शिक्षा क्षेत्रको जीडीपी योगदान बढ्यो, विद्यार्थी टिकाउन चुनौती
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयले शुक्रबार वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा शिक्षा क्षेत्रमा भएको बजेट खर्च, विद्यालय तहका शैक्षिक सूचक, परीक्षा नतिजा, डिजिटल शिक्षाको विस्तार, छात्रवृत्ति, वैदेशिक अध्ययन, खेलकुद तथा विद्यालय पूर्वाधार निर्माणलगायतका विषय समेटिएका छन् । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा शिक्षा तथा खेलकुद क्षेत्रका लागि २ खर्ब २४ अर्ब ६० करोड ३० लाख ४० हजार रुपैयाँको संशोधित बजेट रहेको थियो । कुल बजेटमध्ये ६६.८७ प्रतिशत स्थानीय तह, २.१९ प्रतिशत प्रदेश र ३०.९३ प्रतिशत संघीय तहमा रहेको प्रतिवेदनमा उल्लेख छ । संघीय तहमा रहेको बजेटमध्ये चालुतर्फ ८८.३२ प्रतिशत र पुँजीगततर्फ ५४.१२ प्रतिशत वित्तीय प्रगति भएको मन्त्रालयले जनाएको छ । चालु र पुँजीगत दुवै खर्चलाई समेट्दा संघीय तहको समग्र वित्तीय प्रगति ८५.१६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । शिक्षा क्षेत्रको जीडीपी योगदान ९.२२ प्रतिशत प्रतिवेदनअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा शिक्षा क्षेत्रको योगदान बढेको छ । आर्थिक वर्ष २०८२/०८३ मा जीडीपीमा शिक्षा क्षेत्रको योगदान ९.२२ प्रतिशत रहने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो योगदान ८.८६ प्रतिशत रहेको थियो । विद्यालय शिक्षातर्फ आधारभूत तहको खुद भर्नादर तुलनात्मक रूपमा उच्च देखिए पनि माध्यमिक तहमा विद्यार्थी टिकाइ चुनौतीपूर्ण रहेको प्रतिवेदनले देखाएको छ । शैक्षिक सत्र २०८२ मा कक्षा १ देखि ८ सम्मको आधारभूत तहको खुद भर्नादर ९७.७ प्रतिशत पुगेको छ । कक्षा ९ देखि १२ सम्मको माध्यमिक तहमा भने खुद भर्नादर ५१.२ प्रतिशत रहेको छ । यस्तै, कक्षा १२ सम्म विद्यार्थी टिकाउ दर ३९.३ प्रतिशतमा सीमित रहेको प्रतिवेदनमा उल्लेख छ । आधारभूत तहमा भर्नादर उच्च रहे पनि माथिल्लो कक्षामा पुग्दा विद्यार्थीको निरन्तरता कायम राख्नु शिक्षा क्षेत्रको प्रमुख चुनौतीका रूपमा देखिएको छ । एसईईमा ग्रेड प्राप्त गर्ने विद्यार्थी बढे मन्त्रालयले विद्यालय तहको परीक्षाको नतिजामा सुधार आएको जनाएको छ । शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३० हजार ६६७ परीक्षार्थी सहभागी भएकामा ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ४.१७ प्रतिशत बिन्दुले बढी भएको प्रतिवेदनमा उल्लेख छ । कक्षा १२ को नियमित परीक्षामा भने ६९.७५ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन् । विद्यालयमा सूचना प्रविधिको पहुँच पनि विस्तार भएको मन्त्रालयको दाबी छ । देशभरका सामुदायिक विद्यालयमध्ये ६९.७० प्रतिशतमा इन्टरनेट सुविधा पुगेको छ भने ६८.२० प्रतिशत विद्यालयमा आईसीटी ल्याब स्थापना भएको प्रतिवेदनमा उल्लेख छ । २८ लाख बालबालिकालाई दिवा खाजा सरकारले विद्यालयमा विद्यार्थीको पहुँच र निरन्तरता बढाउन सञ्चालन गरेको दिवा खाजा कार्यक्रमअन्तर्गत आधारभूत तहका करिब २८ लाख बालबालिका लाभान्वित भएको मन्त्रालयले जनाएको छ । यस कार्यक्रमका लागि १० अर्ब १९ करोड रुपैयाँ विनियोजन गरी कार्यान्वयन गरिएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, विद्यालय, प्राविधिक तथा व्यावसायिक शिक्षा र उच्च शिक्षातर्फ गरी २ अर्ब ४४ करोड रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको मन्त्रालयले जनाएको छ । एक वर्षमा १ लाख १४ हजारभन्दा बढी एनओसी उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या पनि प्रतिवेदनमा उल्लेखनीय देखिएको छ। आर्थिक वर्ष २०८२/०८३ मा १ लाख १४ हजार ९२४ जना विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएको मन्त्रालयले जनाएको छ । विदेश अध्ययनका लागि ठूलो संख्यामा विद्यार्थीले एनओसी लिनुले उच्च शिक्षामा बढ्दो वैदेशिक आकर्षणलाई देखाएको छ । मन्त्रालयले वैदेशिक अध्ययन अनुमति प्रक्रियालाई व्यवस्थित गर्न रुजु, अनुगमन तथा नियमनका काम अघि बढाएको जनाएको छ । खेलाडीलाई १० करोड ८३ लाख नगद पुरस्कार खेलकुदतर्फ अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने १०४ जना खेलाडी तथा खेल अफिसियललाई १० करोड ८३ लाख ४८ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयका अनुसार नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा ५१ स्वर्ण, २२ रजत र १९ कास्य गरी कुल ९२ पदक हासिल गरेका छन् । भूकम्प प्रभावित ७ हजार ६७७ विद्यालय पुन:निर्माण विद्यालय पूर्वाधारतर्फ २०७२ सालको भूकम्पबाट प्रभावित ३२ जिल्लाका ७ हजार ६७७ विद्यालय भवनको पुन:निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो समय पश्चिम नेपालका विभिन्न जिल्लामा गएको भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनको पुनर्निर्माण कार्यलाई समेत अघि बढाइएको प्रतिवेदनमा उल्लेख छ । थप १३ अर्ब बजेट व्यवस्थाका लागि पहल मन्त्रालयले विनियोजित बजेट अपुग भएपछि गत आर्थिक वर्ष २०८२/०८३ मा १३ अर्ब ४३ करोड १४ लाख रुपैयाँ थप बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग समन्वय गरेको जनाएको छ । मन्त्रालयका अनुसार सो अवधिमा हेल्लो सरकारअन्तर्गत प्राप्त १ हजार १४१ उजुरी सम्बोधन, ११२ मुद्दाको लिखित जवाफ र २२२ कानुनी राय प्रदान गरिएको छ । साथै ३३ वटा कानुन तर्जुमा गरिएको प्रतिवेदनमा उल्लेख छ । शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालनसम्बन्धी नियमावली, २०८३ र विदेशी शैक्षिक कार्यक्रम सञ्चालन तथा नियमनसम्बन्धी नियमावली, २०८३ जारी गरिएको छ । शैक्षिक परामर्श प्रदान गर्ने ७६० संस्थाको नवीकरणसमेत गरिएको मन्त्रालयले जनाएको छ । यसैगरी विभिन्न आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट योग्यता प्रणालीका आधारमा सिफारिस गरिएको, विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गरिरहेका संस्थाको अनुगमन गरिएको तथा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ऐनको मस्यौदा तयार गरिएको प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम, मध्यमकालीन खर्च संरचना र बजेट कार्यान्वयन कार्यविधिसमेत तयार गरेको जनाएको छ ।
कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर ठमेलमा २० प्रतिशतसम्म छुट
काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले ठमेलस्थित रमदा अन्कोर बाइ विइन्डम होटलका विभिन्न सेवा तथा सुविधामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यसका लागि कुमारी बैंक र रमदा अन्कोर बाइ विइन्डम होटलबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको हो । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले होटल तथा रेस्टुरेन्टमा उपलब्ध खाना, पेय पदार्थ र स्पा सेवामा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् । साथै, होटलका विभिन्न सेवा तथा सुविधा लिन ग्राहकलाई किस्ताबन्दी (ईएमआई) सुविधा समेत उपलब्ध गराइनेछ । त्यस्तै, वार्षिक न्यूनतम १५ हजार रुपैयाँ खर्च गर्ने ग्राहकले आफ्नो जन्मदिनमा निःशुल्क केक प्राप्त गर्नेछन् । पारिवारिक जमघट तथा कार्यक्रमका लागि पनि केक र कर्केज शुल्क नलाग्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । रेस्टुरेन्टमा वार्षिक ५० हजार रुपैयाँ खर्च गर्ने कुमारी बैंकका ग्राहकले एक दिनको कोठा निःशुल्क पाउने सुविधा समेत प्राप्त गर्नेछन् । ग्राहकलाई लक्षित गरी ‘फ्यामिली डे आउट प्याकेज’ र ‘फ्यामिली स्टे प्याकेज’मा पनि विशेष छुटको व्यवस्था गरिएको छ । कुमारी बैंकले विगत २५ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको जनाएको छ । बैंकका देशभर २७९ शाखा, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ एकाइ सञ्चालनमा रहेका छन् । बैंकले ग्राहकलाई थप सरल, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न संस्थासँग सहकार्य गर्दै जाने जनाएको छ ।
कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, १०० डिजिटल बोर्डबाट मात्रै प्रचार
काठमाडौं । नेपाली कांग्रेसले प्राकृतिक विपत्तिका कारण दुई दिन ढिला हुन लागेको १५औं महाधिवेशनमा कुनै तामझाम नगर्ने भएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विपत्तिमा हजारौं मानिस अझै बेपत्ता रहेको, सयौं परिवार बिछोडिएको र बालबालिका टुहुरा भएको अवस्थालाई मध्यनजर गर्दै महाधिवेशनमा प्रचारप्रसारका नाममा तामझाम नगर्ने निर्णय कांग्रेसले गरेको हो । कार्यक्रमस्थलमा एउटा मूल गेटबाहेक अन्य प्रचार सामग्री सहर तथा बजारमा नराखिने भएको छ । त्यसको सट्टा बिहीबारदेखि नै काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरका करिब १०० डिजिटल बोर्डमार्फत महाधिवेशनसम्बन्धी सूचना तथा सन्देश प्रवाह गर्न थालिएको हो । निर्वाचनमा उम्मेदवार बन्ने नेताहरूलाई पनि डिजिटल माध्यमबाट मात्रै प्रचार गर्न कांग्रेसले आग्रह गरेको छ । कांग्रेसको १५औं महाधिवेशन असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुन लागेको हो । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ । महाधिवेशनका लागि १५ वटा समिति गठन गरी प्राविधिक तथा व्यवस्थापकीय तयारी अघि बढाइएको कांग्रेसले जनाएको छ । उद्घाटनस्थल खुलामञ्चमा मञ्च निर्माण तीव्र पारिएको छ भने त्यहीँ बन्द सत्रका लागि छुट्टाछुट्टै हल तयार पारिँदैछ । कार्यक्रमस्थलमै मिडिया सेन्टर र प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरिने कांग्रेसले जनाएको छ । आवास व्यवस्थापन समितिले प्रत्येक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक–एक जना संयोजक तोकेर महाधिवेशन प्रतिनिधिको बसोबास व्यवस्थापनको समन्वय गरिरहेको छ । आवास र कार्यक्रमस्थलसम्मको आवतजावत खर्च भने सहभागी आफैले बेहोर्ने व्यवस्था गरिएको छ । प्रतिनिधिका लागि एयरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क क्षेत्रमा आवासको व्यवस्था गरिएको छ । आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसमार्फत उपलब्ध गराइनेछ । बिहान, दिउँसो र साँझको भोजनको व्यवस्था भने भृकुटीमण्डपमा गरिएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशनमा ७ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । कांग्रेसको इतिहासमै पहिलोपटक यति ठूलो संख्यामा महाधिवेशन प्रतिनिधि निर्वाचित भएको जनाइएको छ । प्रतिनिधिहरूले असोज १८ गते उद्घाटन, १९ र २० गते बन्द सत्र तथा २१ र २२ गते निर्वाचन प्रक्रियामा भाग लिने कांग्रेसले जनाएको छ । उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, श्रम संस्कृति पार्टीका महासचिव आरेन राईलगायतका नेताहरू सहभागी हुने निश्चित भएको कांग्रेसले जनाएको छ । अन्तर्राष्ट्रिय अतिथिका रूपमा सोसलिष्ट इन्टरनेशनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छन् । अन्य अन्तर्राष्ट्रिय अतिथिको सहभागिता पनि सुनिश्चित हुने क्रम जारी रहेको कांग्रेसले जनाएको छ । महाधिवेशनका सूचना नियमित रूपमा सार्वजनिक गर्न कांग्रेसले अब दैनिक पत्रकार सम्मेलन पनि गर्ने भएको छ । भोलिदेखि कार्यक्रमस्थलमा रहने मिडिया सेन्टरबाटै पत्रकार सम्मेलन गरिने प्रवक्ता तथा १५औं महाधिवेशन सूचना, सञ्चार तथा प्रविधि समितिका संयोजक देवराज चालिसेले जानकारी दिएका छन् ।
दशैं-तिहारमा काठमाडौंमा ३ हजार ५ सय प्रहरी परिचालन हुने
काठमाडौं । काठमाडौंमा चाडपर्वलक्षित प्रहरी परिचालन हुने भएका छन् । शुक्रबार काठमाडौं प्रहरी परिसरमा पत्रकार सम्मेलन गर्दै परिसरका प्रवक्ता दानबहादुर थापाले काठमाडाैंमा चाडपर्वलक्षित ३ हजार ५०६ सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए । बसपार्क, सवारीसाधन व्यवस्थापन गर्ने क्षेत्र, आर्थिक कारोबार हुने क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र लगायतका ठाउँमा सुरक्षाकर्मी परिचालन गरिने परिसरले जनाएको छ । त्यस्तै, सादा पोशाकमा पनि प्रहरी परिचालन गरिने भएको छ । कुकुरसहितको चेकजाँच, ड्रोन परिचालन गर्ने रणनीति बनाएको थापाले बताए ।
पेट्रो ल्युबबाट सामान किन्ने ग्राहकले पाए १० लाखको बम्पर उपहार
काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको उपहार शुक्रबार घोषणा भएको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास, प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा गरे । नयाँ घोषणाअनुसार पर्साका लालबाबु साह कानुलाई १० लाख राशिको १५ दिनको बम्पर उपहार परेको छ । कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा छनोट भएको हो। उनलाई तत्कालै फोन सम्पर्क गरेर आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरे । आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ताका ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए । जसमा नगदमा कारोबार गरेर बिल लिएका उपभोक्ताको कारोबार संख्या २ लाख ४७ हजार ९७९ थियो भने अनलाइन तथा कार्डबाट भुक्तानी गरेर वस्तु खरिद गरेका उपभोक्ताको कारोबार संख्या ३ करोड १५ लाख ७० हजार ३०७ थियो ।
क्याप्टेन स्मित : जसले हनुमान चालिसा पढ्दै १७४ यात्रुको ज्यान जोगाए
काठमाडौं । फ्लाई दुबई विमान दुर्घटनामा गम्भीर घाइते भए पनि यात्रुको ज्यान जोगाउन ककपिटको ढोका खोल्ने साहस गरेका क्याप्टेन स्मित मच्छरले अप्ठ्यारो समयमा हनुमान चालिसा पढ्दै आफूलाई हौसला दिएको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन कुराकानीमा उनले आफूलाई भगवानले नै बचाएको विश्वास रहेको बताएका हुन् । प्रधानमन्त्रीसँग कुराकानीका क्रममा क्याप्टेन स्मितले चोटको पीडाका क्रममा हनुमान चालिसा पाठ गरिरहेकाले आफूलाई हौसला मिलेको बताए । ‘म निकै सकारात्मक छु । जब मलाई पीडा हुन्छ, मलाई एउटै कुरा याद आउँछ—म हनुमान चालिसा पढिरहेको हुन्छु । मलाई थाहा छ, भगवानले नै मेरो ज्यान बचाउनुभएको हो,’ उनले भने । उनले हरेक बिहान पूजा गर्ने समयमा आफ्नो दुई वर्षीय छोरा काखमा बस्ने र आफूले उसलाई हनुमान चालिसा सुनाउने गरेको पनि बताए । विदेशमा बसे पनि आफ्नो संस्कृति र परम्पराबाट टाढा हुन नहुने उनको भनाइ थियो । प्रधानमन्त्री मोदीले उनको साहस र सुझबुझको खुलेर प्रशंसा गरे । गम्भीर चोट लागेका अवस्थामा पनि यात्रुको ज्यान जोगाउन उनले गरेको निर्णयप्रति पूरै देश गर्वित रहेको मोदीले बताएका छन् । ‘पूरै देश तपाईंका लागि प्रार्थना गरिरहेको छ । ठाउँ–ठाउँमा महामृत्युञ्जय मन्त्रको जाप भइरहेको छ । तपाईंको साहस, धैर्य र सुझबुझले धेरै मानिसको ज्यान बचाएको छ,’ मोदीले भने, ‘तपाईंले भारतीयहरू ज्यान लिने होइन, ज्यान बचाउने मानिस हुन् भन्ने देखाउनुभएको छ ।’ मोदीले उनको साहसिक कदमले १४० करोड भारतीयको सम्मान बढाएको पनि मोदीले उल्लेख गरे । क्याप्टेन स्मितले प्रधानमन्त्रीसँगको कुराकानीमा आफू लडेर धेरै ठाउँमा चोट लागेको बताए । त्यसका बाबजुद विमानभित्रको अवस्था बिग्रिँदै गएको महसुस भएको उनले बताए । ‘मलाई लाग्यो, यदि म उठिनँ र केही कदम चालिनँ भने अवस्था अझ खराब हुन्छ । म १७ वर्षदेखि विमान उडाइरहेको छु र पछिल्लो ११ वर्षदेखि क्याप्टेन छु । मलाई आँखा बन्द गरेर पनि विमानभित्र के भइरहेको छ भन्ने थाहा हुन्छ,’ उनले भने, ‘म तल लडिरहेको अवस्थामा पनि अवस्था बिग्रिँदै गएको महसुस गरिरहेको थिएँ ।’ स्मितले अन्तिम प्रयास गर्दै ककपिटको ढोका खोलेपछि अन्य मानिसहरू पनि त्यहाँ आउन सकेको बताए । यो प्रयासमा अन्य व्यक्तिको पनि महत्त्वपूर्ण भूमिका रहेको उनले उल्लेख गरे । ‘म आफ्नो ज्यान बचाउने हिसाबले अघि बढिरहेको थिएँ । तर त्यही समयमा मलाई थाहा थियो, म ती मानिसहरूलाई मर्न दिन सक्दिनँ,’ उनले भने । प्रधानमन्त्री मोदीले क्याप्टेन स्मितका पिता भूपेन्द्रभाइ, आमा गीताबेन र पत्नी सोनलबेनसँग भएको कुराकानीको पनि स्मरण गरे । गीताबेनले स्मितलाई राम्रो संस्कार दिएको भन्दै उनले प्रशंसा गरे । सोनलबेनको साहस र संयमको पनि मोदीले प्रशंसा गरेका छन् । सावरकुन्डलासहित भारतका विभिन्न स्थानमा क्याप्टेन स्मितको दीर्घायु र स्वास्थ्यलाभका लागि पूजाअर्चना भइरहेको मोदीले बताए । सम्पूर्ण भारत उनको पूर्ण स्वास्थ्यलाभको प्रतीक्षामा रहेको उनले बताए । क्याप्टेन स्मितको उपचार र हेरचाहमा सहयोग गरेकोमा मोदीले साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) सरकारलाई पनि धन्यवाद दिएका छन् । आवश्यक परेको अवस्थामा आफू एक फोनको दूरीमा रहेको उनले बताए । ‘तपाईंले वास्तवमै भारतको नाम जोगाउनुभएको छ । तपाईं पूर्ण रूपमा स्वस्थ हुनुहोस्, पूरा देश तपाईंको साथमा छ,’ मोदीले भने । कुराकानीको अन्त्यमा मोदीले क्याप्टेन स्मितलाई शीघ्र स्वास्थ्यलाभको शुभकामना दिँदै आफूहरू फेरि भेटेर बाँकी कुराकानी गर्ने बताएका थिए । १४ हजार फिट तल झर्यो विमान, यात्रुले जोगाए १७४ जनाको ज्यान
२०७ कम्पनीको सेयर मूल्य घट्यो
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९० अंकले घटेर २५८७ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ६१ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । शुक्रबार ३५६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार १०.७५ प्रतिशत डिभेन्चरको भएको छ । कम्पनीको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै रिलाइन्स स्पिीनिङको १५ करोड, आँखु खोलाको आँखु खोलाको १४ करोड र घलेम्दी हाइड्रोको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अधिकांश उपसूचक घटेका छन् । १३ मध्ये ११ वटा उपसूचक घट्दा दुईवटा मात्रै बढेका छन् । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको उपसूचक ०.७३ प्रतिशतले घटेर १० हजार ६३२.८३ विन्दुमा झरेको छ । हाइड्रोपावर उपसूचक ०.६४ प्रतिशतले घटेर ३ हजार ५२६.६३ विन्दुमा कायम भएको छ । त्यस्तै, होटल तथा पर्यटन उपसूचक ०.५२ प्रतिशत, विकास बैंक ०.५१ प्रतिशत, लगानी ०.४९ प्रतिशत, लघुवित्त ०.४१ प्रतिशत, बैंकिङ ०.३६ प्रतिशत र जीवन बीमा उपसूचक ०.३० प्रतिशतले घटेका छन् । वित्त उपसूचक ०.२२ प्रतिशत, निर्जीवन बीमा ०.०६ प्रतिशत र अन्य समूहको उपसूचक ०.१२ प्रतिशतले घटेको छ । यस दिन ट्रेडिङ उपसूचक ०.६० प्रतिशतले बढेर ३ हजार २३९.६१ विन्दुमा पुगेको छ । त्यस्तै, म्युचुअल फन्ड उपसूचक ०.२० प्रतिशतले बढेर १९.४७ विन्दुमा कायम भएको छ ।
'ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछ'
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना पकाउने एलपीजी ग्यासको आपूर्ति सहज बन्दै गएको दाबी गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री साहले यस्तो दाबी गरेका हुन् । उनका अनुसार मन्त्रालयले हाल एलपीजी ग्यासको लोडिङ, ढुवानी, भण्डारण, रिफिलिङ, वितरण, डिलर हुँदै उपभोक्तासम्म पुग्ने प्रक्रियामा रहेका समस्या पहिचान गरी समाधानका लागि काम गरिरहेको छ । उनले ग्यासको आपूर्ति सहज बनाउन सरकारले मागको भौगोलिक असन्तुलन, बजार व्यवस्थापन र सुरक्षालगायतका पक्षलाई विश्लेषण गरेको पनि बताए । ग्यास अभावको समस्या समाधान गर्न सरकारले तत्कालीन, मध्यमकालीन र दीर्घकालीन ऊर्जा सुरक्षा योजना निर्माण गरिरहेको मन्त्री साहले बताए । तत्काल नागरिकलाई ग्यास उपलब्ध गराउने विषयमा सरकार गम्भीर रहेको उनको भनाइ छ । उनले ग्यासको भण्डारण क्षमता विस्तार, बोटलिङ तथा वितरण क्षमता वृद्धि र आपत्कालीन मौज्दातको व्यवस्था गर्न सरोकारवालासँग छलफल भइरहेको जानकारी दिए । उनले आफूले पदभार ग्रहण गरेलगत्तै ग्यास आपूर्तिको समस्याको प्राविधिक विश्लेषण गर्दै ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गरेको उल्लेख गरे । आपूर्ति प्रणालीको मुख्य अवरोधका रूपमा कृष्णभीरको पहिरो पहिचान भएपछि सडक खुलाउन दोब्बर जनशक्ति र मेसिनरी परिचालन गरिएको मन्त्री साहले बताए । दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र मूल्य नियन्त्रणको विषयसमेत सरकारको प्राथमिकतामा रहेको उनले बताए । बजार अनुगमनलाई व्यवसायीलाई आतङ्कित बनाउने माध्यम नभई स्वच्छ प्रतिस्पर्धा र उपभोक्ता अधिकार संरक्षणको साधनका रूपमा अघि बढाइने उनको भनाइ छ । उनले भने, ‘पछिल्लो समय आम नागरिकले प्रत्यक्ष अनुभव गरेको प्रमुख समस्या एलपीजी ग्यासको आपूर्ति हो । यस समस्यालाई मैले केवल आज कति ग्यास बुलेट आए भन्ने प्रश्नका रूपमा हेरेको छैन । लोडिङदेखि ढुवानी, भण्डारण, रिफिलिङ, वितरण, डिलर हुँदै उपभोक्ताको भान्सासम्म सम्पूर्ण सप्लाई चेनलाई एउटै प्रणालीका रूपमा हेरेका छौँ । म एउटा टेक्नो–इकोनोमिक इन्जिनियर भएको नाताले समस्या पहिचान गर्न ‘फिसबोन डायग्राम’ जस्तो प्राविधिक विश्लेषण प्रयोग गरेँ ।’ उनले चाडबाडको समयमा बजार अनुगमनमा कडाइ गरिएको भन्दै कुनै पनि व्यवसायीले उपभोक्ताको हितविपरीत काम गरे कानुनअनुसार कारबाही हुने स्पष्ट पारे।