विकासन्युज

ग्लोबल आइएमई बैंकको २०औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

काठमाडौं । ग्लोबल आइएमई बैंकको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । जसमध्ये ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ । सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण सभाले पारित गरेको छ । समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो । यसैगरी, बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ । स्वीकृत बोनस सेयर वितरणसँगै बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुगेको छ । सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सेयरधनीहरूको अटुट विश्वास र निरन्तर साथप्रति हार्दिक आभार व्यक्त गरे ।  उनले ग्राहक वर्ग, सेयरधनी, नियामक निकाय तथा सम्पूर्ण शुभेच्छुकहरुको साथ र सहयोगकै कारण बैंकले गौरवमय दुई दशकको यात्रा सफलतापूर्वक पूरा गर्न सकेको बताए । नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशनको पूर्ण पालना गर्दै बैंकलाई थप सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता रहेको उनले बताए । साथै, ग्राहकहरूलाई अझ सहज र अत्याधुनिक सेवा प्रवाह गर्न डिजिटल बैंकिङ प्रणालीमा थप लगानी विस्तार गरिने उनको भनाइ छ । सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली आवश्यकता अनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र आगामी आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

भारतीय नागरिकलाई बंगलादेशले ‘जासुस’ भन्दै थुन्यो, के हो घटना ?

काठमाडौं । बंगलादेश सरकारले ४४ वर्षीय भारतीय नागरिक रबिबुल इस्लामलाई भारतको जासुस भएको आरोप लगाउँदै जेल पठाएको छ ।  उनीविरुद्ध ‘अफिसियल सेक्रेट एक्ट’ अन्तर्गत मुद्दा दर्ता गरिएको हो । इस्लामले विदेशी गुप्तचर निकायसँग सम्पर्क राख्दै संवेदनशील सूचना पठाएको आरोप लगाइएको छ । बंगलादेशी सञ्चारमाध्यमका अनुसार रबिबुल इस्लामलाई गत साता ढाकामा संदिग्ध गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । बंगलादेशको ढाका मेट्रोपोलिटन प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । इस्लाम भारतको पश्चिम बंगाल राज्यका नागरिक रहेको दाबी गरिएको छ । पक्राउपछि इस्लामलाई प्रहरी हिरासतमा पठाइएको छ । बंगलादेश प्रहरीले दर्ता गरेको मुद्दामा उनलाई भारतीय नागरिक भनिएको छ । उनको पासपोर्टमा जन्मस्थान साउदी अरबको रियाद उल्लेख रहेको बताइएको छ । प्रहरीको उजुरीअनुसार सोधपुछका क्रममा इस्लामले पछिल्लो १२ वर्षमा आफू पटक–पटक बंगलादेश आएको स्वीकार गरेका छन् । उनले यस क्रममा पर्यटक वा व्यापारिक भिसा प्रयोग गरेको बताइएको छ । बंगलादेश प्रहरीले इस्लाममाथि व्यापारिक गतिविधिको बहानामा जासुसी गरेको आरोप लगाएको छ । उनले विदेशी गुप्तचर निकायसँग सम्पर्क राख्दै विभिन्न सूचना उपलब्ध गराएको प्रहरीको दाबी छ । बंगलादेशी अनुसन्धानकर्ताका अनुसार इस्लाम सेप्टेम्बर १४ मा भोमरा ल्यान्ड पोर्ट हुँदै बंगलादेश प्रवेश गरेका थिए । उनलाई सेप्टेम्बर २२ मा पक्राउ गरिएको बताइएको छ । बंगलादेशी अनुसन्धान अधिकारीहरूले इस्लामले महत्वपूर्ण सरकारी संरचनाका तस्बिर खिचेर विदेशी गुप्तचर निकायलाई पठाएको दाबी गरेका छन् । अनुसन्धानकर्ताहरूले इस्लामको परिचयपत्र र ड्राइभिङ लाइसेन्समा उल्लेख जन्ममिति तथा पासपोर्टमा रहेको जन्ममिति फरक रहेको समेत बताएका छन् । सोधपुछका क्रममा उनले यी विषयमा स्पष्ट जवाफ नदिएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार इस्लामले आफू पटक–पटक बंगलादेश आउनुको कारणसमेत स्पष्ट रूपमा बताउन सकेका छैनन् । उनलाई पश्चिम बंगालको उत्तर २४ परगना जिल्लास्थित गौरीभोज गाउँका बासिन्दा भएको दाबी गरिएको छ । भारत र बंगलादेशबीच सीमामा अवैध घुसपैठको विषयलाई लिएर तनाव कायम रहेका बेला बंगलादेशले भारतीय नागरिकलाई जासुसीको आरोपमा पक्राउ गरेको हो ।

बलेफी हाइड्रोपावरले बीएचएल इन्भेष्टमेन्टमा १ करोड रुपैयाँ लगानी गर्ने

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले बीएचएल इन्भेष्टमेन्ट लिमिटेडमा १ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले लगानीको उद्देश्य प्राप्तिका लागि बीएचएल इन्भेष्टमेन्ट लिमिटेड नामको सार्वजनिक कम्पनी कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गराएको जनाएको छ । बलेफी हाइड्रोपावरका अनुसार बीएचएल इन्भेष्टमेन्टको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २ करोड ५० लाख रुपैयाँ रहेको छ । बलेफी हाइड्रोपावरले उक्त कम्पनीमा कुल २ करोड रुपैयाँ पुँजी लगानी गर्ने कबुल गरेको छ । यसै क्रममा बीएचएल इन्भेष्टमेन्टले गत असोज २ गते १ करोड रुपैयाँ बराबरको सेयर पुँजी भुक्तानी गर्न माग गरेको थियो । त्यसपछि बलेफी हाइड्रोपावरको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले १ करोड रुपैयाँ सेयर पुँजीबापतको रकम भुक्तानी गर्ने निर्णय गरेको कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराएको छ ।  

चाडपर्वमा घर र गाडी किन्नेलाई राष्ट्रिय वाणिज्य बैंकको सहुलियत कर्जा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले दशैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै घर तथा सवारी कर्जामा विशेष अफर सार्वजनिक गरेको छ । बैंकले चाडपर्व अफरअन्तर्गत ५.५१ प्रतिशत ब्याजदरमा घर कर्जा र ४.९० प्रतिशत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने भएको हो । अफरअन्तर्गत घरजग्गा खरिद, घर निर्माण तथा घडेरी खरिदका लागि अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा लिन सकिनेछ । यस्तो कर्जाको अवधि अधिकतम २० वर्षसम्म रहने बैंकले जनाएको छ । त्यस्तै, विद्युतीय तथा अन्य सबै प्रकारका सवारी साधन खरिदका लागि अधिकतम १ करोड रुपैयाँसम्म सवारी कर्जा उपलब्ध हुनेछ । उक्त कर्जाको अवधि अधिकतम ७ वर्षसम्म रहनेछ । चाडपर्व अफरअन्तर्गत प्रवाह हुने कर्जामा बैंकले सेवा शुल्कमा समेत छुटको व्यवस्था गरेको जनाएको छ । चाडपर्वका समयमा घर खरिद तथा निर्माण र सवारी साधन खरिद गर्नेको संख्या बढ्ने भएकाले सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले विशेष कर्जा योजना ल्याइएको बैंकले जनाएको छ । यो अफर २०८३ साल कात्तिक मसान्तसम्म मात्र लागू हुने बैंकले जनाएको छ । वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७७ वटै जिल्लामा सेवा विस्तार गरेको छ । बैंकका ३१६ शाखा कार्यालय र ३३८ एटीएम टर्मिनलमार्फत ४९ लाखभन्दा बढी ग्राहकलाई निक्षेप, कर्जालगायत एटीएम, मोबाइल बैंकिङ तथा अन्य डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

डिजिटल अर्थतन्त्र र सेवाको व्यापारलाई वृद्धिको आधार बनाउँछौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदै गएको दाबी गरेका छन् । शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले सो दाबी गरेका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत आउनुको पछाडि पुराना राजनीतिक दलहरूले गरेको बेथितिको परिणाम मात्र नभई भविष्यप्रतिको आशा पनि रहेको बताए । उनले आगामी दशकमा मुलुकको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्दै केही वर्षमै नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर पुर्‍याउने सरकारको लक्ष्य रहेको बताए । अर्थमन्त्री वाग्लेले नेपालमा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्न विगतका विकास मोडलको हुबहु अनुकरण गर्न सम्भव नरहेको भन्दै २१औँ शताब्दीका नयाँ आर्थिक सम्भावनामा केन्द्रित हुन आवश्यक रहेको बताए । उनले नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै डिजिटल अर्थतन्त्र, सेवाको अन्तर्राष्ट्रिय व्यापार तथा प्रविधिमा आधारित नयाँ आर्थिक क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख स्रोत बनाइने बताए । डिजिटल प्रविधिको विस्तारसँगै सेवाको व्यापार अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सहज बन्दै गएको भन्दै सरकारले त्यस क्षेत्रबाट समेत लाभ लिन सकिने उनको भनाइ छ । उनले भने, ‘दिस इज दि मोस्ट प्राइभेट सेक्टर फ्रेन्ड्ली गर्भमेन्ट इन नेपाल्स हिस्ट्री, दिस इज दि मोस्ट रिफर्म–ओरियन्टेड गर्भमेन्ट इन नेपाल्स हिस्ट्री भनेर हामीले दाबी गर्ने गरेका थियौँ । त्यो दाबीअनुरूप हामी त्यो बाटोमा हिँडिरहेका छौँ । निजी क्षेत्रले समेत यो कुराको पुष्टि गरिरहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको यति ठूलो म्यान्डेट आउनुका पछाडि यो पुरानो बेथितिविरुद्धको डिस्गस्टको रिजल्ट मात्र होइन ।’ उनले सरकारले राखेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच थप सहकार्य र लगानीको आवश्यकता रहेको बताए ।

गुल्मी कांग्रेसमा विवाद, वेद थापा नेतृत्वको समूहमा सहभागी हुन आह्वान

काठमाडौं । नेपाली कांग्रेस गुल्मीले पार्टीभित्रको विवाद र समानान्तर गतिविधिप्रति असन्तुष्टि जनाउँदै नेता–कार्यकर्तालाई वेदबहादुर थापा मगर नेतृत्वको जिल्ला संगठनमा समाहित हुन आह्वान गरेको छ । थापा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको इतर समूहका सभापति हुन् । कांग्रेस गुल्मीका सचिव रवीन्द्र घिमिरेले जारी गरेको अपिलमा पार्टीको आधिकारिकता, झन्डा र चुनाव चिह्नका विषयमा भ्रम सिर्जना गरी संगठनलाई विभाजन गर्न खोजिएको दाबी गरिएको छ । त्यस्ता गतिविधिले पार्टीका इमानदार सदस्यमा अन्योल सिर्जना गरेको अपिलमा उल्लेख छ । घिमिरेले पार्टीभित्रै दाउपेच र षड्यन्त्रमार्फत नेता–कार्यकर्ताको तेजोबध गर्ने नियोजित गतिविधि भइरहेको आरोप लगाउँदै त्यस्ता प्रयासले कांग्रेसलाई कमजोर बनाउने बताएका छन् । ‘पार्टीको झन्डा, चुनाव चिह्न र आधिकारिकताजस्ता विषयमा भ्रम सिर्जना गरी पार्टीलाई विभाजन गर्न खोजियो,’ अपिलमा भनिएको छ । उनले लोकप्रियतावादको आवरणमा पार्टीभित्र विभाजनको गतिविधि अघि बढाइएको दाबीसमेत गरेका छन् । यस्ता गतिविधिले पार्टीभित्रको बन्धुत्व र आपसी विश्वास कमजोर बनाउने उनको भनाइ छ । अपिलमा कांग्रेसको सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध नेता–कार्यकर्तालाई वेदबहादुर थापा मगरले नेतृत्व गरेको गुल्मी कांग्रेसमा समाहित हुन आग्रह गरिएको छ । त्यसैगरी, अपिलमा शेरबहादुर देउवा नेतृत्वको कांग्रेस र डा. शशांक कोइरालाको संयोजनमा अघि बढेको १५औँ महाधिवेशनमा वडा तहदेखि सहभागी हुन पनि आह्वान गरिएको छ ।

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, लिस्बोनमा एनआरएनएले कार्यालय खोल्दै

काठमाडौं । पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघेको छ । बढ्दो नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले राजधानी लिस्बोनमा कार्यालय सञ्चालनमा ल्याउने भएको छ । एनआरएनए पोर्चुगलका अनुसार आगामी ४ अक्टोबरदेखि लिस्बोनमा कार्यालय सञ्चालनमा आउनेछ । कार्यालयबाट पोर्चुगलमा रहेका नेपाली समुदायले आवश्यक सूचना, सेवा, सहयोग तथा परामर्श प्रत्यक्ष रूपमा लिन सक्नेछन् । पोर्चुगलको राष्ट्रिय तथ्याङ्क संस्था (आईएनई)का अनुसार सन् २०२५ मा पोर्चुगलमा नेपाली नागरिकको संख्या ५६ हजार ८ सय ६६ पुगेको छ । यो पोर्चुगलमा रहेका आप्रवासीमध्ये पाँचौँ ठूलो संख्या हो। नेपालीमध्ये ३८ हजार ३ सय ३५ पुरुष र १८ हजार ५ सय ३१ महिला छन् । पोर्चुगलको नागरिकता लिइसकेका नेपाली भने उक्त तथ्याङ्कमा समावेश छैनन् । तथ्याङ्कअनुसार सन् २०२१ मा पोर्चुगलमा २४ हजार १३ जना नेपाली रहेकामा सन् २०२५ सम्म आइपुग्दा संख्या बढेर ५६ हजार ८ सय ६६ पुगेको हो । चार वर्षमा नेपालीको संख्या १३६ दशमलव ८ प्रतिशतले बढेको देखिन्छ । सन् २०२५ मा पोर्चुगलमा ब्राजिलका ५ लाख ७४ हजार १ सय ९५, एङ्गोलाका १ लाख ३ हजार १ सय ४०, भारतका ९३ हजार ६ सय ८३ र केपभर्डेका ७६ हजार ९९ नागरिक रहेका छन् । यी देशपछि नेपाली नागरिकको संख्या रहेको तथ्याङ्कमा उल्लेख छ । सन् २०२५ मा पोर्चुगलमा रहेका कुल आप्रवासीको संख्या १५ लाख ९७ हजार ५ सय ३९ रहेकोमा नेपालीको हिस्सा ३ दशमलव ५५ प्रतिशत छ । सन् २०२१ मा कुल आप्रवासीमा नेपालीको हिस्सा ३ दशमलव २ प्रतिशत थियो । नेपालीको संख्या बढेसँगै पोर्चुगलमा नेपाली संघसंस्थाको संस्थागत उपस्थिति र नेपालको कूटनीतिक सक्रियता पनि विस्तार हुँदै गएको छ । नेपाल सरकारले २०८१ सालमा लिस्बोनमा नेपाली दूतावास स्थापना गरेको थियो। सरकारले प्रकाशमणि पौडेललाई पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त गरेको थियो । यस्तै, पोर्चुगलले पनि नेपालमा आफ्नो कूटनीतिक उपस्थिति विस्तार गर्ने प्रक्रिया अघि बढाएको छ । काठमाडौंमा काउन्सिलर कार्यालय स्थापना गर्न पोर्चुगलले माग गरेकोमा मन्त्रिपरिषद्ले २०८३ साउन २६ गते सहमति दिने निर्णय गरेको थियो । त्यसपछि पोर्चुगलले काउन्सिलर कार्यालयभन्दा माथिल्लो तहको महावाणिज्य दूतावास स्थापना गर्न अनुमति मागेको जनाइएको छ । बढ्दो नेपाली समुदायलाई मध्यनजर गर्दै एनआरएनए पोर्चुगलले लिस्बोनमा कार्यालय सञ्चालन गर्न लागेको जनाएको छ। कार्यालय अभेनिदा देफेन्सोरेस दे शाभेस नं. ४, १०००–१०९, लिस्बोनमा रहनेछ । कार्यालय एसआईसीको अगाडि रहेको जनाइएको छ । एनआरएनए पोर्चुगलले आधिकारिक वेबसाइट पनि सञ्चालनमा ल्याएको जनाएको छ । वेबसाइटमार्फत संघका आधिकारिक सूचना, सेवा, सहयोग, कार्यक्रम तथा आवश्यक जानकारी प्राप्त गर्न सकिनेछ । सेवा तथा सहयोगसम्बन्धी जिज्ञासा र अनुरोधसमेत वेबसाइटमार्फत पठाउन सकिने व्यवस्था गरिएको संघले जनाएको छ । एनआरएनए पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तान र सचिव सुरज भण्डारीले कार्यालय तथा वेबसाइटबाट उपलब्ध सेवाको उपयोग गर्न पोर्चुगलमा रहेका नेपाली समुदायलाई आग्रह गरेका छन् ।

संसद केवल बजेट माग्ने थलो होइन, ढुकुटी भर्ने नीति निर्माणको थलो बन्नुपर्छ : सांसद लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले सांसदहरूको भूमिका केवल आफ्नो निर्वाचन क्षेत्रका लागि बजेट माग्नेमै सीमित हुन नहुने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसदहरूले राष्ट्रिय ढुकुटी भर्ने नीति निर्माणमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन् । सांसद लामिछानेले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि बजेट माग्नु स्वाभाविक भए पनि राष्ट्रिय अर्थतन्त्रको अवस्थाबारे गम्भीर हुन आवश्यक रहेको औँल्याए । उनले भकारी रित्तो राखेर निरन्तर अन्न मागिरहे एक दिन भकारी नै रित्तिने भन्दै नीति निर्माण तहमा बस्नेहरूको जिम्मेवारी ढुकुटी जोगाउने र भर्ने हुनुपर्ने बताए । आगामी हिउँदे अधिवेशनलाई केवल विधेयक पारित गर्ने प्रक्रियामा मात्र सीमित नराख्न उनले आग्रह गरे । उनका अनुसार आगामी संसद् अधिवेशन उत्पादन वृद्धि, रोजगारी सिर्जना, लगानी आकर्षण र निर्यात प्रवर्द्धन गर्ने ठोस नीति तर्जुमा गर्ने केन्द्र बन्नुपर्छ । उनले भने, ‘हामी केवल राज्यको ढुकुटीबाट माग्ने प्रतिनिधि मात्र होइनौँ, त्यो ढुकुटी भर्ने नीति बनाउने जिम्मेवार प्रतिनिधि पनि हौँ ।’ एउटा योजना माग्दा निर्वाचन क्षेत्रका केही मानिस खुसी भए पनि अर्थतन्त्र बलियो बनाउने नीतिले सिङ्गो देश र भावी पुस्ता लाभान्वित हुने उनको तर्क छ । अतः अबको संसदीय प्राथमिकतामा राष्ट्रिय ढुकुटी भर्ने वातावरण निर्माण गर्ने नीति नै मुख्य एजेन्डा बन्नुपर्नेमा लामिछानेले जोड दिए ।