काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाका कारण बेपत्ताहरूको यकिन तथ्याङ्क नरहेको जनाएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले विपदबाट बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न अझै कठिन रहेको बताइन् ।
उनले हाल स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजनालगायत सम्बन्धित निकायबाट विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिइन् ।
उनका अनुसार सोमबार बिहान ९ बजेसम्म आधिकारिक निकायबाट प्राप्त विवरणअनुसार ४ हजार २०२ जना बेपत्ता छन् ।
उनले उद्धार तथा खोजी कार्य जारी रहेकाले यो संख्या अझै घटबढ हुन सक्ने बताइन् । यसैबीच, विभिन्न हाइड्रोपावर आयोजना तथा सुरुङबाट उद्धार कार्य जारी रहेको छ ।
महतका अनुसार हाइड्रोको सुरुङबाट मात्रै २८९ जनाको उद्धार गरिएको छ । आइतबार चिनियाँ १५ र भारतीय ७ गरी थप २२ जनालाई हाइड्रो क्षेत्रबाट उद्धार गरिएको थियो भने सोमबार पनि उद्धार जारी रहेको उनको भनाइ छ ।
उनले लाङटाङ हाइड्रोमा भएको क्षतिसम्बन्धी पनि अहिलेसम्म छुट्टै विवरण प्राप्त नभएको बताइन् । हालसम्म रसुवा बाढीमा परी ज्यान गुमाएका ९ सय ३ जनाको शव फेला परेको छ ।
१० हजार बढीको उद्धार गरिएको छ भने २६७ जना घाइतेहरु उपचारपछि घर फर्किएका छन् । सम्पर्कविहीनहरूको खोजीका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विपद्बाट अवरुद्ध सडक तथा सञ्चार सेवा पनि अधिकांश क्षेत्रमा सुचारु भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणकी प्रवक्ता महतले वैकल्पिक मार्ग पहिचान गरी सडक आवागमन सहज बनाइएको जानकारी दिइन् । विपद्का कारण १० हजारभन्दा बढी पुल बगाएका छन् ।
आवागमन पुनः सञ्चालनका लागि नेपाल सरकार र नेपाली सेनासँग उपलब्ध बेलीब्रिज प्रयोग गरिने तथा चीन र भारतबाट थप बेलीब्रिज ल्याउने प्रक्रिया अघि बढाइएको महतले जानकारी दिइन् ।
साथै क्षतिग्रस्त नेपाल टेलिकम तथा एनसेलका टावरहरू पनि लगभग सबै सुचारु भइसकेको उनको भनाइ छ ।
उनका अनुसार पुनः बाढी आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै गल्छी र रसुवाको टिमुरेमा हाइड्रोलोजिकल स्टेसन स्थापना गरिएको छ । ती स्टेसनबाट बाढीको रियलटाइम डेटा प्राप्त गर्न सकिने र थप स्थानमा पनि स्टेशन जडान गर्दै जाने तयारी रहेको उनले बताइन् ।
विपद् व्यवस्थापनका लागि प्राधिकरणले करिब १४ वटा छुट्टाछुट्टै कार्यदल गठन गरी परिचालन गरेको छ ।
उद्धार, राहत, हेलिकोप्टर व्यवस्थापन, शव व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहायता र समन्वय लगायतका लागि छुट्टाछुट्टै कार्यदल बनाएर बिहीवारदेखि नै काम अघि बढाइएको महतले जानकारी दिइन् ।
उनका अनुसार विशेषज्ञसहितको शव व्यवस्थापन टोली विभिन्न क्षेत्रमा परिचालित रहेको छ । –न्युज एजेन्सी नेपाल