कालिनिनग्रादमा हमला भए परमाणु हतियारसम्म चलाउने पुटिनको चेतावनी
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको बाल्टिक क्षेत्रमा रहेको कालिनिनग्रादमाथि प्रत्यक्ष हमला भए रुसले आफूसँग भएका सबै हतियार प्रयोग गर्ने चेतावनी दिएका छन् । पुटिनले रुसले कसैलाई धम्की नदिएको स्पष्ट गर्दै आफूले पश्चिमी नेताहरूका भनाइको जवाफ मात्र दिएको बताएका हुन् । पश्चिमी नेताहरूले रुस सन् २०२९ वा २०३० सम्ममा युद्धका लागि तयारी गरिरहेको दाबी गर्दै आएका छन् । यसै साता रुसले नेटोलाई आफ्नो भूभागको नाकाबन्दीको तयारी गरिरहेको आरोप लगाउँदै आएको छ । कालिनिनग्राद लिथुआनिया र पोल्यान्डको बीचमा अवस्थित छ । रुसले पश्चिमले कालिनिनग्रादलाई रुसका अन्य भूभागबाट अलग गर्ने प्रयास गरे परमाणु हतियारसमेत प्रयोग गर्न तयार रहेको चेतावनी दिएको छ । नेटोले भने तनाव कम गर्ने प्रयास गर्दै आफू रक्षात्मक गठबन्धन भएको दोहोर्‍याएको छ । साथै नेटोले रुसलाई आफ्ना ‘परमाणु धम्की’ बन्द गर्न आग्रह गरेको छ । पछिल्ला महिनाहरूमा पश्चिमी सहयोगी राष्ट्रहरूले तथाकथित हाइब्रिड युद्धसँग सम्बन्धित घटनामा वृद्धि भएको सामना गरेका छन् । यस्ता घटनामा रुसको संलग्नता रहेको आरोप लगाइएको छ । विशेषगरी पोल्यान्ड र बाल्टिक क्षेत्रमा यस्ता गतिविधि बढेका छन् । गत साता मात्रै पोल्यान्डले रुसको कालिनिनग्रादबाट आएको एउटा हेलिकोप्टर आफ्नो सीमावर्ती क्षेत्रमा प्रवेश गरेको बताएको थियो । त्यस्तै, लिथुआनियाले रुसी गतिविधिका कारण आफ्ना नागरिकले ‘लगातार खतरा महसुस गरिरहेको’ बताएको थियो । त्यसको एउटा कारण ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्नु पनि रहेको लिथुआनियाको भनाइ छ ।
ललितपुरमा महिला उद्यमीका उत्पादनको प्रदर्शनी सुरु, अन्तर्राष्ट्रिय बजारिकरण गर्ने
ललितपुर । ललितपुर महानगरपालिकाले महिला उद्यमीले उत्पादन गरेका सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्यले आयोजना गरेको प्रदर्शनी मेला सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको प्रदर्शनी आइतबारसम्म सञ्चालन हुनेछ । पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा आयोजना गरिएको मेलाको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका हुन् । मेलाको नारा ‘लोकल रुट्स टु ग्लोबल रिच’ राखिएको छ । प्रदर्शनीको उद्घाटन कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्ट, नर्वेका राजदूत डाग्नी म्योस, म्यानमारका राजदूत थान सिन, श्रीलंकाका राजदूत रुवान्ती डेल्पिटिया तथा नेपालका लागि चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ छिनलेको उपस्थिति थियो । कार्यक्रममा महानगर प्रमुख महर्जनले विभिन्न देशका राजदूतको उपस्थितिले महिला उद्यमीलाई प्रोत्साहन मिलेको बताए । उनले ललितपुरलाई पुरानो सांस्कृतिक सहरका रूपमा उल्लेख गर्दै महानगरले विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको बताए । उनले ललितपुरलाई वल्र्ड क्राफ्ट काउन्सिलले ३५औँ कला नगर घोषणा गरेको जानकारी दिँदै सांस्कृतिक गतिविधिले महानगरको पहिचानलाई थप उचाइ दिएको बताए । यस्तै, यमोरीलाई सरकारले अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गरेको र छिट्टै युनेस्कोले समेत अमूर्त सांस्कृतिक सम्पदाका रूपमा घोषणा गर्ने विश्वास व्यक्त गरे । महर्जनले महानगरले महिलालाई विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको र तालिम लिएका धेरै महिला उद्यममा लागेको बताए । महिला उद्यमीलाई आर्थिक सहयोग गर्न महानगर तयार रहेको भन्दै उनले आवश्यक प्रस्ताव लिएर आउन आग्रह गरे । महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उद्यमशीलताले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर र सक्षम बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् । महानगरले महिलाको आर्थिक सशक्तीकरणका लागि उद्यमशीलता प्रवर्द्धनमा जोड दिएको उल्लेख गर्दै उनले महिला उद्यमीका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन प्रदर्शनी महत्वपूर्ण हुने बताइन् । उनका अनुसार ललितपुर महानगरभित्र २ हजार ५ सयभन्दा बढी महिला उद्यमी रहेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले महिलाको आर्थिक सशक्तीकरणका लागि महानगरले विभिन्न योजना अघि बढाएको बताए । आर्थिक सशक्तीकरणबिना महिलामाथिको असमानता अन्त्य गर्न कठिन हुने उनको भनाइ थियो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का डेपुटी चिफ अफ मिसन जुलियन चेभिलार्डले लगानी, बजार र उद्यमशीलता एकअर्काका परिपूरक रहेको बताए । विभिन्न स्थानमा उत्पादन भइरहेका सामग्रीबारे एकै ठाउँबाट जानकारी लिन प्रदर्शनी उपयोगी हुने उनको भनाइ थियो । महिला उद्यमीका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने महानगरको प्रयास महत्वपूर्ण रहेको उनले बताए । प्रदर्शनीमा ७५ भन्दा बढी स्टल राखिएका छन् । मेलामा ललितपुरका महिला उद्यमीले उत्पादन गरेका विभिन्न सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएको महानगरले जनाएको छ ।
श्रीमानलाई विष खुवाएर हत्या गर्ने ‘त्यो गाउँ’
काठमाडौं । सन १९२९ डिसेम्बर ४ मा अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ले हंगेरीमा सार्वजनिक भएको एउटा यस्तो घटनाबारे समाचार प्रकाशित गरेको थियो, जसले धेरैलाई स्तब्ध बनाएको थियो । त्यतिबेला करिब ५० महिलाविरुद्ध मुद्दा चलाइएको थियो । ती महिलाहरूमाथि युरोपेली देश हंगेरीको एउटा दुर्गम गाउँमा बस्ने अधिकांश पुरुषलाई विष दिएर हत्या गरेको आरोप लागेको थियो । समाचार छोटो थियो, तर त्यसमा उल्लेख भएका विवरण निकै चकित पार्ने खालका थिए । सन् १९११ देखि १९२९ को बीचमा राजधानी बुडापेस्टबाट करिब १३० किलोमिटर दक्षिणमा रहेको नादिरेभ गाउँका केही महिलाले ५० भन्दा बढी पुरुषलाई विष दिएर हत्या गरेको बताइएको थियो । ती महिलाहरूलाई पछि ‘एन्जेल मेकस’ अर्थात् ‘हत्यारा परीहरू’ भनेर चिनिन थालियो । उनीहरूमाथि आर्सेनिकयुक्त घोल प्रयोग गरी पुरुषलाई विष दिएर हत्या गरेको आरोप थियो । कतिपयले यसलाई आधुनिक इतिहासमा महिलाहरूले पुरुषहरूको सामूहिक हत्या गरेको सबैभन्दा ठूलो घटनामध्ये एक मान्छन् । ती महिलालाई खुला अदालतमा उपस्थित गराइयो । त्यहाँ एउटा नाम पटक–पटक चर्चामा आयो—जुजाना फाजेकास । उनी गाउँकी अर्थात मिडवाइफ थिइन् । त्यतिबेला नादिरेभ अस्ट्रो–हंगेरियन साम्राज्यअन्तर्गत थियो र गाउँमा कुनै चिकित्सक थिएनन् । त्यसैले फाजेकासले नै गाउँका महिलालाई स्वास्थ्य तथा उपचारसम्बन्धी सेवा दिँदै आएकी थिइन् । गाउँको चिकित्सा व्यवस्थामा उनको लगभग पूर्ण नियन्त्रण थियो । गाउँकी मारिया गोनियाले सन् २००४ मा बीबीसीको रेडियो वृत्तचित्रमा फाजेकासलाई ‘हत्याको मुख्य योजनाकार किन मानिन्थ्यो’ भन्नेबारे बताएकी थिइन् । उनका अनुसार गाउँका सबै महिलाले आफ्ना समस्या फाजेकाससँग साझा गर्थे । गोनियाले भनेकी थिइन्, ‘उनले महिलाहरूलाई आफ्ना श्रीमानसँग समस्या छ भने त्यसको एउटा सजिलो समाधान आफूले बताउन सक्ने कुरा बताएकी थिइन् ।’ तर फाजेकासलाई हत्याको मुख्य योजनाकार मानिए पनि घटनासँग सम्बन्धित दस्तावेज र गाउँका महिलाहरूको बयानले उनको जीवनको अर्को पक्ष पनि देखाउँछ । ती विवरणमा पुरुषले महिलामाथि गरेको हिंसा, दुव्र्यवहार र यौन उत्पीडनका घटनाको उल्लेख थियो । तर यो घटना धेरै वर्षसम्म लुकेको रह्यो । प्रहरी अभिलेखअनुसार पहिलो हत्या सन् १९११ मा भएको थियो । तर सन् १९२९ सम्म कुनै अनुसन्धान सुरु भएको थिएन । पहिलो घटना सन् १९११ मा जुजाना फाजेकास नामकी महिला नादिरेभ गाउँमा आइन् । मारिया गोनियाका अनुसार तथा अदालतमा प्रस्तुत भएका बयानअनुसार फाजेकासले दुई कारणले गाउँलेको ध्यान तानेकी थिइन् । पहिलो, मिडवाइफको रूपमा काम गर्नुका साथै उनलाई औषधीबाट उपचार गर्ने ज्ञान थियो । उनी औषधी बनाउन विभिन्न रासायनिक पदार्थसमेत प्रयोग गर्थिन् । त्यतिबेला त्यस क्षेत्रमा यस्तो ज्ञान सामान्य थिएन । दोस्रो, उनका श्रीमानका बारेमा कसैलाई कुनै जानकारी थिएन । गोनियाका अनुसार नादिरेभमा न पादरी थिए, न चिकित्सक । त्यसैले आफ्नो ज्ञान र सीपका कारण फाजेकासकहाँ मानिसहरू जान थाले र उनीमाथि विश्वास गर्न थाले । ‘बिस्तारै उनी घरका बन्द ढोकाभित्र हुने कुराबारे जानकार हुन थालिन् । श्रीमतीलाई कुट्ने, जबर्जस्ती गर्ने र धोका दिने पुरुषहरूबारे उनलाई जानकारी हुन थाल्यो । दुव्र्यवहार र हिंसा निकै धेरै थियो,’ गोनियाले भनेकी थिइन् । यसै क्रममा फाजेकासले त्यतिबेला गैरकानुनी मानिने अर्को काम पनि गर्थिन् । उनी अनिच्छित गर्भधारण भएका महिलाको गर्भपतन गराउँथिन् । यस विषयमा उनीमाथि मुद्दासमेत चल्यो, तर उनलाई कहिल्यै दोषी ठहर गरिएन । गोनियाका अनुसार त्यतिबेला अर्को ठूलो समस्या परिवारले तय गर्ने विवाह थियो । कम उमेरका युवतीहरूको विवाह उनीहरूभन्दा निकै जेठा पुरुषसँग गराइन्थ्यो । ‘त्यतिबेला सम्बन्धविच्छेदको कुनै व्यवस्था थिएन । तपाईंमाथि कुटपिट वा दुव्र्यवहार भए पनि श्रीमानबाट अलग हुन सक्नुहुन्नथ्यो,’ उनले भनेकी थिइन् । यद्यपि, त्यस समयका केही रिपोर्टमा यस्ता पहिल्यै तय गरिएका विवाहसँग एक प्रकारको सम्झौता पनि हुने उल्लेख पाइन्छ । त्यसमा जमिन, सम्पत्ति, उत्तराधिकार तथा कानुनी जिम्मेवारीजस्ता विषय समेटिन्थे । गोनियाका अनुसार फाजेकासले बिस्तारै महिलाहरूलाई आफूले उनीहरूका समस्या समाधान गर्न सक्ने विश्वास दिलाउन थालिन् । विष दिएर हत्या गरिएको पहिलो घटना सन् १९११ मा भएको थियो । त्यसपछि क्रमशः अन्य पुरुषहरूको पनि मृत्यु हुन थाल्यो । त्यतिबेला प्रथम विश्वयुद्ध चलिरहेको थियो र अस्ट्रो–हंगेरियन साम्राज्य पनि बिस्तारै विघटन हुँदै थियो । करिब आठ वर्षको अवधिमा श्रीमान् तथा परिवारका पुरुष प्रमुखहरूको मृत्यु भएका ४५ देखि ५० वटा घटना सार्वजनिक भए । उनीहरू सबैलाई गाउँकै चिहानमा गाडियो। बिस्तारै धेरै मानिसले नादिरेभलाई ‘हत्याराहरूको गाउँ’ भन्न थाले । यी घटनाले अन्ततः प्रहरीको ध्यान तान्यो । सन् १९२९ को सुरुवातमा अधिकारीहरूले चिहान खनेर शवहरूको परीक्षण गर्न थाले । त्यहाँ उनीहरूले अभियुक्तविरुद्ध प्रयोग गर्न सकिने एउटा महत्त्वपूर्ण प्रमाण फेला पारे—आर्सेनिक । फाजेकास गाउँकै सडकछेउ रहेको एउटा सामान्य एकतले घरमा बस्थिन् । यी हत्यामा प्रयोग गरिएका अधिकांश विष यही घरमा तयार पारिएको बताइन्छ । सन् १९२९ जुलाई १९ मा उनले आफ्नै घरबाट प्रहरी अधिकारीहरू आफूलाई पक्राउ गर्न आइरहेको देखिन् । गोनियाका अनुसार प्रहरी आफ्नो घरतर्फ आइरहेको देखेपछि उनलाई अब बच्ने सम्भावना नरहेको बुझियो । प्रहरी घरमा पुग्नुअघि नै उनको मृत्यु भइसकेको थियो । उनले आफूले नै तयार पारेको विष पिएर आत्महत्या गरेकी थिइन् । तर यी हत्याका लागि फाजेकासलाई मात्रै जिम्मेवार मानिएन। सन् १९२९ देखि राज्यको राजधानी सेगेडमा २६ महिलामाथि मुद्दा चलाइयो । तीमध्ये आठ जनालाई मृत्युदण्ड सुनाइयो भने बाँकीलाई जेल पठाइयो । त्यसैगरी, सात महिलालाई आजीवन कारावासको सजाय दिइएको थियो । तर यी हत्यामा दाई फाजेकास मात्रै जिम्मेवार थिइनन् । धेरै कम महिलाले आफ्नो अपराध स्वीकार गरेका थिए । यी हत्याको वास्तविक कारण के थियो भन्ने कुरा पनि पूर्ण रूपमा स्पष्ट हुन सकेन । चिकित्सक तथा इतिहासकार गेजा चेले अदालतका दस्तावेज उद्धृत गर्दै बीबीसीलाई यस घटनाका धेरै रहस्यमय पक्ष अझै समाधान हुन नसकेको बताएका थिए । उनका अनुसार महिलाहरूको उद्देश्यबारे विभिन्न सिद्धान्त छन् । त्यसमा गरिबीदेखि जीवनप्रतिको निराशासम्मका कारण औंल्याइएका छन् । इतिहासकारका अनुसार केही रिपोर्टमा श्रीमानहरू युद्धको मोर्चामा रहेका बेला केही महिलाको रुसी युद्धबन्दीसँग सम्बन्ध बनेको उल्लेख छ । ती युद्धबन्दीलाई खेतमा काम गर्न त्यस क्षेत्रमा ल्याइएको थियो । उनका अनुसार श्रीमानहरू युद्धबाट फर्किएपछि ती महिलाका लागि अचानक प्राप्त भएको स्वतन्त्रता गुमाउनु कठिन भयो । त्यसपछि उनीहरूले एकपछि अर्को कदम चाल्ने निर्णय गरेको हुनसक्ने अनुमान गरिएको छ । सन् १९५० को दशकमा इतिहासकार फ्रेन्त्स योर्गीफले कम्युनिस्ट शासनका बेला जेलमा रहेका बेला नादिरेभका एक वृद्धसँग भेट गरेका थिए । ती वृद्ध किसानले नादिरेभका महिलाहरूले ‘धेरै पुरानो समयदेखि आफ्ना श्रीमानलाई मार्दै आएको’ दाबी गरेका थिए । त्यति मात्र होइन, यस्ता विष दिएर हत्या गर्ने महिला नादिरेभ गाउँमा मात्रै सीमित थिएनन् भन्ने सम्भावनासमेत देखिन्छ । गाउँनजिकै रहेको तिसाकुर्ट सहरमा पनि केही चिहान खनेर शवको परीक्षण गरिएको थियो । त्यहाँ पनि आर्सेनिक भेटिएको थियो । तर ती मृत्युका लागि कसैलाई दोषी ठहर गरिएन । केही अनुमानअनुसार यस क्षेत्रमा विष दिएर हत्या गरिएका मानिसको कुल संख्या ३०० सम्म हुनसक्छ । गोनियाका अनुसार यी विष दिएर गरिएका हत्यापछि पुरुषहरूले आफ्ना श्रीमतीसँग गर्ने व्यवहार भने ‘धेरै हदसम्म राम्रो भएको’ थियो । १४ हजार फिट तल झ‍र्यो विमान, यात्रुले जोगाए १७४ जनाको ज्यान एआईप्रति असन्तुष्टि बढ्दा ट्रम्पले फेरे नाम, अब ‘सुपर इन्टेलिजेन्स’ अमेरिकाले चीनलाई हतियार किन बेच्दैन ?
फार्मानिक्स र नोभा कम्पनीका औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन
काठमाडौं । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका दुईवटा औषधिका ब्याच न्यून गुणस्तरको पाइएपछि बिक्रीवितरणमा रोक लगाउँदै बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ । विभागले जारी गरेको सूचनाअनुसार फार्मानिक्स लाइफ साइन्सेज र नोभा जेनेटिकाद्वारा उत्पादित क्याल्सियम तथा भिटामिन डी ३ का तोकिएका ब्याच परीक्षणका क्रममा मापदण्डविपरीत पाइएका हुन् । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा फार्मानिक्स लाइफ साइन्सेज (सुनसरी) द्वारा उत्पादित विनक्याल (ब्याच नं.०४२/०३५) र नोभा जेनेटिका प्रालि धादिङद्वारा उत्पादित क्याल्सिजेन–एफ (ब्याच नं.सीभीडी ३–३०६) मा भिटामिन डी ३ को मात्रा तोकिएको मापदण्डअनुसार नरहेको भेटिएको छ । औषधि ऐन, २०३५ को दफा १४ बमोजिम ती औषधिको सिफारिस, बिक्रीवितरण तथा प्रयोग नगर्न र नगराउन विभागले चिकित्सक, स्वास्थ्यकर्मी, औषधि व्यवसायी तथा सर्वसाधारणमा आग्रह गरेको छ । साथै, सम्बन्धित उद्योग तथा आधिकारिक प्रतिनिधिलाई उक्त ब्याचका औषधि बजारबाट तुरुन्त फिर्ता गरी सोको विवरण विभागमा पेश गर्न निर्देशन दिइएको छ ।
छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मीद्वारा चरणबद्ध आन्दोलनको घोषणा
काठमाडौं । छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रोत्साहन भत्ता, समान सेवा–सुविधाको माग चरणबद्ध आन्दोलन घोषणा गरेका छन् । छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधनका लागि ठोस एवं सकारात्मक पहल नभएको भन्दै आन्दोलन घोषणा गरेका हुन् । सम्बन्धित निकायलाई २४ घण्टे ध्यानाकर्षणको समय दिँदा पनि माग सम्बोधनका सम्बन्धमा ठोस निर्णय नभएको भन्दै छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मी संघर्ष समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । समितिका संयोजक डा. विशाल कार्कीले जारी गरेको विज्ञप्तिअनुसार आन्दोलनको पहिलो चरणमा असोज १६ गते शुक्रबारदेखि १९ गतेसम्म कालोपट्टी बाँधेर तथा प्रदेशव्यापी विरोध कार्यक्रम सञ्चालन गरिनेछ । यस क्रममा प्रत्येक अस्पताल तथा स्वास्थ्य संस्थामा दुई घण्टा (बिहान ९ देखि ११ बजेसम्म) शान्तिपूर्ण धर्ना तथा विरोध कार्यक्रम गरिने जनाइएको छ । तर आकस्मिक, आईसीयू तथा प्रसूति सेवा भने नियमित रूपमा सञ्चालन हुने समितिले जनाएको छ । त्यसैगरी दोस्रो चरणमा असोज २० र २१ गते बिहानको सत्रको सेवा बहिष्कार गर्ने घोषणा गरिएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीले बिहानको शिफ्टमा ओपीडी तथा गैर–आकस्मिक नियमित सेवा बहिष्कार गर्नेछन् भने आकस्मिक, आईसीयू तथा प्रसूति सेवा सञ्चालनमा रहने विज्ञप्तिमा उल्लेख छ । माग सम्बोधनका लागि ठोस निर्णय नभएमा समितिले तेस्रो चरणमा अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी दिएको छ । समितिका अनुसार अत्यावश्यक सेवाबाहेकका सेवा स्थगित गरी अनिश्चितकालीन शान्तिपूर्ण आन्दोलन गरिनेछ । समितिले आन्दोलनप्रति आम नागरिक, सञ्चारमाध्यम, नागरिक समाज तथा शुभेच्छुकबाट आवश्यक सहयोग, ऐक्यबद्धता र सकारात्मक साथको अपेक्षा गरेको जनाएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीका जायज माग समयमै सम्बोधन गरी समस्या समाधान गर्ने जिम्मेवारी नेपाल सरकार तथा सम्बन्धित निकायको रहेको समितिले जनाएको छ । माग सम्बोधनमा ढिलाइ भई आन्दोलन थप सशक्त हुँदै गए त्यसबाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार तथा सम्बन्धित निकायले लिनुपर्ने चेतावनीसमेत दिइएको छ ।
प्रभु बैंकका ग्राहकलाई रुस्काज् ब्युटि स्टुडियोमा २० प्रतिशतसम्म छुट
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले काठमाडौं कमलादीस्थित रुस्काज् ब्युटि स्टुडियोमा सौन्दर्यसम्बन्धी सेवा लिँदा विशेष छुट पाउने भएका छन् । यसका लागि रुस्काज् ब्युटि स्टुडियो र प्रभु बैंकबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले विभिन्न सौन्दर्यसम्बन्धी सेवा लिँदा ५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् । त्यस्तै, बैंकका कर्मचारीले ५ देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा रुस्काज् ब्युटि स्टुडियोका प्रमुख कार्यकारी अधिकृत रुस्काज् वैध श्रेष्ठ र प्रभु बैंक बागमती प्रदेशका प्रमुख प्रदेश अधिकारी प्रचिता श्रेष्ठले हस्ताक्षर गरेका छन् । समारोहमा प्रभु बैंक कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज् ब्युटि स्टुडियोका प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठको समेत उपस्थिति थियो । सम्झौताअनुसार छुट लिन बैंकका ग्राहकले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड वा विद्युतीय भुक्तानी प्रणालीमध्ये कुनै एक प्रयोग गर्नुपर्नेछ । बैंकका कर्मचारीले भने प्रभु बैंकको कर्मचारी परिचयपत्र देखाउनुपर्नेछ । सम्झौताले प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई सौन्दर्यसम्बन्धी विभिन्न सेवामा सहुलियत उपलब्ध गराउने बैंकले जनाएको छ ।
संस्थालाई कमाइ खाने भाँडो नबनाऔँ : सांसद राना
काठमाडौं । नेपाली कांग्रेसका सांसद सन्दीप रानाले नेपाल वायुसेवा निगमको पछिल्लो निराशाजनक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारी संस्थानहरू ‘नियुक्ति खाने’ थलोका रूपमा परिणत भएको आरोप लगाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले निगमको रुग्ण अवस्था र सञ्चालन मोडालिटीबारे सरकारको स्पष्ट दृष्टिकोण नरहेको भन्दै आलोचना गरेका हुन् । सांसद रानाले निगमको व्यावसायिक कार्यक्षमतामाथि प्रश्न उठाउँदै नाफा कमाउन नसक्ने संस्थालाई राष्ट्रिय गौरवका रूपमा मात्रै जोगाइराख्नु चुनौतीपूर्ण रहेको बताए । उनले नेपालका सरकारी संस्थानहरूमा व्याप्त ‘नियुक्ति र भागबन्डा’को संस्कारप्रति कटाक्ष गर्दै कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वको मानसिकतामै खोट रहेको जिकिर गरे । रानाका अनुसार धेरैजसो सरकारी संस्थानमा काम गर्ने उद्देश्यले भन्दा पनि पद र सुविधा प्राप्त गर्ने ‘नियुक्ति खाने’ प्रवृत्ति हाबी छ । जसका कारण सक्षम व्यक्तिहरूले काम गर्ने वातावरण पाउन सकेका छैनन् । उनले भने, ‘नेपाल वायुसेवा निगमको अवस्था अत्यन्त निराशाजनक छ । अब यसलाई राष्ट्रिय ध्वजावाहकका रूपमा राख्ने कि व्यावसायिक तथा पीपीपी मोडलमा लैजाने भन्ने विषयमा स्पष्ट नीति आवश्यक छ । निगमलाई व्यावसायिक रूपमा सञ्चालन गर्ने हो भने नाफामुखी र प्रतिस्पर्धी संस्था बनाउने प्रतिबद्धता हुनुपर्छ । सरकारी संस्थालाई राजनीतिक नियुक्ति र व्यक्तिगत स्वार्थको माध्यम बनाउने प्रवृत्तिले समस्या बढाएको छ ।’ सांसद रानाले पीपीपी मोडालिटीमा लैजाने सरकारी योजनाबारे पनि सचेत गराए । उनले नेपालमा सीमित उद्योगीहरूको हालीमुहाली रहेकोतर्फ संकेत गर्दै पीपीपी मोडालिटी कार्यान्वयन गर्दा पारदर्शिता र प्रतिस्पर्धालाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए । साथै, उनले नियुक्तिको परम्परागत सरकारी मापदण्डभन्दा बाहिर गएर दक्ष र व्यावसायिक व्यक्तिलाई अवसर दिने वातावरण सिर्जना नगरेसम्म यस्ता संस्थानहरूको कायापलट हुन नसक्ने दाबी गरे ।
२४ घण्टे ड्युटीपछि रेजिडेन्ट डाक्टरलाई अनिवार्य विश्राम दिन पीएएचएसको निर्देशन
काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पीएएचएस) ले स्नातकोत्तर तहमा अध्ययनरत रेजिडेन्ट चिकित्सकहरूले लगातार २४ घण्टे ड्युटी पूरा गरेपछि अनिवार्य रूपमा पर्याप्त विश्राम पाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ । प्रतिष्ठानको स्कुल अफ मेडिसिनका डिन डा. आशीष श्रेष्ठले कार्यक्रम निर्देशक तथा विभागीय प्रमुखहरूलाई पत्र पठाउँदै रेजिडेन्ट चिकित्सकहरूको ड्युटी र शिक्षण–सिकाइ व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । पत्रमा नेपाल मेडिकल काउन्सिलको २०८३ जेठ ११ गतेको विज्ञप्ति तथा चिकित्सा शिक्षा आयोगबाट जारी पत्रको निर्देशनअनुसार २४ घण्टे ड्युटी पूरा गरेपछि आवासीय चिकित्सकलाई पर्याप्त विश्रामको व्यवस्था मिलाउन भनिएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले लामो समयदेखि क्षमतामा आधारित चिकित्सा शिक्षा सञ्चालन गर्दै आएको र सोहीअनुसार चिकित्सकीय दक्षतासँगै मानवतावादी मूल्य, व्यावसायिक निष्ठा, करुणा, मर्यादा, समानता तथा सामाजिक उत्तरदायित्व भएका चिकित्सक उत्पादनमा जोड दिइएको जनाइएको छ । प्रतिष्ठानले स्नातकोत्तर कार्यक्रम पनि क्षमतामा आधारित रहेकाले आवासीय चिकित्सकहरूले निर्धारित क्षमताहरू तोकिएको अवधिभित्र हासिल गर्न आवश्यक शिक्षण, सीप विकास तथा निर्माणात्मक मूल्याङ्कन सम्बन्धी गतिविधि व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरेको छ । त्यसैगरी, आवासीय चिकित्सकहरूको सिकाइ, व्यावसायिक विकास तथा सामाजिक उत्तरदायित्व अभिवृद्धि हुने गरी आवश्यक शिक्षण–सिकाइका अवसर सुनिश्चित गर्न पनि विभागीय प्रमुख तथा कार्यक्रम निर्देशकहरूलाई निर्देशन दिइएको छ ।