदेशसभा सचिवालयलाई गराएका थिए । त्यसपछि उनी कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारमा सहभागी भए । पाण्डे नेतृत्वको सरकारमा मनाङे भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बने । गण्डकीमा सरकार गठन र सत्ता समीकरणका क्रममा उनको समर्थन पटक–पटक महत्त्वपूर्ण देखिँदै आएको थियो । मनाङेको राजनीतिक यात्रा भने राप्रपाबाट सुरु भएर एमाले, स्वतन्त्र उम्मेदवारी, एकीकृत समाजवादी हुँदै अहिले कांग्रेससम्म आइपुगेको छ । २०७३ मा राप्रपा प्रवेश गरेका उनी पछि एमालेमा आबद्ध भएका थिए । एमालेबाट प्रदेशसभा निर्वाचनमा टिकट नपाएपछि २०७४ मा स्वतन्त्र उम्मेदवारी दिएका उनले एमालेको समर्थनमा निर्वाचन जितेका थिए । २०७९ मा पनि स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएपछि उनी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । पार्टी प्रवेश र पुनः स्वतन्त्र हैसियतमा फर्किने क्रमसँगै गण्डकीको सत्ता समीकरणमा भने उनको भूमिका निरन्तर देखिँदै आएको थियो । पछिल्लो समय कांग्रेसको १५औं महाधिवेशनलाई केन्द्रमा राखेर पार्टीभित्र विभिन्न समूहले संगठन विस्तार र राजनीतिक समीकरण निर्माणलाई तीव्रता दिएका छन् । यही क्रममा मनाङे देउवा समूहमा प्रवेश गरेका हुन् ।
विदेशी डिग्रीमा प्रश्न उठाउँदा तथ्य र प्रमाण हेर्न आइप्यानको आग्रह
काठमाडौं । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) ले जनाएको छ । मंगलबार (आज) पत्रकार सम्मेलन गर्दै आइप्यानले यस्तो जनाएको हो । संस्थाको वैधानिकता वा शिक्षाको गुणस्तरमाथि प्रश्न उठाउँदा प्रचलित कानुनमा रहेको व्यवस्था, शिक्षण संस्था तथा कार्यक्रमको स्वीकृति र विश्वविद्यालयको एक्रेडिटेसन, डिग्रीको विश्वसनीयता, अन्तर्राष्ट्रिय मान्यता, शैक्षिक प्रतिष्ठा र अध्ययन पूरा गरेका विद्यार्थीलाई रोजगार बजारले दिएको अवसर रअवसर एवं स्वीकार्यतालाई आधार बनाएर निष्कर्ष निकाल्नुपर्ने उसको आग्रह छ । आइप्यान अध्यक्ष लक्ष्मण केसीले शिक्षा मन्त्रालयको अनुमतिमा सञ्चालन भइरहेका कार्यक्रम कुनै पनि बेला कानुनी आधारबिना बन्द हुन सक्ने भन्ने दाबी गलत भएको बताए । शिक्षा ऐन, २०२८ को दफा १९ अन्तर्गत जारी ‘विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३’ ले यस्ता कार्यक्रमको सञ्चालन र नियमनको व्यवस्था गरेको उनले जानकारी दिए । केसीका अनुसार नेपालमा सात देशका ३५ विदेशी विश्वविद्यालयसँग सम्बन्धित कार्यक्रम सञ्चालनमा छन् । यस्ता कार्यक्रम सञ्चालन गर्न अनुमति पाएका ५८ संस्थामा ३७ हजार २०८ विद्यार्थी अध्ययनरत छन् । यस क्षेत्रबाट करिब पाँच हजार प्रत्यक्ष र १५ हजार अप्रत्यक्ष रोजगारी सिर्जना भएको तथा करिब २५ अर्ब रुपैयाँ लगानी भएको आइप्यानको दाबी छ । वार्षिक करिब ५० करोड रुपैयाँ प्रत्यक्ष र एक अर्ब रुपैयाँभन्दा बढी अप्रत्यक्ष राजस्व योगदान हुने तथा १५ देखि २० अर्ब रुपैयाँ बराबरको आर्थिक गतिविधि सिर्जना हुने आइप्यानले जनाएको छ । नेपालमै अन्तर्राष्ट्रिय डिग्री अध्ययन गर्न पाउँदा विद्यार्थी परिवारसँग रहन सक्ने र विदेशको बसोबास तथा दैनिक खर्च जोगिने केसीले बताए । कतिपय कार्यक्रममा विदेश गएर पढ्दाको कुल खर्चभन्दा नेपालमा अध्ययनको खर्च करिब १५ गुणासम्म कम हुन सक्ने आइप्यानको दाबी छ । यसले वार्षिक करिब ५० देखि ६० अर्ब रुपैयाँको सम्भावित विदेशी मुद्रा बहिर्गमन घटाउन सहयोग गर्ने उसको अनुमान छ । यद्यपि विदेश जाने सबै विद्यार्थी नेपालकै कार्यक्रममा भर्ना हुन्थे भन्ने निष्कर्ष त्यसबाट निकाल्न नमिल्ने आइप्यानले स्पष्ट पारेको छ । ‘पछिल्लो समय आईटी जनशक्ति उत्पादनमा हाम्रो मुख्य भूमिका छ, केसी बताउँछन्, ‘नेपालमा आईटी शिक्षाको ट्रेन्डसेटर विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेजहरु हुन् ।’ आईआईडीएसको अध्ययनअनुसार सन् २०२२ मा नेपालबाट करिब ५१५ मिलियन अमेरिकी डलर (झन्डै ६८ अर्ब रुपैयाँ) बराबरको आईटी सेवा निर्यात भएको थियो भने सन् २०२५ सम्म यो क्षेत्र करिब एक अर्ब अमेरिकी डलर (झन्डै १ खर्ब ४५ अर्ब रुपैयाँ) नजिक पुगेको अनुमान छ । उनका अनुसार यो वृद्धि पछिल्लो समय अध्ययन पूरा गरेका नेपाली आईटी विद्यार्थी, आईटी कम्पनी, फ्रीलान्सर र निजी क्षेत्रको पहलबाट सम्भव भएको हो । एआई एण्ड मेसनि लर्नङि, बिग डेटा एनालाइससिजस्ता एआईसम्बन्धी कोर्सहरु, एवं साइबर सेक्युरटिी, नेटवर्क सेकुरिटी जस्ता साइबर सुरक्षाकोर्स एवं होटल तथा हस्पिटालिटी म्यानेजमेन्ट, इन्टेरियर डिजाइन, उद्यमशीलता र मल्टिमिडिया एवं एनिमेसनजस्ता विषयको अध्यापन नेपालमै गर्ने कामको थालनी विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजहरुले गरेको केसीले बताए । उनका अनुसार नेपालमै यस्ता विषयको अध्ययन सुरु भएपछि विश्व बजारको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन भइरहेको छ भने विद्यार्थीले ठूलो लगानी गरेर विदेश जानुपर्ने अवस्थासमेत क्रमशः घट्दै गएको छ । वैदेशिक अध्ययनतर्फको आकर्षण उल्लेख गर्दै केसीले आर्थिक वर्ष २०८०/८१ मा एक लाख १२ हजार ५९३ र २०८१/८२ मा एक लाख २३ हजार ५८९ जनाले अध्ययन अनुमतिपत्र लिएको जानकारी दिए । आइप्यानले प्रस्तुत गरेको विवरणअनुसार ती वर्षमा शिक्षा प्रयोजनका लागि क्रमशः एक खर्ब २४ अर्ब ९५ करोड र एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ बाहिरिएको थियो । युवा विद्यार्थी विदेश पलायन रोक्नका लागि स्वदेशमै गुणस्तरीय, प्रतिस्पर्धी र अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा उपलब्ध गराउँदै युवाका लागि रोजगारी र उद्यमको वातावरण पनि बलियो बनाउनुपर्ने केसीले बताए । राष्ट्रिय तथ्याङ्क कार्यालयको नेपाल शिक्षा संस्था सर्वेक्षण, २०८१ ले पनि सरकारी स्वामित्वबाहेकका शिक्षा संस्थाको व्यापक योगदान देखाएको छ । आर्थिक वर्ष २०८०/८१ को अवस्थालाई समेटेको सर्वेक्षणअनुसार ती संस्थामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी चार लाख ६६ हजार ८०५ थिए । यस्ता शिक्षा संस्थाको कुल मूल्य अभिवृद्धि करिब एक खर्ब ६० अर्ब रुपैयाँ र संलग्न जनशक्ति तीन लाख ११ हजार ५१६ रहेको सर्वेक्षणमा उल्लेख छ । आइप्यानका अनुसार यी तथ्याङ्क समग्र सरकारी स्वामित्वबाहेकका शिक्षा संस्थाका हुन्, विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त ५८ संस्थाको छुट्टै योगदानका होइनन् । गुणस्तरको विषयमा केसीले सम्बन्धन प्राप्त कलेज र विदेशी विश्वविद्यालयको शाखा क्याम्पस स्वामित्व तथा सञ्चालनका हिसाबले फरक मोडल भएको बताए । कुनै मोडललाई स्वतः उत्कृष्ट वा कमजोर मान्न नमिल्ने भन्दै उनले पाठ्यक्रम, शिक्षकको योग्यता, पूर्वाधार, मूल्याङ्कन र विद्यार्थीको सिकाइ उपलब्धिका आधारमा प्रत्येक कार्यक्रम जाँच्न आग्रह गरे । सम्बन्धन दिने विश्वविद्यालयले पाठ्यक्रम र शैक्षिक मापदण्ड निर्धारण गर्नुका साथै साझेदार कलेजको अनुगमन गर्ने पनि उनले बताए । शिक्षा मन्त्रालयले विज्ञसहितको टोलीबाट संस्थाहरूको स्थलगत अनुगमन गर्दै आएको केसीले जानकारी दिए । उनका अनुसार नयाँ नियमावलीले सम्बन्धन प्राप्त संस्थालाई तीन वर्षभित्र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । विदेशी विश्वविद्यालयलाई बुझाउनुपर्ने शुल्क मन्त्रालयको स्वीकृति र सिफारिसका आधारमा बैंकिङ प्रणालीमार्फत भुक्तानी हुने र त्यसको विवरण मन्त्रालयमा पेस गरिने उनले बताए । कुनै संस्थाले अनियमितता गरेको प्रमाण भए नियामक निकायबाट छानबिन गराउन आइप्यानले आग्रह गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्स वा साइबर सुरक्षाका छोटा तालिमलाई पूर्ण शैक्षिक डिग्रीसँग तुलना गर्न नहुने केसीले बताए । कार्यक्रमको अवधि, क्रेडिट, पाठ्यक्रम र मूल्याङ्कन विधि जाँचेर मात्र धारणा बनाउनुपर्ने उनको भनाइ छ । लिखित परीक्षासँगै असाइनमेन्ट, अनुसन्धान परियोजना र प्रस्तुतिबाट समेत विद्यार्थीको मूल्याङ्कन हुन सक्ने उनले जानकारी दिए । केसीले नेपाललाई भविष्यमा विदेशी विद्यार्थीको अध्ययन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य पनि सुनाए । त्यसका लागि योग्य संस्थाको मूल्याङ्कन, विद्यार्थी भिसा र विदेशी विद्यार्थीलाई आवश्यक सेवासम्बन्धी स्पष्ट व्यवस्था गर्न उनले सरकारसँग आग्रह गरे । अनुमति प्राप्त संस्था र कार्यक्रमको अद्यावधिक सूची सार्वजनिक गर्न, गुणस्तर जाँचका मापदण्ड स्पष्ट पार्न तथा विद्यार्थीका गुनासा सम्बोधन गर्ने प्रक्रिया प्रभावकारी बनाउन पनि उनले माग गरे ।
नेशनल लघुवित्तको सञ्चालकमा प्रमोद आचार्य नियुक्त
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा प्रमोद आचार्य नियुक्त भएका छन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको प्रतिनिधित्व गर्दै नेशनल लघुवित्तको सञ्चालक रहेका रविन सिजापती बैंकबाट अलग भएपछि उक्त पद रिक्त भएको थियो । बैंकले आफ्नो तर्फबाट प्रतिनिधित्व गर्न प्रमोद आचार्यलाई मनोनयन गरी पठाएपछि नेशनल लघुवित्तको सञ्चालक समितिको असोज १२ गते बसेको २१४औँ बैठकले आचार्यलाई सञ्चालकमा नियुक्त गरेको हो ।
भोटेकोशी बाढीपछि विश्व बजारमा ‘नेपाल सुरक्षित छ’ सन्देश फैलाउनुपर्छ
काठमाडौं । होटल संघ नेपालका अध्यक्ष विनायक शाहले भोटेकोशी बाढीका कारण नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभाव कम गर्न तत्काल विश्व बजारमा ‘नेपाल भ्रमणका लागि सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्ने बताएका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले विपद् भोटेकोशी करिडोरको सीमित क्षेत्रमा भएको भए पनि त्यसको प्रभाव अन्तर्राष्ट्रियस्तरमा समग्र नेपालबारे नकारात्मक धारणा बन्न सक्ने भएकाले वास्तविक अवस्था स्पष्ट पार्न आवश्यक रहेको बताए । शाहले भारत र चीनलगायत प्रमुख पर्यटकीय बजारमा दशैं–तिहारअघि नै प्रवर्द्धनात्मक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनका अनुसार काठमाडौं, चितवन र पोखरालगायत प्रमुख पर्यटकीय गन्तव्य सामान्य अवस्थामा रहेकाले त्यसको स्पष्ट जानकारी अन्तर्राष्ट्रिय बजारमा पुर्याउनु हो । उनले भने, ‘भोटेकोशीको करिडोरमा विपत्ति भएको हो, नेपालभरि होइन । काठमाडौं, चितवन, पोखरा लगायत सबै सामान्य अवस्थामा छन् । यो सन्देश हामीले बलियो रूपमा दिनुपर्छ । नेपाल पर्यटन बोर्ड, विदेशस्थित नेपाली दूतावास र निजी क्षेत्र सबै यसमा लागेका छन् । अब यसलाई अझ तीव्रता दिनुपर्छ ।’ उनले पर्यटन प्रवद्र्धन र सहजीकरणको मुख्य जिम्मेवारी रहेको नेपाल पर्यटन बोर्डले विपद्पछिको अवस्थामा प्रवर्द्धनात्मक कार्यक्रमलाई थप तीव्र बनाउनुपर्ने बताए । समयमै प्रवर्द्धन गर्न सके पर्यटकीय बजारमा ठूलो क्षति हुन नदिने र गुमेको बजारसमेत पुनः फर्काउन सकिने उनको भनाइ छ । शाहका अनुसार नेपाल आउने पर्यटकमध्ये ठूलो हिस्सा पदयात्रा, पर्वतारोहण र र्याफ्टिङजस्ता साहसिक पर्यटनमा आकर्षित हुने गरेका छन् । यस्ता पर्यटक जोखिमबारे जानकार हुने भएकाले विपद्का कारण समग्र नेपालको पर्यटन प्रभावित नहोस् भन्न वास्तविक अवस्थाबारे सही र प्रभावकारी सूचना प्रवाह गर्नुपर्ने उनले बताए । उनले भूकम्प र कोभिड–१९ महामारीका समयमा समेत नेपाली पर्यटन क्षेत्रले चुनौती सामना गर्दै पुनरुत्थान गरेको स्मरण गर्दै यसपटक पनि सरकार र निजी क्षेत्रबीचको समन्वयमा योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताए । अन्तर्राष्ट्रिय एयरलाइन्सको सञ्जालमार्फत नेपाल प्रवर्द्धन गर्न सुझाव अध्यक्ष शाहले नेपालको पर्यटन पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको विश्वव्यापी सञ्जाललाई समेत उपयोग गर्नुपर्ने बताएका छन् । टर्किस एयरलाइन्स, सिंगापुर एयरलाइन्स, क्याथे प्यासिफिक र कतार एयरवेजलगायतका अन्तर्राष्ट्रिय एयरलाइन्ससँग सहकार्य गरी विश्व बजारमा नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश प्रवाह गर्नुपर्ने उनको सुझाव छ । ‘संसारका ठूला एयरलाइन्समध्ये ५–६ वटा नेपालमा आउँछन् । संसारभरि उहाँहरूको जुन पहुँच छ, त्यसलाई हामीले पर्यटन प्रवद्र्धनमा प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘उहाँहरूलाई अनुरोध गरेर संसारभरि ‘नेपाल ठीक छ, नेपाल घुम्न जानुहोस्’ भन्ने प्रचार गराउनुपर्छ । नेपालमा बढी पर्यटक आउनु भनेको उहाँहरूको पनि व्यवसाय बढ्नु हो ।’ पोखरामा सेप्टेम्बर २३ देखि फ्लाई दुबईले दैनिक उडान सुरु गरेकाले यसले पनि नेपालको पर्यटन सामान्य अवस्थामा फर्किरहेको सकारात्मक सन्देश विश्व बजारमा गएको उनले बताए । विपद्पछिको पर्यटन पुनरुत्थानका लागि नेपाललाई सहयोग गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था र व्यक्तिलाई समेटेर स्पष्ट कार्ययोजनासहित अघि बढ्नुपर्ने शाहको भनाइ छ । ‘विपद्पछि हामी योजनाबद्ध किसिमले अगाडि जानुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नेपाललाई माया गर्ने संस्था र व्यक्तिलाई संगठित गरेर एउटा मास्टर प्लान बनाएर अघि बढ्नुपर्छ,’ उनले भने । दशैं–तिहारको मुख्य पर्यटकीय सिजनमा हुनसक्ने आर्थिक क्षति न्यूनीकरणका लागि तत्काल प्रवद्र्धन, प्रभावकारी सूचना सम्प्रेषण र समन्वित कार्ययोजनालाई प्राथमिकता दिनुपर्ने उनले बताए । पछिल्लो समय पर्यटकको बुकिङ रद्द हुने क्रम घट्दै गएको पनि उनको भनाइ छ । शाहले पर्यटन व्यवसायी, होटल कर्मचारी तथा विपद्बाट प्रभावित व्यवसायीलाई राहत उपलब्ध गराउनसमेत सरकारसँग आग्रहसमेत गरेका छन् । होटल संघ नेपालले आफ्ना अन्तर्राष्ट्रिय सम्पर्क तथा ट्राभल एजेन्टमार्फत ‘नेपाल कलिङ, नेपाल नाउ’ अभियान सञ्चालन गर्दै नेपाल सुरक्षित र उपयुक्त पर्यटकीय गन्तव्य रहेको सन्देश प्रवाह गरिरहेको उनले जानकारी दिए ।
पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा
काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा विगत केही दिनदेखि पूर्णरूपमा ठप्प रहेको कान्ति लोकपथ आजदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ । असोज ८ गतेदेखि ११ गतेसम्म परेको भारी वर्षाले सडकका विभिन्न खण्डमा क्षति पुर्याएपछि यातायात सेवा अवरुद्ध हुन पुगेको थियो । असोज महिनाको दोस्रो साता परेको वर्षाका कारण कान्ति लोकपथका विभिन्न स्थानमा ठूला पहिरो गएका थिए । पहिरोले सडक अवरुद्ध हुँदा काठमाडौं र हेटौँडा जोड्ने यो छोटो मार्ग भएर यात्रा गर्ने यात्रुहरू र सवारी साधनहरू प्रत्यक्ष प्रभावित बनेका थिए । सडक अवरुद्ध भएलगत्तै सडक डिभिजन कार्यालयले प्राविधिक टोली र उपकरण परिचालन गरी पहिरो पन्छाउने काम शुरु गरेको थियो । लामो समयको प्रयासपछि पहिरो पन्छाई सडकलाई यातायात सञ्चालन योग्य बनाइएको हो । हालका लागि उक्त सडक खण्डमा एकतर्फी सवारी आवागमन खुला गरिएको छ । यद्यपि, निरन्तरको वर्षाका कारण सडकका विभिन्न भाग अझै पनि जोखिमपूर्ण अवस्थामा रहेकाले यात्रा गर्दा उच्च सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेको छ । सडकको पूर्ण क्षमतामा दुईतर्फी यातायात सञ्चालनका लागि भने थप मर्मत सम्भारको काम भइरहेको छ ।