एनपिएल : आज खेल नहुने
काठमाडौं । यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सोमबार विश्राम दिन कुनै खेल हुने छैनन् । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपरान्ह ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो ।
फर्सी किलोको ३० रुपैयाँ, यस्तो छ अन्य तरकारी र फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ७५ रुपैयाँ, आलु रातो प्रतिकिलो ४५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४० रुपैयाँ, आलु सेतो प्रतिकिलो ३१ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो २९ रुपैयाँ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो १२० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ११० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ५० रुपैया, बन्दा (नरिवल) प्रतिकिलो ४५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ६० रुपैयाँ, काउली तराई प्रतिकिलो ३५ रुपैयाँ, रातो मूला प्रतिकिलो ४५ रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ९० रुपैयाँ, तने बोडी प्रतिकिलो १६० रुपैयाँ र मकै बोडी प्रतिकिलो ६५ रुपैयाँ कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो १५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४५ रुपैयाँ, सलगम प्रतिकिलो ९० रुपैयाँ, भिन्डी प्रतिकिलो ११० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, बरेला प्रतिकिलो ७० रुपैयाँ, पिँडालु प्रतिकिलो ९० रुपैयाँ र स्कुस प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ । रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १०० रुपैयाँ, चमसुर प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ५० रुपैयाँ, मेथीको साग प्रतिकिलो १४० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो १४० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १५० रुपैयाँ, जिरीको साग प्रतिकिलो २५० रुपैयाँ, सेलरी प्रतिकिलो ४५० रुपैयाँ, पार्सले प्रतिकिलो ५०० रुपैयाँ, सौफको साग प्रतिकिलो १३० रुपैयाँ, पुदिना प्रतिकिलो ३५० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ । यसैगरी, स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २७० रुपैयाँ, केरा (दर्जन) १८० रुपैयाँ, कागती प्रतिकिलो ९० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ९० रुपैयाँ, मौसम प्रतिकिलो ८० रुपैयाँ, जुनार प्रतिकिलो १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३५ रुपैयाँ, निबुवा प्रतिकिलो ६० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ र आभोकाडो प्रतिकिलो २०० रुपैयाँ निर्धारण गरिएको छ ।
सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ २८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३३ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४० पैसा र बिक्रीदर ९५ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ र बिक्रीदर १०४ रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ८६ पैसा र बिक्रीदर १११ रुपैयाँ ३३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३२ पैसा र बिक्रीदर २० रुपैयाँ ४१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७५ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४० पैसा र बिक्रीदर २२ रुपैयाँ ४९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४७० रुपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ७० पैसा , ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
बाढीले क्षतिग्रस्त रसुवागढी हाइड्रो पुन: सञ्चालनमा, २ अर्ब बराबर नोक्सान
काठमाडौं । गत असार २४ गतेको बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ । विद्युत् उत्पादन गर्ने ३ वटा टरवाइनमध्ये मर्मतपश्चात् प्रथम चरणमा ३७ मेगावाटको एउटा सञ्चालनमा आएको हो । ल्हेन्देखोलाको बाढीले पुरेको विद्युत् गृहलाई उत्खनन, मर्मत र हिलोको सफाइ गरी विद्युतगृहमा पानी पठाइएको र अन्य २ युनिटको सफाइ एवं मर्मत भइरहेको रसुवागढी हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वले जानकारी दिए । १११ मेगावाट क्षमताको सो जलविद्युत् आयोजना उत्पादनको एक वर्ष नपुग्दै बाढीले क्षति पुर्याएको थियो । ४ महिनाको अवधिमा उत्पादनबाट पौने २ अर्ब रूपैयाँ बराबर नोक्सान भएको कार्यकारी निर्देशक ज्याख्वले बताए । ल्हेन्दे खोलाको बाढीले सुरुङमा पानी लैजाने बाँधको ढोका फोेरेर विद्युत्गृहसम्म नै माटो, काठ, ढुङ्गामुढा तथा हिलो पुगेका कारण दुई युनिटको सफाइ कार्य तीव्र रूपमा भइरहेको मर्मतमा संलग्न प्राविधिकले बताएका छन् ।
रिलायन्स स्पिनिङ्गको आईपीओ बिक्री खुला, सेयर मूल्य प्रतिकित्ता ८२०.८० रुपैयाँ
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले आज मंसिर २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । सर्वसाधारण लगानीकर्ताहरुलाई छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्रीमा राखेको हो । बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही निर्देशिकाको दफा (१४) मा भएको व्यवस्था बमोजिम कट अफ मूल्यमा १० प्रतिशत छुट दिँदा हुन आउने प्रतिकित्ता ८२०.८० रुपैयाँ सेयर मूल्य सर्वसाधारण लगानीकर्ताहरुका लागि तोकिएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम् ५० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । यदि लगानीकर्ताले न्यूनतम् सेयरका लागि आवेदन दिने हो भने कम्तीमा ४१ हजार ४० रुपैयाँ जोहो गर्नुपर्नेछ । यदि अधिकतम सेयरका लागि आवेदन दिने हो भने १ करोड ६४ लाख १४ हजार रुपैयाँ जोहो गर्नुपर्ने देखिन्छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले मंसिर २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभएमा पुस ७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङले सञ्चालन गरिरहेको मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
एमालेको ११ औँ महाधिवेशनमा डा. भेषराज थापाको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशन नजिकिदै गर्दा प्रगतिशील इन्जिनियर एसोसिएसन नेपाल (पीन) का अध्यक्ष इन्जिनियर डा. भेषराज थापाले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन् । स्वच्छ, पेशागत र विकासमुखी राजनीति संस्थागत गर्न युवा पुस्ताको निर्णायक भूमिका आवश्यक रहेको उनको जोड छ । जलस्रोत तथा पूर्वाधार इन्जिनियरिङ क्षेत्रका ख्याति प्राप्त विज्ञ डा. थापाले २ दशकभन्दा बढी समय नेपालको विकास, पूर्वाधार निर्माण र नीति निर्माणमा महत्वपूर्ण योगदान दिँदै आएका छन् । उनी सिँचाइ, जलस्रोत, जलविद्युत्, विपद् जोखिम व्यवस्थापन, पूर्वाधार योजना तथा नीतिको डिजाइन, निर्माण र सुपरिवेक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । बहुपक्षीय संस्था, दातृ निकाय र सरकारी परियोजनासँगको सहकार्यमा उनीसँग थुप्रै उदाहरणीय काम सम्पन्न गरेको अनुभव छ । डा. थापा २०५० सालदेखि नै वाम राजनीतिमा सक्रिय छन् । उनले टेक्निकल स्टुडेन्ट्स एसोसिएसन नेपाल (सान) तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा नेतृत्व तहमा रहेर समेत काम गरिसकेका छन् । हाल पीनका अध्यक्षका रूपमा उनी इन्जिनियर तथा पेशागत जनशक्तिलाई नीति निर्माण, सुशासन र विकास प्रक्रियामा सहभागी गराउन क्रियाशील छन् । आउँदै गरेको महाधिवेशनमा उम्मेदवारी घोषणा गर्दै डा. थापाले देशलाई इमानदार, दूरदर्शि र उत्तरदायी नेतृत्वको आवश्यकता थप बढेको बताए । ‘राजनीतिमा अब इमानदारी, पारदर्शिता र विकास-प्रेरित सोचको टड्कारो खाँचो छ । इन्जिनियर, चिकित्सक, अर्थशास्त्री लगायत प्राविधिक क्षेत्रका युवाहरू पनि अब अगाडि बढेर सुशासन, दिगो विकास र समृद्ध राष्ट्र निर्माणमा नेतृत्व लिनुपर्ने समय आएको छ,’ उनले भने । पूर्वाधार अर्थशास्त्रीका रूपमा समेत परिचित डा. थापाले प्रमाणमा आधारित नीति निर्माण, संविधानले उल्लेख गरेको समता मूलक सामाजिक–आर्थिक विकास, मुलुकभित्रै रोजगारी सिर्जना तथा कुल गार्हस्थ उत्पादनमा वृद्धि गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई साकार पर्ने आफ्नो प्राथमिकता रहेको बताए । उनले यस मार्ग चित्रबाट देशको दीर्घकालीन विकासमा योगदान दिने समेत प्रतिबद्धता जनाए । २०७७ सालमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) बाट ‘युवा वैज्ञानिक पुरस्कार’ले सम्मानित डा. थापा पेशागत क्षेत्रमा प्रतिस्पर्धी, हक्की, इमानदार तथा बौद्धिक व्यक्तिका रूपमा चिनिन्छन् । नेपालजस्तो विकासशील मुलुकमा पूर्वाधार र प्राविधिक क्षेत्रका विज्ञहरू राजनीतिमा प्रवेश गर्नु अत्यन्त आवश्यक छ । किनकि यस्ता जनशक्तिले देश विकासका जटिल समस्याहरूमा प्रमाणित र व्यावहारिक समाधानहरू प्रस्तुत गर्न सक्छन् । डा. थापाजस्ता पेशागत र क्षमतावान व्यक्तिहरूले राजनीतिलाई भ्रष्टाचारमुक्त र विकासकेन्द्रित बनाउन सक्छन् । फलतः यसले गर्दा मुलुकको आर्थिक वृद्धि र जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्छ । मुख्य धारको राजनीतिमा यस्ता विज्ञहरूको उपस्थितिले नीति निर्माणलाई वैज्ञानिक र प्रभावकारी बनाउँदै युवा पुस्तालाई समेत प्रेरणा दिने काम गर्छ । तर पार्टीका केही नेताहरूले भने पेशागत पृष्ठभूमिका नयाँ अनुहारले वरिष्ठ नेतृत्वसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने चुनौती पनि रहेको टिप्पणी गरेका छन् । उनको उम्मेदवारीले युवा इन्जिनियर, पेशागत समुदाय तथा पार्टीका सुधारवादी सदस्यहरूमा उत्साह जगाएको छ । धेरैले उनलाई नयाँ पुस्ताको सक्षम प्रतिनिधि तथा स्वच्छ नेतृत्वको प्रतीकका रूपमा पनि हेरेका छन् । एमालेको ११ औँ महाधिवेशनले युवा नेतृत्व, नीति आधुनिकीकरण र पेशागत सहभागितामा जोड दिने अपेक्षा गरिएको छ । डा. थापाजस्ता पेशागत व्यक्तित्वहरूले स्वच्छ, पारदर्शी र विकासमुखी राजनीतिलाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ । डा। थापाजस्ता पेशागत व्यक्तित्वहरूको प्रवेशले एमालेमा प्राविधिक दक्षता र सुशासनको बहसलाई नयाँ उचाइ दिन सक्ने विश्वास पार्टीभित्रै व्यक्त भएको छ ।
दिल्लीसँग सिधा हवाई उडानका नेपालगन्जका व्यवसायीहरुको ध्यानाकर्षण
काठमाडौं । निजी क्षेत्रले नेपालगन्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । सो उडान सन्दर्भमा आइतबार नेपालगन्जमा अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउँदै उद्योग वाणिज्य सङ्घ, नेपालगन्जका अध्यक्ष टङ्क धामीले विगत एक दशकदेखि नेपालगन्ज-दिल्ली हवाई उडानका लागि निरन्तर प्रयास गर्दै आएको बताए । उनले सिधा हवाई सम्पर्कले यस क्षेत्रको व्यापार उद्योग, पर्यटनलगायतका क्षेत्र चलायमान हुने भएकाले उडानका लागि पूर्वाधार निर्माणसमेत भएकामा सरकारका तर्फबाट नीतिगत र कार्यान्वयनका कदम चाल्न आग्रह गरे । अर्थमन्त्री खनालले अहिलेको सरकार विशेष परिस्थितिमा निर्माण भएकाले चाहना हुँदाहुँदै काम गर्न नसकिने स्पष्ट पारे । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि नयाँ सरकार निर्माण हुने उल्लेख गर्दै उहाँले यो सरकार अब तीन महिनाको लागि मात्रै भएको बताए । ‘राजनीतिक स्थितिलाई बिगार्ने र निर्वाचनका कामलाई प्रभावित गर्ने काम हामीबाट हुँदैन,’ उनले भने । नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले वस्तुको भन्सार दर घटाउन सरकारलाई आग्रह गर्दै तस्करीका कारण नेपाली व्यवसायी मर्कामा परेको बताए । सङ्घका अध्यक्ष धामीले रुपैडिहाबाट सामान ल्याउँदा ठूलो परिमाणमा भन्सार चुहावट भएको उल्लेख गर्दै त्यसरी हुने चुहावट रोक्न आवश्यक भएको धारणा राखे । सङ्घले विभिन्न विषय समेटेको २१ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।
हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै, विगतमा आएको थिएन एकिन सङ्ख्या
काठमाडौं । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा उच्च लेकमा हिउँ चितुवा सङ्ख्या एकिन गर्न क्यामेरा ट्यापिङमार्फत अध्ययन अनुसन्धान सुरु गरिएको हो । बायोकोर्स नेपाल र एक्याप मिलेर यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका उच्च लेकमा हिउँ चितुवाको सङ्ख्या एकिन गर्न, हिउँ चितुवाको आहारा प्रजातिको अवस्था र मानव र हिउँ चितुवा बीचको द्वन्द्वको अवस्था पहिल्याउन र जलवायु परिवर्तनका कारण हिउँ चितुवाको बासस्थान र विद्यमान अवस्थाको जानकारी लिने उद्देश्यले हिउँ चितुवाको अध्ययन अनुसन्धान गर्न क्यामेरा ट्ययापिङ सुरु गरिएको बायोकोस नेपालका फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार गत हप्तादेखि यहाँको वारागुङ मुक्तिक्षेत्रको झोङ,पुडाक, छेङ्गुर,थोरङ्फेदी, फल्याक,धार्काजुङ र मुस्ताङ-डोल्पा सडकको उच्च लेकमा १५ थान क्यामेरा जडान गरिएको हो । आजदेखि यहाँको घरपझोङ गाउँपालिका अन्तर्गत स्याङ,मार्फा र चिमाङ गाउँको उच्चलेंकमा थप क्यामेरा हिउँ चितुवा ट्यापिङका लागि थप क्यामेरा जडान गरिने कार्यक्रम रहेको उनले जानकारी दिए । यहाँका उच्च लेकमा हिउँ चितुवाको विस्तृत अध्ययन अनुसन्धानका गर्न बायोकोसका प्रतिनिधि बायोलोजिस्ट गुरुङ र असिस्टेन प्रवीन लामा क्यामेरा जडान कार्यमा खटिएका छन् । यसैगरी एक्याप जोमसोमबाट प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओली खटिनु भएको हो । बायोकोस र एक्यापका प्राविधिक टोलीले यहाँका उच्च लेकमा हिउँ चितुवाको सम्भावित बासस्थान क्षेत्रमा पुगेर क्यामेरा जडान गरेका हुन । यहाँका सम्भावित हिउँ चितुवा बासस्थान क्षेत्रलाई केन्द्रित गरी राखिएका ट्ययापिङ क्यामेरा दुई महिनासम्म लेकमा राखिने छन् । हिउँद याममा हिउँ चितुवाको सङ्ख्या एकिन गर्न र हिउँ चितुवाको गतिविधि थाहा पाउँन क्यामेरा जडान गरिएको हो । कायोकोसका प्रतिनिधि बोलोलोजिस्ट गुरुङले दुई महिनापछि उच्च लेकमा राखिएका क्यामेराको डाटा सर्वेक्षण गरिने जानकारी दिए । ‘दुई महिनापछि क्यामेरा झिकेर ल्याउँछौँ, सफ्वेयर अपडेट गरी हिउँ चितुवाको विस्तृत विवरण सङ्कलन हुन्छ,’ प्रतिनिधि गुरुङले भने, ‘क्यामेरामा कैद भएका डाटा सबै एक्यापलाई नै हस्तान्तरण हुन्छ, हामीले हिउँ चितुवाको एकिन मात्रै गछौंँ ।’ बायोकोस नेपालले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको विभिन्न क्षेत्रमा हिउँ चितुवाको अध्ययन गर्न क्यामेरा ट्यापिङ लगायतका कार्य गर्दै आइरहेको प्रतिनिधि गुरुङको भनाइ छ । मुख्य रुपमा नाउन अध्ययनका लागि कार्य गरिने भए पनि बायोकार्सले त्यसको साथसाथै हिउँ चितुवाको समेत अध्ययन गर्ने गरेको जनाएको छ । सन् २०२२ देखि लगातार मनाङमा चार वर्षसम्म निरन्तर हिउँ चितुवाको अध्ययन गर्न क्यामेरा ट्ययापिङ गर्ने गरिएकोमा यसपालि मुस्ताङमा यस प्रकारको कार्यक्रम पहिलो भएको बायोलोजिस्ट गुरुङले जानकारी दिए । यसैगरी माथिल्लो मुस्ताङमा पनि एक हिउँ चितुवासम्बन्धी विद्यावारिधि विद्यार्थीले क्यामेरा ट्ययापिङमार्फत हिउँको अध्ययन सुरु गरेका एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए । मुस्ताङमा पटक पटक हिउँ चितुवा अध्ययनका लागि क्यामेरा ट्ययापिङ लगायतका काम भए पनि हालसम्म कतिको सङ्ख्यामा हिउँ चितुवा छन् भन्ने तथ्य एकिन हुन सकिरहेको छैन । पछिल्लो समय मुस्ताङमा हिउँ चितुवा र मानव बीचको द्वन्द्व बढेको देखिन्छ । हिउँ चितुवा उच्च लेक छाडेर सडक र बस्तीमा झर्ने र यहाँका पशुपालकको गोठमै पसेर पशुचौपाया लगायतलाई क्षति पुर्याउने घटना दोहरिरहेका छन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण उच्च लेकमा चरन क्षेत्रमा घाँस पलाउन छाडेको र पानीका स्रोत सुक्दै जान थालेपछि हिउँ चितुवाको आहारा नाउर खोला र बस्तीसम्म झर्ने गरेको पाइएको छ । हिउँ चितुवा नाउर लगायतका आहारा पछ्याउँदै खोला र वस्तीमा झर्दा मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेको हो । यहाँ हिउँ चितुवाको संरक्षण र मानव बीचको सह अस्तित्व निर्माण गर्न समेत चुनौती बढ्दै गइरहेको छ । यसैगरी कम उचाइको क्षेत्रमा रहने चितुवा (कमन लियापार्ट) पनि तापक्रम वृद्धि हुँदै जाँदा माथिमाथि बासस्थान सार्ने लगायतका घटना पनि देखिन थालेका छन् ।