बाढीको असर सेयर बजारमा, नेप्से ४३.८९ अंकले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा ठूलो गिरावट आएको छ । नेप्से परिसूचक ४३.८९ अंकले घटेर २,५१३.०३ विन्दुमा झरेको छ ।

आज कारोबार रकम पनि केही घट्यो । अघिल्लो कारोबार दिन ३ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ३ अर्ब ६४ करोड रुपैयाँको मात्रै कारोबार भयो ।

दिनभर बजार रातो देखियो । २१ कम्पनीको सेयर मूल्य बढ्दा २५३ कम्पनीको घट्यो भने ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा समूहमा देखियो, जसको सूचक ५.०३ प्रतिशत घट्यो । त्यसपछि अन्य समूह ३.३० प्रतिशत र जलविद्युत् समूह २.९४ प्रतिशतले घटे ।

रसुवाको भोटेकोशीमा आएको बाढीपछि एक दर्जनभन्दा बढी जलविद्युत् आयोजना प्रभावित भएका छन् । बाढीबाट सवारीसाधन, घर र जलविद्युत् आयोजनामा ठूलो क्षति भएपछि बीमा कम्पनीले धेरै दाबी भुक्तानी गर्नुपर्ने अवस्था आएको छ । त्यसको असर निर्जीवन बीमा र पुनर्बीमा कम्पनीको सेयरमा परेको देखिएको छ ।

यसका साथै बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स र व्यापार समूहका सूचक पनि घटेका छन् । उत्पादन तथा प्रशोधन समूह भने ०.७० प्रतिशतले बढेको छ । 

आज उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १३.१६ प्रतिशतले बढ्यो । घोराही सिमेन्ट, पाल्पा सिमेन्ट र एसवाई प्यानलको मूल्य पनि उल्लेख्य रूपमा बढ्यो ।

सबैभन्दा धेरै घट्ने कम्पनीमा मैलुङखोला जलविद्युत्, रसुवागढी हाइड्रोपावर, चिलिमे हाइड्रोपावर र माण्डु हाइड्रोपावर रहेका छन् ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सर्वोत्तम पेन्ट, रिलायन्स स्पिनिङ मिल्स, चिलिमे हाइड्रोपावर र एसवाई प्यानल सबैभन्दा धेरै कारोबार हुने कम्पनी बने ।

Share News