विकासन्युज

नतिजा स्वीकार्दै महेश बस्नेतले भने : अब रचनात्मक प्रतिपक्ष बन्छौं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचनमा सहभागी भएका उम्मेदवारले यसपटकको परिणाम आफ्नो पक्षमा नआएको स्वीकार गरेका छन् । उनले लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुने भन्दै परिणामलाई सम्मानपूर्वक स्वीकार गरेको बताएका छन् । उनले विजयी राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार राजिब खत्रीलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । साथै चुनावी अभियानमा दिनरात खटिएका पार्टीका नेता-कार्यकर्ता र समर्थकप्रति हार्दिक कृतज्ञता व्यक्त गरे । उनका अनुसार राजनीतिमा हार-जित स्वाभाविक प्रक्रिया भए पनि जनताको सेवा गर्ने प्रतिबद्धता कहिल्यै हार्दैन । अब आफ्नो भूमिका रचनात्मक प्रतिपक्षको रूपमा रहने उल्लेख गर्दै उनले जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहने बताए । उनले जनताको विश्वास, माया र साथ नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै बाँकी जीवन पनि जनताको सेवा, हित र समृद्ध भक्तपुर निर्माणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।

बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

खजुरा । बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक राई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।      बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले २४ हजार ६१६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्पर्धि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवेककुमार श्रेष्ठले १८ हजार ५८० मत प्राप्त गरेको  मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्तिममत परिणाम अनुसार  नेपाली कांग्रेसका सुधांशु कोइरालाले १७ हजार ५८५ मत प्राप्त गरेका छन् ।  

महोत्तरी–१ मा रास्वपाका प्रमोदकुमार महतो विजयी

काठमाडौं । महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रमोदकुमार महतो निर्वाचित भएका छन् । महतोले ३४ हजार ६२६ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार गिरिराजमणि पोखरेलले १२ हजार ६३२ मत प्राप्त गरे । त्यसैगरी नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीले ६ हजार ५९० मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार मुकेशराज काफ्लेले ४ हजार ३६१ मत प्राप्त गरेका छन् ।  

स्याङ्जा–१ मा रास्वपाका रेग्मी विजयी

वालिङ । स्याङ्जा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनञ्जय रेग्मी विजयी भएका छन् ।  शनिबार बिहान सम्पन्न अन्तिम मतगणनाबाट रास्वपा उम्मेदवार रेग्मीले २९ हजार ७१ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए ।  उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकाल १० हजार २१४ मतान्तरले पराजित भए । उनले १८ हजार ८५७ मत प्राप्त गरे । नेकपा (एमाले) का मीनप्रसाद गुरुङ तेस्रो भएका छन् । उनले १६ हजार ८०४ मत प्राप्त गरेका हुन् ।  स्याङ्जा क्षेत्र नं १ मा ७० हजार ९४४ मत खसेको थियो । जसमध्ये ६८ हजार ३६ मत सदर हुँदा दुई हजार ९०८ मत बदर भएको थियो ।   

बाँके–३ मा रास्वपाका सुनार निर्वाचित

राँझा । बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खगेन्द्र सुनार निर्वाचित भएका छन् । उनले २९ हजार ५५१ मत प्राप्त गरी निर्वाचित भएको क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिए । सुनारका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार सुमन मल्लले १९ हजार ६१५ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनले १३ हजार २१५ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दीपक गौरीमगरले ४ हजार १५ मत प्राप्त गरेका छन् ।  बाँकेको क्षेत्र नं १ मा पनि रास्वपाका सुरेश चौधरी विजयी भएका छन् । क्षेत्र नं २ मा भने नेकपा ९एमाले०का उम्मेदवार मोहम्मद इश्तियाक राई विजयी भएका छन् ।  

चितवन-२ मा रवि लामिछानेको ऐतिहासिक जीत, ५४ हजार ४०२ मतसहित आफ्नै पुराना रेकर्ड तोडे

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन क्षेत्र चितवन-२ मा रास्वपा सभापति रवि लामिछाने तेस्रो पटक भारी मतसहित निर्वाचित भएका छन् । उनले कुल ५४ हजार ४०२ मत प्राप्त गर्दै शानदार जित हात पारेका हुन् । लामिछानेले आफ्ना निकट प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेललाई पछि पार्दै ५४ हजार ४ सय २ मत सहित निर्वाचित भएका हुन् । कांग्रेसकी मिनाले १४ हजार ९३५ पाएकी छन्। एमालेका अस्मिन घिमिरेले भने ६९९५ मत ल्याएका छन्। तीन वर्षअघि भएका निर्वाचन पनि रवि लामिछानेले ५४ हजार १ सय मत ल्याएर निर्वाचित भएका थिए ।   

दैलेख १ मा कांग्रेसकी थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित

दैलेख । दैलेख क्षेत्र नं-१ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको  अन्तिम मत परिणामअनुसार थापा १२ हजार ३७२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार रबीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो निर्वाचन क्षेत्रमा कूल ७९ हजार ७०१ मतदाता रहेका थिए । निर्वाचन अधिकृत पाण्डेका अनुसार निर्वाचनमा रास्वपाका नन्दकिशोर बस्नेतले ८,१५१ मत, नेकपाका अम्मरबहादुर थापाले ४,२५६ मत,राप्रपाका रणबहादुर सिंहले ५९८ मत, नेमकिपाका जगतबहादुर ओलीले ३०२ मत, नेकपा माओवादी रामलाल विश्वकर्माले २३५ मत,राजमाका नरबहादुर सिंह ९१ मत, स्वतन्त्र लोगबहादुर बोगटीले २९ मत र आम जनता पार्टीका मेनुका श्रेष्ठले १६ मत प्राप्त गरेका छन् । यसैगरी, दैलेख क्षेत्र नं-२ मा पनि मतगणना  जारी रहेको छ। निर्वाचन अधिकृत लोकहरी कँडेलका अनुसार सो क्षेत्रमा नेकपा (एमाले) का लक्ष्मी प्रसाद पोखरेलले अग्रता लिइरहेका छन् भने उनलाई नेपाली कांग्रेसका दिक्पाल कुमार शाहीले पछ्याइरहेका छन् ।

काठमाडौं ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं । काठमाडौं  ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डिपि अर्याल) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।  रास्वपाका उपसभापति एवम् सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक समेत रहेका अर्यालले ३५ हजार ९३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार चार सय ६० मत प्राप्त गरेकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा (एमाले)का अजयक्रान्ति शाक्यले चार हजार पाँच सय ८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलकुमार कार्कीले एक हजार चार सय ५७ र नेपाली कम्युनिस्ट पार्टीका राधाकृष्ण महर्जनले एक हजार तीन सय २८ मत प्राप्त गरेका छन् ।  बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार सो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित २४ उम्मेदवार प्रतिस्पर्धामा थिए ।