अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमलव २५ मेगावाट बनाइएको प्रवद्र्धक कम्पनी हाइड्रो इम्पायर प्रालिले जनाएको छ । आयोजना प्रमुख रमेश सुवेदीले पानीको स्रोत पर्याप्त भएकाले नौ दशमलव २५ मेगावाट क्षमता बढाइएको जानकारी दिए । 'सुरुङको आकार, हेड (विद्युत्गृह र बाँधको उचाइ), टर्वाइनको क्षमता बढाउने र लगानी थप गरेपछि आयोजनाको क्षमता बढाउन विद्युत् विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ', उनले भने, 'थप जग्गा अधिग्रहण र वन क्षेत्र उपभोग गर्न नपर्ने हिसाबले क्षमता अभिवृद्धि गरिएको हो ।' यसअघि ३१४ मिटर अग्लो रहेको हेडलाई बढाएर ३१७ मिटर र खोलाबाट सुरुङमा हालिने पानीको मात्रा १४ दशमलव ४१ घनमिटर प्रतिसेकेण्डबाट बढाएर १७ दशमलव २४ घनमिटर प्रतिसेकेण्ड बनाइएको छ । अनुमानित लागत आठ अर्ब ४६ करोड ५४ लाख दुई हजार रुपैयाँ रहेको हाइड्रो इम्पायरका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताए । धवलागिरि–४ सिङकोश दोभानमा बाँध र घिम्लेटी (खारपानी) मा विद्युत्गृह निर्माण सुरु भएको छ । आयोजनाको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ । विसं २०८१ फागुनदेखि तीन हजार ८३८ मिटर लामो सुरुङ निर्माण सुरु भएको थियो । बाँधस्थल, चेचुङको अडिट र घिम्लेटीको आउटलेटबाट हालसम्म दुई हजार ४०० मिटर सुरुङ निर्माण भइसकेको छ । घिम्लेटीमा आयोजनाको प्रशासनिक भवन निर्माण भएको छ । आउटलेटबाट विद्युत्गृहसम्म ८४३ मिटर लामो पेनस्टक पाइपलाइन रहनेछ । यो आयोजना रन अफ द रिभर (नदी प्रभाहमा आधारित) हो । आयोजनाको सिभिल ठेकेदार आरएससी आरजे जेभी र माछापुछ्रे इञ्जिनियरिङ प्रालि रहेका छन् । साथै इलेक्ट्रोमेकानिकल कार्यका लागि ठेकेदार कम्पनी ट्रोयर इटली रहेको छ । हाइड्रोमेकानिकल कार्यका लागि माछापुछ्रे मेटल एण्ड मेसिनरी वर्कसप प्रालि परिचालित भएको छ । वित्तीय व्यवस्थापनका लागि सिद्धार्थ बैंकको अगुवाइमा नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, एभरेष्ट बैंक र नवील बैंकले लगानी गरेका छन् । यसमा ७०–३० को अनुपातमा आधारित बैंक र स्वपुँजी रहनेछ । यस आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेशनमार्फत केन्द्रीय ग्रिडमा जोडिनेछ । करिब १० किलोमिटर लामो १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणको तयारीमा छ । शिवरात्रि खोलादेखि बाँध निर्माणस्थलसम्म करिब १८ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । आयोजनाले धवलागिरि गाउँपालिकाको सिफारिसमा खिवाङ र चेचुङ गाउँमा सडक पुर्याउन सहयोग गरेको छ । विसं २०८३ चैतसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजना प्रमुख सुवेदीले बताए । क्षमता अभिवृद्धिको प्रक्रियाअनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सरोकारवालाको सुझाव सङ्कलन गर्न शनिबार धवलागिरि–४ नाउरामा मस्यौदा परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । परामर्शदाता इनर्जी रिसोर्सेस एण्ड सलुसन्स प्रालिका प्रबन्ध निर्देशक शङ्कर बस्यालले आयोजना निर्माणका क्रममा पर्ने वातावरणीय, सामाजिक, आर्थिक असर तथा न्यूनीकरणका उपायका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए । आयोजना प्रभावित क्षेत्रमा नीतिगत व्यवस्थाअनुसार समुदाय सहयोगका विभिन्न कार्यक्रमका लागि छ करोड ३४ लाख ९१ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाध्यक्ष यामबहादुर घर्ती, वडा सदस्य हरिप्रसाद तिलिजा, जनसुधार युवा क्लबका अध्यक्ष लीलबहादुर घर्ती, खाम्लाका बासिन्दा केशरमान पुन, चन्द्रज्योति मावि व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर पुन र नाउराका बासिन्दा कुलबहादुर घर्तीले सुझाव दिएका थिए । पहुँचमार्गको स्तरोन्नति, खिवाङ–मुदी जोड्ने सडकमा मोटरबेल पुल, सडकको धुलो नियन्त्रण, सामाजिक उत्तरदायित्व कार्यक्रमका बजेटको पारदर्शी परिचालन गर्न उनीहरुले सुझाव दिएका थिए । रासस
सुर्खेत आँखा अस्पतालमा सेवा विस्तार : अब बिरामी काठमाडौं जानुपर्दैन
सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा सञ्चालनको तयारी गरेको छ । बाल आँखा उपचार सेवा (नवजात शिशु), ‘रेटिना’ र जलविन्दु उपचार सेवा थालनी गर्न अस्पतालले आन्तरिक तयारीलाई तीव्र बनाएको हो । यसका लागि अस्पतालले नेत्र विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी र उपकरणको व्यवस्थापन गरिरहेको छ । अस्पतालमा आँखा उपचारका ती उपविशिष्टिकृत सेवा थालनी भएमा आँखा उपचारका लागि सङ्घीय राजधानी काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य हुने जनाइएको छ । अस्पतालको मेडिकल निर्देशक डा आकाङ्क्षा रानाले भने, 'सुर्खेत आँखा अस्पतालमा उपविशिष्टिकृत आँखा उपचार सेवाअन्तर्गत बाल आँखा उपचार सेवा (नवजात शिशुसहित), रेटिना र जलविन्दु सेवा सञ्चालनको तयारी गरिरहेका छौँ । रेटिना उपचार सुरुआत भइसकेको छ । अन्य सेवा छिट्टै थालनी हुने छ ।' स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अन्धोपनको दर कर्णाली प्रदेशमा उच्च अर्थात् कूल जनसङ्ख्याको एक प्रतिशत छ । पछिल्लो जनगणनाअनुसार यहाँका ७९ पालिकाका ७१८ वडामा १६ लाख ८८ हजार ४१२ जनसङ्ख्या छ । अस्पतालले बाल आँखा उपचार सेवा र रेटिना उपचार सेवा थालनीका लागि चिकित्सक र स्वास्थ्यकर्मीको प्रबन्ध गरेर काठमाण्डौंस्थित तिलगङ्गा आँखा प्रतिष्ठानमा तालिमका लागि पठाएको छ भने ती सेवा सञ्चालनका लागि आवश्यक उपकरणको व्यवस्थापन गरिसकेको छ । स्वीस रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाटीद्वारा सञ्चालित सो अस्पतालमा हाल कर्णाली प्रदेशका १० जिल्लासहित पछिल्ला समयमा अछाम, बाजुरा र बझाङका आँखाका बिरामी सेवा लिन आउने गर्दछन् । नेपाल रेडक्रसले सुर्खेत आँखा अस्पताल सहित जनकपुरमा पनि आँखा अस्पताल सञ्चालन गरिराखेको छ । नेत्र विशेषज्ञ रानाका अनुसार हाल अस्पतालले बहिरङ्ग सेवाअन्तर्गत आँखा जाँच, कम्प्युटरद्वारा चश्मा जाँच, मधुमेह र उच्च रक्तचापका कारण हुनसक्ने दृष्टिविहीनको परीक्षण, परामर्श तथा प्रेषण सेवा, प्रयोगशाला, आँखाको अल्ट्रासाउण्ड, याग लेजर सेवा, आँखाको पर्दाको फोटो, औषधि पसललगायत सञ्चालन गरिरहेको छ । शल्यक्रिया सेवाअन्तर्गत मेसिनद्वारा सानो घाउ बनाएर मोतिविन्दुको शल्यक्रिया गरिने आधुनिक पद्धति (पाको), आँशुनली, मासुपलाएको शल्यक्रियासहित अन्य आँखा उपचारसम्बन्धी सामान्य शल्यक्रिया सेवा उपलब्ध गराइरहेको छ । अस्पताल बिमा कार्यक्रममा आबद्ध भएकाले विपन्न नागरिकलाई आँखा उपचार सेवामा सहज पहुँच भएको मेडिकल निर्देशक डा रानाले बताए । बिरामीको चाप उच्च : स्थानको अभाव नेपाल रेडक्रस सोसाइटीका सुर्खेत जिल्ला सभापति रामलाल आचार्यले भने, 'पछिल्लो समय बिरामी चापमा वृद्धि र सेवा विस्तारको तयारी गरेसँगै अस्पतालमा स्थान एवं भवनको अभाव भएको छ । बिरामी बस्ने र जाँच गर्ने स्थानको अभाव हुँदै गएको छ ।' अस्पतालले प्रदेशको सामाजिक विकास मन्त्रालय र वीरेन्द्र नगरको सहकार्यमा भवनमा तला थप गर्ने र अन्य पूर्वाधार बनाउने काम पनि जारी राखेको छ । ‘आँखा स्वास्थ्य महत्वपूर्ण सेवा हो’ भन्ने विषयलाई तीनै तहका सरकार र स्वयं नेपाल रेडक्रसका केन्द्रीय कार्यालय र दाताले महत्व नबुझेको उनले गुनासो गरे । उनले भने, 'दाताका भरमा अस्पतालको अत्याधुनिक संरचना, उपकरण र दक्ष जनशक्तिसहित सेवा सुरु त भयो, अब कसरी टिकाइराख्ने भन्ने चिन्ता छ । विपन्न जनतामा आँखा सेवाको पहुँच पुर्याउन चुनौति छ । नीतिनिर्माता तहका व्यक्तित्वहरु अस्पताल भ्रमण गर्दछन् । अस्पताल हुनु त यस्तो पो भन्दछन् । यहाँको सेवाको प्रशंसा गर्दछन् । तर सहयोग त्यत्ति बढाइदिँदैनन् ।' अस्पतालले बाह्य आँखा उपचार सेवाअन्तर्गत यहाँका अतिदुर्गम स्थानमा आँखा शिविरसमेत सञ्चालन गर्दै आएको छ । यस्ता शिविरमा विशेष गरेर मोतियाविन्दु देखिएका बिरामीका अस्पतालमा ल्याएर शल्यक्रियासमेत गर्दै आएको छ । अस्पतालले स्थानीय पालिकाको समन्वय र सहकार्यमा नौ स्थानमा आँखा उपचार केन्द्रसमेत सञ्चालन गरिरहेको छ । ती स्थानमा पञ्चपुरी नगरपालिका विद्यापुर, भेरीगङ्गा नगरपालिका छिन्चु, दैलेख नगरपालिका, नारायण नगरपालिका, आठबिस नगरपालिका, भेरी नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका र बनगाडा कुपिण्डे नगरपालिका छन् । आँखा उपचार केन्द्रसम्म पनि पहुँच नभएकालाई शिविर सञ्चालन तथा विद्यालयका छात्रछात्राको आँखा जाँच कार्यक्रम जारी राखेको छ । सभापति आचार्यले भने, 'विद्यालयका छात्रछात्राको आँखा जाँच कार्यक्रमबाट सिकाइ उपलब्धि उँचो देखिएको छ ।' अस्पतालले गत आवमा एक लाख आँखाका बिरामीलाई सेवा उपलब्ध गराएको थियो भने चार हजारको मातियाविन्दुको शल्यक्रिया गरेको थियो । अस्पतालको उत्कृष्ट व्यवस्थापन र सरसफाइका कारण पनि सेवाग्राही अस्पतालमा आकर्षित भइराखेका छन् । अस्पतालको भवन बाहिरबाट हेर्दा जति आकर्षित छ, त्यति नै भित्र छिर्दा बिरामी मैत्री देखिन्छ । भेरी नगरपालिका–१ का गङ्गा केसीले भने, 'आँखा जँचाउन सस्तो छ, जँचाउन डाक्टरसँग धेरै समय कुर्नु पर्दैन । अस्पताल सफा पनि छ । म यही भएर यहाँ आएको हुँ ।' पछिल्लो समय बिरामी चाप र सेवा विस्तारको तयारीसँगै अस्पतालमा बिरामी जाँच गर्ने स्थान एवं भवनको अभाव भएको छ । सुर्खेत बजारको मध्य भागमा रहेको अस्पतालले एक बिघा नौ कट्ठा जमिन चर्चेको छ । हाल अस्पतालमा तीन जना नेत्र विशेषज्ञसहित अन्य ४० स्वास्थ्यकर्मी सेवारत छन् । अस्पतालमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीलाई अन्यत्र काम गर्न अस्पताल व्यवस्थापनले प्रतिबन्ध लगाएको छ । सभापति आचार्यले भने, 'चिकित्सक एवं स्वास्थ्यकर्मीका समय अस्पतालमा उपयोग गर्दा सेवा प्रभावकारी भएको हो । यहाँ सेवारत चिकित्सक एवं स्वास्थ्यकर्मी अन्यत्र काम गर्न पाउँदैनन् ।' नेपाल रेडक्रस सोसाइटीका कामु कार्यकारी निर्देशक मोना अर्यालले नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित आँखा अस्पतालको क्षमता वृद्धि गर्न उच्च प्राथमिकता दिइने जानकारी दिए । रासस
लामिनारले सुरु गर्यो ‘मेरो सपनाको घर’ सजावट अभियान
काठमाडौं । लामिनार भिट्रिफाइड टायलले 'लामिनार–मेरो सपनाको घर' नामक नेपालकै पहिलो कोठा तथा बाथरूम सजावट कार्यक्रम सुरु गरेको छ । मिस नेपाल–२०१६ तथा ईन्टेरियर डिजाइनर अस्मी श्रेष्ठको सिर्जनात्मक नेतृत्वमा अघि बढाइएको उक्त कार्यक्रममार्फत दुई नेपाली परिवारले आफ्नो घरको कोठा र बाथरूमको पूर्ण सजावट निःशुल्क प्राप्त गर्नेछन् । मेटलवुड फर्निचर, कोहिलर सरसफाइ सामग्री, ब्रिलियन्ट बत्ती र एम्पोरियस सजावट सामग्री जस्ता प्रतिष्ठित ब्रान्डहरूको सहकार्यमा रूपान्तरण कार्य सञ्चालन गरिने कम्पनीले जानकारी दिएको छ । सहभागी हुन इच्छुकले ३० सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाएर किन आफ्नो कोठा वा बाथरूमलाई रूपान्तरण आवश्यक छ भन्ने कारण स्पष्ट पार्दै टिकटक, इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक रूपमा राख्नुपर्नेछ । भिडियोमा @laminartiles उल्लेख (ट्याग) गर्नुका साथै #लामिनार–मेरो सपनाको घर ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । प्राप्त भिडियोहरूको मूल्यांकन लामिनार, यसको सिर्जनात्मक संस्था तथा परियोजना भित्री सजावट विज्ञ अस्मी श्रेष्ठसमेत रहेको आन्तरिक समितिले कथाको प्रस्तुति, आवश्यकता, सिर्जनात्मकता र दर्शक सहभागिताका आधारमा गर्नेछ । विजेताले उच्च गुणस्तरका सामग्री, पूर्ण भित्री सजावट योजना, सम्पूर्ण कार्यान्वयन सेवा तथा सुरु–मध्य–अन्त्य फोटो/भिडियो अभिलेखसहित सम्पूर्ण रूपान्तरण प्याक प्राप्त गर्नेछन् । भिडियो पठाउने अन्तिम मिति २०२६ जनवरी २ र विजेता घोषणा मिति २०२६ जनवरी ७ तोकिएको छ । नेपाली घरलाई आधुनिक, आकर्षक र आरामदायक बनाउन कार्यक्रम अघि बढाइएको लामिनारले जनाएको छ ।
नेशनल लाईफले गर्यो लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यहरूलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनीस्थित होटल लुम्बिनी हेरिटेजमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा आयोजना गरिएको सम्मान कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरी योग्य भएका अभिकर्ताहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल ३४० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो । पानसमा दियो प्रज्वलन गर्दै सुरु गरिएको कार्यक्रममा सीईओ क्लब सदस्यता वितरणसँगै आफ्नो कोडमा र नेटवर्कमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ । सोही अवसरमा नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादा प्रदान गरी सम्मान गरिएको थियो । प्रमुख कार्यकारी अधिकृत खत्रीले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सीईओ क्लब सम्मान कार्यक्रम सम्पन्न भइसकेको उल्लेख गर्दै अब बाँकी प्रदेशहरूमा पनि चाँडै कार्यक्रम हुने जानकारी दिए। उनका अनुसार, सीईओ क्लब कार्यक्रममा हालसम्म नेपालभरका १,६०० भन्दा बढी अभिकर्ता छनौट हुनुले यस योजनाको सफलता प्रमाणित गर्छ र यस्ता कार्यक्रमले अभिकर्ताहरूलाई व्यवसायिक उन्नतिमा प्रेरित गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले सहभागी अभिकर्ताहरूलाई विशेष तालिम प्रदान गरेका थिए । उनले बीमा अभिकर्ता पेशा केवल व्यवसाय नभई सेवा भावसहितको पवित्र पेशा भएको उल्लेख गर्दै, यस क्षेत्रमा सफलताको आधार इमान्दारिता र निरन्तरता रहने बताए । सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम पाउँदा थप प्रेरणा प्राप्त भएको र प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्नु गौरवको विषय रहेको प्रतिक्रिया दिएका थिए ।
गैरबैंकिङ सम्पत्ति सम्बन्धी कानुनी व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले बैंक तथा वित्तीय संस्थाले तीन वर्षभित्र अनिवार्य बेचबिखन गर्नुपर्ने गैरबैंकिङ सम्पत्ति सम्बन्धी कानुनी व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, डाक्टर मनोजकुमार शर्मा र डाक्टर नहकुल सुवेदीसमेत रहेको पाँच सदस्यीय इजलासले उक्त आदेश जारी गरेको हो । मंसिर १० गते बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले दायर गरेको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश जारी गरेको हो । लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८१ ले भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२ मा दफा १२ च थप गर्दै बैंक, वित्तीय संस्था वा सहकारीले धितो जग्गा लिलाममा नबिकेपछि आफ्नै नाममा सकार गर्दा हदबन्दीभन्दा बढी हुने भए त्यसलाई तीन वर्षभित्र बेचबिखन गर्नुपर्ने व्यवस्था गरेको थियो । सो अवधीभित्र नबेचेमा नेपाल सरकारको स्वीकृति लिएर मात्र बिक्री गर्न पाउने प्रावधान ऐनमा समावेश गरिएको थियो । उक्त संशोधनअघि बैंक तथा वित्तीय संस्थाको नाममा रहेको गैरबैंकिङ सम्पत्ति बेचबिखन गर्न समय सीमा तोकिएको थिएन । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले दफा १२ च को व्यवस्था संविधानको धारा १७ को २ र धारा २५ सँग बाझिएको दाबी गर्दै त्यसलाई बदर गरिपाउन तथा उत्प्रेषण परमादेश जारी गर्ने मागसहित रिट दायर गरेको थियो । रिटमा सुनुवाइ गर्दै संवैधानिक इजलासले दफा १२ च कार्यान्वयन तत्काल लागू भएमा बैंक तथा वित्तीय संस्थालाई अपूरणीय क्षति हुने देखिएको उल्लेख गरेको छ । इजलासले दफा १२ च को संवैधानिक वैधता सम्बन्धी प्रश्न अन्तिम निरुपणका क्रममा टुंगिने भएकाले त्यतिबेलासम्म उक्त व्यवस्था कार्यान्वयन नगर्न सरकार लगायत प्रत्यर्थीका नाममा अन्तरिम आदेश जारी गरेको हो । अन्तरिम आदेशपछि हाल बैंक तथा वित्तीय संस्थाको नाममा दर्ता भई लामो समयदेखि बेचबिखन हुन नसकेको गैरबैंकिङ सम्पत्ति सरकारी स्वीकृतिबिना नै बिक्री गर्न सकिने अवस्था बनेको छ । बैंकहको कर्जा असुलीमा देखिएको अवरोध तथा आर्थिक संकुचनका कारण बढिरहेको गैरबैंकिङ सम्पत्ति व्यवस्थापनमा यो आदेशले राहत मिल्ने अपेक्षा बैंकहरूले गरेका छन् ।
सन नेपाल लाइफको नारायणी क्षेत्रमा तीन शाखाको स्थान्तरण
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नारायणी क्षेत्रअन्तर्गत रहेका तीन शाखाको स्थानान्तरण सम्पन्न गरी नयाँ संरचनायुक्त कार्यालयबाट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले टाडि शाखा (रत्ननगर–टाडि २), भरतपुर शाखा (भरतपुर–३, शहीद चोक, नारायणघाट) र चनौली शाखा (भरतपुर–१८) गरी तीन शाखालाई आधुनिक सुविधायुक्त स्थानमा सारेर औपचारिक रूपमा कार्य सुरु गरेको हो । नयाँ कार्यालयमार्फत विद्यमान तथा नयाँ पोलिसी होल्डरलाई अझ छरितो, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ । स्थानान्तरण उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, प्रदेश प्रमुख ईश्वर बिकल सापकोटा, सम्बन्धित शाखा प्रबन्धक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत अर्यालले सेवा सुविधालाई ग्राहकसम्म प्रभावकारी रूपमा पुर्याउन संरचनागत सुदृढीकरण अनिवार्य भएको बताउँदै, शाखा स्थानान्तरण ग्राहक–मैत्री अभिमुखीकरणतर्फको महत्वपूर्ण कदम भएको बताए । त्यस्तै, प्रमुख बजार अधिकृत चौलागाईले नयाँ स्थानका शाखामा छिटो सेवा, सुलभ काउंटर, डिजिटल अभिलेख प्रणाली र सहज मार्गदर्शन जस्ता सुधारहरूले ग्राहक सन्तुष्टि वृद्धि हुने विश्वास व्यक्त गरे । कम्पनीले संस्थागत सेवा गुणस्तर, पारदर्शिता र ग्राहक हितलाई प्राथमिकतामा राख्दै देशभर सरोकारवालामैत्री सेवा विस्तारका कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाउँदै आएको जनाएको छ ।
मुलुकमा लगानी बढ्न नदिने विभिन्न कारणमध्ये एक कालोसूचीका प्रावधानमा राष्ट्र बैंकले अध्ययन गर्दैछ : पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अर्काको कोल्याटर बेचेर आफूलाई फाइदा हुने काम गर्नु भनेको ‘पार्ट अफ करप्सन’ रहेकाले यसलाई राष्ट्र बैंकले क्षम्यको रूपमा नलिने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औं वार्षिक साधारण सभामा बोल्दै गभर्नर पौडेलले यस्तो गतिविधिलाई कठोर रूपमा लिने बताएका हुन् । ‘सरकारी बैंकहरुबाट यो मिलाइदिन्छु भनेर पैसा माग्यो भने सरकारले रिस्क लिन्छ । तर निजी बैंकहरुबाट त्यस्तो भएमा हामी गम्भीर रूपमा लिनेछौं,’ गभर्नर पौडेलले भने, ‘कुनै पनि व्यक्तिले जबरजस्ती अर्काको कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु पार्ट अफ करप्सन हो । यसलाई नेपाल राष्ट्र बैंकले क्षम्य रूपमा लिँदैन ।’ त्यस्तै, गभर्नर पौडेलले आर्थिक गतिविधि चलायमान बनाउनका लागि राष्ट्र बैंकले विभिन्न नीति परिमार्जन गरेको बताए । उनले भने, ‘मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा वित्तीय संस्थाहरूको नाफा बढाउनका लागि सहज बनाएका छौं । महानगरमा रहेका धेरै बैंकहरूका शाखा बन्द गर्ने बाटो खोलिदिएका छौं ।’ बैंकहरूको हकमा हामीले राम्रो नाफा र लगानी गरेर डिजिटल कारोबारमा ध्यान दिँदै अर्थतन्त्रको गतिमा सहयोग पुगोस् भनेर नै नेपाल राष्ट्र बैंकले काम गरिरहेको गभर्नर पौडेलले बताए । ‘बैंक तथा वित्तीय संस्थाहरूको नाफामा ध्यान दिइरहेका छौँ । तर, यसमा सहि के हो र गलत के हो भनेर पोलिसी तयार पार्छौं । सबैको गुनासो हेरे हामी अगाडी बढ्ने गरेका छौं, ’ गभर्नर पौडेलले भने । बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको पैसा लगानी गर्नका लागि नेपाल राष्ट्र बैंक केन्द्रित रहेको उनले बताए । ‘अर्थतन्त्रको मुभमेन्ट मास साइकोलोजीमा भर पर्छ । गएको १० वर्षमा धेरै परिवर्तन भएको छ । यो बिचमा हिमालयन जाभादेखि आइटी क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । विभिन्न ठाउँमा सडक तथा पूर्वाधारमा राम्रो प्रगति भएको छ, ’ उनले भने । श्रीलंका अप्ठ्यारो अवस्थामा पुगेर पनि सुधारको गति समातेकाले नेपालले पनि गति समात्नेमा गभर्नर आश्वासन दिए । उनले राम्रो काममा केन्द्रित हुनुपर्ने बताए । अहिले मनोबल कमजोर रहेकाले यसलाई उकास्नका लागि आवश्यकता रहेको गभर्नर पौडेलले बताए । उनले भने, ‘हामी आर्थिक नीतिहरूमा बलियो छौं । तर, मनोबल कमजोर छ । कमजोर मनोबललाई उकास्न राम्रो विषयहरूको केन्द्रित रहनु पर्छ । जस्तै, निर्यातमा राम्रो गरिरहेका अलैंची जस्तालाई बढवा दिनुपर्छ । जे चाहिन्छ त्यसका लागि हामी राम्रा लाइनमा जान सकिन्छ ।’ सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तिहरूले समेत नेपालमा केही नहुने भन्दै आफ्ना सन्तान विदेश पलायन गराएको गभर्नर पौडेलको आरोप छ । उनले भने, ‘एक दशकभन्दा बढी यो देशमा केही हुँदैन भनेर छोराछोरी सबैलाई विदेश पठाइयो । उनीहरू सबैलाई फर्काएर ल्याउनु पर्छ । तर, उनीहरूलाई ल्याएर मन्त्री बनाउने र राजनीतिक रेसमा लैजान हुँदैन ।’ कुनै पनि कुरा रातारात गर्छु भन्ने कुनै फर्मुला नहुने भएकाले बिस्तारै गर्दै जानुपर्ने गभर्नर पौडेलको भनाइ छ । ‘फेलियर’ हुनु भनेको पार्ट आफ बिजनेस नभएकाले नराम्रो होइन, राम्रो स्टोरीहरूको प्राथमिकता दिनुपर्ने उनले बताए । उनले भने, ‘म मीनबहादुर जीलाई हेर्छु । उहाँले दुई महिनामा गरेर देखाउँछु भन्नु भएको थियो । त्यस अनुसार उहाँले गरेर देखाउनु समेत भयो ।’ कालोसूचीको व्यवस्थाबारे नेपाल राष्ट्र बैंकले अध्ययन गरिरहेको बताउँदै उनले भने, ‘हाम्रोमा धेरै कालोसूचीमा परेका छन् । निर्माण उद्योगहरूमा माइक्रोफाइनान्स जस्तो मोडल भइरहेको छ । एउटाले राम्रो गरेन भने सबैलाई राखेजस्तो भएको छ ।’
फक्सवागनको ठूलो दाउ : बजार जोगाउन १८६ अर्ब डलर लगानी गर्ने
काठमाडौं । फक्सवागन समूहले सन् २०३० सम्म १६० अर्ब युरो (१८६ अर्ब डलर) लगानी गर्ने योजना बनाएको छ । उक्त घोषणा प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओलिभर ब्लुमेले गरेका हुन् । कम्पनीका दुई प्रमुख बजारहरू चीन र संयुक्त राज्य अमेरिकामा आएको ठूलो संकटको बीच यूरोपको शीर्ष अटो निर्माता खर्च कटौतीतर्फ उन्मुख भएको संकेत हो। वार्षिक रूपमा अपडेट गरिने फक्सवागनको पाँच वर्षे लगानी योजनाअनुसार कुल खर्च २०२५–२०२९ अवधिका १६५ अर्ब युरो र २०२४–२०२८ अवधिका १८० अर्ब युरोसँग तुलना हुन्छ । २०२४ लाई खर्चको शीर्ष वर्षका रूपमा लिइएको थियो । त्यसयता पोर्शे र अडी ब्रान्ड समेट्ने फक्सवागन अमेरिकाबाट आयातमा लगाइएका शुल्क र चीनमा देखिएको तीव्र प्रतिस्पर्धाबाट दबिएको छ । यसले विशेषगरी पोर्शेको नाफामा ठूला असर पारेको छ किनकि पोर्शेले आफ्ना करिब आधा कार यिनै दुई बजारमा बेच्ने गर्छ । पोर्शेले आफ्नो विद्युतीय सवारीसाधन रणनीतिमा व्यापक कटौती गर्ने घोषणा पनि गरिसकेको छ । साप्ताहिक पत्रिका फ्याङ्कफुर्टर फ्रान्कफुर्टर आल्गेमाइन सोन्टाग्सायतुङसँगको कुराकानीमा ब्लुमेले नयाँ खर्च योजनाको केन्द्रबिन्दु ‘जर्मनी र यूरोप’ हुने बताए । उनले पोर्शेमा थप बचत कार्यक्रमबारेको छलफल २०२६ सम्म जारी रहने बताए । जनवरीदेखि पोर्शे सीईओ पद छोडेर केवल फक्सवागनको नेतृत्वमा ध्यान दिने ब्लुमेले जनाएछन् । उनका अनुसार अडीका लागि सम्भावित अमेरिकी प्लान्टको निर्णय वाशिङ्टनले दिने आर्थिक सहयोगको स्तरमा निर्भर हुनेछ । चीनमा पोर्शेको वृद्धि अपेक्षित नभए पनि ब्लूमेले फक्सवागन समूहभित्र स्थानीय उत्पादन सम्भव हुने बताए । साथै चीनका लागि छुट्टै डिजाइन गरिएको पोर्शे मोडेल भविष्यमा अर्थपूर्ण हुनसक्ने टिप्पणी गरे । फक्सवागन ग्रुपले २०२५ को तेस्रो त्रैमासिकमा १.३ अर्ब यूरो सञ्चालन घाटा दर्ज गरेको छ । विगत वर्षको सोही अवधिमा कम्पनीले २.७ अर्ब यूरो नाफा कमाएको थियो । कम्पनीका अनुसार घाटाको मुख्य कारण पोर्सेको विद्युतीय कार रणनीतिमा गरिएको पुनरावलोकन हो, जसअन्तर्गत आएको खर्च वृद्धि तथा एकमुष्ट खर्चले समूहको नतिजालाई ठूलो दबाबमा पारेको छ । यसबाहेक अमेरिकी आयातशुल्कले पनि फक्सवागनको व्यापार लागत उल्लेख्य रूपमा बढाएको बताइएको छ।